निबन्ध: ट्रान्जिटमा तन्नेरीका कुरा

स्थान: ट्रान्जिट लाउन्ज, सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थल, बैंकक ।

माइकल ओन्टाजीका उपन्यास ‘अनिल्स गोस्ट’ का केही पानाहरूमा आँखाहरू दौडाएपछि म पढाइलाई विश्राम दिदै ट्रान्जिट लाउन्जछेउको एउटा कफी पसलमा पुग्छु । चालीस भाट तिरेर एक बोतल पानी किन्छु र लाउन्जको अर्को छेउतिर हान्निन्छु । लाउन्जमा विभिन्न रूप र रङ्गका, उमेर र आकारका यात्रुहरूको चहल पहल छ । काठमाडौं विमानस्थलमै परिचित जस्ता देखिने दुई तन्नेरी अनुहारहरू लाउन्जको कुर्सीछेउ उभिएका छन् । हँसिला देखिने उनीहरूसँग आँखा जुध्न पुग्छ । “भाइहरू कहाँसम्म नि ?” म उत्सुकतापूर्वक कुराकानी शुरू गर्दछु । “सिड्नी जान लागेको”, उनीहरू प्रतिप्रश्न गर्छन्, “अनि दाइ कहाँसम्म नि ?” आफू कोरियाबाट प्राप्त एउटा निम्तोमा राजधानी सिउलतर्फ लाग्दै गरेको बताएपछि हामी तुरून्तै घुलमिल हुन्छौं । तन्नेरीहरूको साथ पाएपछि ट्रान्जिट र लामो हवाई यात्राका साथी पुस्तक (यसपटक माइकल ओन्टाजीको ‘अनिल्स गोस्ट’) बाट म आफूलाई मुक्त गर्दछु । र, किताबलाई झोला भित्र घुसार्दै उनीहरू संगैको सोफाछेउ बस्छु । ट्रान्जिटकै सोफामा अन्य दुई तन्नेरीहरू पहिल्यै पल्टिरहेका छन् । तिनको छेउकै अर्को सोफामा तिनीहरूकै उमेरकी एउटी किशोरी पछ्यौराले ढाकिएर निदाउने कोसिक गरिरहेकी छे । केही भोकाएका उनीहरूमध्ये एकले वाइ-वाइ चाउचाउको पुरिया फोरेको छ, जसलाई उनीहरू बाडिचुडी पनि खादैछन् । यी सव हाउभाउवाट मैले अनुमान गरे यी तन्नेरीहरू एकैसाथ सिड्नी उडेका ‘जिगरी दोस्त’ वा सहपाठी हुनुपर्छ । भाइहरूसँगै हिँड्नुभएको होला, होइन र ?”, म प्रश्न तेर्साउछु ।

“होइन दाइ, यही तल काउन्टरमा सिड्नीका लागि बोर्डिङ् पास लिदा हाम्रो परिचय भएको हो ।” “एक्साइडेड हुनुहोला नि भाइहरू, अब परदेशमा चाँडै कलेज लाइफ शुरू हुँदै छ। नयाँ ठाउँ नयाँ उत्साह !” “खै कलेज पढ्ने भन्ने कि भाँडा माझ्ने भन्ने दाइ” एउटाले ठट्यौलो पारामा दिएको जवाफ सुनेर सबै गलल्ल हाँस्न थाल्छन् । यो हाँसोले साच्चै नै हाम्रो कुराकानीको ‘आइस ब्रेक’ गर्छ । र, अब म यी तन्नेरीहरूसँग क्याजुअल (अनौपचारिक) कुराकानी गर्दछु । अब परिचयको साटासाट पछि यी तन्नेरीहरू आफ्नो सुविधाअनुसार मसंग दाइ, अंकल र ब्रोको संवोधनमा निसंकोच भलाकुसारी गर्न थाल्छन् । तन्नेरीहरूका कुराकानीमा उमंगको थोरै र संशयको धेरै मात्रा छ । आफूहरूले तीन घण्टा पहिले छाडेर आएको देश कतै आफ्नो अनुपस्थितिमा भड्खालोमा त जाँदैन भन्ने चिन्ता र संशय उनीहरूको प्रत्येक अभिब्यक्तिमा प्रष्ट महसुस गर्न सकिन्छ । प्रस्टै छ उनीहरू अहिले हवाई यात्राको मात्र नभएर जिन्दगीकै ट्रान्जिटमा छन् । अब आउने केही वर्षहरूले उनीहरूलाई आफ्नो गन्तब्यतिर डोहोर्‍याउनेछ । अभिभावकको प्रत्यक्ष मार्गदर्शन र निगरानीबाट मुक्त उनीहरूले यस अघिको यात्रा अब आफ्नै भरमा तय गर्नुपर्नेछ ।

