Poem – Ughrera Bigreko Bihan

रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,
धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन !
धोएको छ हवा, तथापि धनको यो व्योममा आसन !
टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए !
चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए !
यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा !
तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा !
बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर !
छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर !
रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब !
आँधी हो कि कराउने ? विफल भो विस्फोटको, गौरव !
काँपी थुर्थुरि घाम भाग्छु दुनियाँ आशा टुसैमा मरी !
आगो बाल्नुप¥यो घरैघर बसी, को खप्छ यो थुर्थुरी !

Poem – Manis Birat

क.
सहस्रशीर्ष, सहस्रपाद !
झल्किरहेछ एक विराट् !

ख.
अल्प सहस्र संवत्सरले केवल, जिनतिन,
अल्पोच्चोरित,
उसका इङ्गित
हामी सारा नेपाली हुँ !
हाम्रो देश छ हाल,
एक अनाविष्कृत केवल,
एक अनुच्चारित, कल्पनु
परको, लोक कमाल !
अदृष्ट विशाल ! नेपाल !

ग.
नागहृद्मा वनकणीमा,
मानिस जन्म्यो,
हरियो फूल !
सम्भावनाको क्षितिजद्धारमा,
प्रथम पर्वतको यो किनारमा !
माछो, कछुवा, वराह र वामन,
बन्दै दारमा !
सिंढी चढ्दो, बढ्दो अगाडि,
पूर्ण पछाडि, पुकारमा !

घ.
माटो फूल भो
ओठको लागि !
बास्नी खुल्न !
फूल, चरा भो,
उड्न र बोल्न !
पछि भो पन्छी,
सुन्दरलाई,
पिउन, उछल्न !
मानिस हुन गो !
मुटु विराट्को
छाम्न, छिचोल्न !

ङ.
कोरा मानिस, हिउँको थुप्रो !
खाडी, बाढी !
मानव–पदार्थ सब–माटो, हावा,
अग्नि अनादि !

च.
विकृत मानिस, सर्प, भ्यागुता,
गोही, डाँस !
घूँघा, गधा !
या सिस्नो, बाँस !
मानिस एउटा बनिरहेछ !
‘सोऽहं, सोऽहं !’ भनिरहेछ !

छ.
हामी तारा धूली धुलेका,
मन्दोष्ण कणी,
ताराका हुँ हामी पनाति,
नेबुलाका हामी जनाति,
सूर्यका नाति,
पृथ्वीका छोरा ।
चन्द्रका भाइ, बहिनी पनि !
स्वर गङ्गामा !
पछिको पोषण सार यहाँ छ !
पृथिवीमा !
यहाँ विराट्को एउटै मुटुको
ढुकढुक चल्छ !
कोटी पादले कोही चल्छ ।
कोटी शीर्षले कोही टटोल्छ ।
कोही बोल्छ ।

ज.
बहिनी रेणु ! दाज्यू हिमाल !
हामी उसका जीवकणी हुँ !
एउटै मानिस सबमा दुगुर्छ,
प्रति चेष्टाले उसका, हामी,
एक एकमा एक अनन्त,
अखिल धनी हुँ !

झ.
मिरमिर मानिस माटोमा छ !
तिरमिर मानिस सूर्य किरणमा !
छिरबिर मानिस वनमा त्यहाँ छ !
एउटा मानिस झल्किरहेछ,
सब वस्तुमा, सब जनमा !

ञ.
पूरा, अधूरा
मिरमिर ! किरमिर !
एउटा मुटुको ढुकढुक, ढुकढुक !
एक कल्पना, छिर िबर, छिरबिर !
एक रुधिरको धावन, सिरसिर !

ट.
विश्वहरुको जोड गरीकन,
एउटा विश्व बन्यो !
विश्वहरुका राजा मिलीकन
एउटा राजा बन्यो !

ठ.
एउटा मानिस ढाक्दछ नेपाल !
थल, जल, आकाश !
निल्दछ देश र निल्दछ काल !
बन्छ विशाल !
विश्व जीवनीको गाना गाउँछ !
मीठो ठाँट !
मानिस विराट् !

Poem – Yug Balak

पिन्चे, लुत्याहा, परेवा–छाती
छाडा,
पुट्ट, सिँगाने, भुस्याहा साथी,
काँढा !
घ्यारघ्यार बिरालोको घाँटी,
जाँडा ।
यही न हाम्रो भविष्य सुई हो !
टाढा !
देवदूतले अभिशापित भुइँ हो,
गाढा,
ईश्वरलाई दुःख दिन दुई छन्,
राँडा ।
चित्र रङ्गीन उज्याला हेर्दछु,
बाल !
स्याउ फलेका, अनार फुटेका
लाल !
कसरी आउला नवीन सुनौला
छाल ?
यस्तो यत्रो देवदूतको
हेला ?
यो लापर्वाही, यो लाचारी,
मेला ?
“आउँदैनौँ” भने ती यसतिर फेरि
जेलाँ ?
सुन्दर झर्ने कसरी असुन्दर
भेला ?

Poem – Aho Malai Tajoob Lagchha

क.
थलथल माछो नृसिंह जाग्छ !
वानस्पत अणु मङ्गल माग्छ !
बानर एउटा चन्द्रमा ताक्छ !
अहो ! मलाई ताजूब लाग्छ !

ख.
मृतकणी औ किरणको शादी,
थियो अगाडि !
एक प्यारको स्पन्दन जाग्छ !
कस्तो त्यसको सन्तति अगणित,
दुनियाँ ढाक्छ !
माछो, कछुवा, वराह, वामन !
इतिहास लाग्छ !
अहो ! मलाई ताजूब लाग्छ !

ग.
कोही अदुभुत मिरमिर सिँढीमा
ढीलो सुस्त,
चढिरहेको जस्तो लाग्छ !
अस्ति आजको अन्तर देखी,
चमत्कार नै निहुरी भाग्छ !
भोलि कल्पन हुन्छ असम्भव,
क्षितिज किनारा पर, पर लाग्छ !
अहो ! मलाई ताजूब लाग्छ !

घ.
अङ्ग पल्हायो, अङ्ग बिलायो !
छैटौँ इन्द्रिय यसको क्या हो ?
किरणकणीले आत्मा बेह्री
मासुरङ्गको, पृथिवीको क्या !
पोशाक लगायो !
जल, थल, नभको विजयी बन्न
मन्त्रदान के यसले पायो ?
कालकर नै पक्री गिज्यायो !
मृत्यु छिचोली हेर्ने ताक छ !
अहो ! मलाई ताजूब लाग्छ !

ङ.
आफ्नै वेगले हार, गुहारमा,
पुच्छ्रे तारो यो आकाश–किनारमा !
परमाणु फुटाई आफ्नै, निभ्छ कि ?
आफ्नै किरणले, आफ्नै घरमा ?
राम बालक छ, रावण जाग्छ,
कैलाश हिलाई शक्ति नै माग्छ !
कसले जित्दछ ? कसले राज्छ ?
यस लङ्कामा भीषण भाग छ !
अहो ! मलाई ताजूब लाग्छ !

च.
खण्डहरहरुको सपना देख्दछु !
माकुरोको जेहेनी जाली !
कमिला गजबका शहर बनाउँछन्,
प्रबन्ध निकाली !
भीर पुगेका बस्तु देख्दछु,
कोही डाक्छ !
तर्सी उठ्दछु झट्ट कहाली !
सातो भाग्छ
अहो ! मलाई ताजूब लाग्छ !

छ.
कुन होला त्यो, तारा–जङ्गल
—फूलको धागो, जसले गाँस्छ !
रातभर कहिले सुत्दिन, साथी !
त्यो धागोको छेउ भेट्टाई,
तानूँ तानूँ जस्तो लाग्छ !
मुटुभन्दा झन् गिदी पो दगु¥यो !
यसमा अभाग छ !
मन्त्रले आँधी हान्ने ढुक्कुर,
पक्रूँ भन्दा किन पर भाग्छ !
खलबल मन भो, निद्रा नलाग्छ !
शङ्का, आशा किन यति जाग्छ ?
अहो ! मलाई ताजूब लाग्छ ?

ज.
चन्द्रमाले यो जाति
माथि डाक्छ ?
मङ्गलमा के नव आबादी
यसको लाग्छ ?
बन्ला हृदय कि ? सीमा नाघ्छ ?
अहो ! मलाई ताजूब लाग्छ !

Poem – Maal Kindi

क.
समय बराबर प्यारले फर्की,
उल्टो छाल
हान्छ कमाल !
किनकि अगाडि क्यै झल्केथ्यो,
बेहोश वेगमा,
स्वर्गको माल !

ख.
सम्झनाले गिज्याइहिछ बोक्रालाई,
निद्रालाई तन्द्रालाई,
ऊँगलाई आत्माको !
“तैले बेंक्मा राखेमध्ये
कुन हो अक्षर ?
कुन हो सुन्दर ?
के ले जिउँछन् रातमा यो ?”

ग.
क्षणहरुले लुटिरहन्छन्
नित्य मलाई
गरीब बनाई,
सम्झनाले लुटेर तिनकन,
“लौ ला” भन्छे — यो भारी चीज,
खोसी ल्याएँ !
तेरो, तँलाई !

घ.
अलकत्राले कालो सडक छ
नकली माल रङ्गीन भडक छ !
दिनकरको छ यात्रा अन्त !
बाँकीपुरमा याद अटक छ !
बिजुली–तारमा एक चटक छ !
पृथिवी बन्छिन् बैकुण्ठ !

ङ.
स्वर्गावतरित सन्ध्या ओर्ली
पसल–सींढीमा ओर्लन खोज्छिन् !
ज्योतिषी छन् साथी दृग दुई
जब नव तारा झल्किन रोज्छिन् !
उज्यालो भनेको अमृत हो !
जिइरहन्छ, जिलाइरहन्छ !
ती झल्किथिन्, लझ गुँज्छिन् !

च.
फेला परयो तब एउटा ताला !
खुले हृदयको सारा कोठरी,
ऐनावाला !
झल्किन् हजारौं रङ्गले
बाला !
नशा, नशाका तार भरी क्यै बिजुली दुगु¥यो,
ज्वाला माला !

छ.
सुन्दरीजल झर्ना झरेथ्यो
जीवन–चक्र घेर घुमाई !
दुनियाँका सब नगरी झिलमिल
पारुँ जस्तो लाग्यो मलाई !

ज.
दिनकर डुबेथे यत्ति निम्ति !
बिजुली बलेथे यत्ति लागि !
अनन्त क्षणहरु भुरभुर उडेथे
ठाउँ बनाउन यस क्षण लागि !
म पनि सारा संसार घुमेथें
पाउन यत्ति, यत्ति भागी !
एक थलनिम्ति संसार बन्छन्
एक पलनिम्ति पृथिवी घुम्छिन्
एक क्षण लागि जीवन बन्छन्
अनन्तका पनि क्षणमा गुँड छन् !

झ.
एकै क्षणको आन र तान,
दिव्य दर्शन या सूनसान !
एक पलकमा नितको ज्यान !
एक झलकमा पर आश्मान !
एक झलकमा जगत् श्मशान !

ञ.
मानवताको बिरुवामाथि
फुल्दछ यति तर्क भन्ने जानें !
दुई आँखाले पिए त्यो राति
त्यो अमृत जो सुरले जाने !

ट.
सुन्दरता ! के पायौ याद ?
चोरी हुन्छन् पथमा कत्रा ?
आफू सग्लै टिपियौ, अचेता !
धनी बनाउँछयौ कोष परत्र !

ठ.
स्वरुपभन्दा छाया अमर छ !
छाया ठूलो ! छाया सुन्दर !
तिम्रो तत्क्षण थिति नै अमर छ !
अजर छ तिम्रो मोहनी–मन्दिर !

