नेपाली कथा – कर्णेल सापको कुकुर बौलाएछ

एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र तर जति आश्चर्य लागे पनि कुरो चाहीं पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबु-आमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरु धाई सुसारे नोकर चाकर पनि छन् । एक साँझ ड्यूटीबाट फर्केर घरभित्र पस्तापस्तै आफ्नी किशोरी छोरी डल्फिन बेबीलाई आफ्नै घरको डाँगोले बलात्कार गर्न खोजेको देखेर कर्णेल राणाको आश्चर्य साथै रिसको सीमा रहेन । उनको खान्दानी राणा क्रोध चरम विन्दुमा पुग्यो । के यो डाँगो-लाइका बौलाएछ कर्णेलको हात आफ्नो कम्मरमा छालाको दापमा झुण्डिएको रिभल्बरमा पर्‍यो । उनले यता उति केही नसोची त्यो रिभल्बर झिकेर गोली ठोकिदिए – “ठाइँ ….. ठाइँ ….. ठाइँ ” घरभरि खैला बैला मच्चियो – “लाइका बौलाएछ । कर्सापले त्यसलाई गोली मारिबक्स्यो ।” आफ्नी छोरीलाई बलात्कार गर्न खोज्ने त्यो कुकुरलाई गोली ठोक्नु एउटा खान्दानी फौजीका लागि अस्वाभाविक पनि त थिएन । मालिक मालिक्नी खास गरी डल्फिन बेबीकै अत्यन्त प्यारो लाइका कुकुर ऐया पनि भन्न नपाइ ठहरै भयो !

लाइका – यो जर्मन शेर्फड जातिको सुन्दर कुकुर कर्णेललाई त्यति बेलाको जर्मन राजदूतले दिएको थियो । अझ कर्णेललाई पनि होइन बेबी डल्फिन राणालाई उपहारमा दिएको । त्यतिखेर नेपालमा जर्मन राजदूतावास थिएन भारतकै लागि नियुक्त जर्मन राजदूत दिल्लीमै बसेर नेपालको मामिला पनि हेर्थ्यो । कहिले काहीं त्यस्तै राजकीय समारोह पर्दा मात्र नेपाल आउँथ्यो । एक पल्ट त्यस्तै एउटा समारोहमा ऊ नेपाल निम्त्याइएको थियो र परिवार सहित ऊ आएको थियो । अनि नेपाल बसुञ्जेल उसका लागि आवास प्रवन्ध मिलाउनेमा कर्णेल जङ्गध्वज राणा खटिएका थिए । उनको प्रबन्धबाट राजदूत हाइनरिख डेम्लर र श्रीमती मार्गारेट हेम्लर बडो प्रभावित भएका थिए । उनीहरूको नेपाल बसुञ्जेलको अन्तरालमा निकै राम्रो सम्बन्ध बनेको थियो । श्रीमती हेम्लर उनीहरूलाई बराबर चियापानमा बोलाउने गर्दथिन् । आमाबाबुको साथमा नौ दश वर्षी छोरी बेबी डल्फिन राणा पनि जाने गर्थी । बडा बडा निर्दोष आँखा, गोरो रोगनमा कालो घना कपाल, हिस्सी परेको निश्चल अनुहार ! उसलाई देख्ता डल्फिन माछाको हर्दम हाँसिरहेझैं निश्चल अनुहारको संझना आउँथ्यो । त्यसैले उसको नाउँ नै डल्फिन राखेका थिए ।

