Sanki Tara – Shrawan Mukarung

कसैलाई वास्ता छैन– उसको आगमनको ।

बरु छ–
भर्खरै,
त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको
खेतको आकाशलाई सानो झरीको दाग लागेको
धानको बाला थोरै उठेको
लाटोकोसेरो ढिलो उडेको

बरु छ–
भर्खरै,
त्यो बूढो बाजेको धार्मिक श्लोकभित्र सलबलाइरहेको पहेँलो
कामुकता
त्यो मौन इनारबाट आइरहेको मिश्रित पुरुषवीर्य
र आलो बालिका रगतको गन्ध

बरु छ–
भर्खरै,
बिच्किएको बच्छ्यूझैँ सगरलाई चिल्दै
ओलम्पिकबाट आआफ्नो भूमि फर्किरहेका राता हवाईजहाजहरू
र तिनका राता आवेगहरू

कसैलाई वास्ता छैन – उसको आगमनको
तर ऊ,
सन्किरहेकछ, स्वप्नवत् सन्किरहेछ–
भर्खरै,
त्यो पूर्वको पहाडमाथि निस्केको युवाकविजस्तो तारा ।

Ye Naulo Manchhe – Shrawan Mukarung

ए नौलो मान्छे सुन यो सहरमा तिमी एक्लो छैनौ
बाटो हराएका
माटो गुमाएका
यो ठूलो संसारमा तिमी एक होइनौ

कति छन् यहाँ आफ्नो नाम खोज्दा बेनाम भएका
कति छन् यहाँ अनुहार खोज्दा पग्ली झरेका
ए नौलो मान्छे…

यहाँ छन् हजारौँ दुःखले गलेका मानिसका आँखा
यहीँ छन् हजारौँ मान्छे अटाउने देवताको काख
ए नौलो मान्छे…

तिमीले टेकेको गोलो यो पृथिवी तिम्रो पनि हो
यो धर्ती, यो आकाश अहँ हुँदैहोइन बिर्ता

Prem Parwa – Shrawan Mukarung

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगङ्गालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ

बारीको डिलैडिल उफ्रिहिँडेँ मृगझैँ
माथिका यी अँध्यारा पर्वतहरू
तलको त्यो रेलको रित्तो बाटो, नुनिलो आभास…
जम्मै बिर्सिएँ मैले !

मान्छेहरूले वर्षौदेखि पुज्न छाडेको त्यो निरीह मन्दिरलाई
मान्छेहरूले वर्षौदेखि फर्की नहेरेको त्यो नियास्रो द्यौरालीलाई
स्वर्गको लालसामा फेरि
ढोगेँ मैले ।

हजुर आउनुहोला भनेर
अनिदा यी सपनाका चरा र छुङछुङती नाचिरहेको हातका
चुराहरू
मनभित्र त्यसै–त्यसै पोको पारिराखेको सरमलाग्दा के–के, के–के
कुराहरू
यी घरका आशातीत झ्याल–ढोकाहरूलाई
सुम्पिएँ मैले ।
लौ हजुर त झन्–झन् अकासिँदै…?

प्रेम भनेको दृष्टिको अनन्तता पो रहेछ
स्वर्ग भनेको हृदयको उचाइ पो रहेछ
ईश्वर भनेको आफ्नो सबभन्दा प्यारो वस्तु पो रहेछ
वर्षौदेखि बज्न नपाएका यी कुण्ठित घण्टहरूलाई बेस्कन बजाउँदै
चिच्याएँ म–

ए हिँड्दाहिँड्दै निख्रिजाने उकाली–ओराली !
ए बस्दाबस्दै थकाइ मेटिजाने चप्लेटी !
कलिला छाँगा, रुपौला रात
र छुनछुनाउँदा चियाका पातहरू !

कसले भन्छ : यी बतासका झोक्काहरू हाम्रा प्रेमचिह्नहरू
होइनन्
कसले भन्छ : यी दहमा खसेका पातहरू हाम्रा प्रेमपत्रहरू होइनन्
साँघुरो भो मलाई झरीका हारीहरू
साँघुरो भो मलाई सम्झनाका घारीहरू

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगङ्गालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ ।