Shrawan Mukarung – Pirai Pir Ko Bhari Boki

पीरैपीरको भारी बोकी कता जाने तामाङ दाइ
उँभो लागे बिगु गुम्बा
उँधो लागे नीलो गङ्गा
जहाँ पुगे’नि सुख छैन सपना देख्ने मान्छेलाई

पहाड नाघ, जङ्घार तर भेटिने त उही सूर्य
बिसोनी हो यशोधरा तिम्रा लागि तिमी बुद्ध
पीरैपीरको भारी बोकी…

यो बाटोमा पसिनाको एकपछि अर्को हिमाल
जति आँसु बहे पनि आफ्ना लागि आफैँ रुमाल

Shrawan Mukarung – Ye Naulo Manchhe

ए नौलो मान्छे सुन यो सहरमा तिमी एक्लो छैनौ
बाटो हराएका
माटो गुमाएका
यो ठूलो संसारमा तिमी एक होइनौ

कति छन् यहाँ आफ्नो नाम खोज्दा बेनाम भएका
कति छन् यहाँ अनुहार खोज्दा पग्ली झरेका
ए नौलो मान्छे…

यहाँ छन् हजारौँ दुःखले गलेका मानिसका आँखा
यहीँ छन् हजारौँ मान्छे अटाउने देवताको काख
ए नौलो मान्छे…

तिमीले टेकेको गोलो यो पृथिवी तिम्रो पनि हो
यो धर्ती, यो आकाश अहँ हुँदैहोइन बिर्ता कसैको
ए नौलो मान्छे…

Shrawan Mukarung – Surya Grahan

तिम्रो सिउँदो भर्न मैले
यसरी हत्केला चिरेजस्तै
पृथिवीको सिउँदो भर्न
सूर्य–
आकाश चिर्दै–चिर्दै आउने गर्छ

यसरी निधारै भरिएर रगत
तिम्रो पाउभरि खसेजस्तै
हिउँखोलाहरू
नदी हुँदै–
समुद्रमा खस्ने गर्छन्

मेरो छातीको सिरानी लगाएर तिमी–मैले
अनेक सपना देखेजस्तै
या मन्दिर छोएर हर्षले बरबरी रोएजस्तै
सूर्य कति रोयो होला–
सूर्यग्रहणमा….।
तर, एक्कासि तिमीले झैँ पृथिवीले
सूर्यलाई छोडेर गयो– दुःखमा !
अहिले पृथिवीको सिउँदो भर्न
चन्द्रमा आकाश चिर्दै–चिर्दै आइरहेछ
मसित त न चक्कु छ न त्रिशूल !