एक दिन यस्तै दोस्रो प्रहरको चियापानको निम्तोमा आमाबाबुका साथमा बेबी डल्फिन राणा पनि गएकी थिई । सकिंदो शरद र शुरु हेमन्त ऋतुको प्यारो मौसम ! उनीहरू अतिथिशालाको सुन्दर बगैंचा रत्न बाग (डाइमन गार्डेन_ को हरियो चौरमा बसेका थिए । हेमन्त ऋतुको शुरु दोस्रो प्रहरको न्यानो घामको सुम्सुम्याइको साथमा रमाइला र मीठा मीठा गफ गर्दै चियाको सुर्को सुर्क्याउदै सवैजना आनन्दको अनुभूति संगालिरहेका थिए । “हाम्रो अब दिल्ली फर्कने दिन आयो के गर्नु, नेपालको यस्तो स्वर्गीय आनन्द, तपाईंहरूको यति आत्मीय साथ छोडेर दिल्लीको त्यो उसिन्ने गर्मी खप्न जाने इच्छा त छैन तर के गर्नु – नोकर भए पछि आफ्नो ड्यूटी त गर्नै पर्‍यो ! ” राजदूत हेम्लरले उदास भएर भन्यो । अझ श्रीमती हेम्लरको उदास अनुहारले लोग्नेलाई भन्दा पनि यहाँको यो आनन्द छोडेर जानु उसलाई पटक्कै मन नभएको कुरा बताइरहेको थियो । तर ऊ पनि लाचार थिई । उसले गुनासोको स्वरमा लोग्नेसँग भनी – “तपाईं एउटा जर्मन दूतावास यहीं बनाउनु पर्छ भनेर सरकारसँग किन सिफारिस गर्नुहुन्न ” । “मैले सिफारिस गर्दैमा हुँदोहो त म सरकारसँग मात्रै किन इश्वरसँग ‘मलाई यही देशमा जन्माइदेऊ’ भन्ने थिएँ ।” – राजदूतले केही ठट्यौलो र केही आकांक्षाको स्वरमा भन्यो । त्यसै बेला उनीहरूकी किशोरी छोरी आएन हेम्लर त्यहाँ आई उसले वगलमा एउटा सानो छाउरो बोकेकी थिई । त्यो सानो छाउरो डल्फिन बेबीलाई देख्ने बित्तिकै सुन्दरी एनीको अँगालोबाट फुत्किएर दगुर्दै डल्फिनको काखमा लुटपुटिन आइ पुग्यो । ऊ डल्फिनको काखमा उफ्र‌दै उसको आँखा, नाक, मुख, गर्दन सबैतिर चुम्मा लिन थाल्यो । डल्फिन पनि उसलाई दुबै हातले च्यापेर आफ्नो छातीमा टास्तै उसको गालामा गाला जोर्दै, सबैतिर चुम्न थाली । त्यो दृश्य कस्तो लाग्थ्यो भने यी दुइ मानव पुत्री र श्वान पुत्रको मिलन अहिलेको मात्र होइन, यो त उनीहरूको जन्म जन्मान्तरको आत्मीय सम्बन्ध हो !

यो अत्यन्त संवेदनशील मिलन दृश्य देखेर राजदूत दम्पति पनि मुग्ध भएका थिए । उनीहरू बहुतै संवेद्य भएका थिए । “बुबा ! यो पप्पी कति राम्रो छ हगि , कति माया लाग्दो । कति डार्लिङ्ग ! ……… बुबा हामीलाई पनि एउटा यस्तै पपी ल्याइदिस्योस् न । है बुबा – है, है !” – बेबी डल्फिन छाउरोलाई त्यसै त्यसै आफूमै लीन गराउँला झैं छातीमा टाँसेर बाबूसँग आग्रह गर्न थालेकी थिई, लाडिन थालेकी थिई । त्यो अत्यन्त भावुक क्रीडा गहिरिएर हेरिरहेको राजदूतले एक्कासी सोध्यो – “नानीलाई पप्पी मन पर्छ Û हो < यो तिमीलाई भयो Û तिमी यसलाई धेरै धेरै माया गर्नु ल । ” “होइन होइन महामहीम (योर एक्सेलेन्सी) त्यसो नगरौं ! यो त यसको बच्कानापन हो, बच्चाको क्षणिक सोख रहर …. नयाँ कुरा देख्यो कि त चाहिहाल्ने । अनि त्यो पाएपछि एक दुइ घण्टा बढीमा एकाध दिनमै बिर्सने; त्यत्तिकै फालिदिने । …महामहीमले यस्तो गर्नु पर्दैन ।” कर्णेलले बडो सङ्कोच मानेर भने । तर राजदूतले बडो आग्रहसँग भन्यो – “न, न, मलाई कुनै बोझ छैन कर्णेल , सङ्कोच नमान्नोस् । यो हाम्रो तर्फबाट छोरीलाई मायाको सानो चिनो ।” “एस् कर्णेल, यो बेबीलाई हाम्रो सानो गिफ्ट (उपहार)” श्रीमती मार्गरेट हेम्लरलेपनि अत्यन्त खुशीको स्वरमा लोग्नेको समर्थन गरिन् । यसरी कर्णेल जङ्गध्वज हमालको घरमा जर्मन शेर्फड जातिको त्यो छाउरो – लाइकाको प्रवेश भयो । त्यसको जर्मन नाउँ त के थियो कुन्नि, तर डल्फिन बेबीले चन्द्र लोकको पहिलो यात्रु कुकुर लाइकाको नाउँ दिएर त्यसको इज्जत गरेकी थिई ।

