संसारमा धेरै मन पर्ने मान्छे तिमी
एउटा मात्र मेरो माया गर्ने मान्छे तिमी ।
उदाए नि जूनझैं सबको भाग पर्ने गरी
शीत बनी मेरै काखमा झर्ने मान्छे तिमी ।
मन्दमन्द पवन बनी स्पर्शमै लट्ठ्याएर
फूलबाट सुगन्धलाई हर्ने मान्छे तिमी ।
जलाएर दीयोको शीखाझैं आफैंलाई
आफ्नो ज्योति मेरै संघारमा छर्ने मान्छे तिमी ।
तिम्रालागि ज्यानै दिन्छु भन्नेहरू माझ
मेरो भागको जहर पिई मर्ने मान्छे तिमी ।