जोखिममा जैविक मार्ग

कुनै बेला बाघ र जंगली हात्तीको डरले बाख्रा चराउन नगएको वसन्ता वनमै अहिले टहरो बनाएकी छन्, भोजरानी चौधरीले । सरकारले यहाँको दुई सय हेक्टरजति वनक्षेत्र भोजरानीलगायतका सयौँ मुक्त कमैयालाई बस्न दिएपछि करबि तीन हजार परविार बाढीपीडित र सुकुम्बासीहरू पनि थपिएका छन् । कैलाली जिल्लाको यो त्यही वनक्षेत्र हो, जसलाई विश्व वन्यजन्तु कोषले सन् २००२ मा एसियाकै महत्त्वपूर्ण जैविक मार्गका रूपमा पहिचान गरेको थियो ।

वसन्ता जैविक मार्गले भारतको नेसनल पार्क, नेपालको शुक्लाफाँटा आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्छ । पूर्व-पश्चिम राजमार्गसँगै चुरे पहाडसँग पनि जोडिने यो जैविक मार्ग नेपाल र भारतका दुर्लभ वन्यजन्तु ओहोर-दोहोर गर्ने मुख्य करडिर हो । केही वर्षअघिसम्म मौसम अनुसार आहार र सुरक्षित बासस्थानका लागि उत्तर-दक्षिण गर्ने चितलका बथान, हात्तीका लस्कर अनि पाटेबाघ र चितुवाहरूले वसन्ता जंगलमै केही समय बिताउँथे ।

त्यतिबेलाको घना जंगल अहिले बाक्लो मानव बस्तीमा परिणत भएको छ । सरकारले मुक्त गरेका पश्चिम तराईका कमैयाहरूलाई प्रतिबद्धता र ऐन अनुसार ब्यबस्थित पुनःबास नगराउँदा उनीहरू यस क्षेत्रमा छाप्रा हालेर बसे । उनीहरूलाई यहाँ बसेको देखेपछि बाढीपीडित र सुकुम्बासीहरू थपिए । वसन्ता जैविक मार्गमा वन्यजन्तुको बासस्थान लोप हुनुका साथै संरक्षणको कार्यसमेत संकटमा परेको छ । यस क्रममा भएको करोडाँै खर्च र मिहिनेत पनि व्यर्थ हुदैछ ।

२०६५ माघ १७ गतेको मन्त्रि परिषदले वन ऐन २०४९ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी वसन्ता वनको ४ सय ४० हेक्टर जग्गामा मुक्त कमैयाको पुनःस्थापना गर्ने निर्णय गर्‍यो । तर, सोही ऐन र वन नियमावली २०५१ को दफा ६८ को उपदफा १ मा राष्ट्रिय प्राथमिकता प्राप्त योजना सञ्चालन गर्नुपर्दा वनक्षेत्रको प्रयोग गर्नुबाहेक अन्य विकल्प नभए वातावरणमा प्रतिकूल असर नपर्ने गरी सामुदायिक वन, कबुलियती वन र धार्मिक वनको कुनै भाग प्रयोग गर्न सकिने उल्लेख छ । मन्त्रिपरष्िाद्ले त्यस्तो निर्णय गर्दा वातावरणीय अध्ययन भने नगरेको कैलाली जिल्ला वन अधिकृत मनबहादुर खड्काले बताए । उनले वन ऐनको दफा ६८ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा ३ र ३ को -क)ले मुक्त कमैया पुनःस्थापनासम्बन्धी निर्णयमाथि प्रश्न उठाएको पनि बताए ।

मुक्त कमैयालाई वसन्ता जैविक मार्गमा लालपुर्जा वितरण गर्ने तयारी भएपछि जिल्ला वन कार्यालय, कैलालीले गत साउन २५ गते वनमन्त्री, सचिव र महानिर्देशकलाई पत्र लेखी मुक्त कमैयालाई अन्यत्र पुनःस्थापना गराउने पहल थालेको थियो । त्यसपछि कमैया पुनःस्थापना सार्ने विषयमा भदौ ४ गते वन र भूमिसुधार मन्त्रालयबीच भएको छलफल बिनानिष्कर्ष टुंगियो । नेपाल वन प्राविधिक संघको रटिमा त्यसको भोलिपल्टै सर्वोच्च अदालतले उत्पे्रषणको आदेश जारी गर्दै मुक्त कमैयाको उचित पुनःस्थापनाका लागि वैकल्पिक स्थानको खोजी गर्न र यथाशीघ्र पुनःस्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।

तर, सर्वोच्चको सो निर्णयको विरोध गर्दै मुक्त कमैया समाजले आन्दोलन घोषणा गरेको छ । जिल्ला वन अधिकृत खड्का भने सरकारको एउटा निकाय संरक्षणमा जुटेका बेला अर्को निकायले विवादास्पद निर्णय गरेपछि समस्या थपिएको बताउँछन् । उनका अनुसार, वसन्ता जैविक मार्गमा यसअघि नै मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित र भू-माफियाहरूका कारण १ हजार ५ सय हेक्टर जमिन अतिक्रमण भइसकेको छ । यही विवादको मौका छोपी वसन्ता क्षेत्रमा काठ तस्करहरू पनि सक्रिय भएका छन् ।

केही दिनअघि मात्रै मुक्त कमैया पुनःस्थापना समिति, कैलालीले वसन्ता जैविक मार्गको शंकर सामुदायिक वनमा पाँच-पाँच कट्ठाका दरले ४ सय २६ कित्ता जमिन वितरण गरेको छ । उता भजनी गाबिसस्थित महुन्याल, पशुपति र राधाकृष्ण सामुदायिक वन कब्जा गरी बसेका करबि पाँच सय परविार मुक्त कमैयालाई पनि जग्गा दिए कुनै आपत्ति नहुने पत्र स्थानीय राजनीतिक दलहरूले मुक्त कमैया पुनःस्थापना समिति, कैलालीमा पठाएका छन् । जबकि, गत माघमा भएको छलफलमा जिल्लास्थित सबै राजनीतिक दलले वसन्ता वनक्षेत्रमा कसैलाई पनि जमिन नदिने प्रतिबद्धता जनाएका थिए ।

दुधुवा नेसनल पार्कसँग जोडिएको लालबोझी शिराधानी सामुदायिक वनमा जिल्ला भूमिसुधार कार्यालय, कैलालीले दोस्रो जनआन्दोलनपछि १ सय ३६ परविार मुक्त कमैयालाई बसाएपछि वसन्ता अतिक्रमण सुरु भएको संरक्षणकर्मीहरू बताउँछन् । त्यसपछि ०६४ मा मोहना, कन्द्रा, काँडालगायतका नदीका बाढीबाट विस्थापितहरूले पनि वसन्ता वनलाई नै आश्रयस्थल बनाए । भू-माफियाहरूले पनि सुकुम्बासी हुदै भन्दै वसन्ता जैविक मार्गमै खनजोत गर्न थाले ।

यसरी एकोहोरो अतिक्रमणका कारण वसन्ता जोगाउने स्थानीय संरक्षणकर्मी र जिल्ला वन कार्यालयको प्रयास असफल भएको छ । जिल्ला वन अधिकृत खड्का जैविक मार्गको अतिक्रमण हटाउने प्रयासमा राजनीतिक दलहरूबाटै असहयोग भएको गुनासो गर्छन् । भन्छन्, “सर्वोच्चको उत्प्रेषण आदेश अब अर्को समस्या भयो ।”

