Jhiti Gunta – Manohar Shrestha

I must admit I struggled to pick the right title for this article. I toyed with two others: ‘Think like Mahendra’ and ‘Economic empowerment of the mountain poor’. The first one sounded like a eulogy to the late king, and the second one sounded more like the title of an essay of a development organisation. There is an interesting legend behind ‘jhiti gunta’. Apparently moved by the destitution of a certain mountain tribe living in a desolate, barren, beautiful land on a Himalayan plateau where nothing could be grown at the time, Mahendra launched the scheme with the noble intention of raising their living standard. Today, this tribe is one of the most successful business communities in the country, and their land is pregnant with the finest varieties of apples and other healthy, lifestyle foods as well as niche tourism.

Back then, ‘jhiti gunta’ not only empowered and enriched them, but also employed and offered opportunities to a large number of youths across the nation at a time when there was nothing much to do except discuss politics and wolf whistle at damsels. Industrious youths travelled mainly to Bangkok and Hong Kong and carried back a set of prescribed goods for personal use, at little or no customs duty that found their way into the markets of Kathmandu. As more people became aware of the benefit of the trade, youths from other ethnic groups embraced the travelling trade. They took couriers or human mules to bring back personal wear, electronic and household appliances, gold and silver within the duty exempt limit. The mules entrusted their passports and sold their foreign exchange facility, limited to $200 or so, to the youth traders. Often, the traders also made deals with people working in embassies and on foreign shores to buy their personal privileges to import expensive goods. At Hong Kong and Bangkok airports, it would be an amusing sight to behold. Heavily clothed mules could be spotted huddled together, each wearing as many as five shirts, layers of jackets, trousers, socks, saris, three-tola gold chains and bracelets, a silver bar, watches, caps and sunglasses with price tags dangling on strings.

Upon landing at Gauchar, there would be a carnival scene, a pleasant pandemonium, with everyone from immigration and customs to loaders brimming in anticipation of a windfall. After they emerged from the airport, the mules would be herded into a bus and driven to a safe location to be stripped of all they were wearing including the gold ornaments. ‘Jhiti gunta’ eventually gave way to watch, dollar and gold smuggling. But the mountain tribe has joined the constellation of the nouveau riche here and abroad, thanks to Mahendra’s initiative at poverty alleviation.

Source : http://kathmandupost.ekantipur.com/news/2017-10-05/jhiti-gunta.html

Surakshakarmiko Saato (सुरक्षाकर्मीको सातो)

माओवादी सशस्त्र विद्रोह कालमा भएका मानवताविरुद्धको जघन्य अपराधमा छानबिन र कारबाही विस्तृत शान्ति सम्झौताको एउटा बुँदामात्र हैन शान्ति प्रक्रियाकै अभिन्न अंग पनि हो । त्यस प्रक्रियामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र साख पनि जोडिएको हुन्छ । राज्यले यही कारणले शान्ति सम्झौता भएको एक दशक पुग्न लागे पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाको अन्तिम चरणमा प्रवेश गर्न उचित ठानेको हुनुपर्छ ।

हुनत, यी दुवै आयोगहरू २०६३ मंसिरको ६ महिनाभित्रै गठन भइसक्नुपर्थ्यो । त्यति बेला गठन गरेको भए संक्रमणकालीन न्याय धेरै सहज पनि हुन्थ्यो । तर, नेपालको अन्तरिम संविधान, २०६३ को अंग बनाइएको विस्तृत शान्ति सम्झौता कार्यान्वयनका क्रममा एउटा पक्ष माओवादीले न्यायभन्दा पैसामा जोड दियो । अर्को पक्षका लागि त्यस सम्झौताको उपादेयता र अर्थ माओवादी हिंसाको अन्त्यबाहेक अरू केही थिएन । संविधान सभाको निर्वाचन गरेर नेपालको पहिलो राष्ट्रपति हुन हतारिएका गिरिजाप्रसाद कोइरालाले माओवादीप्रति ‘तुष्टीकरण’को नीति अपनाए । माओवादीका हातमा बन्दुक हुँदाहुँदै हतारमा गरिएको निर्वाचनमा स्वाभाविकरूपमा माओवादी संविधान सभाको सबैभन्दा ठूलो शक्ति भयो । पहिलो संविधान सभाको चार वर्षे कार्यकालमा ४ जना कम्युनिस्ट नेता प्रधानमन्त्री भए । पटकैपिच्छे माओवादी नेता कार्यकर्ताले अनेकौं बहानामा राज्यको ढुकुटी दोहन गरे । तर, सत्य निरुपण र बेपत्ता पारिएका व्यक्ति छानबिन कार्य अर्थात् संक्रमणकालीन न्याय कहिल्यै माओवादीको प्राथमिकतामा परेन । उनीहरू अपराधमा सोलोडोलो उन्मुक्ति र राज्यको ढुकुटीबाट सकेसम्म धेरै दोहन गर्न चाहन्थे । राज्यको ढुकुटीबाट दोहन गर्ने कार्य कहिलेसम्म चलिरहने हो थाहा छैन तर मानवताविरुद्धको अपराध अन्तर्राष्ट्रिय क्षेत्राधिकारमा पनि पर्ने हुनाले सबै अपराधीलाई एउटै निर्णयबाट सोलोडोलो उन्मुक्ति भने नेपालको संविधानमै लेखेको भए पनि सम्भव थिएन । अब त संविधानले पनि न्याय प्रत्याभूत गरेको छ । यसैले अन्तर्राष्ट्रिय प्रावधानविपरीत सोलोडोलो उन्मुक्ति दिलाउन सक्ने सम्बन्धित कानुनका दफालाई सर्वोच्च अदालतले खारेज गरिदिएको हुनुपर्छ । संक्रमणकालीन न्यायप्रति माओवादी वा अरू कुनै पार्टीको चासो हुँदो हो त राजनीतिक दलहरूले कानुनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्राथमिकता दिने थिए । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेतालाई सायद सत्ताबाहेक अरू विषयले खासै छुँदैन । कम्युनिस्टहरूको कुरै भएन । उनीहरूबीचको पछिल्लो नौ बुँदे सहमतिमा संक्रमणकालीन न्यायको हत्या गर्ने र अपराध लुकाउन पैसा छर्ने नियत स्पष्टै देखिन्छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन स्वयं विवाद मुक्त नरहे पनि कम्तीमा न्याय सम्पादनको बाटो खुलेको ठानेर मानव अधिकार समुदायलगायत न्यायका पक्षधरहरूले समर्थन गरेका थिए । आयोगको कामकारबाही अपेक्षाकृत सन्तोषजनक नभए पनि अहिलेसम्म नियतवश न्याय खोस्न खोजेको आरोप दुवै आयोगमाथि लागेको छैन । यद्यपि, द्वन्द्व पीडित साझा चौतारी नामक संस्थाले गत जेठ २७ गते सार्वजनिक गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको उजुरी प्रक्रियाको अनुगमन गरी निकालेको निष्कर्ष र त्यसलाई विश्वसनीय बनाउन गरेको सिफारिस हेर्दा भने आयोगको कार्यशैलीमा तत्काल र ठूलै सुधार नहुने हो भने संक्रमणकालीन न्याय झन् जटिल अवस्थामा पुग्ने देखिन्छ ।

संक्रमणकालीन न्याय टुंगोमा पुग्न न्याय हुनु जरुरी हुन्छ । मानवताविरुद्धका जघन्य अपराधमा सही छानबिन, अपराधीलाई कानुनबमोजिम कारबाहीको सिफारिस र कार्यान्वयन नहुँदासम्म यो प्रक्रिया समाप्त हुँदैन । यसबीच राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेर कारबाहीका लागि गरेको सिफारिस र अदालतबाट कसुरदार ठहर गरी दिइएको सजाय तथा अदालतमा विचाराधीन मुद्दा पनि संक्रमणकालीन न्यायकै एउटा पक्षका रूपमा रहेका छन् । यी सबै टुंगोमा पुगेपछि मात्र संक्रमणकालीन न्यायको प्रक्रिया पूरा हुन्छ । तर, सुरक्षा निकायसँग सम्बद्ध केही व्यक्ति र लगभग सबै माओवादी घटकका नेता भने यस प्रक्रियालाई विधिवत् निकासमा पुग्न नदिई सामसुम पार्न खोज्दैछन् । देशभित्रको सक्षम र स्वतन्त्र न्यायालयले न्यायिक प्रक्रिया पूरा गरेर निर्णय गरेमा अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गर्दैन । माओवादी नेताहरूले भन्ने गरेजस्तो न्याय खोज्ने काममा लागेकाहरू प्रतिक्रियावादी तत्त्व वा साम्राज्यवादका दलाल हैनन् । जघन्य अपराधका मुद्दामा लटरपटर गर्न खोजिएमा देशभित्रका द्वन्द्वपीडित, मानव अधिकार समुदायमात्र हैन अन्तर्राष्ट्रिय समुदाय पनि तमासामात्र हेरेर बस्दैनन् । विवेकसम्मत आधारमा न्यायिक प्रक्रिया टुंग्याउन सकेमात्र यस्तो विषयमा बाह्य हस्तक्षेपबाट जोगिन सकिन्छ ।

