Space – Manoj Bogati

अघि हिँड़्‌नेहरूको पाइलाको धुलोले
ड्याम्म छोपेको छ
स्पेसको बाटो।

पुरानो बाटो भत्काएको भ्रमको
मीठो निद्रालाई
विचारको अँध्यारो कोठामा सुताउनेहरू
ब्यूँझिएको रिहर्सलको बतास चल्छ
बतासमा कता-कता टुक्रिन्छ विचार। टुक्रिन्छ।
कता-कता छरिन्छ संवेदना। छरिन्छ।

बतासमा भत्किबस्छ नी!
पारम्पारिक सत्ताको घर।

पछि-पछि कुदिबस्ने
आलाप, नारा, मानसिक रोगी घोषणाको अनुहार
चिन्दैन
(किन चिन्नु?)
स्पेसको अर्को फाटक टेक्ने पस्पेसराइडरले।

कति रिस्‌ जस्तो चर्किबस्नु?
जोड़िन नसक्ने जङ्गली संवेदनाले। कति चर्किबस्नु?
हँ अक्षर
कति फिँज जस्तो फुटिबस्नु?

( बाटो हुँदैन
बाटोको घर, परिवार
आफन्त, छिमेकी संसार केही हुँदैन।
बाटाले भत्किनु, बनिनु पर्दैन।
बाटो नै हुँदैन । हुँदैन बाटो।
कहॉं छ बाटो?)

बाटो बनाएँ भन्नु
लुते घोषणा हुन्छ।

अघि हिँड़्‌नेहरूले
खोसलिराखेको
नाङ्गो(?) सत्यमा
ओभरराइटिङ गर्दै बस्नुको
घमण्डको बेलुन सधैँ फुल्लिबस्छ। फुल्लिबस्छ।
जब त्यो फुट्‌छ, त्यो फुट्‌छ
त्यसको आवाजलाई
नयॉं-को अवतरण मानेर आरती गाउने
गाइनेहरू
किलामा गोरूहरू झैं घुमिबस्छ। घुमिबस्छ।

किन डराउनु?
त्यो जोड़ले रिसाउने पाठकसित।
त्यसले त्यसको पाठलाई
त्यसको निजी पतलुङ जस्तो पैह्रेको छ।

पछि हिँड़्‌नेहरूको पाइलाको धुलोले
फेरि ड्याम्म छोपेको छ
अर्को स्पेस।

Khaderi – Manoj Bogati

पसीनाहरू दिनभर काम गर्न आउँछन्‌
माटोसित खेलेर फर्कन्छन्‌।
पसीना माटोजस्तो गन्हाउँछ
माटो पसीनाजस्तो गन्हाउँछ

त्यो गन्धमा बॉंच्छ
बस्तीको भोक।
भोकहरू गीत गाउँछन्‌
हो हो माले हो हो -हरूको
स्मारकपत्र हातमा बोकेर।

हरेक शताब्दीले माटो दिएर पालेका भोकहरूले लेखेर पठाएको
सहुलियतहरूका अपीलपत्रको आँगनमा बसेर
आउने भोटकै समीक्षा गर्दैबस्छन्‌
नीति निर्माता मन्त्रीहरू।

खेत र ग्रामपञ्चायत
सँगै बसेको
ग्रामसंसदबाट
न्यायपालिकाको मृत्युको खबर ढुक्कैले सुनाउँछन्‌ मण्डल बाजे।

पसीनाहरूलाई पनि भोक लाग्छ
भोक लागेको देखाउँदैनन्‌ तिनीहरू।

ठण्डा महीनाको छुट्टी बिताउन आएका
शहरे पढ़न्ते छोराहरूलाई
अनौं थमाएर सामुहिक स्वरमा भन्छन्‌ पसीनाहरू-
“…जोत्नू अब तिमीहरू आफै तिमेरका अक्षरहरू…”

खेतको धानबाली अनि उनीहरूको होमवर्क
दुवैले
टाउकोभरि उठाएका छन्‌
ऋण र दायित्वको एक थाक नयॉं संस्करण।

सरकार भत्किँदै बनिएको कति भयो
खेत जोत्ने हलो फेरिएन
न फेरियो खेत भिजेको हेर्ने सपना झुण्ड्याएर
आँखामा नै चर्किएको बूढ़ाबाको मोटो चश्मा।

हेर्नू,
यसपालिको भोट पनि खड़ेरीले नै जित्यो।

Saila Bahun – Manoj Bogati

साइला बाहुनले बाजेलाई पछ्याएनन्‌
बाबुलाई पछ्याएनन्‌।
उसले भने- म म भएर बॉंच्छु
म आफै बनाउँछु बाटो।

धेरै दाजुभाईबीच
कुन्नि किन साइला मिल्नै सकेनन्‌
भने- बरू कोइलाखानी जान्छु
पढ़्न जॉंदिनँ।

म ठग्दिनँ
यसरी नै एकदिन अग्लिन्छु।

उसको कोठा छुट्टियो
फोक्टा छुट्टियो।

एकदिन
त्यही कोठामा सर्किनी कान्छी पसिन्‌
त्यसपछि त पानी छुट्टियो
जिन्दगानी छुट्टियो।

साइला बाहुनलाई गाउँबाटै निकालियो
नाउँबाटै निकालियो।

आहिले साइलाको आफ्नै गाउँ छ
आफ्नै नाउँ छ।

उ अहिले भन्छ-
मेरो नाउँ कसैले मेट्न सकेन
मेरो गाउँ कसैले मेट्न सकेन
जसले मेट्न खोजे
उनीहरूले नै
मेरो आफ्नो नाउँ बनाए
मेरो आफ्नो गाउँ बनाए
यसो गर्न मैले नै उनीहरूलाई सघाएँ।