अन्तर्राष्ट्रियस्तरमै महत्त्वपूर्ण र ख्यातिप्राप्त वसन्ता जैविक मार्गमा २१ वटा सीमसार छन् । भारतीय दुधुवा नेसनल पार्क भर्खरै टाइगर रजिर्वमा परिणत हुनु र पूर्व तथा पश्चिममा नेपालकै राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष-अप्रत्यक्ष जोडिनु यस मार्गको अर्को महत्त्वपूर्ण पक्ष हो । मोहनाको स्वच्छ जल क्षेत्रमा अबस्थित वसन्ता जैविक मार्ग डल्पिmन अवलोकनका लागि प्रख्यात स्थल पनि बन्नसक्छ । रामसार क्षेत्र घोडाघोडी तालसमेत वसन्ता जैविक मार्ग अन्तर्गत नै पर्छ । त्यसको नजिकै लालबोझी गाबिसस्थित पुरैना ताल दुर्लभ पंक्षी सारसको बासस्थान हो ।

कैलालीका करबि १५ गाविस जोड्ने वसन्ता जैविक मार्गमा नेपाल सरकार र विश्व वन्यजन्तु कोषको संयुक्त प्रयासमा गत सात वर्षदेखि तराई भू परिधि कार्यक्रम सञ्चालनमा भए पनि जिल्लाको कुल २ लाख ५ हेक्टर वनमध्ये करबि ६५ हजार हेक्टर क्षेत्र ओगटेको वसन्ता जैविक मार्गमाथि थप ध्यान नदिए इतिहासका पानामा समेटिने तर्खरमा छ ।

शान्ति सुरक्षाको दयनीय अवस्था

देशमा शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजुक बन्दै गैरहेको पछिल्ला घटनाक्रमहरूले देखाएका छन्। गत विहीबार केन्द्रीय कारागारमा भएको गोलीकान्डले त अझ मुलुक अन्तर्राष्ट्रिय माफिया र “अन्डरवल्ड”को क्रियास्थल बनेको मात्र देखाएको छैन, यसले हाम्रो राष्ट्रिय सुरक्षा नीतिमाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ।
केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका संचार उद्यमी युनुस अन्सारीमाथि भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरी हत्या प्रयास गरेको घटनाले हाम्रो कमजोर सुरक्षा नीतिलाई उदांगो पारिदिएको छ। हत्या प्रयास अघि अपराधी सिंह कैदी चार्ल्स शोभराजलाई भेट गर्ने निहुँमा पटक–पटक केन्द्रीय कारागार पुग्ने गरेको रहस्य पनि खुलेको छ। एउटा संदिग्ध विदेशी नागरिकलाई जेल प्रशासनले किन निर्वाध रूपमा भेट गर्न दियो? तीन तहका सुरक्षा घेरा पार गर्दै उक्त अपराधी हतियार सहित कसरी भित्र पुग्न सफल भयो? विहीबार केन्द्रीय कारागारमा भएको गोलीकान्डले यस्ता दर्जनौं स्वाभाविक प्रश्नहरू जन्माइ दिएको छ।
संचार उद्यमी युनुसको हत्या प्रयास त पछिल्लो घटना मात्र हो, त्यसभन्दा अगाडि पनि जेल भित्रैबाट अपराधीहरूले संगठित अपराधका घटनाहरू घटाइरहेका समाचारहरू सार्वजनिक भैरहेका थिए। कारागार भित्रको कैदी बाहिर व्यस्त बजारमा अपराधिक क्रियाकलाप गरिरहेको अवस्थामा भेटिनु, जेलभित्रै रहेको अपराधीको नाइकेहरूको निर्देशनमा बाहिर अपराधिक घटनाहरू हुनु यिनी सबै घटनाहरूले देशको कमजोर सुरक्षा नीतिलाई नै उजागर गरिदिएका छन्। ती सबै घटनाक्रमहरूमा प्रहरी प्रशासनभित्रैबाट पनि मिलिमतो रहेको प्रष्ट देखिन्छ।
अपराधिक गिरोहहरूबाट मात्र होइन, हाम्रो कमजोर सुरक्षा नीतिको फाइदा उठाउँदै विस्तारवादका सिपाहीहरूले पनि नेपालभित्र प्रवेश गरी लगातार रूपमा ज्यादतीहरू मच्चाउँदै आइरहेका छन्। ०५४ सालको नयाँ बानेश्वरमा भएको कान्ड होस् या अस्ति भर्खरैको बर्दिया तारातालका हर्कबहादुर शाहीलाई वेपत्ता बनाउँदाको घटना होस्, यी घटनाहरूमा भारतीय सुरक्षाकर्मी नेपालभित्र प्रवेश गरी आफ्नो तान्डव नृत्य प्रदर्शन गरेको हामी सबैले देखिरहेकै छौं। सिमानाका नेपालीहरूले दैनिक रूपमा नै भारतीय सुरक्षाकर्मीहरूको ज्यादती भोग्दै आइरहेका छन्। ती सबै हस्तक्षेप र ज्यादतीहरूमा नेपाल सरकारले अहिलेसम्म मुहतोड जवाफ दिन सकेको स्थिति छैन।
जहाँका शासकहरू देशको राष्ट्रियताप्रति संवदेनाहीन र जनताप्रति गैरजिम्मेवार बन्दै व्यक्तिगत महत्वकांक्षा पूरा गर्नमै लिप्त बन्छन् त्यस देशका जनताहरूलाई विदेशीले स्वभाविक रूपमै हेपेर व्यवहार गरिरहेका हुन्छन्। हाम्रो देशको सन्दर्भमा पनि यही कुरा सत्य हो। इतिहासदेखि वर्तमानसम्मका घटनाक्रमहरूलाई केलाउने हो भने हामीमाथि वैदेशिक हस्तक्षेप र ज्यादतीहरू बढ्नु र देश अन्तर्राष्ट्रिय अपराधीहरूको क्रिडास्थलबन्नुमा हाम्रै शासकवर्गहरूको गैरजिम्मेवार र नालायकीपना नै जिम्मेवार देखिन्छ। जनताप्रति भन्दा विदेशी “प्रभु” प्रति नै बफादार बन्ने रोगबाट इतिहासदेखि वर्तमानसम्मका शासकवर्गहरू मुक्त हुन सकेको देखिंदैन। राणा शासकहरू नेपाली जनताप्रति भन्दा भारतमा राज गरिरहेका अंग्रेजहरूप्रति बफादार बने। त्यो क्रम ००७ सालको राजनैतिक घटनाक्रम पछि पनि रोकिएन। त्यसपछिका हाम्रा शासकहरूले पनि हामीप्रति भन्दा पनि भारतीय शासकहरू प्रतिनै बफादार हुने इतिहासलाई नै निरन्तरता दिए। अहिले मात्र होइन “विदेशी प्रभु” हरूप्रति भक्तिभाव राखेमा मात्र आफ्नो कुर्सी जोगिन सक्छ भन्ने गलत मानसिकताबाट शासकहरू मुक्त नहुँदासम्म देश विदेशी शक्तिकेन्द्र र अपराधिक गिरोहहरूको क्रिडास्थल बनिरहनेछ।
अहिले पनि हाम्रा माऊ पार्टीका माऊ नेताहरू विशुद्ध सत्ताको धुनमा मदहोस् भैरहेका छन्। कुर्सी कसरी हात पार्ने? हात परेको कुर्सी कसरी जोगाउने? लाग्छ–हाम्रा प्रमुख पार्टीका जिम्मेवार नेताहरूको दिल दिमागमा चौविसै घण्टा तिनै प्रश्नहरूमात्र खेलिरहन्छन्। सत्ताको खेलमा उनीहरू लिप्त भैरहेकै कारण मुलुकमा चौतर्फी रूपमा अस्तव्यस्तता छाइरहेको छ। अपराधिक गिरोहहरूको मनोबल बढ्नुको पछाडिको मुख्य कारण पनि त्यही नै हो।
तसर्थ प्रमुख राजनीतिक दलहरूले अब गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ। अपराधीहरूलाई काखी च्याप्ने बानीलाई त्याग्दै उनीहरूलाई कडा सजायको भागीदार बनाउन प्रमुख दलहरू फितलो राष्ट्रिय सुरक्षा नीतिलाई कसिलो बनाउन प्रतिबद्ध रहनु पर्दछ। अनि मात्र मुलुकको यो दयनीय सुरक्षा अवस्थामा सुधार आउन सक्नेछ।