माओवादी नेताहरूको प्रचारवाजी अब सुरक्षाकर्मीलाई तर्साउन केन्द्रित हुन थालेको देखिएको छ । राज्यका सुरक्षाकर्मीका हकमा संसारभर स्पष्ट देखिएको छ – कर्तव्य पालन गर्दा भएका घटनामा हैन व्यक्ति विशेषले बदनियतपूर्वक गरेको अपराधमा मात्र कारबाही हुन्छ । अर्थात्, प्रचलित कानुन पालना गराउँदा वा आदेश पालना गर्दा भएका घटनामा सुरक्षाकर्मीको संलग्नतालाई अक्षम्य अपराध मानिदैन । अनावश्यक र अनुचित बलप्रयोग वा वैयक्तिक पूर्वाग्रह राखेर बेपत्ता पार्ने, मार्ने वा यातना दिने काम गरेका भएमात्र निज दोषी ठहरिन्छ । यसैले नियतवश कानुन उल्लंघन गरेर हत्याजस्ता जघन्य अपराध गर्नेहरूबाहेक अरू सुरक्षाकर्मी पटक्कै आत्तिनु पर्दैन । कर्तव्य पालनका सिलसिलामा भएका घटनामा सुरक्षाकर्मीलाई सजाय होस् भन्ने माग पीडितहरूको समेत छैन र हुनु पिन हुँदैन । उदाहरणका लागि बन्दुक बोकेको छापामार मुठभेडका क्रममा सुरक्षाकर्मीका हातबाट मारिएको भए त्यो घटना कर्तव्य पालनका सिलसिलामा भएको मानिन्छ । तर, त्यही छापामार हिरासतमा मारिएको भए त्यो आयोगको क्षेत्राधिकारभित्रको मुद्दा हो र कारबाही हुनुपर्ने घटना हो । यसैले द्वन्द्वमा संलग्न हुँदैमा सबै सुरक्षाकर्मी आत्तिनु पर्दैन । कसैले आफ्नै संगठन, प्रचलित ऐनकानुन, सुरक्षाकर्मीको धर्म, मूल्य र मान्यताविपरीत ज्यादती गरेको रहेछ भने त सजाय भोग्नुको विकल्प छैन । यस्तै, संविधानले ज्यान सजाय निषेध गरेका बेलामा माओवादी नेताहरूको ‘टाउकोको मूल्य’ तोक्ने र सार्वजनिकरूपमा टाउको ल्याउन आह्वान गर्नेहरू पनि सम्भवतः सजायबाट उम्कन सक्तैनन् । तर, यसका लागि सुरक्षाकर्मी हैन राजनीतिक नेतृत्व जिम्मेवार छ ।

माओवादी नेता कार्यकर्ता पनि सबै जना कैदमा पक्कै पर्नेछैनन् । ब्यारेक वा चौकीमा आक्रमण गर्नेहरूमाथि मुद्दा चलाउने माग कतैबाट पनि भएको छैन । तर विद्यालयमा पढाउँदै गरेको शिक्षक वा बाबुको किरियामा बसेको व्यक्तिमाथि आक्रमण गरेर हत्या गर्नेहरू उम्किन वा उम्काउन गरिने प्रयास सफल हुनेछैन । माओवादीले निहत्था उनीहरूको राजनीतिक विरोधी र धेरै त राजनीतिमा प्रत्यक्ष संलग्नता नै नभएका व्यक्ति मार्ने र बेपत्ता पार्ने काम गरेका छन् । छानबिन र सत्य निरुपण भएमा त्यस्ता अपराधमा संलग्न सबै नै सजायको भागी बन्नेछन् । मानवताविरुद्ध अपराध गर्ने केही नेता कार्यकर्ताले पाउने सजायलाई सामान्यीकरण गरेर संक्रमणकालीन न्यायलाई शान्ति प्रक्रिया विरोधी षड्यन्त्रका रूपमा प्रचार गर्ने गराउनेहरूको भ्रमजालबाट माओवादी कार्यकर्ता पनि बाहिर निस्कनुपर्छ ।

पीडितले माफी दिएमा कतिपय घटनामा मेलमिलाप हुनसक्छ । तर, त्यसकै लागि पनि पहिले अपराधीले सत्य स्वीकार गर्नुपर्छ । सजाय काट्न थालेपछि मात्र कैद माफीमिनाहा हुनसक्छ । सर्वोच्च अदालतले सजाय सुनाउनेबित्तिकै कैदमा बसेका भए सायद बालकृष्ण ढुंगेल अहिले माफीमिनाहाको सूचीमा परिसकेका हुन्थे । पीडकलाई क्षमादान दिने नैतिक अधिकार पीडितको मात्र हुन्छ । यो सत्य सबैले आत्मसात गर्ने हो भने स्थिति धेरै सहज हुनेछ ।

जेहोस्, सुरक्षाकर्मीहरू माओवादीको प्रचारवाजीबाट तर्सनुपर्ने देखिँदैन । मानव अधिकार आयोगको सिफारिस वा अदालतको आदेश कतै कार्यान्वयन नगरी राखिएको भए बरु नियमबमोजिम विभागीय कारबाही प्रक्रिया अगाडि बढाउनु उचित हुनेछ । दक्षिण अफ्रिकाको जस्तो सत्य निरुपण हुन सकेको भए माफिका लागि उपयुक्त वातावरण पनि बन्नेथियो । तर, नेपालमा त सत्य निरुपणकै क्रममा रकमी जालझेल भएको देखियो । यही क्रममा सुरक्षाकर्मीको मनोबल कमजोर पार्न अनेकौं षड्यन्त्र र प्रचारवाजी गरिएको हुनुपर्छ । यसैले जघन्य अपराधमा व्यक्तिगतरूपमा संलग्नबाहेक सुरक्षाकर्मी आत्तिनु पर्ने देखिँदैन । सुरक्षाकर्मीलाई सरकारले पनि आन्तरिकरूपमा आश्वस्त बनाओस् । तिनको सातो जान दिनु हुँदैन । कर्तव्य पालन गर्नु संसारमा कहीँ पनि अपराध मानिदैन र त्यसमा सजाय पनि हुँदैन ।

 

Source – http://www.baahrakhari.com

एमालेको ‘ले’ र लेनिनवादको सान्दर्भिकता

नेपालका कम्युनिष्ट पार्टी, त्यसका नेता र समूहहरुमा ‘लेनिन’ र ‘लेनिनवाद’प्रतिको मोह निक्कै पुरानो हो । नेकपाका संस्थापक नेता पुष्पलालले पार्टी स्थापना लेनिनकै जन्मदिवस ‘अपि्रल २२’ का दिन गरेका थिए । राजनीतिक जीवनको प्रारम्भमा नेपाली कांग्रेसमा रहेका पुष्पलालको मनोविज्ञानमा लेनिनको जीवनीले ठूलो हुन्डरी ल्यायो । लेनिनको जीवन र पुष्पलालको पारिवारिक कथा बीच केही समानता थिए, जसले पुष्पलाललाई कांग्रेस पार्टी छोड्न र कम्युनिष्ट पार्टी गठन गर्न प्रेरित गर्यो । लेनिनका दाजु अलेक्सेन्द्रलाई ‘नरोद्न्या वोल्या’ नामक पार्टीमा लागेर जारको हत्या गरेको आरोपमा मृत्युदण्ड दिइएको थियो । ९७ सालका महान शहिद गंगालाललाई फाँसीको दिएको घटनामा पुष्पलालले आफ्नो जीवन लेनिनसँग मिल्दोजुल्दो अनुभूत गरे होलान् । रुसको ‘नरोद्न्या वोल्या’ र नेपालको ‘प्रजा परिषद’ उस्तैउस्तै नीति र नियति भएका दल थिए ।

आज पनि नेपालका कम्युनिष्ट पार्टीका आधिकारिक दस्तावेज पढ्ने हो भने ‘साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग जारी छ’, तसर्थ ‘लेनिनवादको युग’ जारी छ भनेर लेखिएको हुन्छ । नेपालका सबै कम्युनिष्ट घटकले माक्र्सवादसँगै लेनिनवादलाई पनि ‘मार्गदर्शक सिद्धान्त’ स्वीकार गरेका छन । कम्युनिष्ट विश्लेषण पद्दतिमा ‘मार्गदर्शक सिद्धान्त’ को विशेष महत्व हुन्छ, त्यसले ‘प्राधिकार’ सरहको महत्व राख्दछ । ‘माक्र्सवाद विज्ञान हो’ तसर्थ ‘यो निरन्तर विकासवान हुन्छ’ भन्ने दृष्टिकोणबाट ‘लेनिनवाद’ लाई ‘माक्र्सवादकै नयाँ चरण’ मान्ने गरिन्छ । नेपालका सबै कम्युनिष्ट समूहमा ‘लेनिनवाद माक्र्सवादको दोस्रो चरण हो, माओवाद तेस्रो चरण, लेनिनवादी र माओवादी नभइकन माक्र्सवादी पनि हुन सकिँदैन’ भन्ने मान्यता सर्वसम्मतझैं थियो । तर, विस्तारै यी मान्यताहरु सबै समूहमा विशेषतः एमालेमा खण्डित हुँदै गइरहेझैं लाग्छ । वस्तुतः लेनिनवादप्रतिको श्रद्धा, आत्मविश्वास र मोह एमाले पंक्तिले निरन्तर गुमाउँदै गइरहेको छ, जसको पछिल्लो उदाहरण कुनै समयका शक्तिशाली एमाले नेता, आठौं महाधिवेशनपश्चात् स्वतन्त्रझैं टिप्पणी लेखिरहेका प्रदीप नेपालको मिति ०७० भाद्र २ गतेको टिप्पणीलाई मान्न सकिन्छ । उनी लेख्छन् ‘हाम्रो कम्युनिष्ट आन्दोलन टाउको टेकेर उभिएको छ, हामीले माक्र्सको स्वतन्त्रता होइन, लेनिनको अधिनायकत्वलाई आफ्नो कार्यक्रमको आधार बनायौं । लेनिन आफैं भारी भइसकेका थिए नेपाली कम्युनिष्ट पार्टीका लागि, त्यसमाथि थपिए स्टालिन र माओत्सेतुङ्गहरु । कार्ल माक्र्सको समाजवादी प्रजातन्त्रको मान्यताबाट अलग भएको अनि लेनिनका अधिनायकवादी प्रस्तावनाहरुको पछि दौडिएको हुनाले लामो समयसम्म नेपालको कम्युनिष्ट आन्दोलनले उग्रवामपन्थको चर्को रापमा जलेर एकपछि अर्को गल्ती गर्दै गयो ।’

