Kabi Shiromani Ko ‘Ye Nepal’ – Kamal Dixit

कमल दीक्षित – कवि शिरोमणिको “ए नेपाल!”
(हिमाल खबरपत्रिका)

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

हामीलाई थाहा छ, २००७ सालमा प्रजातन्त्रले नेपालमा प्रवेश गरेलगत्तै फुट र अन्तरकलह पनि भित्रियो। नौ महिने सरकारको परम्परा बसेको थियो। त्यसबाट हाम्रा कवि शिरोमणि आजीत भएका थिए भन्न बुझन गाह्रो छैन। तर चार अन्तराको यस गीतमा त्यति मात्र हैन अरू पनि कुरा छन्। त्यो खोतलिहेर्नु देशप्रेमी नेपालीको कर्तव्य हो, खास गरेर अहिले नेपालमा शाह-शासनको पनि अन्त्य भई गणतन्त्र भएको नेपालका नेपालीको। कवि शिरोमणिले आधा शताब्दीअघि बोलेका कुरा अहिले पनि कसरी ठ्याक्कै मिल्दैछ! के यी ५० वर्षमा नेपालले केही सिकेन? के नेपाल एक इञ्ची पनि अघि बढेन? किन? प्रत्येक राजनीतिज्ञले मनन गर्नुपर्ने कुरा हो। धेरै गन्थन गर्नुभन्दा त्यो गीत नै गुन्गुनाउनु जाती होला। तर त्यसभन्दाअघि टेलिभिजनले भन्नेजस्तै अलिकति कमर्सियल गरौँ।

नेपालीमा नवप्रभात भन्ने नामका दुई पत्रिका देखा पर्छन् खोजिहेर्दा― एउटा द्वैमासिक, अर्को साप्ताहिक। द्वैमासिक भारतबाट प्रकाशित भएको हो, सन् १९५४ मा कालिम्पोङदेखि। साप्ताहिक भने हालैको हो, २०४८ मा नेपालको रौतहटबाट। साप्ताहिक नवप्रभात नेपालमा प्रजातन्त्र आएपछि रातारात जन्मिएका छिचिमिरा पत्रपत्रिकाजस्तै छ― दुरुस्त कवि शिरोमणिले हिउँदका दिनलाई भनेजस्तै देखिने र दबिने खालको, चर्चा गर्नुपर्ने विशेषता केही नबोकेको। तर कालिम्पोङको त्यो द्वैमासिक नवप्रभात को भने एउटै पहिलो अङ्क पनि महत्वपूर्ण लाग्छ।

पहिले त यसका सम्पादकद्वय नै हामीले सम्झ्नुपर्ने नाम हुन्― सानुमती राई र महानन्द पौड्याल। अर्को यसका प्रकाशक पनि छन्― प्रह्लादप्रसाद अग्रवाल। दुर्भाग्यवश, नवप्रभात जम्माजम्मी कति अङ्क निस्केर बन्द भयो हामीलाई थाहा हुन्न, देख्न पाइएको सन् १९५४ जनवरीको त्यो पहिलो मात्र हो। त्यसमा कथा र निबन्ध पनि छन्, कविता र गीत पनि। भारतका र नेपालका ख्यातनामा कवि-लेखकका कृतिहरू समेटिएका छन् त्यसभित्र। कविताहरू भीमनिधि तिवारीका छन्, माधवलाल कर्माचार्यका र बदरीनाथ भट्टराईका पनि छन्। हाम्रा कविवरद्वय लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम कालिम्पोङ पुगेका बेला उनीहरूका स्वागतमा पाठ गरिएको तुलसी अपतनको कविता मार्मिक छ। कवि भन्छन्ः
“आयौ जगमा प्रेम शान्तिको
अनुपम भण्डार लिई
संसारबीच एक हृदयमा
अर्कै संसार लिई
देवदूत सन्देश नयाँ
गायौ लायौ प्रीत
अमृत चुहायौ क्रन्दनमा पनि
आनन्दी सङ्गीत!”

त्यो सबै त जे छ छँदैछ, तर त्यसभन्दा महत्वपूर्ण कुरा छ त्यस पत्रिकामा माथि भनेजस्तै प्रथम पृष्ठमा छापिएको गीत ए नेपाल!। भनिसकियो कवि शिरोमणिले लेखेका थोरै गीतहरूमध्येको एक हो यो र त्यसमा नेपालको बेवास्ता देखेर उनको मन रोएको व्यथा छर्लङ्गिएको छ। ऐलेको परिस्थितिसँग पनि मेल खान खोज्ने त्यो गीत नेपाली साहित्यको एउटा अनुपम नमुना हो भन्ने लाग्छ। त्यो गीत यही होः
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!
कुन हालतमा जन्म भएथ्यो? कुन गतिविधिले लम्कन्थिस्?
तन्नेरीमै कुन साहसले विश्वमञ्चमा चम्कन्थिस्?
कुन कारणले लड्दै बढ्दै आखिर घरमा थन्किन्थिस्?
घटनाक्रम त्यो सारा सम्झ्ी, बुझ्ी बाबू! इज्जत नफाल्!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

बल पौरुषका खम्बा जस्ता हिमका चुचुरा हेर्दै जा
स्वतन्त्रताको शुद्ध हवामा सास खुशीको फेर्दै जा!
मुटुमा कालो काँतरपनका पंक्ति भए त्यो केर्दै जा,
उन्नतिपन्था बहुत उकालो, साहसलाई टप्प अँगाल!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

चलिरहेछन् खलखल खोला, झ्रझ्र र्झ्नाहरू सारा
फरफर पुष्प पालुवा, चमचम गर्छन् सब तारा!
तिनकै शिक्षा152लयमै सिक् जा, स्वाभिमानको प्रिय नारा!
तेरो दिलमा उठ्न नपा’स्, रुन्चेपिन्चे तुच्छ सवाल!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

निर्धन छैनस् तँ, धनी बलको पन्छा दिलको कमजोरी
फूट-वैरको पन्छा आँधी, पन्छा स्वार्थी घुसखोरी
ठाडो शिर गर् पथमा अघि सर् किन निहुरिन्छस् कर जोडी?
जोरी पारी हाँस्न नपाउन्, जागृति जुगको बत्ती बाल्!!
ए नेपाल! ए नेपाल!
किन यो तेरो नाजुक हाल?!!

 

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.