Thulo Ghar – Kamal Dixit

कमल दीक्षित – ठूलो घर
( हिमाल खबरपत्रिका)

त्यसो त त्यो घर ठूलै थियो सामान्य नेपाली घरभन्दा। चोकको चौगिर्दा घर थियो। साथै थप-घर, पुलघर र चौर, बारी, गोठ, तबेला अनि मोटर ग्यारेज समेत थिए। तर त्यसलाई आकारले मात्र ठूलो घर भनिएको होइन। अनेकार्थी थियो त्यो ठूलो भन्ने विशेषण― जेठो (थकाली) को घर, ठूलो मान्छे बस्ने घर, धेरै जनाको घर, शक्तिसम्पन्न घर …। परिवार र आफन्तले मात्र होइन, बाहिरकाले पनि त्यसलाई ठूलो घर नै भन्थे। त्यो घर मणि परिवारको थियो। मणि परिवारमा पनि, शिरोमणिका माहिला छोरा, राणा प्राइमिनिष्टर चन्द्रशमशेर महाराजका प्रियपात्र बाबे को। बाबे भनेको काशीनाथ आ.दी.। तर नेपालभरि उनी माहिला पण्डित का नामले चिनिन्थे। नेपाल बिगार्ने तीन माइला भनेर विरोधीहरूले नाम राखेकामध्ये एक थिए, काशीनाथ। अभिलेखका लागि भनिराखूँ, अरू दुई माइला थिए― माइला गुर्जु हेमराज पाण्डे र माइला जर्नेल बबरशमशेर। उनीहरूले के कसरी नेपाल बिगारे थाहा छैन, तर चन्द्रशमशेरलाई मन नपराउनेले त्यसै भन्थे रे।

मणि परिवार भनेको मणि आचार्य दीक्षित हरू। हाम्रो थर आचार्य, त्यसमा दीक्षित जोडिन आयो शिरोमणिले सोमयाग यज्ञ गरेपछि संवत् १९५६ सालमा। त्यसै बेलादेखि हामीले आफ्नो नामका नाथ र प्रसाद फालेर मणि जोड्न थाल्यौं, बाजे शिरोमणिको नाम चलाउन। रातारात रामनाथ आचार्य राममणि आचार्य दीक्षित भए, भरतप्रसाद आचार्य― भरतमणि आचार्य दीक्षित। त्यसपछि यो परिवार नेपालको ब्राम्हण समाजमा मणि-फेट भनेर चिनिन थाल्यो, सबैजना एकैठाउँमा गुजुमुच्च भएर बस्ने भएर हो कि किन हो थाहा छैन। त्यो मणि-फेट भन्ने नाम २०१० सालतिरसम्म कायमै थियो। त्यसपछि कसरी कसरी हामीहरू दीक्षित परिवार भनेर चिनिन थाल्यौं। सबै गरेर ऐले दीक्षित परिवारमा करिब दुईसय जति हौंला। यो सङ्ख्या नेपालको परिप्रेक्ष्यमा त्यति धेरै होइन, तर पुरानै नाताले होला दीक्षितहरूको एउटा छुट्टै पहिचान भएको छ। हुनत ऐले दीक्षितहरू सबै एकै गोलामा छैनन्, छरिएका छन् नेपालमा र बाहिर पनि। तर उस बेला सबै एकैठाउँमा थिए। भन्सारहिटी भनिन्थ्यो गैरीधारालाई। त्यहीं थियो काशीनाथ माइला पण्डित को त्यो ठूलो घर पनि। त्यो घर त्यस बेला धन-जनले पूर्ण थियो। एकै पत्नीबाट जन्मेका उनका सात जना छोरा थिए। ती सातै जना र एउटा नाति समेत आठ जना सरकारी जागिरमा थिए― महाराजका प्रियपात्र या कुनै ठूलै अड्डाका हाकिम। जग्गाजमिन मनग्गे थियो, पहाडमा पनि मधेशमा पनि। रसदपानी किन्नु पर्दैनथ्यो। कुनै कुराको कमी थिएन। ४०/५० जना नाति-नातिना, पनाति-पनातिनी हुनाले घर सधैँ ग्याउँग्याउँ हुन्थ्यो। सबै एउटै भान्छामा खान्थे। नोकरचाकरहरू सबैका छुट्टाछुट्टै हुँदाहुँदै पनि सबै सगोलमा थिए। अझ् १९८२ सालमा करिया अमलेख नहुँदासम्म त कमारा कमारी नै पचास जनाभन्दा बढी थिए