यसरी यात्रा गर्नेहरूमा उनीहरू मात्र एक्ला होइनन् । नेपालबाट दैनिक हजारौं युवाहरू पढाइ वा रोजगारीका निम्ति हवाई मार्ग हुँदै विदेसिन्छन् । यस अर्थमा यी भाग्यमानी तन्नेरीहरू हुन्, जो अभिभावकको खर्चमा सही शिक्षाका निम्ति एक समृद्ध मुलुकतर्फको यात्रामा छन् । उनीहरूका न त नवविवाहिता श्रीमती वा दूधे बालक वा रूग्न बाबुआमालाई छाडेर हिँडेका छन्, न त ऋणको भारी बोकेर नै । त्यसैले उनीहरूमा उल्लास टनाटन छ, भलै भर्खरै देश छाड्नु परेकाले केही नियास्रिएकै होस् । उमंग र कौतुहलको तराजुमा उनीहरू तैरिरहेका छन् । म दी काठमाण्डू पोस्टमा कार्यरत एउट सञ्चारकर्मी रहेको थाहा पाएपछि उनीहरू ममाथि अनेकौं प्रश्नहरू बर्साउँछन् । “अंकल हाम्रो देशमा साँच्चै शान्ति आउला त ?”, “हैन दाइ ज्ञानेन्द्रले फेरि कू गर्लान् त ?”, “के आर्मी चुप लागेर बस्ला र ?, “माओवादी फेरि जंगल पसे त बबाल हुन्छ नि ब्रो !” “के संविधान सभाको चुनाव भएर, संविधान बन्ला त ?”

यी चिन्ताहरूसँगै उनीहरूमा विदेशको पढाइ र बसाईबारे पनि उत्तिकै कौतुहल छ । कतै बाँकी जीवन भाँडा माझ्दामाझ्दै सकिने त होइन भन्ने संसय र त्रासले उनीहरूलाई उत्तिकै गाँजेको पनि छ । उनीहरूको चिन्ता सहजै बुझेकाले पनि उमेर र अनुभवको धरातलमा टेक्दै म आफूले जानेसम्म उनीहरूको कौतुहल मेटाउने प्रयत्न गर्दैछु । करिब दशक अघि आफू पनि उनीहरूकै जस्तो अवस्था र मनोदशामा उच्चशिक्षाका निम्ति लण्डन पुगेको बताए पछि उनीहरू मसंग निकै नजिकिन्छन् । कसरी काम खोज्ने, अनि कामसंगसंगै पढाइलाई सन्तुलनमा राख्नेबारे मबाट ‘टिप्स’ खोजिरेका छन् उनीहरू । विदेशमा रहँदा काम गर्ने वा भाँडा माझ्ने कुराबाट बिचलित हुनुभन्दा पनि मूल उद्देश्य पढाइमा अडिग रहनेतर्फ प्रतिबद्ध रहनेतर्फ गम्भीर रहन म सल्लाह दिन्छु । कामको वर्गीकरणभन्दा पनि परिश्रमको कदर गर्नु महत्वपूर्ण हुने बताउँछु म । र, आफूले लन्डनमा काम गर्दा गर्दै कष्टकासाथ उच्च शिक्षा हासिल गरेको फेहरिस्त पनि उनीहरूलाई सुनाउँछु । मेरो कुराबाट उनीहरूमा आत्मविश्वास भरिएर केही राहत महसुस गरे झै देख्छु म । उमेर र हाउभाउले अल्लारे देखिए तापनि भित्रीरूपले यी तन्नेरीहरू संवेदनशील रहेको अनुभव पनि गर्छु ।