ड.
प्यार भनीकन कोही छुँदो हो,
अवहेलनको तिम्रो काया !
पूजा गर्दै कोही रुँदो हो –
सम्झन सक्छयौ ?–
सकुची, चित्रन तिम्रो छाया !

ढ.
प्राप्त तिम्रा वैभव सीमित !
अप्राप्त तिम्रा धन छन् असीमित
आपूmभन्दा तिमी छौ ठूली !
अचेत छौ ए शक्ति अकेली !

ण.
कुनै कुनामा, भारतदेश,
शायद् वाष्पिल दर्पण सामु
दुखले टिप्छयौ फुल्दो केश !
बैँसको हरियो, मीठो, फुल्दो
उपवनमा भै शरदावेश !

त.
कसरी बताऊँ तिमी छौ उस्तै ?
बयस अमरमा सुन्दर चूली ?
आँधी न छुन्छन्, समय न छुन्छ !
परिवर्तन छ पदको धूली !
एकान्त हराएँ मैले सुन्दरी !
बेहोश निमौले संगमा बोली !
समय अडाई, विजयकथाका
वार्ता खोली !

थ.
सींढी पसलका ओर्ल शके ए !
ती लोचनका झुम्का ओराल !
उन्नाईसौँ बत्तीस सन् छ !
बदल, सके लौ, तिमी यो काल !

द.
स्पर्शहरुले खिइँदै शोभो
छाया–जगत्मा आश्रय लिन्छन् !
सचेत बन्दा आत्मा, आखिर,
त्यसमै सदन बनेको पाई—
निवसन्छन् !
आइरहिछौ ! मेरा हकले
सबका छिन्छन् !
विशाल विश्वको बाजार विषे, मेरा हकले,
माल किन्छन् !

ध.
संसारी क्वै स्तरमा भुल्दी
आफ्नो राज र सच्चा शासन !
ए अचेता ! पाउली याद !
मुग्ध दिल हो सुन्दर–आसन !

न.
सम्बन्धहरुमा मसिना, मीठा
सञ्चित अश्रुत स्वर नै बोली !
कोही जनममा चित्रकलामा
चकित बनाई, झल्के भोली !
पूरा मिलनमा, लबढब हुँला
विश्वनाथका मुटु भै डोली !

Poem – Sandhe

मेरो नाम छ साँढे !
वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्,
के पर्वा ?
बलको सुराले लाल छ आँखा,
मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !
विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,
शठ–गर्वा !
जवाफदेही दुनियाँप्रति के !
तृणचर वा !
अङ्गाररङ्गा हूँ ढाडे !
मेरो नाम छ साँढे !
दया भनेको कमजोरी हो,
गर्जी ड्वाँ !
बालक जन्मनसम्मन् तर्सून् !
पृथिवी झ्वाँ !
आगो डकार्दछु ! सभ्यता खार्दछु,
भुट्दछु च्वाँ !
किनकि म साँढे, साँढे नै हुँ !
भाले ह्वाँ !
वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !
सभ्यता सब अट्ने उदर यो,
शस्त्र शिङ्गार !
फलाप मशल् औ विश्व निडर यो,
वंव्–हुङ्कार !
तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !
प्रलयकालको हुँ पटु पाँडे !
मेरो नाम छ साँढे !

Poem – Paani

क.

पानीजस्तो के छ जगत्मा ?
पानी !
रानी, सब रसकी !

ख.

आम्लजन औ जलजनकी यी
कस्ती मधुर मिलन !
कस्ती तरल मिलन !
दुई प्रेमीले संसार बसाए
यस जलमा !
दुई बिलाई एक बनेथ्यो
तत्व यसैमा, कोमलमा !
प्यारका आँखा चार, बराबर,
जल बन्छन् ! जल बन्छन्,
दुईटा दिलका दूरालिङ्गन,
भावित सङ्गम,
बाफ उडीकन, बादल बन्छन् !
बादल बन्छन् !
दूरी मिटाउन घर्षन्छन् !
सम्झनाका बिजुली–लहरा
विलसन्छन् क्या
द्रवाभिपुख ती पानीमा !
हृदयले सारा रस नै निचोरी,
बाहिर झिक्दा,
आउँछन् पानी, नानीमा !

ग.

पानी–रानी आइरहिछन्
ज्येठको दिनमा गगनमा !
धुवा भुवामा, धुवा भुवामा,
शानी गतिमा, बगुवामा !
घुम्टो डाली,
माकुर–जाली
पर्दा–नशीन झैं, पर्दा–नशीन झैं, वरुणकुमारी,
सुकुमारी !
रत्नाञ्चला छन् भारी, प्यारी !
वायुप्ङखी चढीरहिछन्, लगाम रोकी
पर्वतवारि !
पाश्र्वमा छ चाँदीपत्ती कुँदिएको क्या
जलझारी !
फटिक महलमा भेट्न उमाकन
बढ्छिन् उत्तरतिर ती, के ? भन !
कोमलताले खुशले चुमिई
वनस्थली क्या मस्की !
पानी आइन् !
कविकी कहानी
पानी, रानी सब रसकी !

घ.

उत्तर लम्क, उत्तर लम्क !
स्वागत गर्छौ नेपाली !
खुस्की मोती–पोल्टो, छम्क,
झर्र झमटमा गानाको धन,
पुलकित तृणमा अफाली !

ङ.

पृथिवी परिथिन् विविध कटौरा
पक्रन, पहिलो वर्षणमा !
देश देशका सिमाना सब,
नीला, लगायौ तिमीले रानी !
प्रथम प्रलयको घर्षणमा !
पर्वतबाट खेल्यौ सुरेली
बेल्यौ बनायौ गर्त, दरी !
पृथ्वीको यो अनेहार बनायौ,
शिल्पिवरी !
समतल, अवतल, उत्तल सुन्दर !
आरोहण औ अवरोहणको
सङ्गीत सरि !
तिम्रा पद, पद, पन्ना उब्ज्यो,
हरियो लाग्यो सुन्दरता !
सभ्यताले मन्दिर पायो,
दुनियाँ बन्यो, भो जग–रमिता !
पहिलो भाषा, शब्दको खानी !
पहिलो चित्र, नभपट भित्र,
पहिलो शिल्प हिमानी !
दृगमा रसायौ पहिलो प्रीति
सलिल तरङ्ग हो पहिला गीति !
नाच्न सिकेथ्यो चराचरले,
तिम्रै तरल पयरले !
पानी ! पानी ! जादूगर्नी !
सभ्यता हो तिम्री छोरी !
तारीफ तिमी छौ दिशि दशकी !
पानी ! रानी सब रसकी !

च.

लहडी नानी !
ए पानी !
वसन–गुलाफी, श्रृङ्गार–सुनौली,
उषालु वेला,
दिव्य गगनमा, क्या स्वर्बाला !
अनुपम, नौली !
करबाल लिएकी बिजुली, चमचम,
वर्षा–समरको भूमि गगनमा,
हाँक्दा वीरा रुपौली !
आँधिकेशर आरुढा तिमी
कालो कराली,
सङ्क्रान्ति–कालकी गजौंली !
बीभत्स–स्वरुपिणीमा
बष्यौंली !
पुस्करिणीमा शान्तरसकी
स्वर प्रतिविम्बी दर्पण निश्चल
साधु उरझै्र झल्कौली !
उत्तुङ्ग शिखरमा वसुन्धरा
तिमी तपस्विनी ज्ञानी !
सेती, फटिक हिमानी !
पार्वतीकी रोगन शानी !
उच्चताकी अमर कहानी !
ध्यानी !
शिवकी प्रिया छौ,
स्वर्णदीपिका भाव–शिखरले पूजा गर्दी
शङ्कपद अभिमानी !
ए पानी !

छ.