एमाले नेता नेपाल ‘लेनिनवादी’ पार्टीमा बसेर लेनिनका बारेमा यति साहासिक टिप्पणी लेख्ने पहिलो टिप्पणीकार भने हैनन् । यसभन्दा धेरै अघिदेखि अर्का पोलिटब्यूरो सदस्य तथा मजदूर फाँटका स्थापित नेता मुकुन्द न्यौपानेले पार्टी र जिफन्ट नजिकका मुखपत्र र बुलेटिनहरुमा स्टालिनवादी शैली र लेनिनवादका सीमाबारे थुप्रै लेखहरु लेखिसकेका थिए । दार्शनिक चिन्तनमा विशेष रुची राख्ने तर पार्टीभित्रको बहसमा औसत ‘लो प्रोफाइल’ मा देखिने न्यौपानेका कतिपय रचनाहरु यस विषयमा दीर्घकालीन महत्व राख्ने खालका छन् । उनले कार्ल माक्र्सको ‘निषेधको निषेध नियम’ क्रियाशील हुन्छ कि हुँदैन ? द्वन्द्ववादको स्वभावले मानव समाज साम्यवादसम्म जान सक्छ कि सक्दैन ? जस्ता विषयमा आफ्ना फरक अभिमत लेख्ने गरेका छन् । leninतथापि एमालेको युवापुस्तामा ‘लेनिनवाद’ को सान्दर्भिकता नदेख्ने ‘रोल मोडेल’ चिन्तक भने घनश्याम भुसाल नै हुन् । एक दशकभन्दा बढी समयदेखि एन्टोनियो ग्राम्सी र रोजा लक्जेम्बर्गका विचारहरुको अध्ययन गरिरहेका भुसाल ‘माक्र्सवादी हुन लेनिनवादी भइरहन आवश्यक नरहेको’ ठान्दछन् । एमाओवादीको हेटौडा महाधिवेशन भइरहँदा पार्टी अध्यक्ष प्रचण्डको दस्तावेजका ‘वैचारिक प्रेरक’ का रुपमा विशेष चर्चामा रहेका भुसालले त्यतिखेरै पत्रकार विजयकुमारसंग ‘दिशानिर्देश’को अन्तर्वार्तामा लेनिनवादलाई सिद्धान्तभन्दा बढी ‘सत्ता कब्जाको रणनीति’ बताएका थिए ।

एमालेको आठौं महाधिवेशनमा समेत यो विषयले परोक्ष प्रवेश पाएको थियो । महाधिवेशन बन्दसत्रको हलमा लेनिनको फोटो राखिएको थिएन । प्रतिनिधिहरुले त्यही विषयमा चर्को हुटिङ्ग गरे । ‘लेनिनवादी पार्टीको महाधिवेशनमा लेनिनको फोटो खै ?’ भनिरहे । अन्ततः आयोजकहरु लेनिनको फोटो कार्ल माक्र्सको फोटोको छेउमा टाँस्न बाध्य भए । लेनिनवाद असान्दर्भिक हुँदै गएको यथार्थ अधिकांश एमाले नेताहरुले बुझेका छन् । तर उनीहरुका दुईवटा बाध्यता छन । पहिलो-पुरानो पार्टी स्कुलिङबाट आएका कार्यकर्ताको ठूलो पंक्ति, जसले लेनिनवाद परित्याग गर्नु भनेको संशोधनवादी हुनु हो भनेर बुझ्छ । दोस्रो – पार्टीको नाम । एमालेको नाममा भएको ‘ले’ को अर्थ नै ‘लेनिनवाद’ हो । यदि लेनिनवादलाई मार्गदर्शक सिद्धान्त नमान्ने हो भने पार्टीको नाम चाहिँ लेनिनवादी नै राखिरहनु सान्दर्भिक हुँदैन । त्यस्तोबेला पार्टीको नाम फेर्नुपर्ने हुन्छ । चुनावी दृष्टिकोणले ‘एमाले’ शब्द जनसमुदायमा व्यापारिक ‘टे्रड मार्क’ झैं स्थापित भइसकेको हुनाले नाम फेर्दा परिचयमा समस्या आउँन सक्छ । पाँचौं महाधिवेशनमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को कार्यक्रम प्रस्तुत गर्दा नै लेनिनवादीको चर्को आलोचना गरिसकेका थिए । तर, उनले लेनिनको नाम नलिकन चलाखीपूर्वक त्यसलाई ‘सोभियत समाजवादको समीक्षा’ भने । वस्तुतः सोभियत प्रणाली लेनिनवादी शासन प्रणाली नै हो । सोभियत प्रणाली असफल हुँदा सोभियत समाजवाद मात्र हैन, लेनिनवादी शासन प्रणाली पनि असफल हुन्थ्यो । भण्डारीले प्रस्तावित गरेको ‘प्रतिस्पर्धा र पहलकदमीद्धारा नेतृत्व’ को नीति समेत लेनिनको ‘जनवादी केन्दि्रयता’ को संगठनात्मक नीतिभन्दा फरक थियो । लेनिन बहुदलीय व्यवस्था र शक्ति पृथकीकरणमा कुनै विश्वास गर्दैनथे । भण्डारीले संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथक्कीकरण, वालिक मताधिकार र प्रतिपक्षसहितको राज्यप्रणालीको कुरा गरे, यी कुनै पनि कुरा लेनिनवादी राज्यसत्तमा थिएनन् ।

लेनिनको ‘पुँजी निर्यात’ र ‘साम्राज्यवाद’ सम्बन्धि मान्यताले वैदेशिक पुँजी र प्रविधि निषेध गर्न प्रेरित गर्दथ्यो । भण्डारीले त्यसको ठीक विपरित ‘वैदेशिक पुँजी र प्रविधिको उपयोग’ गर्न सकिने मान्यता बनाए । भण्डारीको भूमिनीति पनि लेनिनवादी भूमिनीतिभन्दा फरक छ । प्लेखानोभसंगको भूमिनीति सम्बन्धि विवादमा लेनिनले भूमिसुधार गर्दा ‘क्षतिपूर्तिको सिद्धान्त’ लाई सर्वथा अस्वीकार गरेका थिए । तर भण्डारीले त्यसलाई स्वीकार गरे । वास्तवमा भण्डारीको ‘जबज’ ‘लेनिनवाद’ भन्दा बढी ‘माओवाद’ संग नजिक रहेको सिद्धान्त हो । तर, यो संश्लेषण एमाले कार्यकर्ताका लागि अपत्यारिलो हुन सक्छ । देशको बौद्धिकवृत्तले यस कोणबाट खासै अध्ययन गरेको देखिन्न । नेपाललाई ‘अर्ध-सामान्ति र अर्ध-औपनिवेशिक’ देख्नु, ‘अर्ध-सामान्ति र अर्ध-औपनिवेशिक देशको क्रान्तिको कार्यक्रम नौलो जनवादी हुन्छ’ भन्ने मान्यता राख्नु, ‘नौलो जनवाद र बहुदलीय जनवादबीच तात्विक भिन्नता छैन’ भन्नुले ‘जबज’ लेनिनवादबाट टाढिएको र माओवादको नजिक रहेको सिद्धान्त हो भनेर बुझ्न कुनै गाह्रो छैन । तर व्यवहारमा भने ठीक उल्टो भयो । एमालेले आफ्नो नाम र मार्गदर्शक सिद्धान्तबाट ‘माओविचारधारा’ चाहिँ हटायो, ‘लेनिनवाद’ चाहिँ राखिराख्यो । एमालेको नाम, मार्गदर्शक सिद्धान्तका रुपमा लेनिनवादप्रतिको स्वीकारोक्ति र एमाले व्यवहार बीच वास्तवमा कुनै संगति छैन ।