हुन पनि अस्ट्रेलियामा दिन प्रतिदिन उर्लंदो नेपाली विद्यार्थीहरूको चाप र यसका कारण नेपालीहरूलाई सस्ता कामदारका रूपमा दुरूपयोग गरिने प्रबृतिवारे विज्ञ भएकाले पनि यी तन्नेरीहरूको चिन्ता स्वाभाविक छ । विदेशमा नेपालीले नेपालीलाई असहयोग गर्ने, ईर्ष्यालु बन्ने र ढाडस दिनुपर्ने ठाउँमा झनै खुट्टा तान्ने प्रवृत्तिबारे भलिभाती जानकार छन् यिनीहरू । अनि नयाँ रहन-सहन भिज्न सक्नु पर्ने र प्रविधिहरूमा तुरून्तै अभ्यस्त हुनु पर्ने चुनौती पनि छ यिनीहरूलाई । उनीहरूका चिन्ता र उद्देश्य जे-जस्ता भए पनि यिनीहरू आत्मविश्वासी र वाचाल छन् । र, यिनीहरूका हर्कतहरू त झनै रङ्गदार छन् । एकाध नन-फिक्सन डकुमेन्ट्री बनाइसकेको म यी तन्नेरीहरूका गतिविधि क्यामरा मार्फत उधिन्न सके एउटा जीवन्त डकुमेन्ट्री बन्न सक्ने कल्पना गर्दछु । र, आफूसँग ह्याण्डिकेम (भिडियो क्यामेरा) साथै नभएकोमा थकथकी पनि मान्छु । स्वाभाविक छ, देशका अन्य तन्नेरीहरू जस्तै उनीहरू पनि मुलुकको परिस्थिति बिगार्नेहरू प्रति नै क्रुद्ध छन् । राजा ज्ञानेन्द्रको निरंकुशता भर्खरै भोगेका हुनाले पनि उनीहरू राजा बिनाकै मुलुकको कल्पनामा छन् । तर, दोस्रो जनआन्दोलन पछिका नेताहरू पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ हुने त होइनन् भन्ने चिन्ताले सताइएका छन् यिनीहरू । तीमध्येका भट्टराई थरका एक हसमुख तन्नेरी, जसले परिचयका क्रममा मेरा स्कूले जीवनका एक सहपाठी प्रमोद दवाडीका भान्जा रहेको बताएका थिए, राजा ज्ञानेन्द्रबारेको एउटा रोचक किस्सा सविस्तार गर्छन् ।

‘एकपटक ज्ञानेन्द्र सिरहा पुगेछन् । राजा आउने खबर सुनेका एक स्थानीय बृध्द राजासंग गुनासो राख्न कोसौदेखि टन्टलापुर घाममा दौडेर आइपुगेछन् । आफ्नै आँखाका अगाडि साक्षात राजालाई पाउँदा ती वृद्ध निकै नर्भस भएछन् । र, बोल्ने लाख कोसिस गर्दा पनि तिनको बक राम्ररी फुट्न सकेनछ । ती स्वाँ-स्वाँ गर्दै बर्बराउन थालेछन् – सरकार, सरकार, सरकार !’ ‘राजाले त्यो सुनेर टाउको हल्लाउँदै भनेछन्- ए बुझेँ बुझेँ, तिमीलाई दम भएको रहेछ ।’ यस प्रसंगवाट फेरि एक पटक हाँसोको पर्राले ट्रान्जिट लाउन्ज गुन्जाएमान बन्छ । हाँसो सकिदै गर्दा बोर्डिङ् पास लिने क्रममा दौंतरी बनेका अर्का तन्नेरी कम्प्लिमेन्ट गर्छन्, “आम्मै ! यो ब्रो त हरिप जोकर पो त रहेछ ।” हुन पनि यी चार तन्नेरीहरू चार दिशाका छन् । भिन्न चरित्र र रूचिहरूका । राजनीति, मिडिया, पढाइ र जीवनशैली हाम्रा कुराकानीका विषय बन्छन् । समूहका एक जो निकै अग्ला तर लिखुरे ज्यानका छन्, जसलाई उनीहरू ‘लम्बु ब्रो’ भनेर सम्वोधन गर्छन्, टोक्योतिर उड्न लागेकी एक युवतीको साथ छन् । झट्ट हाउभाउ हेर्दा ती युवती लम्बुकी गर्लफ्रेन्ड जस्ती देखिन्छिन् । कुरा त्यस्तो नभएर उनी पनि ट्रान्जिटमै परिचित हुन पुगेकी रहिछिन् । लम्बु केही बेरमा तिनै युवतीका साथ आउँछन् । युवतीको अनुहार केही मलिन छ । उनी यी तन्नेरीहरूसँग विदावारी हुन आएकी रहिछिन् । बिदाईपछि लम्बु युवतीलाई पुर्‍याउन उनको प्रस्थान कक्षतिर लाग्छन् । “हो यसैगरी भाइहरू एकअर्कालाई पालैपालो डिपार्चरतिर पुर्‍याउने काम गर्नुस्”, म सुझावको शैलीमा व्यङ्ग्य गर्छु, “यसो गर्दा ट्रान्जिटको समय सजिलै कट्नेछ ।” सबै फेरि एकपल्ट गलल्ल हाँस्छन् । यसरी हाँसो र ठट्टा मै मेरो ट्रान्जिटको पाँच घण्टामध्ये चार घन्टा सकिएता पनि ती तन्नेरीहरूका सर्लक्कै चौध घण्टा समय बाँकी नै छ ।