बुरबुर चीनी सल्लाघारीहरुमा राति
बुट्टा जाति, बहुभाँति !
सुस्त हवाको चलनीद्धारा
छिर्दै, मधुकर मैदा झाछर्यौ !
एकान्तलाई पाउडर लगाई,
सफेद सिंगाछर्यौ !
पर्वतबाट हाम्फालेर,
समतल सम्झी,
माइती जाने बाटो वेली
नूपुर पछाछर्यौ !
चल्दाचल्दै बाटामा तिमी
पलपल उपल, उपलमा कोमल
चाँदी–बेली सिंगाछर्यौ !
ढुङ्गालाई बोल दिईकन बुलबुल पाछर्यौ !
अथवा, चिसापानी गढीमा,
हिउँका पुतली फुरफुर झाछर्यौ !
अथवा सुन्दरताको स्वपना
रँगिलो धुनमा लच्का माछर्यौ !
अथवा तीतरपङ्खहरुले
व्योम बराबर सुन्दर सिंगाछर्यौ ।
अथवा, एकली वाष्पिल तरणी
नीलो दधिमा विहरी तछर्यौ ।
अथवा, बेरी इन्दुलाई सौन्दर्यक्षुधाले,
मस्त सुधाले,
भूवातनका स्नायु लस्दी,
विस्मृत गति भई क्षणभर बस्दी
अमृतगोला छाती हाली
चकोर भूचर डाहा भछर्यौ
अहिले तहतह चाँगीचाँगी
हाँगा हाँगी
पत्ती कुँदेकी, चमकी चाँदी,
दक्षिणबाट उताछर्यौ !
अस्पष्टताकी मोहनी बन्दा
हेमन्त–कुहर भै क्या झछर्यौ !
अथवा सानो पुत्लो मन्त्री ,
उपत्यका नै क्या भछर्यौ !
पहाड पाखा–पटुकी भे वा,
कोमल मलमल क्या बेछर्यौ !
साँझ, बिहान, स्वर्गका लहँगा,
रँगरँग ठाटी, क्या धछर्यौ !
गरीब शब्दावली नै अड्छे
आफै झस्की !
पानी ! रानी सब रसकी !

ज.

फूल–जरामा पस्दी रानी !
पूmल–कोपीमा बस्दी रानी !
शीत–विन्दुमा खस्दी रानी !
किरणहरुमा लस्दी रानी !
हे महाध्र्या पानी !

झ.

ढुङ्गा अजङ्गका
बोकी, वम्का मारी दम्की
भूमा धम्की,
वृक्ष उखेडी ढयाम्मै पारी
खाडी डम्की,
उम्किन्छयौ जब उग्र गतिले,
मच्चाईकन भीषण उत्सव
बाढी गौरव !
रिसले उर्ली,
फींजका फौज बटारी, हुरली,
क्रान्तिनादिनी वेगकी काली
हेर्दछु केवल, रसनाबद्ध,
उग्र प्रशंसा पाली ।
जब हे ! पर्वत–छाm उछाली
हान्छयौ धराका ठोस किनारा,
सारा !
‘पोथी क्रोध’ म भन्छु तिमीकन
भीमा भामिनी !
ध्वंसकी दामिनी
‘माता’ भन्दछु ‘सब रसकी ! ’
पानी ! रानी सब रसकी !

ञ.

सागरकी काली !
सागर–नीलो
हिउँकी गौरी !
वज्र–करा !
पर्वत–शिल्पिनि !
ध्वंस–प्रजल्पिनि !
वर्षा–विलपिनि !
छाँगा–छहरा !
देवि ! तिम्रो रुप छ अनगिन
नाम अनन्त छ पारावार !
माई ! धाई !
वर्णन गर्न तिम्रो आज,
सक्तिन हाई !
केवल गर्छु नमस्कार !

ट.

तर सबभन्दा तिम्रो महिमा
मानवीय दुई नानीमा !
प्यार क्षारकी सिन्धु हे विन्दु !
विश्वगोला बनेर अटाउँछयौ,
दृगनानीमा ! दृगनानीमा
सृष्टिको मुटुको रस भै आउँछयौ
झछर्यौ कविको कहानीमा
तब सरस्वती वीणा रोकी,
क्षणभर हेर्छिन् जिल्ल परीकन,
पानीमा !
विन्दु झिल्किंदो नानीमा !