जनविद्रोह को राजनीति

नयाँ संविधान घोषणाको मिति नजिकिंदै गर्दा देशलाई अनिश्चय र अन्यौलताको कालो बादलले ढपक्कै ढाक्न पुगेको छ। परिस्थितिले प्रमुख पार्टीहरूका बीचमा सहमति र सहकार्यको माग गरिरहेको छ तर पार्टीहरूले आफूहरूबीचको दुरी झनै फराकिलो पार्दै लगिरहेका छन्। पछिल्लो समयमा संविधानसभाको सबै भन्दा ठूलो पार्टी माओवादीले अघि बढाएको कथित “जनविद्रोह” को राजनीतिले त मुलुकलाई झन कहालीलाग्दो भीरतर्फ डोर्‍याइरहेको छ।
मे दिवश अर्थात् वैशाख १८ पछि “जनविद्रोह” मार्फत सत्ताकब्जा गर्ने भन्दै माओवादीले देशका विभिन्न स्थानहरूमा आफ्ना कार्यकर्ताहरूलाई लाठी, भाला र खुकुरी चलाउने सशस्त्र तालिम दिइरहेछ। माओवादीको यस क्रियाकलापले देशमा डर, त्रास र आतंकको वातावरण सिर्जित भइरहेको छ। संविधान निर्माणको मूल दायित्वलाई एकातर्फ पन्छाएर सत्ताप्राप्तिको अभिष्ट बोकि माओवादीले चालेको यो कदमले मुलुकलाई कुनै उपलब्धी दिने देखिंदैन। माओवादीले लिएको यो कथित “जनविद्रोह” को राजनीति स्वयं उसकै लागि पनि प्रतिउत्पादक हुने सुनिश्चित छ।
समयमै संविधानको निर्माण अहिले मुलुकको प्रमुख आवश्यकता हो। जेठ १४मा मुलुकले नयाँ संविधान प्राप्त गर्न सकेन भने त्यसका कैयौं दुष्परिणामहरू हुनेछन्। समयमा संविधान नबन्दा त्यसको सबैभन्दा बढी फाइदा राजावादी, पुनरूत्थानवादी शक्तिहरूलाई नै पुग्नेछ। गणतन्त्र संस्थागत हुन सक्ने छैन। जनआन्दोलनबाट प्राप्त उपलब्धीहरू गुम्न सक्ने खतरा रहनेछ। माओवादीले “जनविद्रोह” को नाममा जे गरिरहेछ यो संविधान बन्न नदिनको निम्ति नै गरिरहेको छ भन्ने प्रशस्त आधारहरू छन्। माओवादी नेतृत्वले बारम्बार आफ्नो नेतृत्वमा सरकार नबनेसम्म संविधान बन्न नदिने घोषणा गरिसकेको छ। यस परिवेशमा अब शंका गर्नुपर्ने भएको छ – कतै माओवादीले राजावादी पुनरूत्थानवादी शक्तिहरू सँग “अघोषित साँठगाँठ” त गरिरहेको छैन? “जनविद्रोह” को नाममा उसबाट भैरहेका क्रियाकलापहरूले सोच्न बाध्य बनाएको छ।
“जनविद्रोह” कुनै पार्टीले चाहना राख्दैमा सम्पन्न हुने विषय होइन। यो देश, काल र परिस्थितिमा निर्भर रहने कुरा हो। कुनै एउटा पार्टी र व्यक्तिलाई सरकारमा पुर्‍याउनको निम्ति जनताले निश्चितरूपमा विद्रोह गर्दैनन्। आफ्ना कार्यकर्ता पंक्तिलाई सडकमा उतारेर बितन्डता मच्चाउन लगाउँदैमा त्यो जनविद्रोह हुँदैन। अहिलेको परिस्थितिमा “जनविद्रोह”को नारा दिनु त्यो एक दुस्साहस मात्र हुनेछ। माओवादीले त्यही दुस्साहस गरिरहेछ। यसले उसमा उग्रवामपन्थी चिन्तन अहिले पनि हावी रहेको प्रष्ट भएको छ।
“जनविद्रोह”को नाममा माओवादीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सडकमा उतारेर केही दिन बितन्डता मच्चाउन सक्लान् तर त्यसले मुलुकलाई कुनै सकारात्मक परिणाम दिन सक्नेछैन। दिनेछ त केवल अशान्ति, अराजकता र त्रासदीमय वातावरण मात्र। त्यो स्थितिमा देशमा छाउने अन्योलतापूर्ण वातावरणको फाइदा लिन विस्तारवादी, साम्राज्यवादी शक्तिहरू अगाडि आउन सक्छन्। देशमा बहुराष्ट्रिय सेनाहरूको हस्तक्षेप हुन सक्छ। मुलुक अफगानिस्तान र इराक बन्न सक्छ।
त्यसैले सम्भाव्यः दुरगामी दुष्परिणामहरूको ख्याल नराखी कुर्सीमोहको नशामा लीएर जुन “जनविद्रोह” को राजनीति माओवादीले अवलम्बन गरिरहेछ, यसलार्ई रोक्नु नितान्त आवश्यक छ। उग्रवामपन्थी धङधङीलाई त्यागी अब माओवादी जिम्मेवार ढंगले अगाडि बढ्नुपर्छ र संविधान निर्माण प्रति गम्भीर बन्नुपर्छ। कथित “जनविद्रोह”को राजनीति अहिलेको सन्दर्भमा गलत मात्र होइन माओवादीकै लागि पनि आत्मघाती हुने निश्चित छ। यो तथ्यलाई माओवादीले बेलैमा बुझ्नु जरूरी छ।

