कला
कलाका लागि होस्
जीवनलाई
सुन्दर बनाउनका लागि नहोस्
रोटी रोटीका लागि होस्
खानका लागि नहोस्
मजदुर मेहनत गर्नका लागि होस्
केवल मेहनत
पुँजीपति होस्
मजदुर सिर्जित पुँजीको
मालिक बन्नका लागि
अर्थात्, जो जे छ, रहोस् त्यस्तै
कुनै परिवर्तन नहोस्
मालिक होस्
दास होस्
दास बनाउनका लागि युद्ध होस्
युद्धका लागि फौज होस्
र, फौजका लागि युद्ध होस्
हाललाई कला शुद्ध रहिरहोस्
र, शुद्ध कलाको
पवित्र प्रभामण्डलमा
जल्लादहरू भइराखून्
मान्छेलाई
फाँसी चढाउनका लागि।