“यस्तो नि हुन्छ ट्रान्जिट अंकल ?’ एउटा दिक्दारी प्रकट गर्छ, “यो रड्डी भयो नि !” अनि थप्छ, “चौध घण्टा के गरेर बिताउने ? यसो तास-सास भएको भए खेल्न पनि हुन्थ्यो ।”
“यस्तो थाहा पाएको भए मै बोकेर आउथे नि”, अर्को सहमति जनाउँछ । “ल ब्रो पालै पालो सुत्नुपर्ला । यसो गर्दा समान पनि हराउन सक्दैन । अनि सुत्दा-सुत्दै प्लेन पनि छुट्दैन”, तेस्रो जुक्ती फुराउँछ । उनीहरू सुत्दा सुत्दै प्लेन नै छुटेको हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अभिनीत टेलिचलचित्र ‘१५ गते’ सन्दर्भसँग अहिलेको ट्रान्जिटको बसाइलाई जोड्छन् ।
“भाइ हो, मजाले सुते हुन्छ”, म सल्लाहको भावमा सान्तना दिन्छु, “चौध घण्टाको ट्रान्जिटमा कति लामो नै पो सुतिएला र ? आज सुतेर पर्सी उठ्ने त पक्कै होइन होला ?” एक पल्ट फेरि ट्रान्जिट हाँसोले गुन्जिन्छ । यसैबीच जापान जाने युबतीलाई बिदाइ गर्न हिडेका लम्बु आइपुग्छन् । “के रहेछ ब्रो त्यो केटीको नाम?” एउटा सोध्छ । “खै ब्रो, नाम त सोधिएन’, लम्बु जवाफ फर्काउछ। केही समय मात्रको युवतीको साथका कारण साथीहरूमाझ लम्बु जिज्ञासा र ईर्ष्याको केन्द्र बनिसकेको छ। “इमेल त पक्कै लिएका हौला नि ?” अर्को चाहिँले केरकार गर्छ ।

“का लिनु ब्रो”, लम्बु सफाइको शैलीमा जवाफ फर्काउछन् । हामी बीचको कुराकानी फेरि अघि बढ्छ । पत्रकारले बनाउने पहिचान र उनीहरूलाई मिल्ने सहुलियत बारे उनीहरू निकै जिज्ञासु बन्छन् । “अंकललाई त मोज छ नि”, एउटा थप्छ, “पत्रकारहरूलाई सित्तैमा घुम्ने मौका निकै आउँदो हो ।” “हेर्नुस्, भाइहरू हो उमेरको आफ्नै फाउदा र बेफाइदा हुन्छन्”, म उनीहरूको चित्त बुझाउन खोज्छु, “अहिले घुम्न त पाइन्छ तर तपाईंहरू जस्तै ठिटीको पछि लाग्न मिल्दैन नि !” मेरो कुराले तन्नेरीहरूको अनुहारमा खुशीको भाव झल्किन्छ । “बूढाहरू झन् खल्ली हुन्छन्”, लम्बु जवाफ फर्काउनमा कुनै कन्जुस्याइ गर्दैनन् । अब मेरो बाँकी एक घण्टा पनि लगभग सकिनै लागेको छ । तन्नेरीहरूको सानिध्यका कारण मैले ट्रान्जिटका पाँच घण्टा पाँच मिनेट झैं बिताएको छु । अब छुटिने तरखर गर्दै तन्नेरीहरूलाई आगामी विद्यार्थी जीवनको शुभकामना दिँदै म आफ्नो प्रस्थान कक्षतिर लाग्छु ।

(पत्रकार खरलेको हालै सार्वजनिक मैले नदेखेका हिप्पी निबन्ध संग्रहबाट । यो संग्रह सांगि्रला बुक्सले बजारमा ल्याएको हो ।)

Source: http://www.onlinekhabar.com/2013/08/110524

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.