सबै धाँजा परेको छ यहाँ

यता साउन महिना ढल्न आँटेको छ, अझै पानी परेको छैन । काठमाडौँको आकाशमा कताकति बादलका टाटा देखिन्छन् । अलिकति आश लाग्छ तर ती प्रत्येक दिन देखिन्छन्, बिलाउँछन् । सगर डढेर सन्ध्या रातो हुन्छ, बिहान छङ्गाछुर आकाशमा घाम उक्लिन्छ । हेर्छु, उदास अनुहार लगाएका कृषकहरू खेतका आलीआलीमा छन्, आज पनि, भोलि पनि, पर्सि पनि । सबै बियाड सुकिसके, पहेँला फुस्रा पराल सुकाएजस्ता भए । उनीहरू ती बियाडवरीपरी घुम्छन । एकपल्ट खेतमा पस्छन्, घुँडाघुँडा उभिएको झार भुत्ल्याई हेर्छन्, दुई-चार चपरी खनी हेर्छन्, फेरि उदास भएर कीर्तिपुर डाँडातिर फर्किन्छन् । जमिन सबै धाँजा परेको छ, कुवामा पानी सुकेको छ, इनार रत्तिा छन्, झार सुक्न थालेको छ, बियाड पराल छर्केजस्तो छ, बिहानका राती रत्तिा गाग्रा उँभो लाग्छन् । पानी नपरेको दस महिना भो । काठमाडौँ बाँझो भएको छ । सम्पूर्ण देश नै खडेरीले खङ्ग्रङ्ग छ । कहिल्यै थाहा नपाएको यति लामो खडेरीले यसपालि मानिसको मनमा आतस उत्पन्न गर्दैछ । यो सालको महँगी र विश्वव्यापी रसिेसन् । खबर ल्याउँछन्, रामेछापको लेकमा मकैका बोटै सुके, सिन्धुलीमा धानको गाबो गाडिएन । ट्याक्सीवाला भन्छन्, “यो वर्ष दसैँ आउने छैन, तिहार आउने छैन ।” सहर पसेका गाउँले श्रमिक हतास भएर बोल्छन्, “यो वर्ष हाम्रो मंसिर आउने छैन, मंसिर अहिले नै डढिसकेको छ ।” के भो कहिल्यै नहुने घटना भयो, अब दुर्भिक्षले देश डढाउँछ होला । मधेसको त्यस्तै खबर छ, कतै खेत रोपिएको छैन ।

धूलो उडेको छ, धाँजा चर्किएको छ, घाम झन्झन् चर्किएको छ । बतास झन्झन् सुक्खा छ, उपत्यका कहिल्यै नभएको गर्मीमा छ । हिमालमा हिउँ खसेन, ती पर्वतहरू काला पहराजस्ता देखिएका छन् । उता नुवाकोट जाँदा देख्यौँ, साउनमा कतै मूल फुटेको छैन । खोल्सीहरू बगर मात्रै छन् फुस्रा, जीवन सकिएका आकारजस्ता । कहिल्यै पानी बग्ने सम्भावना नभएका । तादी खोलो हेर्‍यौँ, सङ्लो छ अत्यन्तै नीलो पानी बगिरहेको छ । घाम चर्केको छ, गोठाला पौडी खेल्दै छन्, बगरमा वस्तु उघ्राइरहेका छन् । त्यो निर्मल पानी देख्ता डरडर लाग्यो । प्रकृतिको ऋतुचक्र कहीँ बिग्रेको हो कि ? यी फाँटमा कुलो छैन । आउँदो वर्ष कस्तो होला ! यतिखेर खोलामा पतपति धुवाउने बाढी आउनुपर्ने होइन । असमेल भएर समढन्न बगर ढाकी कालोमैलो मुस्लो उर्लिनुपर्ने होइन ? यी उज्याला ढुंगा र बालुवा टल्किने बगर केका अपसकुन हुन् ? दुर्भिक्षका ? महामारीका ? यतिखेर माथिदेखि उर्लेर गडगडाउँदै आउने बाढीले हुत्याएर रूखपात, पत्कर, मूढाहरू उचाल्दै, पहिराको लेदो बगाउँदै किनाराका गराहरू भत्काउँदै मानिसको मुटुमा भय उत्पन्न गर्नुपर्ने होइन ? ए के भो, किन कसैले घुम ओढेको छैन, छाता भिरेको छैन । खेतहरू अझै झार ओढेर पल्टेका छन् । यतिबेला यी गरामा मिलमिल गर्दै हरयिा गाँज हावामा झुल्नुपर्ने, आलीमा मास, भटमासले आकाश ताक्नुपर्ने । त्यसो नभए पनि दबदबे हिलो हुनुपर्ने, थकथक माथि हली नाचेका, रोपाहार सरेका, बाउसे घुमेका हुनुपर्ने होइन ? साउन बित्नै लाग्यो, यो देशमा १० महिनादेखि पानी परेको छैन ।

काठमाडौँको झन् बिजोग छ । कंक्रिट घना जंगलले गर्दा माथि आकाश देखिँदैन, तल धर्ती । बाँकी रहेको राँटारुटी जमिन अब बाँझो हुने भो । रामसरन, हरसिरन, शिवसरन, बेखा, पुंमाया, हीरामाया कीर्तिपुर डाँडादेखि झरेर प्रत्येक दिन ट्याङ्लाफाँटतिर पुगेका छन्, आ-आफ्ना खेतका आलीमा एकछिन टुक्रुक्क बसी घाममा सुस्ताउँदै घरै फिरेका छन् । कोदालीले खनेको खेत, गोरु नलागेको, ट्याक्टर नपसेको, चपरी फर्काएर उहिल्यै खनेको झारले आज पूरै बाँझो भो । प्राचीन कालदेखि चलेको अटुट अनुष्ठान । खेतको एक निश्चित कुनामा राखिने बियाड, उस्तैउस्तै सधैँसधैँ । असार १५ भित्र धान रोपिसकिने खेतहरू आज साउन निगल्न लाग्यो एक थोपा पानी छैन । प्रकृति नै विपरीत हुन लागेको हो कि, ऋतुचक्र बदलिएको हो कि ? आउँदो वर्ष हाम्रो गति के होला, अस्ति मच्छिन्द्रनाथको रथ तानेकै हो, जात्रामा भाग लिएकै हो । उतातिर देवीपूजा भए, नागपूजा भए, भ्यागुताका बिहे भए । आकाशतिर फर्केर मानिसले रोइकराइ गरे, प्रार्थना, आराधना गरे तर अझै पानी पर्दैन । बल्खुमा पानी सुक्यो । अलिकति मैलो लेघ्रो छ । यी रत्तिा गाग्री र जर्किनका ताँती कहाँ पुगेर रोकिएलान् ? तिर्खाएका छाडा वस्तुभाउ, यी साँढे र बाछाहरू दिनभर तिर्खायर बाँझा खेतमा लोलाउँछन् । चराचुरुङ्गी कराउनै नसकेर हो कि आकाशमा उड्न छाडेका छन् । किथ्रा, भ्यागुता, झ्याउँकीरी केही कराएनन्, छिचिमिरा निस्केनन् । साँझपख खालि तिर्खालु गौँथली आकाशमा बेगिन्छन् ।