अरे! रोबरवाफ अदब काइदा सबै राणाजीका घरको सिको गरिएको ठूलो घरमा दुई-तीन तहका त ढोके पाले नै रहन्थे। त्यहाँभित्र छिर्न र बाहिर निस्कन गाह्रो थियो। त्यसैले ढोका बाहिरै ढुकेर चाकरी गर्नेको हुल पनि कम्ती हुँदैनथ्यो रे! 
तर त्यो सबै समाप्त भयो १९८६ सालपछि। त्यस साल मङ्सिरमा मणिहरूका मालिक महाराज चन्द्रशमशेर दिवङ्गत भए। नेपालका हर्ताकर्ता भएर मणिहरूसँग चिढिएका भीमशमशेर उदाए। मणिहरू दाइमहाराजको पुठ पाएर मलाई हेप्छन् भन्ने उनको मनमा छाप परेको थियो। त्यसैले आफ्नो हातमा पावर आउनासाथ मणिहरूमाथि ईखइबी फेर्न थाले उनले। माइला पण्डित का माहिला छोरा भरतमणि धपाइए। साहिला छोरा लक्ष्मणमणिलाई कुमारी चोक लगाइयो, अर्थात् भ्रष्टाचार गरेको, रकमकलम हिनामिना या बेरुजु राखेको इत्यादि भनी ६० हजार रुपैयाँ बिगो र जरिवाना तिर्नुपर्ने गरी मुद्दा ठहर गरियो। त्यसका लागि सगोलको घर नै सर्वस्व हुनेभयो। अरू छोराहरूका पनि जागिरहरू खोसिए। केवल ठूलोकान्छा छोरा नरेन्द्रमणि बचे। उनी त्रिचन्द्र कलेजमा पढाउने, भीमशमशेरका नातिहरूका पनि गुरु भएकाले उनको जागिर सुरक्षित रह्यो। पछि घर सर्वस्व हुने निर्णयसम्म माइला पण्डितले टङ्गालदरबारमा गई महाराजका अगाडि भुइँमा लडीबुडी गर्न लगाएपछि माफी भयो! दुई-तीन वर्षमा भीमशमशेर परलोक हुँदासम्म मणिहरूको ठूलो घर भताभुङ्ग भइसकेको थियो। एउटै भान्छामा खानेहरू सातटा छुट्टाछुट्टै भान्छामा खान थाले। ठूलो घरका कोठा, चोटा, चोक, बारी आठ बण्डा भए। साथै खेल्ने केटाकेटी कोही कता कोही कता भए! त्यस घरको सगोल परिवार खगोल जस्तै टाढाटाढा हुनपुग्यो। एउटा चुम्बकले अड्याएर राखेको वस्तु चुम्बक हटाएपछि छरपष्ट भएझ्ैं मणिहरूको ठूलो घर फुटेर टुक्राटुक्रा भयो। शक्तिशाली माइला पण्डित को बल भन्नु नै सिंहदरबारको प्रताप रहेछ। त्यो नरहेपछि शक्तिहीन भएका उनी आफ्नै परिवारलाई समेटेर राख्न समेत अक्षम भए।