लाइका कर्णेलको घरमा बेबी डल्फिन राणाकै साथमा अत्यन्त पुल्पुलिएर हुर्कदै बढ्दै अब चार वर्षे कुर्कुरे बैंसको गल्लीमा लर्खराउन थालेको थियो । अनि बेबी डल्फिन पनि बाल्यवयको अन्तिम मोडबाट उतापट्टिको किशोर वय प्रवेशको नौलो फूलबारीमा प्रवेश गर्न तर्खराउन थालेकी थिई । यसरी शिशिरको सँघारबाट वसन्तको पहिलो फूलमा हाँस्न खोजेको कोपिला जस्ती मानव किशोरी र उरण्ठ्यौले बैंसले कुतकुतिएको श्वानपुत्र लाइकाको मितेरी भावना अप्ठेरो गोरेटो हुँदै सँगसँगै हिड्न थालेको थियो । लाइका जवानीको पूर्ण नसामा आँखाभरि के के चाहनाको चमक बोकेर संसारलाई हेर्न थालेको थियो । उसका सम्पूर्ण नसाहरूमा तातो रगत दगुर्न थालेको थियो । त्यसैको गर्मीले उसका सबै अङ्गमा फूर्ति र गति भरिदिएको थियो । तर ऊ घरको चोटा-कोठा, छत बरण्डाको चारकिल्ला नाघेर बाहिर स्वतन्त्र हावामा जान पाउँदैनथ्यो । ऊ सम्भ्रान्त घरको उच्च जातको कुकुर, उसलाई परिवारको सम्भ्रान्त परिवेशबाट बाहिर जान दियो भने उसले गल्लीका खिचाहरूसँग मिसिएर आफ्नो जात फाल्ने जोखिम थियो । त्यतिमात्र होइन बाहिरका ढल रछानमा मिल्किएका सडेका कुहिएका गलेका फोहर विष्टाहरूमा थुतुनु गाडेर पूरै गल्ली खिचाको संस्कार, चरित्र बोक्न सक्थ्यो । त्यसैले उसलाई एक्लै घरबाट बाहिर खुलामा घुम्ने अनुमति थिएन । बाहिर ऊ त्यति बेला मात्र जान पाउँथ्यो, जुन बेला कर्साप बाहिर दौडाहा सौडाहा र लामो ड्यूटीमा हुँदैनथे र घरै हुन्थे । उनी आफू घरै भएको बेलामा भने प्रायः साँझ बिहान ताजा हावा खान (इभनिङ्ग वाक मोर्निङ्ग वाकमा) निस्कन्थे । त्यतिखेर उनी लाइकालाई पनि लिएर जान्थे । कित आफू शिकार गएको बेलामा सँगै लान्थे । तर त्यस बेला पनि ऊ स्वतन्त्र विचरण गर्न भने पाउँदैनथ्यो; साङलाले बाँधिएर घिच्चिएको हुन्थ्यो । त्यसैले बैंसको काउकुतीले कुत्कुतिएर स्वतन्त्र घुम्ने उसको चाहना त्यत्तिकै कुण्ठित हुन्थ्यो । अनि ऊ घर भित्रैको कोठा, चोटा, छत, बरण्डाको सीमित घेरा भित्र उद्विग्न भएर कुइ-कुइं गर्दै छत बरण्डाको एक कुनादेखि अर्को कुनासम्म लरखराइरहन्थ्यो । उसको यो रन्थन्याइ डल्फिन बेबी स्कूलबाट घर फर्केपछि मात्र अलि मत्थर हुन्थ्यो । किन भने ऊ बेबीसँग खेल्न पाउँथ्यो ।