एकदिन बिहान फुल्चोकीमाथि कालो बादल निकैबेर नाचेको देखियो । बादलको छायाँ तल नाचेको देख्नसाथ सारा कृषक झरे रामसरन, हरसिरन, बेखा, श्रीमाया, पुंमाया कीर्तिपुर डाँडो रित्तिएर ट्याङ्लाफाँटको बाटो झरे । नांगा पैतालाले मचक्क हिलो टेक्तै बिस्तारी झोडी पन्साउँदै झर्ने गोरेटो, दुईतिरका नर्कटघारीले झपक्क ढाकेको ओसिलो बाटो आज एक दशक नपुग्दै अर्कै भएको छ । आफू मात्रै हिँड्ने त्यो गोरेटोमा आज अपरिचित मान्छेको दोहोरलित्ता छ । यी नचिनेकाहरू कताका हुन् ? कता जाँदैछन् ? जुत्तामोजा लाउनेहरू, चप्पल लाउने, छाता ओढ्नेहरूले ढाकेको छ । जताततै यता डाँडामा, तल गैरीमा, उता पाखामा सबैतिर घरैघर घरैघर के बिघ्न पाखेहरू उम्लेर आएका ? यी कहाँका हुन् ! पुंमायाले मनमनै सोची, यी थानकोटतिरबाट आउँदा हुन् कि चोभारको बाटो कि बालाजु तरेर ? बेखाले सोच्यो- बाटो पिच भन्छ, ग्राभेल भन्छ, ढल भन्छ, बिजुलीको खम्बा भन्छ, तीन फुटे, छ फुटे, १० फुटे, १२ फुटे- बाटाले खायो, ढलले खायो, नगरपालिकाले खायो, अब खेती गर्ने जमिनै छैन । भएकामा प्लास्टिक छरएिको छ, फोहोर थुपि्रएको छ, कागज छन्, सिसी छन्, इँटा छन् । संसारभरकिा बाछा र बहर छन्, बूढा साँढे, भुस्याहा कुकुर त्यहीँ चरेका छन्, लरेका छन् । अझ गीर हान्ने, खोप्पी खेल्ने, चरा ताक्ने, गाँजा माड्ने त्यही बाँझो खेतमा । अति भो, जीवन अति भो । १० महिनादेखि पानी परेको छैन । आज फूलचोकीको शिर अँध्यारो छ, र्झछ कि ?

बेखाले इस्टकोट फुकालेर डिलमा राख्यो । सेतो सुरुवाल सुर्कियो र कोदाली टिपेर गरामा पस्यो । सन्देहपूर्ण आँखा फूलचोकीतिर लगायो । आज पनि बादल भाग्लाजस्तो हुँदैछ । मलाई त्यसबेला एउटा कुरा बोलौँजस्तो लाग्यो । बेखा र पुंमायालाई यो कुरो सुनाइदिउँजस्तो लाग्यो- हेर बेखा, मौसम परविर्तन एक विश्वव्यापी समस्या हो । आज यो तीव्र हुँदैछ । सम्पन्न राष्ट्रले प्राकृतिक सम्पदाको अति उपयोग गरे, जलवायु आकाश अति प्रदूषित गरे, प्रकृतिको सन्तुलन बिगारे । जसको कारणले पृथ्वीको जलवायु बिगि्रयो, मौसम परविर्तित हुँदैछ । अब जाडो र गर्मी बिगि्रए, अब बर्षा र सुक्खा बिगि्रए, हरयिाली र नदीनालाले आफ्नो नियमित चक्र छोड्न थाले । अब गर्मी बढ्छ, जाडो बढ्छ, असमयमा नहुने कुरो हुन्छ, हुने कुरा हुन छाड्छ । यो तिम्रो गल्ती होइन तर तिमीले भोग्नुपर्ने भयो । मनमा यस्ता धेरै कुरा खेले तर लाग्यो बेखाले यी कुरा बुझ्दैन होला । काठमाडौँमा जलवायु परविर्तन विषयमा विश्व सम्मेलन बस्दैछ, त्यसबारे उसलाई केही थाहा छ कि ? राष्ट्रसंघले एउटा चेतावनी सुनाउँदैछ, विश्वका यति मानिस अब भोकमरीमा पर्नेछन्, यति जंगल डढ्नेछ, यति वनस्पति खरानी हुनेछ, यति प्राणी मर्नेछन्, यति मैदानहरू, धाँजा फाटेर बाली नष्ट हुनेछ… बेखाले यस्तो कुरा बुझ्ला ?

यी कुरा मेरा मुखमुख आए तर खोल्न सकिनँ । ऊ एकोहोरएिको छ, ध्यानको मुद्रामा झैँ एकपल्ट बादलतिर हेर्दै एकपल्ट डढेको बियाडतिर हेर्दै कोदाली प्रहारको तयारीमा छ ।

हेराकाजीको पल्लो गरो । पानीबिनै रोपिसकेछन् । कोदो रोपेजसरी । माटो मसिनो पारेर धेरैपल्ट खनेर, धुल्याएर, डल्लेँठोले पिटेर, कोदालीले ख्वाप्प खन्दै धानका गाँज त्यसमा राख्तै फेरिमाटोले जरा पुरेर माटोले छोप्तै, हातले थिचेर तुरुक्क कित्लीले पानी हालेर फेद फिजाउँदै गरेका थिए । बेखा त्यता दृष्टि लाउँछ, त्यो गरो सबै पराल छर्केझैँ छ, जरैसम्म सुकेको छ, जमिनमा सुतेको छ, एउटै बोट जाग्दैन होला, पलाउँदैन होला । मेरो खेतमा त्यसरी कोदो रोपाइँ गर्दिनँ । बीउको नास भो । पाप पनि लाग्छ होला । बरु खेत बाँझै होस् । उसले यस्तै सोच्यो ।

पुंमायाले परालका ससाना मुठा जर्किनको पानी छम्केर कपडाले छोपी अनि जलेको बियाडका डिलमा गएर टुक्रुक्क बसी । बेखाले झारका लुँडाभित्र कोदाली डुबाई हेर्‍यो । पर्तिर ग्राभेल रोडमा कलंकीतिर मुख फर्केको मोटरसाइकल घ्यार्र गरेर रोकियो । गगल्स निधारमा चढाउँदै स्याम्सन बोल्यो, “ए बा, तल फाँटमा दलाल आएछ, जग्गा बेचिदेऊ, पानी पर्दैन ।” बेखाले आफ्नै छोराबाट यस्तो बचन सुन्नुपर्लाजस्तो सोचेको थिएन । कोदालीको प्रहार रोकेर उसले बिसायो, आँखा तन्काएर हेर्‍यो, नभन्दै तल फाटभरि दलाल छन्, अघिको फाँट कतै छैन । हिजो दिउँसै स्याल कराउने ट्याङ्लाफाँट आज घरैघर, रोड, बिजुली, स्कुल, दोकान । हरयिा गालामा कंक्रिटका फोकैफोका र विफिरा । यतिका पर्वतेहरू कहाँबाट पस्यो होला, यी खान नपाउनेहरू ! हाम्रो बाबुबाजेको जमिनमा यिनीहरू पसेपछि पानी पर्नै छोड्यो, नागपूजाले भएन, मच्छेन्द्रनाथको पूजाले र जात्राले छोएन । यो जमिन बेचौँ कि ? उसको मनमा अनेक दोहोरी चल्न थाले । पल्लो टोलका प्लटिङ्का घेरा र पटुका, ढुङ्गाबालुवा छर्केका धरापहरू, तलको बीचखेतमा फोका, उता गालो चिरेर कुँदेको बाटो र त्यहाँ फोहोरको डंगुर, त्यो सुकेका कुवा र नजिकै एक हुद्दा दलाल ।

काठमाडौँका सारा धाप कता पुगे, चरन कता पुगे, फाँट कता पुगे ? बल्खुको किनार, खोलाका बगर, आज केही बाँकी छैन । बेखालाई निश्चय भयो । नेपाल मण्डलमा धेरै पसे, कहाँकहाँका पाखेहरू धेरै खन्निए, यो फाँटलाई पर्वतेहरूले निले, तल्लो फाँटमा मस्र्याहरूले पनि घर बनाएर ल्यायो । अब पानी पर्दैन होला । मच्छिन्द्रनाथ रिसाएका छन् ।

त्यो दलालको हुद्दा यतातिर सर्दैछ । मेरो जमिनको मोलतोल गर्छ होला । तर, पुंमायाले पर्वतेमा बात फर्काउन सक्तिन । उसले मरे पनि जमिन बेच्ने कुरा सुन्नै मान्दिन । रिसाएर उसले आफ्नो भाषामा बोलेको ती पर्वतेले बुझ्लान् ? मैले दोभासे गरौँ कि ? बेखालाई पीर लाग्यो । स्याम्सन कलंकीतिर उडिसकेको थियो ।

छोराको कुरा नसुनेझैँ गरी बेखा कोदाली उचाल्दै बजार्दै गर्न थाल्यो । कतिबेला झार छिचोलेर त्यो माटोमा गाडिन्थ्यो । कतिबेला झारले अल्झिदा भुक्क आवाज गरेर त्यो फर्किन्थ्यो । पुंमाया फूलचोकीतिर हेर्दै बूढी र चोरी औँलाका चिम्टाले च्यापेर, विस्तारै, फकाउँदै जरा नटेकेको जस्तो बीउ पुक्लुक पुक्लुक उखेल्थी । मुठीका मुठा बनाउँदै, दुई त्यान्द्रा परालले बाँधेर पछ्यौरा ओढाएर राख्थी । एक्कासि बेखाले कोदाली पर हुत्याएर मातृभाषामा ठूलो आवाज निकाल्यो ।

त्यो आदिम वाणी मैले बुझ्न सकिनँ तर सायद ऊ बोल्यो, सबै धाँजा परेको यहाँ !

वातावरण प्रदुषण : समस्या र चुनौतीहरू

हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदुषण हो। वातावरणीय प्रदुषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझन्छ। वातावरणीय प्रदुषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ। प्राचिन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनहरूका कारण परिवर्तित हुन्थ्यो , अनि वातावरणमा हुने प्रदुषण पनि प्राकृतिक प्रदुषण हुने गर्दथ्यो। तर आज पृथ्वीमा भइरहेको जनसंख्या बृद्धि प्रदुषणको मुख्य कारक बनिरहेको छ। जनसंख्याको बढ्दो चापसँगसँगै प्रदुषणका समस्याहरू पनि बढ्दा देखिन्छन्। प्रदुषण आफैमा एउटा समस्या हो भने प्रदुषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्याहरू पनि छन्। वातावरणीय प्रदुषणकै कारण पृथ्वीको तापक्रममा बृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पबृष्टि जस्ता विकराल समस्याहरू देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ। जस्ता अन्य ठूला समस्याहरू पनि अप्रत्यक्ष रूपमा प्रदुषणकै कारण हुन्। प्रदुषणका कारण देखिने यस्ता समस्याहरूले वातावरणलाई थप प्रदुषित गरिरहेका हुन्छन्। प्रदुषणको प्रकृति अनुसार प्रदुषणलाई प्राकृतिक कारणले हुने प्रदुषण जस्तै ज्वालामुखिबाट निस्कने धुँवा, धुलोले गर्ने प्रदुषण र मानवद्वारा हुने प्रदुषण (जस्तैः फोहोर मैला, आवाजहरू) भनि छुट्याइन्छ। कुरा जे भए पनि प्राकृतिक प्रदुषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन्।
प्रदुषण हाम्रो वातावरणका हावा, पानी र जमीन सबैमा हुन सक्छ। यी सबै क्षेत्रका प्रदुषण प्रत्यक्ष वा अप्रत्यक्ष अन्तरसम्बन्धित रहन्छन्। त्यसैले यी मध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदुषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, अप्रत्यक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुनसक्छ। जस्तो जमिनमा हुने प्रदुषणले जल प्रदुषणमा पनि भूमिका राख्छ अनि अप्रत्यक्ष असर जलचरलाई गर्दछ। आजको विश्व निरन्तर विकासतर्फ उन्मूख छ। औद्योगिकीकरण, शहरीकरण, उन्नतिका सुचक मानिन्छन्। तर तीब्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदुषण विकासभित्र विनास निम्त्याइरहेका छन्। आधुनिकीकरण सँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताका प्रति रहे भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदुषणका प्रमुख कारक बन्दैछन्। आज बढिरहेको प्रदुषणका नकारात्मक असरहरू अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्नसक्ने देखिन्छ। यसकारण पनि वातावरणीय प्रदुषणलाई आम चासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो।
अहिले विश्वको जनसंख्याको चाप निकै तीब्र छ। करिब दश हजार वर्षअघि पृथ्वीमा संख्या करिब ५० लाख भएकोमा हाल यो संख्या ६.६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ। जनसंख्याको आँकडा अनुसार पृथ्वीमा प्रत्येक घण्टामा ९ हजार जना थपिन्छन्। अर्थात् १५० जनाप्रति मिनेटका दरले जनसंख्या बृद्धि भइरहेको छ। जनसंख्या बृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि बृद्धि हुन्छन्। गास, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतहरूमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ। वन जंगल, बन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतहरू माथिको हस्तक्षेपमा पनि बृद्धि हुन्छ। फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्‍याइरहेको हुन्छ। बन फडानी जनसंख्या बृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो।
मानिस आफू बाँच्नका लागि मात्रै नभै पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ। यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै बनजंगल, बन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिहरूसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ। यही क्रममा दिनानुदिन बनक्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान (आवासक्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकसित देशहरूमा मात्रै होइन विकसित देशहरूमा पनि बढ्दो छ। एकातर्फ बनक्षेत्र घटाएर त्यसलाई आवासक्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिंदैछ भने अर्कोतर्फ शहरीकरणले कैयौं खेतीयोग्य उर्वरभूमिहरू पनि आवासीय क्षेत्रमा बदलिंदैछन्। यसैले शहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिन्न। खाद्यान्न समस्या पनि अर्को आर्थिक वातावरणीय समस्या हो। शहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन्। आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन्।
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिहरूले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो। आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आम चुनौतीको विषय हो। यो चुनौती आज विकसित मुलुकका लागि मात्रै भएर विकासोन्मुख राष्ट्रहरूका निम्ति पनि झनै टड्कारो रूपमा देखिन्छ। हाम्रो मुलुकजस्तो अविकसित मुलुकका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा हो। वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदुषण न्यूनीकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्था विकासोन्मुख राष्ट्रहरूका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ। यद्यपि प्रदुषणको विश्वव्यापी समस्या न्यूनिकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ। आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदुषणको शिकार अविकसित मुलुकहरू पनि भइरहेको कुरा यथार्थपरक छन्। हामी आफैले गरेको प्रदुषणको असर मात्रै नभई अरूले गर्ने प्रदुक्षणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ। यसकारण वातावरणीय प्रदुषणको असर प्रदुषण गर्नेलाई मात्रै होइन नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ। अन्ततः वातावरणीय प्रदुषणका कारण हुन सक्ने सम्पूर्ण खतराहरूप्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरी नै छ। हामी अविकसित मुलुकका नागरिकहरूमा पनि यो चेतना हुनु जरूरी छ। प्रदुषण न्यूनिकरण गर्ने कुरामा आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौं। अविकसित मुलुकका सचेत नागरिकको उदाहरण विकसित राष्ट्रका नागरिकहरूलाई पनि उदाहरणीय बन्न सक्छ।

