हामी बस्ने बस्तीहरूमा
हावा पनि डराई-डराई बग्दछ
सूर्यको किरण पनि
मन नलागी-नलागी खस्दछ
हामी बस्ने भूगोलको नजिक भएर
कुनै अक्षांश र देशान्तर रेखा पनि जाँदैन
कुनै जहाज र विमान पनि जाँदैन
किनकि-
सामाजिक भनिएको समाजले नै
बनाएका दलित हौँ हामी ।
हाम्रा आँगनमा फुल्ने गुराँसहरू
राष्ट्रिय फूल होइनन्
हाम्रा घरमा डुल्ने डाँफे
राष्ट्रिय पंक्षी होइनन्
हामीले पालेको गाई
राष्ट्रिय जनावर होइन
हामीले छोएको कपडाले
राष्ट्रिय झन्डा बन्दैन
हामीले फलाएको अक्षता
कुनै मन्दिरमा चढ्दैन
हाम्रो सयपत्रीले
कुनै देउता पुजिँदैन
किनकि-
सामाजिक भनिएको समाजले नै
बनाएका दलित हौँ हामी !
हाम्रा धमनी, हाम्रा सिराबाट
हाम्रो नसा-नसा भएर
लहु होइन, दलित बग्दछ
हाम्रो पसिनाको रंग दलित हो
हाम्रो रगतको रंग दलित हो
हामी रुँदा आखाबाट दलित खस्छ
हामी हाँस्दा ओठमा दलित बस्छ
हाम्रो शिरको जुम्रा,
हाम्रो पेटको जुका दलित नै त हो
किनकि-
सामाजिक भनिएको समाजले नै
बनाएका दलित हौँ हामी !
हामी दलितहरूको कण्ठबाट आएको
एउटै दबित आवाज छ
हजुर बेदलितहरूसमक्ष–
हरपल हामीभित्र दमाहा बजाइरहने
हाम्रो मुटु झिकेर लैजानुहोस्
र तपाईंको समाजको प्रयोगशालामा
परिक्षण गरेर बताउनुहोस्
के हामी दलित हौँ ?
होइनौं भने त केही भएन
परन्तु केही गरी हौँ भने
छर्किदिनुहोस् एक-एक अञ्जुली गंगाजल
तपाईं बेदलितहरूको कमण्डलुबाट
ताकि आइन्दा फेरि कसैले
हाम्रो घरमा दलित भएर जन्मनु नपरोस्
किन्तु तपाईंको गंगाजलले पनि
हामी चोखिएनौँ भने
कुन तीर्थको अमृतले
कुन गंगाको जलले चोखाउनुहुनेछ
हामीलाई छुँदा अशुद्ध भएकी
तपाईँकी गंगालाई ?
Source: http://www.baahrakhari.com