शक्तिको मुहान सुकेपछि सगोल परिवार टुक्रिने यो नियति माइला पण्डित को परिवारको मात्र थिएन, साँध जोडिएका सरदार मीनबहादुर राजभण्डारीको पनि थियो, शिवराज पुरेत, सत्यालहरूको र शमशेर थापा खलकको पनि थियो। मणि परिवारको त्यो ठूलो घरको ऐले ७०/८० वर्षपछि गन्ध पनि भेटिँदैन। त्यही घरमा म जन्मेको थिएँ― दक्षिण पश्चिमपट्टिको एउटा कोठामा। मैले मणिहरूको त्यो वैभव त देख्न पाइनँ। तर हुर्किंदै आउँदा सगोल परिवारको केही मिठास भने चाख्न पाएको थिएँ। दाजुभाइ छुट्टिसकेका भएपनि र सबैको आ-आफ्नै चोटाकोठा भए पनि चोक, चौर र बारीहरू साझ्ा जस्तै थिए। त्यहाँ हामी केटाकेटीहरू जम्मा भएर खेल्थ्यौँ। गुरुहरू आउँथे, माष्टरसाहेब आउँथे, सबै केटाकेटीहरूलाई एकै साथ पढाउँथे। आठ-दश जनाको डफ्फामा स्कूल जाने छोराहरू एकैसाथ जान्थे हिँडेर दरबार स्कूलसम्म। म पनि १९९४ सालमा स्कूलमा भर्ना भएपछि त्यसैगरी गएको हुँ। दरबार स्कूल जाने हाम्रा दुई बाटा थिए― नक्साल हात्तीसारको बाटो या लैनचौर जमलको बाटो। कुन दिन कुन बाटो जाने भन्ने तय गर्ने काम डफ्फाको जेठोको हुन्थ्यो। मैले सम्झेसम्म त्यो काम जहिले पनि कुमारबा ले गर्नुहुन्थ्यो, काका कुमारमणिजीले। मणि खलकमा, ठूलो घर मा मात्र होइन सबैतिर, बिहान-बेलुकी सानाले आफ्ना मान्यजनका कोठाकोठामा गई ढोग्नुपर्दथ्यो। अनिवार्य थियो त्यो नियम। त्यस्तै अनिवार्य थियो― ब्रतबन्ध गरेका जतिले बिहान नुहाएर पूजाकोठामा पस्नु र पूजा नगरे पनि सन्जे गर्नु। अर्को एउटा रमाइलो नियम थियो― स्कूलको जाँच अर्थात् वार्षिक परीक्षाहरू दिन जाँदा सकेसम्म सबै मान्यजनलाई ढोगी आशीर्वाद लिएर जानु। त्यसरी जाँदा आमाहरूले सगुन दिनुपर्थ्यो केही खानेकुरा। अनुशासनको राम्रो पाठ थियो त्यो भन्ने लाग्छ ऐले मलाई। दशैँको रौनक अर्कै हुन्थ्यो ठूलो घर मा। टीकाका दिन मणि (दीक्षित) हरू सबैले त्यहीं जम्मा भएर टीका लगाउनुपर्थ्यो। यो नियम थकाली भएका माइला पण्डित ले नै चलाएका थिए। उनी जेठो भएकाले पाँचै भाइका सन्तानले बिहानै ठूलो घर मा पुग्नुपर्थ्यो टीका थाप्न। यो प्रथा ऐलेसम्म सूक्ष्म रूपमै भए पनि चलिरहेछ। परिवारको जेठाको घरमा सबैले जम्मा भएर टीका लगाउने, घरघरमा धाउनै नपर्ने। ऐले माइला पण्डित का सन्तानहरू सबै हालका थकाली मदनबा (मदनमणिजी) को घरमा पुग्छौं र टीका आदानप्रदान गर्छौं। पैले मैले थाहा पाउँदा थकाली हाम्रो आफूबा (राममणि) हुनुहुन्थ्यो। उहाँको ठूलो बैठकमा सयजना जति मान्छे थुप्रिन्थे। खुट्टा राख्ने ठाउँ हुन्नथ्यो त्यहाँ त्यसबेला।