भाइबर @ डेस्कटप

तपाईं भाइबर प्रयोग गर्नु हुन्छ ? मोवाइलमा नेटवर्क नभएर समस्या भोग्नु भएको होला । तपाईंलाई खुसीको खवर छ । मोवाइलमै विश्वभर निशुल्क फोन गर्न सकिने यो एप्लिकेसन (एप) को डेस्कटप भर्सन सार्बजनिक भएको छ ।

तपाईंले एउटै नम्बर प्रयोग गरेर विभिन्न डिभाइसमार्फत विश्वभर संचार सुविधा प्रयोग गर्न सक्नुहुन्छ । कार्यालय, घर, स्कुल, यात्रामा जहाँ भए पनि एउटै नम्बर प्रयोग गरेर कुराकानी गर्न सक्नुहुन्छ । स्काइपलाई चुनौति दिने गरी आएको यस एप्सले केही नयाँ सुविधासमेत थपेको छ । मोवाइलमा डेक्सटपबाट कल गर्ने सुविधा दिने भाइबर पहिलो एप हो ।

यसले निशुल्क कल गर्ने सुविधा दिन्छ । यसका लागि छुट्टै एकाउन्ट बनाउनु पर्दैन । मोवाइल नम्बरलाई नै यसले एकाउन्टको रुपमा लिन्छ । भाइबरले मोवाइलमा रहेका कन्ट्याक्ट लिस्ट, मेसेज र कल हिस्ट्रीलाई सिंक्रोनाइज गर्छ । मोवाइल र डेस्कटप डिभाइसको नम्बर, मेसेजलगायत सिंक्रोनाइज गर्ने भएकाले एउटामा भएका सामग्री डिलेट गर्दा अर्कोमा त्यसको असर देखिन्छ ।

कुरा गर्ने अर्को डिभाइसमा पनि भाइबर हुनु आवश्यक छ । यसलाई प्रयोग गर्न कुनै मुलुकको सीमानाले छेक्दैन । युरोप होस् वा अमेरिका । जहासुकै बस्ने आफन्तसाग नेपालबाट जुनसुकै बेला भाइबरबाट निशुल्क कुरा गर्न सकिन्छ । डिभाइसमा इन्टरनेटको कनेक्सन चाहीं हुनुपर्छ, चाहे वाइफाइ होस् वा थि्रजी (थर्ड जेनरेशन) नेटवर्क ।

साइप्रसको कम्पनी भाइबर मेडियाले यस एपको विकास गरेको हो । अमेरिकी-इजरायली ब्यवसायी टालमन मार्कोले स्थापना गरेको भाइबर मेडियाका बेलारुस र इजरायलमा डेभलपमेन्ट सेन्टर छन् । भाइबर एपका झण्डै २० करोड प्रयोगकर्ता रहेको कम्पनीले यसबाट अहिलेसम्म कुनै आम्दानी भने गरेको छैन । यसले यसै बर्ष (सन २०१३) देखि भने ‘स्टिकर स्टोर’ बाट कमाउन थाल्ने बताएको छ । यसले अहिलेसम्म एडभर्टाइजिङलाई स्वीकारेको छैन ।

अघिल्लो सातामात्र सार्बजनिक भएको डेस्कटप सस्करणमा भिडियो कल गर्नेसमेत सुविधा छ । यसबाहेक भाइबरमार्फत टेक्स्ट (एसएमएस), फोटो पठाउन र भ्वाइस कल गर्न सकिन्छ । यसमार्फत ग्रुप कन्भर्सेसनको समेत सुविधा छ । अनगोइङ कललाई डिभाइसबीचमा ट्रान्सफर गर्न सकिन्छ । डेस्टटप भर्सनबाट भिडियो मेसेज (भिडियो भ्वाइस मेल) पठाउने सुविधा छ । यस्तै नयाँ स्टिकर, लास्ट अनलाइन स्ट्याटस हेर्ने सुविधासमेत यसमा छ । यसलाई रजिस्ट्रेसन गर्ने, पासवर्ड राख्ने र अरुलाई इन्भाइट गर्ने जरुरत पदैन । यसको भ्वाइस क्लालिटी पनि निकै राम्रो छ ।

यसको सबैभन्दा सुन्दर विशेषता भनेको निकै सजिलो एक्टिभेसन प्रोसेस हो । डेक्सटपमा चलाउन भाइबर डटकममा गएर यसलाई डाउनलोड गर्न सकिन्छ । यसका विन्डोज र म्याक दुवै डेस्कटपमा प्रयोग गर्न मिल्ने भर्सन छन् । डाउनलोड गर्न तपाई मोवाइलको भाइबर युजर हुनुपर्छ । डेक्स्टप एपले मोवाइलमा एप डाउनलोड गर्न भन्छ । डेक्सटपमा इन्स्टल गरेपछि तपाईंले चलाउदै आउनु भएको मोवाइल नम्बर माग्छ । मोवाइल नम्बर इन्ट्री गरेपछि भाइबरले मोवाइलमा कोड नम्बर पठाउछ । त्यस कोडलाई इन्ट्री गरेपछि डेक्सटपमा भाइबर प्रयोग गर्न सकिन्छ । ‘मानिस कार्यालय वा घरमा रहदा ल्यापटप वा डेक्स्टप प्रयोग गर्छन्’, भाइबरका प्रमुख कार्यकारी टालमोन मार्को भन्छन्,’उनीहरुलाई भारबरको नया भर्सनले सघाउनेछ ।’

भाइबर मिडियाले डेक्स्टप भर्सनमा ८ नया भाषालाई पनि प्रविष्ट गराएको छ । यसपछि भाइबरले सपोर्ट गर्ने भाषाको संख्या २७ पुगेको छ ।

भाइबरले प्रख्यात कम्पनी माइक्रोसफ्टको ब्याकिङमा रहेको भ्वाइस र भिडियो कलको लागि चर्चित स्काइपलाई एक स्टेप अगाडि बढेर गम्भिर चुनौती दिएको छ । स्काइपबाट मोवाइल वा ल्यान्डलाइनमा कल गर्न शुल्क तिर्नुपर्छ । निशुल्क भिडियो/भ्वाइस कल गर्न छुट्टै आइडी बनाउनुपर्छ । झण्डै ६० करोड प्रयोगकर्ता रहेको स्काइपलाई डेस्कटपबाटै फोन गर्ने सुविधा दिएपछि उपभोक्ता भाइबरतिर आकषिर्त हुने देखिएको छ । मोवाइलमा थि्रजी नेटवर्क त्यति राम्रो नभएको र जताततै वाइफाइ सुविधा नपाएका नेपालीलाई समेत भाइबरको डेस्कटप सस्करणले मोहनी लगाउने निश्चित छ ।