हुन त बेबी बाहिर गएको र कर्णेलको लामो अनुपस्थितिको मौका छोपेर कर्णेल्नी मोनिका राणा पनि उससँग मन बहलाउन र उसको न्यास्रो मेटाउन नखोज्ने होइनन्; उसलाई छातीमा टाँसेर आफ्नो मन भरिको माया पोख्न उनको अन्तरकी बालिकाले जुरमुराउन नखोज्ने त कहाँ हो र < तर कहाँकी ताजा गुनकेशरी बेबी कर्णेल अनि कहाँकी उसकी आमा-ओइलाएको पलाँस जस्ती अधबैंसे पोथी । कुकुर भनेर कहाँ हुन्छ र < ताजा र बासी सुँघ्न सक्ने शक्ति त उसमा पनि त हुन्छ । त्यसैले ऊ मोनिका राणाको बासी अँगालोबाट बलैले फुत्किएर परतिर भाग्दथ्यो । र सकेसम्म ऊ उनको नजिकै पर्दैनथ्यो; तर्केर हिंड्थ्यो । अनि न्यास्रिएझैं एउटा कुनामा गएर टाङ्गमुनि मुन्टो घुसारेर पस्रिइरहन्थ्यो । खान पनि मन गर्दैनथ्यो । अनि बेलुकी डल्फिन बेबी घरफर्के पछि मात्र उसको न्यास्रो मेटिन्थ्यो र उसमा फूर्ति भरिन्थ्यो । अनि ऊ डल्फिनको काखमा चढेर खुशी हुँदै उसलाई झँगेल्न थाल्थ्यो । तर हिजो आज बेबी पनि चाँडो घर आउन्नथी । एस्.एल.सि. परीक्षाले उसको ढोका घच्घच्याउन थालिसकेकोले स्कूलपछि ऊ प्रायः साथीहरू कहाँ सह अध्ययन गर्न जान्थी र राती अबेलै फर्कन्थी । घर आएपछि पनि उसलाई लाइकासँग खेल्ने त्यति फुर्सत हुँदैनथ्यो । उसप्रतिको कर्तव्य ऊ फगत उसका बारेमा खै खबर गरेर मात्र पूरा गर्थी – “लाइका डियर ! मुवाँ ! लाइले खायो के खायो मुवाँ । ” बस् । त्यसपछि ऊ आमाको जवाफलाई सम्म पनि नपर्खिएर आफ्नो पढाइमा लाग्थी । उसको यो व्यवहारले लाइकाको मनमा कस्तो भावना उठ्दो हो त्यो मान्छेले बुझन सक्तैनथ्यो ! अनि उसको उद्विग्नता र अशान्ति बढ्दथ्यो र ऊ रातभर कुइं कुइं कुइंकिदै र भुक्तै रिङरिहन्थ्यो । अनि मान्छेले ठान्थ्यो ऊ आफ्नो श्वान (कुकुर) धर्मको पालना गर्दैछ; मालिकको धनमालको रक्षा गर्न घुमी घुमी भुक्तैछ । शरद-हेमन्तको ऋतु शुरु भएपछि त्यो ठूलो घर (महल) भित्र बन्दी तुल्याइएर एकलो परेको लाइका अब धेरजसो सडकपट्टिको बरण्डाको डण्डीबार (रेलिङ्ग वाल) को टाउकामा अगाडिका दुइ खुट्टाले टेकेर करुण आँखाले एक टकले सडक पारिको बङ्गलाको झयालतिर हेरेर उभिइरहन्थ्यो । ऊ त्यहाँ उभिन पुगेपछि त्यो पल्लो घरको झयालमा पनि त्यस घरकी कुकुर्नी आएर उसैलाई मायालु आँखाले हेरेर उभिन्थी । सडक पारिको यो बङ्गलापनि कर्णेलकै हाराहारीको तर बिग्रिएको खान्दानी बाबुसाहेबको थियो । ‘हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो त छ ए’ भन्ने उखानलाई चरितार्थ गर्दै बाबुसाहेवले आफ्नो पुर्ख्यौली शोख पालेकै थिए – एउटी बैंसालु बेलाइती कुकुर्नीका रूपमा । लाइका आफ्नो एकलोपनको न्यास्रो मेटाउन (कि आफ्नो अतृप्त वासनालाई मानसिक तृप्ति दिलाउन ) त्यससँग मूक प्रणययाचना गरिरहन्थ्यो । तर उसको यो तृप्ति धेरै बेर रहन पाउन्नथ्यो । एउटी तरुनी आइमाई आएर उसकी प्रेयसी (शायद) लाई तानेर (कहिले कहीं बोकेर पनि) भित्रतिर लान्थी । अनि त लाइकाको विक्षोभ झन अकासिन्थ्यो र ऊ भाउन्नाएझैं टप (छत) र वरण्डामा रिङ्न थाल्थ्यो ।