पूँजीको आयात निर्यातले, अल्पविकसित राष्ट्रको वैदेशिक पुँजी आकषिर्त गर्ने नीतिले लेनिनले भनेझैं ‘साम्राज्यवादी शोषण’ मात्र गर्छ वा त्यस देशको आर्थिक विकासमा समेत मद्धत गर्छ ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रमले पनि लेनिनवादप्रतिको मोहभंगतालाई बढाएको छ । विशेषतः प्राध्यापक चैतन्य मिश्रले यस विषयमा पेचिला टिप्पणीहरु लेख्दै आइरहेका छन् । त्यसको प्रभाव कम्युनिष्ट कार्यकर्तामा पर्दै गइरहेको देखिन्छ । लेनिनले पहिलो विश्वयुद्धलाई पुँजीवादको चरमउत्कर्ष भनेका थिए । विश्वयुद्धको अन्त्यसंगै पुँजीवादको मृत्यु भएको र ‘सर्वहारा राज्यसत्ताको युग प्रारम्भ’ भएको लेनिनको ठहर थियो । दार्शनिक तथा राजनीतिक रुझान भएका अर्थशास्त्री जोसेफ सुम्पिटरले पुँजीवादको मुत्यु तत्काल किन संभव छैन, पुँजीवादको चक्रीय संकट सामना गर्ने लचक उदारवादी राजनीतिक प्रणालीमा कसरी प्रकट हुन्छ भन्नेबारेमा त्यतिखेरै ठूलो खोज गरेका थिए । आज लेनिनको भन्दा सुम्पिटरको मान्यता संसारभरि नै बढी लोकप्रिय र स्थापित छ । विचार सिद्धान्तको बहसमा रुचि राख्ने अर्का एमाले नेता प्रदीप ज्ञवालीले एकपटक भनेका थिएँ ‘हामीले गोथा कार्यक्रमको आलोचना पढ्यौं, गोथा चाहिँ पढेनौं । एन्टीडयूहरिङ पढ्यौं, डयूहरिङ चाहिँ पढेनौं । विश्वासघाती काउत्स्की पढ्यौं, तर काउत्स्कीको मौलिक रचना चाहिँ पढेनौं ।’ लेनिनवादप्रतिको विश्वास त्यही प्रकारको एकांकी चिन्तनको उपज हो । अन्यथा मदन भण्डारीको जबजको एक पक्ष जसरी माओकाविचारबाट प्रभावित छन्, अर्को पक्ष रोजा र काउत्स्कीको चिन्तनबाट प्रभावित छ भन्ने स्वीकार गर्न कुनै गाह्रो चिज हुने छैन । दुबै कोणबाट जबज लेनिनवादको नजिक छैन । यो सत्य एमाले नेतृत्व र कार्यकर्ता पंक्तिले विस्तारै बुझ्न थालेको छ । तर यतिखेरै लेनिनवादप्रतिको आफ्नो स्थिति प्रष्ट पार्ने हो भने एमाओवादीले गर्ने चर्को वैचारिक होहल्लाको संभावित अनुमान पनि नेतृत्वलाई छ ।

‘बहुदलीय व्यवस्थालाई दार्शनिक रुपमा स्वीकार’ गर्दै ‘विप्पा सम्झौता’ सम्म आइपुगेको एमाओवादी आफै कति सिद्धान्तवादी छ भन्ने कुरा दुँनियाले नबुझेको हैन । तर एमालेले लेनिनवाद परित्याग गर्ने हो भने त्यसैलाई आधार बनाएर ‘संशोधनवादको चरम उत्कर्ष’ भन्ने होहल्ला मच्चाउँने निश्चित छ । बुटबल महाधिवेशनमा लेनिनको फोटो हरायो भने रोइकराई गर्ने एमाले कार्यकर्ताहरु एमाओवादीको त्यस्तो होहल्लाबाट प्रभावित नहोलान भन्न सकिन्न । एमालेमा बढ्दै गएको ‘वैचारिक प्रसब’ लेनिनवादप्रतिको टुट्दो मोहको परिणाम पनि हो । जसले आकार लिन कम्तिमा अझै एक दशक समय लिन सक्छ ।

Source: http://www.onlinekhabar.com

 

Kabi Shiromani Ko ‘Ye Nepal’ – Kamal Dixit

कमल दीक्षित – कवि शिरोमणिको “ए नेपाल!”
(हिमाल खबरपत्रिका)

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

हामीलाई थाहा छ, २००७ सालमा प्रजातन्त्रले नेपालमा प्रवेश गरेलगत्तै फुट र अन्तरकलह पनि भित्रियो। नौ महिने सरकारको परम्परा बसेको थियो। त्यसबाट हाम्रा कवि शिरोमणि आजीत भएका थिए भन्न बुझन गाह्रो छैन। तर चार अन्तराको यस गीतमा त्यति मात्र हैन अरू पनि कुरा छन्। त्यो खोतलिहेर्नु देशप्रेमी नेपालीको कर्तव्य हो, खास गरेर अहिले नेपालमा शाह-शासनको पनि अन्त्य भई गणतन्त्र भएको नेपालका नेपालीको। कवि शिरोमणिले आधा शताब्दीअघि बोलेका कुरा अहिले पनि कसरी ठ्याक्कै मिल्दैछ! के यी ५० वर्षमा नेपालले केही सिकेन? के नेपाल एक इञ्ची पनि अघि बढेन? किन? प्रत्येक राजनीतिज्ञले मनन गर्नुपर्ने कुरा हो। धेरै गन्थन गर्नुभन्दा त्यो गीत नै गुन्गुनाउनु जाती होला। तर त्यसभन्दाअघि टेलिभिजनले भन्नेजस्तै अलिकति कमर्सियल गरौँ।

नेपालीमा नवप्रभात भन्ने नामका दुई पत्रिका देखा पर्छन् खोजिहेर्दा― एउटा द्वैमासिक, अर्को साप्ताहिक। द्वैमासिक भारतबाट प्रकाशित भएको हो, सन् १९५४ मा कालिम्पोङदेखि। साप्ताहिक भने हालैको हो, २०४८ मा नेपालको रौतहटबाट। साप्ताहिक नवप्रभात नेपालमा प्रजातन्त्र आएपछि रातारात जन्मिएका छिचिमिरा पत्रपत्रिकाजस्तै छ― दुरुस्त कवि शिरोमणिले हिउँदका दिनलाई भनेजस्तै देखिने र दबिने खालको, चर्चा गर्नुपर्ने विशेषता केही नबोकेको। तर कालिम्पोङको त्यो द्वैमासिक नवप्रभात को भने एउटै पहिलो अङ्क पनि महत्वपूर्ण लाग्छ।

पहिले त यसका सम्पादकद्वय नै हामीले सम्झ्नुपर्ने नाम हुन्― सानुमती राई र महानन्द पौड्याल। अर्को यसका प्रकाशक पनि छन्― प्रह्लादप्रसाद अग्रवाल। दुर्भाग्यवश, नवप्रभात जम्माजम्मी कति अङ्क निस्केर बन्द भयो हामीलाई थाहा हुन्न, देख्न पाइएको सन् १९५४ जनवरीको त्यो पहिलो मात्र हो। त्यसमा कथा र निबन्ध पनि छन्, कविता र गीत पनि। भारतका र नेपालका ख्यातनामा कवि-लेखकका कृतिहरू समेटिएका छन् त्यसभित्र। कविताहरू भीमनिधि तिवारीका छन्, माधवलाल कर्माचार्यका र बदरीनाथ भट्टराईका पनि छन्। हाम्रा कविवरद्वय लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम कालिम्पोङ पुगेका बेला उनीहरूका स्वागतमा पाठ गरिएको तुलसी अपतनको कविता मार्मिक छ। कवि भन्छन्ः
“आयौ जगमा प्रेम शान्तिको
अनुपम भण्डार लिई
संसारबीच एक हृदयमा
अर्कै संसार लिई
देवदूत सन्देश नयाँ
गायौ लायौ प्रीत
अमृत चुहायौ क्रन्दनमा पनि
आनन्दी सङ्गीत!”

त्यो सबै त जे छ छँदैछ, तर त्यसभन्दा महत्वपूर्ण कुरा छ त्यस पत्रिकामा माथि भनेजस्तै प्रथम पृष्ठमा छापिएको गीत ए नेपाल!। भनिसकियो कवि शिरोमणिले लेखेका थोरै गीतहरूमध्येको एक हो यो र त्यसमा नेपालको बेवास्ता देखेर उनको मन रोएको व्यथा छर्लङ्गिएको छ। ऐलेको परिस्थितिसँग पनि मेल खान खोज्ने त्यो गीत नेपाली साहित्यको एउटा अनुपम नमुना हो भन्ने लाग्छ। त्यो गीत यही होः
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!
कुन हालतमा जन्म भएथ्यो? कुन गतिविधिले लम्कन्थिस्?
तन्नेरीमै कुन साहसले विश्वमञ्चमा चम्कन्थिस्?
कुन कारणले लड्दै बढ्दै आखिर घरमा थन्किन्थिस्?
घटनाक्रम त्यो सारा सम्झ्ी, बुझ्ी बाबू! इज्जत नफाल्!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

बल पौरुषका खम्बा जस्ता हिमका चुचुरा हेर्दै जा
स्वतन्त्रताको शुद्ध हवामा सास खुशीको फेर्दै जा!
मुटुमा कालो काँतरपनका पंक्ति भए त्यो केर्दै जा,
उन्नतिपन्था बहुत उकालो, साहसलाई टप्प अँगाल!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

चलिरहेछन् खलखल खोला, झ्रझ्र र्झ्नाहरू सारा
फरफर पुष्प पालुवा, चमचम गर्छन् सब तारा!
तिनकै शिक्षा152लयमै सिक् जा, स्वाभिमानको प्रिय नारा!
तेरो दिलमा उठ्न नपा’स्, रुन्चेपिन्चे तुच्छ सवाल!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

निर्धन छैनस् तँ, धनी बलको पन्छा दिलको कमजोरी
फूट-वैरको पन्छा आँधी, पन्छा स्वार्थी घुसखोरी
ठाडो शिर गर् पथमा अघि सर् किन निहुरिन्छस् कर जोडी?
जोरी पारी हाँस्न नपाउन्, जागृति जुगको बत्ती बाल्!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

 

Katha Dada Ko – Kamal Dixit

कमल दीक्षित – कथा दादाको
( हिमाल खबरपत्रिका)

‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो । एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही दादाको कथा हाल्दा । नेपालीमा दादा शब्द छ कि छैन ? भए कताबाट आयो ? कि कतैबाट नआएको रैथाने शब्द हो यो ? खोजिपस्ने काम विद्वान्हरूको हो । यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो । भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिँदैनन् । त्यसैले म अलिकति छामछाम छुमछुम गर्दैछु यस विषयमा ।

पुरानो नेपाली साहित्यमा त दादा शब्द प्रचलनमा आएको देखिएन; तर बोलीचोलीमा यो शब्द चल्थ्यो– १९८२ साल या त्यसको अलिपछिसम्म । नेपालमा करियाप्रथा उन्मूलन नहुञ्जेल, अर्थात् कमाराकमारीको किनबेच हुन नछाडुञ्जेल दादा शब्दलाई नेपाली भाषाले पचाएको थियो । घरमा पैलादेखि बसेका या आफूभन्दा जेठा कमाराहरूलाई मालिकहरूले दादा भन्थे– नाम जोडेर या नजोडीकनै । करियाप्रथा अन्त्य भएपछि यो शब्द पनि विलायो । विस्थापित भयो । तर फेरि यो स्थापित भयो अलिपछि, नेपालमा हिन्दी सिनेमा चल्न थालेपछि । पहिले पहिले त यसको स्वरुप राम्रै थियो– बाजे, हजुरबाको अर्थमा चलुन्जेल । पछि त्यही हिन्दी सिनेमामा बम्बईको प्रभाव परेर ‘दादा’ ले टोलको हुल्याहा, बद्मास, गुण्डा जनाउन थाल्यो । त्यसले शब्दको नै अवमूल्यन ग¥यो ।

यो म किन भन्न सक्छु भने– सन् १९१६ मा छापिएको बृहत् हिन्दी शब्दकोशमा ‘दादा’ शब्दको अर्थ– पितामह (भन्नाले बाजे) मात्र दिएको छ, गुण्डा या बद्मास दिएको छैन । पछिका कोशमा यी अर्थ पनि छन् । हिन्दीमा भन्दा बङ्गाली भाषामा ‘दादा’ शब्द बढी प्रचलित छ । त्यहाँ मुख्यतः दादा भन्ने शब्दले दाइ या दाजुलाई जनाउँछ । तर अचम्म लाग्छ बङ्गाली शब्दकोशमा दादा शब्दको “पितामह, मातामह, जेष्ठभ्राता” बाहेक “कनिष्ट भ्राता, पौत्र दौहित्र प्रभृति” लाई “स्नेह सम्बोधन” को समेत अर्थ दिइएको छ । अर्थात् के भने बङ्गाली भाषामा जल्लाई पनि आदर या माया गरेर “दादा” भन्न सकिने रहेछ । यस्तो मीठो शब्द पश्चिम भारत (बम्बईतिर) पुग्दा गुण्डा, बद्मास या मसहुर हुल्याहाको भागमा कसरी प¥यो, बुझन सकिँदैन । त्यतापट्टि नलागी हामी चाहिँ नेपाली ‘दादा’ तिरै फर्कूँ । नेपालमा पहिले छापिएको (१९९८) चक्रपाणि चालिसेको ‘नेपाली बगली कोश’मा दादा शब्द छैन । तर, त्यसभन्दा झ्ण्डै दश वर्षअघि छापिएको टर्नरको नेपाली डिक्स्नेरीमा भने यो शब्दको प्रविष्टि छ । अर्थ उही छ, कमाराका लागिको आदरार्थी शब्द । अनि पछिबाट दाजु भन्ने अर्थ पनि दिइएको छ, त्यहाँ । दादा त भयो नै, टर्नरले दादी पनि दिएका छन् । अर्थ छ, “ओल्ड स्लेभ उमन” (बूढी कमारी) । बालचन्द्र शर्माले पनि दादालाई प्रवेश गराएका छन् आफ्नो कोशमा, अर्थ दिइएको छ, “दाइ, दाजु (बालबोलीमा); कमाराका लागि आदरार्थी शब्द” भन्ने ।

नेपाली बृहत् शब्दकोश (प्रज्ञा–प्रतिष्ठान) ले पनि दादालाई छाड्न सकेन । अर्थ उही दियो तर ‘दादागिरी’ भन्ने शब्द थपेर जसलाई बलप्रयोग गर्ने बद्माससँग जोडिदिएको छ । प्रज्ञाले दाइ पनि दादा पनि दुवैलाई संस्कृतको ‘दायाद’ (अंशियार) ले जन्माएको भनेको छ । महानन्द सापकोटाले पनि यी दुई शब्दलाई ‘दायाद’ कै सन्तान मानेका छन् । तर दाजु, दाइ, दाजीलाई माने पनि दादालाई उनले आफ्नो ‘नेपाली शब्द परिचय’ (२०३४) मा भिœयाएका छैनन् । समुद्रपारका नेपाली विद्वान् फादर विल्यम बर्कले आफ्नो ‘सही शब्द’ (१९९४ ई.) (पर्यायवाची शब्दकोश) मा दाज्युको दाइ, दाज्यैका साथ दादालाई पनि पर्यायवाची मानेर हालेका छन् । नेपालीमा दाजु र दाजी सँगसँगै भेटिन्छन् । तर नेपाली घरहरूमा ‘दाजी’ भन्ने शब्द अचेल उति सुनिँदैन । केही कालअघिसम्म नेपाली अभिजात्य वर्ग (राणा, शाह) हरूमा चल्थ्यो यो शब्द । उनीहरू दाजुलाई दाजी भन्थे, सर्वसाधारणले दाइ भने जस्तो । त्यो दाजी दाइजीको अपभ्रंश हो कि भन्नलाई आर.डी. चटौतको ‘डोट्याली शब्दकोश’ले बाटो छेक्छ । भन्छ, डोटीमा दाजी, दाजि, त्यहाँ पैलेदेखि नै चलेको हो रे !

दाजिलाई छाडेर हामी फेरि दादामै आऊँ । दादा बङ्गालीमा बढी चलेको छ, भनियो माथि । त्यसो हो भने त्यहाँ (कोशमा) यसका व्युत्पत्तिमा के दिएको रहेछ भनेर हेरेँ मैले । सन् १९४० भन्दा पहिले आशुतोष देवले निकालेको ‘नूतन बाङ्ला अभिधान’ भन्ने कोश छ । त्यहाँ दादाको तल ‘फार्सी’ भनेर लेखिएको छ । त्यसको माने उनका हिसाबले ‘दादा’ शब्द फार्सीबाट आएको हो भन्ने भयो । फार्सीमा आफ्नो गति नभएकाले मैले फार्सीको सन्तान उर्दूको लुगात (कोश) पल्टाएँ । तर उर्दूमा दादा भन्ने शब्द नै छैन ! हिन्दीमा छ, यो शब्द उर्दूमा छैन भनेपछि हिन्दीमा यो कसरी आयो त भनी खोजी हेर्नु पर्यो मैले । काशी नागरी प्रचारिणी सभाले १९१६ ई.मा प्रकाशन गरेको (४ भाग भएको) ‘हिन्दी शब्दसागर’ मा सम्पादक श्यामसुन्दर दासले दादाको जन्म संस्कृतको ‘तात’ बाट भएको भनी मानेको देखियो । तर हामी यस्तो विद्वत्ताको झ्मेलामा नपसूँ । दादालाई हामीले राख्ने कि फाल्ने भन्ने मात्र हेरुँ ।

नेपालीमा हामी बाजेलाई दादा भन्दैनौँ । गुण्डासुण्डाका लागि पनि हामीसँग आफ्नै हुल्याहा शब्द छँदैछ, हिन्दी फिल्मका दादा हामीलाई किन चाहियो ? अब हाम्रामा कमारा या करिया पनि रहेनन्, माया गरेर हामीले दादालाई पाली राख्नाको औचित्य छैन । दाजुलाई दादा भन्दा रहेछौँ हामी कतै कतै तर अत्यल्प सङ्ख्यामा । भनेपछि हामीलाई दादा चाहिएन भनी घोषणा किन नगर्ने ? गर्न हुन्थ्यो । तर मलाई ड्याग पर्छ । मलाई रातो बङ्गला स्कूलका विद्यार्थी, गुरु, गुरुआमाहरू र निकै जना अभिभावकहरू समेत दादा या दादाजी भन्छन् । उनीहरूको भोक्याबुलरी (शब्दभण्डार) बाट यो शब्द झिकी दिने हो भने म कहाँ रहुँला ? त्यही द्विविधा भो !

यसलाई अलि अथ्र्याऔँ । म दादा नै कसरी भएँ त्यो भनूँ । हाम्रो घर पहिलेदेखि नै हिन्दी भन्दा बङ्गाली भाषाको नजिक थियो । त्यसैले बङ्गालीको सिको गरेर मेरा भाइबहिनीले मलाई दादा भने । काकाफुपूहरूले दादा भनेकाले मेरा छोराछोरी र दाजुभाइका छोराछोरीको पनि म दादा नै भएँ । हुँदाहुँदा बुहारीहरू, ज्वाईँहरू र नातिनातिना, भाञ्जाभाञ्जीको पनि म दादा हुनपुगेँ । यस्तैमा रातो बङ्गला स्कूल खुल्यो । म त्यहाँ शिक्षक भएँ । प्रिन्सिपलहरूले मलाई दादा भनेको सुनेर गुरुगुरुआमाले पनि नाम काढेर ‘कमल सर’ भन्न सकेनन् । बरु प्रिन्सिपल र डाइरेक्टरहरूले भन्ने दादामा ‘जी’ थपे उनीहरूले । अनि म दादाजी भएँ । यो दादाजीलाई अब म फाल्न सक्तिनँ । म त फाल्न सक्तिनँ यो ‘दादाजी’ भैहाल्यो । तर आमापट्टिको मामा न बाबुपट्टिको काका यो, नेपाली भाषाले फालिदिए हुन्न यो शब्द– ‘दादा’ ?