भाइबरको डेक्सटप भर्सन कर्पोरेट युजरहरुलाई निकै उपयोगी हुने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष नारायण न्यौपाने दावी गर्छन् । ‘नेपालमा इन्फ्रास्ट्रक्चरको अभावले थि्रजी र वाइफाइ सेवा त्यति भरपर्दो नभएको अवस्थामा भाइबरको डेक्सटप भर्सन कम्युनिकेसनमा निकै उपयोगी हुने देखिएको छ,’ उनले भने, ‘डेस्कटपबाटै फोन गर्न मिल्ने सुविधाले कर्पोरेट ग्राहकलाई संचारमा हुने खर्च निकै घटाउने छ ।’ उनले भौतिक पूर्वाधारको अभावमा नेपाली उपभोक्ताले धेरै एप्लिकेसनहरु प्रयोग गर्न नपाएको बताए ।

सहमतिको आबश्यकता

बलिदान पूर्ण आन्दोलनको उपलब्दिलाई संस्थागत गरेर हाम्रो देश नेपाललाई सकारात्मक दिशामा आगाडी बढाउन सहकार्य र सहमतिको राजनीति नै आजको आबश्यकता छ भन्ने कुरामा राज्य संचालनको बिधिमा रहेका राजनीतिक दलका नेताहरुका कुरामा बिमति देखिदैन, तर ब्यबहारमा त्येस्तो देखिदैन । जनआन्दोलन पक्षधर दलहरूको असमझदारी र असहमतिका कारणले मुलुक यति गम्भीर मोडमा उभिंदा समेत नेताहरूको असमतिको राजनीतिले सिंगो मुलुकलाई अन्धकारमा डुबाएको छ। भर्खरै निर्माण भएको ३ दलीय, ६ सदस्यीय कार्यदल र सभामुखको आयोजनामा बसेको अनुपचारिक बैठकमा भएको संविधान निर्माणमा बाधा फुकाउने सहमतिलाई पनि कालो बादलमा चाँदीको घेराको आहान भन्दा बढ्ता आशा गर्न नसकिने भयो । विगतका सत्य तथ्यहरूबाट यो निष्कर्ष निकाल्न बाध्य पार्दछ। राजनीतिक दलका नेताहरुको बानी गफमा एकमत जाहेर गर्ने तर व्यवहार त्यसको विपरीत प्रदर्शन गर्ने प्रवृत्ति राजनीतिक इमानको प्रवृत्ति होइन, एउटा रकमी प्रवृत्ति हो। यस्तो रकमी प्रवृत्ति अधिरचनामा प्रकट भइरहनुका पछाडि देशको राज्य संचालनको विधिमा रहेका दलका नेताहरूको दिमागमा देश र जनताप्रति गम्भीर नहुने, आफ्नो दल, आफ्नो गुट, आफ्नो परिवार र आफूप्रति गम्भीर हुने चिन्तनका कारण आज देश गम्भीर एवं नाजुक अबस्थाबाट गुज्री रहेको छ । यो अवस्था देश र जनताका लागि भयानक राष्ट्रिय चिन्ताको विषय बनेको छ । बर्षौ देखि केन्द्रिकृत सामन्ती व्यवस्थामा गुज्रीएको मुलुक नेपालमा जनआन्दोलनको बलमा संविधानसभाको चुनाब सम्पन्न हुनु र गणतन्त्र घोषणा हुनुलाई महत्वपूर्ण परिवर्तन मान्न सकिन्छ तर यी परिवर्तनहरूलाई जनआन्दोलनकारी राजनीतिक पार्टीका नेताहरुले संस्थागत गर्ने कुरामा गम्भीरता प्रदर्शन गर्न नसक्नुनै देश र जनताकालागी आत्मघात हो ।
मुलुकले परिवर्तन पक्षधर सम्पूर्ण राजनीतिक दलका माझमा सहमति र सहकार्यको राजनीतिको माग गरिरहेको छ। तर प्रतिगामी शक्तिहरू सहमति, सहकार्य र एकताको दिशामा जनआन्दोलनकारी शक्तिहरूले सर्वदलीय सहमति कायम गर्न नसक्ने मात्र होइन आफ्नो दलभित्रै सहमति कायम गर्न नसक्नु र गुट उपगुट पैदा गराउनुले परिस्थितिलाई अरू जटिल दिशामा अगाडि बढाएको छ। मुलुकको परिस्थिति, राष्ट्रिय आवश्यकता अनुकूल होइन, त्यसको प्रतिकूलतामा देश र जनताको स्वार्थ भन्दा सत्ता र दलीय स्वार्थको राजनीति हावी हुँदा भाई फुटे गवार लुटे भने झैं प्रतिगामी शक्ति मात्र होइन बैदेशिक शक्तिकेन्द्रको चलखेल देशको राजनीतिमा हावी हुनु सानो खेदको कुरा होइन। बहुदलीय व्यवस्थामा राज्य संचालनमा दलहरूको भर पर्नुको विकल्प हुँदैन। तर संविधानसभाको निर्वाचनले जिम्मेवार स्थानमा अनुमोदन गरेका राजनीतिक दलका नेताहरूको काँधमा गणतन्त्रको सुदृढीकरण गर्ने, संविधान निर्माण गर्ने र राष्ट्रियताको रक्षा गर्ने अभिभारा सुम्पेको छ। यो अभिभारा पूरा भएन भने हाम्रो देश नेपाल कहिल्यै उठ्न नसक्ने गरी पछारिने छ भन्ने अबगत हुदा हुदै पनि राजनीतिक दलका नेताहरुको व्यवहारमा असहमति, असमझदारी र दाउपेचको राजनीति गरेर माओवादी, कांग्र्रेस र एमाले जस्ता दलहरूले सत्ता र दलीय स्वार्थलाई अगाडि सार्दा गणतन्त्रको सुदृढीकरण नहुने, संविधान नबन्ने तथा राष्ट्रियता समेत शंकटग्रस्त बन्ने सम्भावनाहरू झनपछि झन मजबुत हुँदै गइरहेको परिदृश्यमा मुलुकको भावी चेहरा अफगानिस्तान, इराक र नाइजेरियाको जस्तो हुने खतरा हाम्रा अगाडि उभिएको छ। यो बिशाल संकट वा खतराबाट मुक्ति पाउन देसको संक्रमणकालिन अवस्थालाई सकारात्मक विन्दुमा व्यवस्थापन गर्न दलहरू गम्भीर हुन जरूरी छ । संविधानसभा र संसद नै नागरिक सर्वोच्चताका प्रतिनिधि संस्था हुन् भने ती संस्थाहरूलाई सुचारू, शक्तिशाली, सक्रिय क्रियाशील र निर्णायक बनाएमा मात्रै मुलुकले ठीक दिशा लिने छ। संसद अवरूद्ध पार्ने र संविधानसभालाई निश्त्रि्कय पारेर सडकमा शान्ति र अधिकार खोज्न थाल्नु संसद र संविधानसभाको मात्र नभई सहीदका सपना र जनआन्दोलनको समेत उपहास हो।