रिङ्दा रिङ्दै ऊ फेरि रेलिङ्गको अन्तरबाट टाउको छिराएर तल सडकमा हेर्न थाल्थ्यो । त्यो इलाका आवासीय भएकोले सवारीको आऊ जाऊ त्यति साह्रो हुदैनथ्यो, खालि फाट्फुट् सबारी देखिन्थे सडकमा । बरु त्यहाँको सामान्य दृश्य भनेको गति छाडेरै आपसमा लठारिएर हिंडेका एकआध कुकुरे बैंसका ठिटा-ठिटीका जोडी र हेमन्त ऋतुका गल्ली खिचाका जोडी मात्र हुन्थे । यो दृश्यले लाइकाको उत्तेजनामा घिऊ थप्ने काम गर्थ्यो शायद ! उसको भुकाइ पनि आक्रामक हुन्थ्यो र चेष्टा पनि । अगि पछि आइरहने र राम्ररी चिनिएको मानिसलाई पनि ऊ झम्टन पुग्थ्यो । त्यसैले मानिसहरू त्यो घरमा आउँदा निकै होस गरेर मात्र आउँथे । बेबी सँगै प्रायः त्यहाँ आइरहने उसकी घनिष्ठतम संगिनी रेजिनालाई पनि उसले एक दिन एक्कासी झम्टिन पुगेको थियो । अनि रेजिनाले सोधेकी पनि थिई – “तेरो लाइका कतै बौलाउन त लागेन < तैंले उसलाई रेबिजको सुइ त दिइस् ।” “होइन, त्यस्तो त केही छैन ! हिजो आज अलि उत्ताउलिएको छ यो, बढी नै भुक्छ । तर कसैलाई टोकिहालेको चैं छैन ।” – डल्फिनले भनी । अनि दुवै जना पढाइमा हराए । लाइकाको बारे डल्फिनले पनि बिर्सिइ । त्यस दिन अर्थात् जुन दिन त्यो वीभत्स घटना भयो, लाइका सधैं झै छत (टप) को पश्चिमी रेलिङ्गको वालमा टेकेर सडकपट्टिको साबिक झयालमा हेरेर उभिएको थियो । उताको झयालमा पनि उसकी मायालु बसेकी थिई । दुवै प्राणी मूक भाषामा आँखै आँखामा मनका कुरा गरिरहेका थिए शायद । त्यसै बेला त्यस बङ्गलाकी तरुनी (छोरी बुहारी के हो, कि तरुनी नोकर्नी सुसारे हो) आएर कुकुर्नीलाई घिच्याउँदै भित्रतिर लगी । त्यसले लाइकाको उन्मादलाई चरममा पुर्‍याइदिएको थियो । ऊ रौं ठाडा पारेर आँखामा हिंसाको फिलिङ्ग भरेर गुर्राएको थियो – “ङयार्र्रर्र्रर्र ! र्घर्ुररर !” ठीक त्यसै बेला बेबी डल्फिन बाहिरको सिक्रीद्वार खोलेर उसलाई बोलाउँदै भर्‍याङ चढ्न थाली – “लाइका ! लाइका ! लाइका के गर्दै छ मुवाँ – त्यसलाई खान दिस्यो – … के खायो त्यसले <

उसको स्वर सुनेर लाइकाको उन्माद साँच्चै चरममा पुगेको थियो । ऊ विक्षिप्तझैं भर्‍याङतिर झम्टदै गयो । डल्फिन बेबी भर्‍याङको पहिलो घुम्ती घुमेर दोस्रो खण्डको तीन चार सिढी उक्लिइसकेकी थिई । लाइकाले एक्कासी झम्टादिएर उसलाई समेत लिएर खुर्मुरियो । दुवै एकै पल्ट खुर्मुरिदै घुम्तीको विश्राम (प्लेटर्फम) मा डल्फिन मुनि लाइका माथि पर्ने गरी खसे । डल्फिनलाई लाइकाको हेक्कै रहेन । कुनै अज्ञात जनावरले आफूलाई हमला गरेको ठानेर ऊ नराम्ररी चिच्याई – “आमा ! लौन ! लौन ! मार्‍यो आमा ! ” यस पल्ट उ उसको समाजमा प्रयोग गरिने सभ्यताको जडाउरी शब्द ‘मुवाँ’ को सट्टा अज्ञानमै नेपाली भाषाको ‘आमा’ शब्द स्वाभाविक रूपले बोल्न पुगी । उसको