२०६१ असोज १८

Thulo Ghar – Kamal Dixit

कमल दीक्षित – ठूलो घर
( हिमाल खबरपत्रिका)

त्यसो त त्यो घर ठूलै थियो सामान्य नेपाली घरभन्दा। चोकको चौगिर्दा घर थियो। साथै थप-घर, पुलघर र चौर, बारी, गोठ, तबेला अनि मोटर ग्यारेज समेत थिए। तर त्यसलाई आकारले मात्र ठूलो घर भनिएको होइन। अनेकार्थी थियो त्यो ठूलो भन्ने विशेषण― जेठो (थकाली) को घर, ठूलो मान्छे बस्ने घर, धेरै जनाको घर, शक्तिसम्पन्न घर …। परिवार र आफन्तले मात्र होइन, बाहिरकाले पनि त्यसलाई ठूलो घर नै भन्थे। त्यो घर मणि परिवारको थियो। मणि परिवारमा पनि, शिरोमणिका माहिला छोरा, राणा प्राइमिनिष्टर चन्द्रशमशेर महाराजका प्रियपात्र बाबे को। बाबे भनेको काशीनाथ आ.दी.। तर नेपालभरि उनी माहिला पण्डित का नामले चिनिन्थे। नेपाल बिगार्ने तीन माइला भनेर विरोधीहरूले नाम राखेकामध्ये एक थिए, काशीनाथ। अभिलेखका लागि भनिराखूँ, अरू दुई माइला थिए― माइला गुर्जु हेमराज पाण्डे र माइला जर्नेल बबरशमशेर। उनीहरूले के कसरी नेपाल बिगारे थाहा छैन, तर चन्द्रशमशेरलाई मन नपराउनेले त्यसै भन्थे रे।

मणि परिवार भनेको मणि आचार्य दीक्षित हरू। हाम्रो थर आचार्य, त्यसमा दीक्षित जोडिन आयो शिरोमणिले सोमयाग यज्ञ गरेपछि संवत् १९५६ सालमा। त्यसै बेलादेखि हामीले आफ्नो नामका नाथ र प्रसाद फालेर मणि जोड्न थाल्यौं, बाजे शिरोमणिको नाम चलाउन। रातारात रामनाथ आचार्य राममणि आचार्य दीक्षित भए, भरतप्रसाद आचार्य― भरतमणि आचार्य दीक्षित। त्यसपछि यो परिवार नेपालको ब्राम्हण समाजमा मणि-फेट भनेर चिनिन थाल्यो, सबैजना एकैठाउँमा गुजुमुच्च भएर बस्ने भएर हो कि किन हो थाहा छैन। त्यो मणि-फेट भन्ने नाम २०१० सालतिरसम्म कायमै थियो। त्यसपछि कसरी कसरी हामीहरू दीक्षित परिवार भनेर चिनिन थाल्यौं। सबै गरेर ऐले दीक्षित परिवारमा करिब दुईसय जति हौंला। यो सङ्ख्या नेपालको परिप्रेक्ष्यमा त्यति धेरै होइन, तर पुरानै नाताले होला दीक्षितहरूको एउटा छुट्टै पहिचान भएको छ। हुनत ऐले दीक्षितहरू सबै एकै गोलामा छैनन्, छरिएका छन् नेपालमा र बाहिर पनि। तर उस बेला सबै एकैठाउँमा थिए। भन्सारहिटी भनिन्थ्यो गैरीधारालाई। त्यहीं थियो काशीनाथ माइला पण्डित को त्यो ठूलो घर पनि। त्यो घर त्यस बेला धन-जनले पूर्ण थियो। एकै पत्नीबाट जन्मेका उनका सात जना छोरा थिए। ती सातै जना र एउटा नाति समेत आठ जना सरकारी जागिरमा थिए― महाराजका प्रियपात्र या कुनै ठूलै अड्डाका हाकिम। जग्गाजमिन मनग्गे थियो, पहाडमा पनि मधेशमा पनि। रसदपानी किन्नु पर्दैनथ्यो। कुनै कुराको कमी थिएन। ४०/५० जना नाति-नातिना, पनाति-पनातिनी हुनाले घर सधैँ ग्याउँग्याउँ हुन्थ्यो। सबै एउटै भान्छामा खान्थे। नोकरचाकरहरू सबैका छुट्टाछुट्टै हुँदाहुँदै पनि सबै सगोलमा थिए। अझ् १९८२ सालमा करिया अमलेख नहुँदासम्म त कमारा कमारी नै पचास जनाभन्दा बढी थिए

अरे! रोबरवाफ अदब काइदा सबै राणाजीका घरको सिको गरिएको ठूलो घरमा दुई-तीन तहका त ढोके पाले नै रहन्थे। त्यहाँभित्र छिर्न र बाहिर निस्कन गाह्रो थियो। त्यसैले ढोका बाहिरै ढुकेर चाकरी गर्नेको हुल पनि कम्ती हुँदैनथ्यो रे! 
तर त्यो सबै समाप्त भयो १९८६ सालपछि। त्यस साल मङ्सिरमा मणिहरूका मालिक महाराज चन्द्रशमशेर दिवङ्गत भए। नेपालका हर्ताकर्ता भएर मणिहरूसँग चिढिएका भीमशमशेर उदाए। मणिहरू दाइमहाराजको पुठ पाएर मलाई हेप्छन् भन्ने उनको मनमा छाप परेको थियो। त्यसैले आफ्नो हातमा पावर आउनासाथ मणिहरूमाथि ईखइबी फेर्न थाले उनले। माइला पण्डित का माहिला छोरा भरतमणि धपाइए। साहिला छोरा लक्ष्मणमणिलाई कुमारी चोक लगाइयो, अर्थात् भ्रष्टाचार गरेको, रकमकलम हिनामिना या बेरुजु राखेको इत्यादि भनी ६० हजार रुपैयाँ बिगो र जरिवाना तिर्नुपर्ने गरी मुद्दा ठहर गरियो। त्यसका लागि सगोलको घर नै सर्वस्व हुनेभयो। अरू छोराहरूका पनि जागिरहरू खोसिए। केवल ठूलोकान्छा छोरा नरेन्द्रमणि बचे। उनी त्रिचन्द्र कलेजमा पढाउने, भीमशमशेरका नातिहरूका पनि गुरु भएकाले उनको जागिर सुरक्षित रह्यो। पछि घर सर्वस्व हुने निर्णयसम्म माइला पण्डितले टङ्गालदरबारमा गई महाराजका अगाडि भुइँमा लडीबुडी गर्न लगाएपछि माफी भयो! दुई-तीन वर्षमा भीमशमशेर परलोक हुँदासम्म मणिहरूको ठूलो घर भताभुङ्ग भइसकेको थियो। एउटै भान्छामा खानेहरू सातटा छुट्टाछुट्टै भान्छामा खान थाले। ठूलो घरका कोठा, चोटा, चोक, बारी आठ बण्डा भए। साथै खेल्ने केटाकेटी कोही कता कोही कता भए! त्यस घरको सगोल परिवार खगोल जस्तै टाढाटाढा हुनपुग्यो। एउटा चुम्बकले अड्याएर राखेको वस्तु चुम्बक हटाएपछि छरपष्ट भएझ्ैं मणिहरूको ठूलो घर फुटेर टुक्राटुक्रा भयो। शक्तिशाली माइला पण्डित को बल भन्नु नै सिंहदरबारको प्रताप रहेछ। त्यो नरहेपछि शक्तिहीन भएका उनी आफ्नै परिवारलाई समेटेर राख्न समेत अक्षम भए।

