Ek Din – Durga Lal Shrestha

यौटी केटी भेटेँ मैले
इस्कुलको बाटो,
हातमा थ्यो यौटा थाल
किताबको साटो !

मुख थियो निन्याउरो
लथालिङ्ग केश,
ओठ पनि कत्ला कत्ला
केकेजस्तो भेष !

सानै थिइन्, शरीरमा
खालि जामा चोला,
मेरोभन्दा उन्को उमेर
अलि पाको होला !

दया लाग्यो, आफ्नो खाजा
मैले उन्लाई दिएँ,
तर उनी उल्टै जङ्गनि्
म त वाल्लै परेँ ।

Putali Gaun – Durga Lal Shrestha

देख्छु म यहाँ पुतलीसडक,
पुतलीबजार,
पुतलीगाउँ लागेन पत्ता
खोजे नि हजार ।

हुन त पक्कै होला त्यो गाउँ
कहीं यो माटोमै,
बसेको छ कि मलाई नै ऊ
ढुकेर बाटोमै ।

कल्पना फुर्छ पुतली-ज्यूको
छिर्बिरे धर्सा,
त्यो गाउँ कत्ति सुरम्य होला

सुनचाँदी वर्षाले ।

उडाइ उसको गीतझैँ लाग्छ
आवाजविनाको,
सुतेको शान्ति सुस्तरी उठ् छ
हृदय-कुनाको ।

Rastriya Geet – Durga Lal Shrestha

राम्रो छ है, सबैभन्दा राम्रो छ
मलाई मेरो देश,
प्राणभन्दा नजिक छ त यौटे छ
त्यो हो मेरो देश ।

प्राण प्यारो, किनकि म अहिले
छु है यसैमा,
मरेपछि हुन्न प्राण, तर म
हुन्छु देशैमा,
त्यसैले त प्राणभन्दा मेरो म
मलाई मेरो देश ।

यो आकाश अनि यसमा लर्केको
सप्तरङ्गी केश,
यसको शरीर थरीथरी यहाँका
भाषा अनि भेष,
यही हो है कैले पनि नमर्ने
मेरो आफ्नो देश ।