त्यो आतसको चित्कार सुनेर उपल्लो समाज (माथ्लो सोसाइटी) को कीटि पार्टीबाट भर्खरै फर्किएर शयन कक्षमा लुगा कपडा र गहना फेर्न थालेकी मोनिका राणा (आमा) आत्तिदै भर्‍याङको टाउकामा पुगिन् – “लौ न, लौ न ए के भो बेबीलाई – बेबी ! किन यसरी चिच्याएकी के भयो लाइकालाई । त्यसै बेला अफिसको ड्यूटीबाट फर्केका करसाप पनि गराजमा आफ्नो मोटर थन्क्याएर आइ पुगेका थिए । भित्र पस्ता पस्तै उनका आँखा भर्‍याङको पहिलो मोडको विश्रान्ति (प्लेटर्फम) मा लडिरहेकी छोरी र उसमाथि चढिरहेको लाइका डाँगोलाई देखेर उनका आँखामा बलात्कारको दृश्य चित्रित भयो । बिना सोच छोरीलाई त्यस कुकुरले बलात्कार गर्न लागेको ठाने उनले । उनको दिमागले अरु कुरा सोच्नै सकेन । एक्कासी उनको खानदानी फौजी क्रोध उम्लि हाल्यो । उनले बगलको दापमा झुण्डिएको फौजी रिभल्वर झिकेर ठोकीहाले – ठ्याईं ठ्याईं ठ्यार्इं । कुकुर ऐया पनि भन्न नपाई ठण्डा भयो । अनि कुकुरको लासले थिचिएकी, आतङ्कले नीली फुस्री भएकी छोरीलाई उठाएर सुम्सुम्याउँदै कम्पित स्वरमा भने – “के भयो छोरी – तिमीलाई सारो चोट त लागेन < किन यसरी बौलायो यो लाइका < यस्तो त कहिल्यै गर्दैनथ्यो किन बौलायो यो < .. ल अब नडराऊ ! त्यो मरिसक्यो ।” उनको फौजी रिभल्वरको तातो तातो गोली खाएर ऐया पनि भन्न नपाई ढलेको त्यो निरीह प्राणीले मर्ने बेलामा अत्यन्त करुण आँखाले उनलाई हेरेको थियो । ती निरीह आँखामा छल्किएको अनन्त पीडाको सम्झनाले उनलाई एक्कासी भावुक तुल्याइदियो । यस बिचराले बाँचुञ्जेल त उनको राम्रै सेवा गरेको थियो; धन मालको र घर परिवारको हेरचाह त गरेकै थियो शिकार जाँदा पनि उनलाई निकै सहयोग गरेको थियो । आज यसरी आफ्नै हातले उसको जीवनको अन्त्य गराएका थिए उनले ।

जीवन भरको निरंकुश फौजी अनुशासनमा अत्यन्त कठोर बनेको उनको छाती पनि अहिले पग्लिएर आँखामा पानी बनेर छल्कन थाल्यो । त्यसले उनको स्वरलाई पनि भिजाइदियो । उनले भक्कान्निएको स्वरमा आफ्नो अर्दलीलाई बोलाएर आदेश गरे – “लौ यसलाई रानीबाग (किङ्गस् गार्डेन_ को पारिजातको रुखमुनि लगेर हिफाजतसाथ गाडिदिनु । यसले प्रयोग गर्ने गरेका सबै सामान थाल (प्लेट), कचौरा (बाउल्स्) हरू पनि यसैका साथमा गाडिदिनु । …. अँ, अनि सुन्, पुरेतलाई डाकेर यसको सद्गत् पनि गरिदिनु । बिचरा छोरोजस्तै गरी पालेको यसलाई आज आफ्नै हातबाट ……. के गर्नु यसले यसै गरी मर्नु लेखेको रहेछ ।” बोल्दा बोल्दै कर्णेलको घाँटी अँठिए जस्तो भएर उनी बोल्न सकेनन्; आँखा पनि बढी नै छल्छलाएर आयो उनको । उनले प्लेटफर्ममा तेर्सिएको लाइकाको लास र त्यसको आसपासमा फैलिएर सुक्तै गएको कालो रगतलाई हेर्नै सकेन, हतार हतार सिढी चढ्दै आफ्नो कोठातिर लागे ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.