शक्तिको मुहान सुकेपछि सगोल परिवार टुक्रिने यो नियति माइला पण्डित को परिवारको मात्र थिएन, साँध जोडिएका सरदार मीनबहादुर राजभण्डारीको पनि थियो, शिवराज पुरेत, सत्यालहरूको र शमशेर थापा खलकको पनि थियो। मणि परिवारको त्यो ठूलो घरको ऐले ७०/८० वर्षपछि गन्ध पनि भेटिँदैन। त्यही घरमा म जन्मेको थिएँ― दक्षिण पश्चिमपट्टिको एउटा कोठामा। मैले मणिहरूको त्यो वैभव त देख्न पाइनँ। तर हुर्किंदै आउँदा सगोल परिवारको केही मिठास भने चाख्न पाएको थिएँ। दाजुभाइ छुट्टिसकेका भएपनि र सबैको आ-आफ्नै चोटाकोठा भए पनि चोक, चौर र बारीहरू साझ्ा जस्तै थिए। त्यहाँ हामी केटाकेटीहरू जम्मा भएर खेल्थ्यौँ। गुरुहरू आउँथे, माष्टरसाहेब आउँथे, सबै केटाकेटीहरूलाई एकै साथ पढाउँथे। आठ-दश जनाको डफ्फामा स्कूल जाने छोराहरू एकैसाथ जान्थे हिँडेर दरबार स्कूलसम्म। म पनि १९९४ सालमा स्कूलमा भर्ना भएपछि त्यसैगरी गएको हुँ। दरबार स्कूल जाने हाम्रा दुई बाटा थिए― नक्साल हात्तीसारको बाटो या लैनचौर जमलको बाटो। कुन दिन कुन बाटो जाने भन्ने तय गर्ने काम डफ्फाको जेठोको हुन्थ्यो। मैले सम्झेसम्म त्यो काम जहिले पनि कुमारबा ले गर्नुहुन्थ्यो, काका कुमारमणिजीले। मणि खलकमा, ठूलो घर मा मात्र होइन सबैतिर, बिहान-बेलुकी सानाले आफ्ना मान्यजनका कोठाकोठामा गई ढोग्नुपर्दथ्यो। अनिवार्य थियो त्यो नियम। त्यस्तै अनिवार्य थियो― ब्रतबन्ध गरेका जतिले बिहान नुहाएर पूजाकोठामा पस्नु र पूजा नगरे पनि सन्जे गर्नु। अर्को एउटा रमाइलो नियम थियो― स्कूलको जाँच अर्थात् वार्षिक परीक्षाहरू दिन जाँदा सकेसम्म सबै मान्यजनलाई ढोगी आशीर्वाद लिएर जानु। त्यसरी जाँदा आमाहरूले सगुन दिनुपर्थ्यो केही खानेकुरा। अनुशासनको राम्रो पाठ थियो त्यो भन्ने लाग्छ ऐले मलाई। दशैँको रौनक अर्कै हुन्थ्यो ठूलो घर मा। टीकाका दिन मणि (दीक्षित) हरू सबैले त्यहीं जम्मा भएर टीका लगाउनुपर्थ्यो। यो नियम थकाली भएका माइला पण्डित ले नै चलाएका थिए। उनी जेठो भएकाले पाँचै भाइका सन्तानले बिहानै ठूलो घर मा पुग्नुपर्थ्यो टीका थाप्न। यो प्रथा ऐलेसम्म सूक्ष्म रूपमै भए पनि चलिरहेछ। परिवारको जेठाको घरमा सबैले जम्मा भएर टीका लगाउने, घरघरमा धाउनै नपर्ने। ऐले माइला पण्डित का सन्तानहरू सबै हालका थकाली मदनबा (मदनमणिजी) को घरमा पुग्छौं र टीका आदानप्रदान गर्छौं। पैले मैले थाहा पाउँदा थकाली हाम्रो आफूबा (राममणि) हुनुहुन्थ्यो। उहाँको ठूलो बैठकमा सयजना जति मान्छे थुप्रिन्थे। खुट्टा राख्ने ठाउँ हुन्नथ्यो त्यहाँ त्यसबेला।

मणि परिवारमा माइला पण्डित बाजे ले यो चलन आफ्ना प्रभू राणाहरूबाटै सिकेका थिए। राणा परिवारका सत्रै भाइका खलकले सिंहदरबारमा पुग्नुपर्थ्यो महाराजका बाहुलीबाट टीका थाप्न। त्यसबाट सबैलाई फाइदा थियो― एक त महाराजको दर्शन पाइन्थ्यो नजिकैबाट, अर्को सबैका टीका लगाउने काम यतै सकिन्थ्यो, छुट्टाछुट्टै दरबारमा धाउनुपर्दैनथ्यो। त्यही नियम लगाइदिएका थिए माइला पण्डित ले पनि― थकालीका घरमा पुगेर टीका थापे पुग्ने, घरघरमा जानु नपर्ने। त्यस्तो चलन चलाउनमा माइला पण्डित को स्वार्थ पनि थियो त्यति बेला। त्यो के भने, उनी तथा उनका छोरानातिले सकेसम्म छिटै सिंहदरबार पुग्नुपर्थ्यो टीका थाप्न, यताउति अल्मलिन मिल्दैनथ्यो। महाराजको अत्यन्त निकट मानिएकाले उनीहरू कुनै रोलवाला या सत्र भाइ राणाजीकहाँ टीका थाप्न पुगेनन् भने महाराजकहाँ उजुरी पर्थ्योः सरकार, माइला पण्डितका छोराहरू यसपाला मकहाँ टीका थाप्न आएनन् भन्ने। त्यसो हुनाको कारण फेरि अर्को थियो। मणिहरू कुनै ढोका पुग्नु र नपुग्नुको अर्थ महाराज चन्द्र आफूसँग प्रसन्न छन् या छैनन् भनेर बुझथे राणाजीहरू। महाराजको ईशारा पाएर या उनको आशय मात्र बुझेर पनि (जेठा) मणिहरू कुनैकुनै ढोका मा नजाने गर्दथे। यो पनि चन्द्रशमशेरको शासनकालको एउटा कूटनीति नै थियो भनौं।

मणि या दीक्षितहरू दुई-चार सय सालअघि जुम्लाबाट उदाए आचार्य भएर। जुम्लाबाट आचार्यहरू पूर्व लाग्दै आउँदा कोही न्यौपाने, कोही बास्कोटा, कोही पराजुली इत्यादि हुँदै गए। लमजुङ, पोखरा, गोर्खा, धादिङ हँुदै काठमाडौं उपत्यकाको उत्तरपश्चिम मुडखुको डुग्रने पानी मा आएर बसेका थिए शिरोमणिका पुर्खा। पेशाले ज्योतिष पण्डित थिए उनीहरू। बिस्तारै उनीहरूको प्रवेश दरबारमा भयो पूजाकोठे भएर। राजदरबारबाट उनीहरू राणा दरबारमा भित्रिए भित्रिया भएर। सत्र भाइका बाबु धीरशमशेरका छोराहरूका एक्का भएका थिए उनीहरू। वीरशमशेरको आर्थिक सहयोगले काशीमा ठूलो यज्ञ, सोमयाग गरेर शिरोमणि सोमयाजी बने। त्यहीं महामहोपाध्याय ब्राम्हणहरूबाट दीक्षा लिएरउनी दीक्षित भए। अनि, उनका सन्तानले उनकै सम्मानमा आफ्नो नाममा मणि समेत जोडेर मणि आचार्य दीक्षित कहलाउन थाले। त्यो परिवार राणा शासनकालभरि निकै शक्तिशाली रह्यो। राणाको अवसानपछि अब विभिन्न पेशा अपनाएर उनीहरूले केही विशिष्टता कमाउन थालेका छन्। विभिन्न प्रकारले उनीहरू देशको सेवा गर्दैछन्। सबै जना नेपालमै सीमित पनि छैनन्, नयाँ हावाले कतिपयलाई विभिन्न मुलुकमा पुर्‍याएको छ। मैले बुझेसम्म यही हो― ठूलो घर को मणि या दीक्षित परिवार।

हिमाल खबरपत्रिका
१६-३१ भदौ २०६६

Chiththi Le Jurai Diyeko Mitrata – Kamal Dixit

कमल दीक्षित – चिठीले जुराइदिएको मित्रता
(हिमाल खबरपत्रिका)

परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला त्यस क्षेत्रको नाम आसाम थिएन, कामरुपीठ थियो। ती चारजनाको यात्रा सोद्देश्य थियो। मत्स्येन्द्रनाथलाई लिएर आउन भनी उनीहरू त्यता लागेका थिए। उनीहरू कुन बाटो, कति दिन लगाएर त्यहाँ कैले पुगे र कसरी फर्के त्यसको कुनै लेखाजोखा छैन, तर दुई–तीन पटकको असफलतापछि बल्लबल्ल उनीहरू मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याउन सफल भए भन्ने चाहिँ देखिन्छ। भमराका रूपमा एउटा सुवर्णकलशमा थुनेर उनीहरूले मत्स्येन्द्रनाथलाई यहाँ ल्याइपुर्‍याए। नेपाल (उपत्यका) मा नागासन जमाई बसेका गोरखनाथयोगी आफ्ना अग्रज गुरु मत्स्येन्द्रनाथ आएको देखी आसनबाट उठे, अनि त्यहाँ बाँधिएका नागहरू फुत्के। त्यति भएपछि नेपालमा रोकिएको वर्षा फुक्का भयो र खडेरी टर्‍यो। यो कथ्य कति इतिहास हो थाहा छैन, तर पुराण चाहिँ होयो। अनि लिच्छविकालदेखि यस उपत्यकामा चल्दै आएको मत्स्येन्द्रनाथको जात्रा र मत्स्येन्द्रनाथका मन्दिरहरू पनि पक्कै वास्तविक हुन्।