मणि परिवारमा माइला पण्डित बाजे ले यो चलन आफ्ना प्रभू राणाहरूबाटै सिकेका थिए। राणा परिवारका सत्रै भाइका खलकले सिंहदरबारमा पुग्नुपर्थ्यो महाराजका बाहुलीबाट टीका थाप्न। त्यसबाट सबैलाई फाइदा थियो― एक त महाराजको दर्शन पाइन्थ्यो नजिकैबाट, अर्को सबैका टीका लगाउने काम यतै सकिन्थ्यो, छुट्टाछुट्टै दरबारमा धाउनुपर्दैनथ्यो। त्यही नियम लगाइदिएका थिए माइला पण्डित ले पनि― थकालीका घरमा पुगेर टीका थापे पुग्ने, घरघरमा जानु नपर्ने। त्यस्तो चलन चलाउनमा माइला पण्डित को स्वार्थ पनि थियो त्यति बेला। त्यो के भने, उनी तथा उनका छोरानातिले सकेसम्म छिटै सिंहदरबार पुग्नुपर्थ्यो टीका थाप्न, यताउति अल्मलिन मिल्दैनथ्यो। महाराजको अत्यन्त निकट मानिएकाले उनीहरू कुनै रोलवाला या सत्र भाइ राणाजीकहाँ टीका थाप्न पुगेनन् भने महाराजकहाँ उजुरी पर्थ्योः सरकार, माइला पण्डितका छोराहरू यसपाला मकहाँ टीका थाप्न आएनन् भन्ने। त्यसो हुनाको कारण फेरि अर्को थियो। मणिहरू कुनै ढोका पुग्नु र नपुग्नुको अर्थ महाराज चन्द्र आफूसँग प्रसन्न छन् या छैनन् भनेर बुझथे राणाजीहरू। महाराजको ईशारा पाएर या उनको आशय मात्र बुझेर पनि (जेठा) मणिहरू कुनैकुनै ढोका मा नजाने गर्दथे। यो पनि चन्द्रशमशेरको शासनकालको एउटा कूटनीति नै थियो भनौं।

मणि या दीक्षितहरू दुई-चार सय सालअघि जुम्लाबाट उदाए आचार्य भएर। जुम्लाबाट आचार्यहरू पूर्व लाग्दै आउँदा कोही न्यौपाने, कोही बास्कोटा, कोही पराजुली इत्यादि हुँदै गए। लमजुङ, पोखरा, गोर्खा, धादिङ हँुदै काठमाडौं उपत्यकाको उत्तरपश्चिम मुडखुको डुग्रने पानी मा आएर बसेका थिए शिरोमणिका पुर्खा। पेशाले ज्योतिष पण्डित थिए उनीहरू। बिस्तारै उनीहरूको प्रवेश दरबारमा भयो पूजाकोठे भएर। राजदरबारबाट उनीहरू राणा दरबारमा भित्रिए भित्रिया भएर। सत्र भाइका बाबु धीरशमशेरका छोराहरूका एक्का भएका थिए उनीहरू। वीरशमशेरको आर्थिक सहयोगले काशीमा ठूलो यज्ञ, सोमयाग गरेर शिरोमणि सोमयाजी बने। त्यहीं महामहोपाध्याय ब्राम्हणहरूबाट दीक्षा लिएरउनी दीक्षित भए। अनि, उनका सन्तानले उनकै सम्मानमा आफ्नो नाममा मणि समेत जोडेर मणि आचार्य दीक्षित कहलाउन थाले। त्यो परिवार राणा शासनकालभरि निकै शक्तिशाली रह्यो। राणाको अवसानपछि अब विभिन्न पेशा अपनाएर उनीहरूले केही विशिष्टता कमाउन थालेका छन्। विभिन्न प्रकारले उनीहरू देशको सेवा गर्दैछन्। सबै जना नेपालमै सीमित पनि छैनन्, नयाँ हावाले कतिपयलाई विभिन्न मुलुकमा पुर्‍याएको छ। मैले बुझेसम्म यही हो― ठूलो घर को मणि या दीक्षित परिवार।

हिमाल खबरपत्रिका
१६-३१ भदौ २०६६

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.