अब अतीतबाट उफ्रेर वर्तमानमा आऊँ भने, मैले आफू आसाम पुगेको विवरण दिनुपर्नेछ। सीमा जोडिएका दार्जीलिङ पुग्नुभन्दा पनि पैले मैले आसामयात्रा गरेको हुँ (सन् १९५०) २००७ सालमा। यो कुरा ऐले किन उठाउनु पर्‍यो भने हिमाल ले पूर्वोत्तर भारतका बारेमा चासो लिएको थाहा पाएपछि मैले पनि आफूभित्र खोजिपसेँ– मेरो सम्बन्ध आसामतिर कैले जोडियो भनेर। करीब पचास वर्षको निरन्तर पत्राचार (पत्रमित्रता) यसको कडी रहेछ। गौहाटीका लीलबहादुर छेत्री र सी.बी. गुरुङ, मोतीलाल छेत्री, डिगबोईका अग्निबहादुर छेत्री, हरिभक्त कटुवाल, शिलाङका मणिसिंह थापादेखि कृष्णप्रसाद ज्ञवाली, गोपीनारायण प्रधान हुँदै नागाल्याण्डका हरिप्रसाद गोर्खाराई अनि मिजोरमको लक्ष्मी ‘मीनू’सँग सम्म भएका पत्राचारले मेरो यो चासोलाई मलजल गरेको हो। भनूँः भारतको सुदूरपूर्वी राज्य नागाल्याण्डबाट एकजना नेपाली साहित्यिक, रोहित गौतमले मलाई ४७ बुँदाको एउटा प्रश्नावली पठाए २०६२ साल (सन् २००५ सेप्टेम्बर) मा। अचम्म लाग्यो। नागाल्याण्डमा बस्ने यी तन्नेरीलाई नेपालको कमल दीक्षितमाथि त्यति चासो किन लाग्यो? म अलि दिन त्यसै बसेँ। तर गौतमजीले मलाई फोनै गरेर ताकिता गरे। अनि मैले जे–जे हुन्छ लेखेर उनको प्रश्नका उत्तर पठाएँ। पछि त्यो समग्र छापियो– गुवाहाटीबाट प्रकाशित हुने पत्रिका “हाम्रो ध्वनि” (नोभेम्बर २००५) मा।

यसरी रोहित गौतमले मात्र होइन, भारतका पूर्वी राज्यहरूमा बसोबास गर्ने निकैजना नेपालीले मलाई भन्छन्– तपाईंलाई यताहुँदो धेरैले चिन्छन्। तर त्यो ‘चिन्छन्’ भित्र देखादेख बोलचाल पर्दैन, केवल कमल दीक्षित भन्ने नामसँग परिचित छन् उनीहरू। र, त्यसको मुख्य श्रेय २०१२ सालमा छापिएको उसबेलाको गौहाटीको एउटा विद्यार्थीको किताबले पाउँछ। लीलबहादुर छेत्री भन्ने एउटा कसैले नचिनेको ‘केटा’को किताब त्यतिबेला कसैले नामसम्म नसुनेको नेपालको एउटा ‘लाइब्रेरी’ ले छापिदियो– मदन पुरस्कार पुस्तकालयले। त्यो पुस्तकालयको ‘हर्ताकर्ता’ भएको म, त्यसै चर्चित हुनपुगेँ असमतिर। त्यो चर्चा सेलाएन। ऐलेसम्म पनि त्यसको ‘डिभिडेन्ड’ खाँदैछु म। असमतिर मात्र होइन दार्जीलिङ डुवर्स भेकमा पनि कमल दीक्षित चिनिन्छ। २०२० सालतिर हो, मदन मेमोरियल गर्ल्स स्कूल (हालको मदनस्मारक मावि) की शिक्षिका कुमारी विष्णु वाइबा स्कूलको विदामा आफ्नो घर गइन्– दार्जीलिङ। फर्केर आएपछि उनले मलाई भनिन्, “दीक्षितजी, तपाईंलाई हाम्रो उतातिर धेरैले चिन्दा रहेछन्। धेरैले मलाई तपाईंबारेमा सोधे। मैले उहाँ हाम्रो स्कूलका सेक्रेटरी हुनुहुन्छ भन्दा उनीहरूले अचम्म माने इत्यादि।” पछिकी प्रख्यात् ‘पारिजात’, कुमारी विष्णु वाइबा, त्यसपछि मसँग अलि नजिकिएकी थिइन्। नत्रभने, उनका लागि म एकजना ‘स्कूल सेक्रेटरी’भन्दा बढी केही थिइनँ! यसरी म पूर्वोत्तर भारतमा चिनिनुमा मेरो आफ्नो खुबी केही थिएन भनिहालेँ, थियो भने त्यो मेरो चिठी लेख्ने कलमको देन थियो। स्कूलमा पढ्ने बेलादेखि लागेको ‘पेन फ्रेण्ड’ (पत्रमित्रता) को चस्काले मलाई पछि पनि छाडेन। मैले चिठीहरू लेख्न छाडिनँ। खास गरेर कवि लेखकहरूको ठेगाना पायो कि म चिठी लेखिहाल्थेँ। अनि आएको चिठीको पहुँच पठाइहाल्नुलाई मैले आफ्नो कर्तव्य जस्तो मानेको थिएँ। नेपालका लागि यो अलि नौलो कुरा भएछ। आफूले लेखेको चिठीको जवाफ नेपाल, अर्थात् काठमाडौँ खाल्डोबाट पाउने आश गर्दा रहेनछन्– बाहिरका नेपालीहरू। त्यसमा ‘अपवाद’ हुनपुगेछ यो क.दी.। असमबाट मैले एउटा ‘पदक’ पाएको छु। त्यतातिरका नेपालीहरूबीच पत्र आदानप्रदान अथवा कुराकानीका सिलसिलामा भनिँदोरहेछ– ‘नेपालबाट चिठीको जवाफ या पठाएका किताब/पत्रपत्रिकाको पहुँच दिने एकै जना मात्र छन्– कमल दीक्षित।’ यस्ता कुरा सुन्दा म निकै फुर्किएको छु कैयौँ पटक।

सबभन्दा पहिले म असम, त्यसबेलाको आसाम पुगेको हुँ गौहाटीमा। मेरो आमाको भाकल रहेछ, कामाक्षा भगवती मन्दिरमा र कलकत्ताबाट डेकोटा हवाईजहाज चढी हामी गौहाटीको एयरपोर्टमा ओर्लेका थियौँ– मेरा बाबा आमा र म हामी तीन जना। त्यो सन् १९५० थियो भनेर माथि नै भनिसकियो। गौहाटी त्यसबेलासम्म एउटा गाउँले बस्ती जस्तो मात्र थियो। कामाक्षा मन्दिरसम्म जाने मोटर बाटो पनि बनेको थिएन। मन्दिरको तल पहाडको फेदीबाट हिँडेरै उक्लेका थियौँ हामी। बस्ने प्रबन्ध पनि राम्रो थिएन गौहाटीमा। नाम मात्रको होटल थियो एउटा, त्यसैमा दुई रात काटेर हामी कलकत्ता फर्केका थियौँ। त्यसबेला त्यहाँ हामीले नेपाली कोही भेटेनौँ– ‘लालमोहरिया नेपाली पण्डा’ बाहेक। यसपछि म गौहाटी पुगेँ सिलगढीबाट रेल चढेर, सन् १९७० मा। यो भ्रमण रानी जगदम्बाको ‘तीर्थयात्रा’ थियो। त्यसैले यात्रा कामाख्या दर्शनमै सीमित रह्यो। तर यसपटक भने गौहाटी वरिपरिका ४०/५० जना नेपालीहरूसँग भेट भयो। मदन पुरस्कारले गर्दा रानी जगदम्बाको नाम चलिसकेको रहेछ त्यतातिर। अनि यात्रासाहित्यका लेखकका नाताले मेरा पिताजीलाई अनि, ‘बसाइँ’ का प्रकाशकका हिसाबले मलाई पनि असमहुँदो धेरैले चिनिसकेका रहेछन्। त्यही सबै हुँदा गौहाटी रेल्वे स्टेशनको माथ्लोतलाका कोठा, त्यहाँको कौसी भरी भएका थिए असमिया नेपालीहरू। त्यसबखत फोटो पनि खिच्न भ्याएको थिएँ मैले। त्यो फोटो ‘नेपाली’ त्रैमासिकको पूर्णाङ्क ४७ मा पनि छापिएको थियो मेरा पिताजी केदारमणि आ. दीक्षितको ‘कामाक्षा र दार्जीलिङ यात्रा’ भन्ने लेखमा।

त्यसपछि त निकै पटक पुगिसकेँ म गौहाटी (अचेलको गुवाहाटी)। त्यहाँबाट माथि शिलाङसम्म गएको छु। तर यसभन्दा अगाडि भने कतै पुग्न पाएको छैन। भए पनि, यति धेरै असमिया, नेपालीहरूसँग चिठीपत्र हुन्छ मेरो म आफू नपुगेको जस्तो लाग्दैन। दिब्रुगढ, डिगबोइ, जोरहाट, इम्फाल, मणिपुर इत्यादि सबै नाम मलाई रैथाने जस्ता लाग्छन्! यो पूर्वोत्तर भारततिरको मेरो मोह उब्जाइदिने काम भने मुख्यतः बनारसबाट प्रकाशित हुने ‘उदय’ र ‘युगवाणी’ पत्रिकाले गरेका हुन्। अझ केटाकेटीमै पढ्न पाएको ‘गोर्खा संसार’, ‘तरुण गोर्खा’ लाई पनि सम्झनुपर्छ मैले यहाँ। ती पत्रपत्रिकाहरूमा कथा, कविता, निबन्धहरू लेख्ने निकै नामका पछाडि भारतको पूर्वोत्तरका शहर या गाउँहरूको उल्लेख हुने हुनाले ती नामहरूसँग पनि आत्मीयता गाँसिएको थियो मेरो। आसामको बिहाली, तेजपुर, बूढी गाउँ जस्ता नाउँहरू उसैबेलादेखि मेरा मनमा ओखलढुङ्गा, रामेछाप या पाल्पा पोखरा जस्तै हुनपुगेका थिए। भीष्मप्रसाद उपाध्याय, महानन्द सापकोटा, जगन्नाथ गुरागाइँ, फलाना मेजर या सुवेदारहरूका नाम पनि आफन्त झैँ लाग्न थालेका थिए मलाई।

१ असोज, २०६३