harayeko mero manchhe – shrawan mukarung

हराएको मेरो मान्छे
तिमी एकदिन जरुर आउँछौ
पिरतीको अर्थ के हो ?
त्यही बेला थाहा पाउँछौ ।

कति भाग्यो चन्द्रमा यो
पृथिवीलाई रुवाएर
तर साँझ आउँछ फेरि
लाखौँ दीप जलाएर
एकान्तमा वेदनाको
माला जब तिमी लाउँछौ
पिरतीको अर्थ के हो
त्यही बेला थाहा पाउँछौ

जहाँ जाऊ जता पुग
भेटिने त उही मान्छे
मानिसकै अनुरोगले
बाँधिएको हुन्छ मान्छे
सम्झनाको कुनै मोडमा
जतिखेर तिमी धाउँछौ
पिरतीको अर्थ के हो
त्यहीबेला थाहा पाउँछौ ।

bhanubhakta – shrawan mukarung

पहिलो जुनी
वि.सं. १८७१ असार २९ मा आए
भानुभक्त र गए- वि.सं. १९२५
असोज ६ सँगै

दोस्रो जुनी
भए आदिकवि
कतै चिम्सा आँखा
कतै लामो नाक
कतै गोरो वर्ण
कतै कालो वर्ण

कतै पूर्ण कद
कतै अर्ध कद
कतै रथयात्रा
कतै अबिर जात्रा

तेस्रो जुनी
भए माछा
नदीको लहरमा कविता लेख्दालेख्दै
एकदिन अचानक
खायो- गोहीले
……….

बयालीस लाख जुनी
भए किम्बुको रूख
शरद ऋतुको आँखैअघि
खायो रेशमकीराले
……….

चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
(मानिसको जीवनको कुनै भर छैन)
र हिँडे भानु
अमरावती कान्तिपुरी नगरी

हतारमा बिर्सेछन् बिर्के टोपी

बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि
गोल्डस्टार सुज
झ्ोलामा टाबेल, गन्जी र कट्टु
एसएलसीको सर्टिफिकेट र
श्रीप्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट
रु.सात सय पचास र
आमाको सादा तस्बिर

बालाजु, बसपार्क, धरहरा
घण्टाघर र रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला अवला
जब ढल्क्यो घाम
गमे कविजी कता जाम?
कविले कविको मर्का बुझछ
सम्झ्े उनले चित्तधर

खल्तीमा छ रु. सात सय पचास
लच्छिनकी रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झ्े उनले चुदी-रम्घा
झ्र्‍यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख

किनकि-
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ- रामायण!

shabda ko ishwar – shrawan mukarung

जसका लागि समर्पित छन्– यी शब्दहरू
उनीहरू बुझ्दैनन्– यसको अर्थ !
उनीहरू बुझ्छन्– बतासको रङ
आकाशको भाका
र झरीको मौनता

मेरा यी शब्दहरू विपरीत– उनीहरू
मानिसलाई ठान्छन्– शब्दको ईश्वर
र आफ्नै रगतका उज्याला फूलहरू
चढाउँछन् – त्यसलाई
भत्काउन दिन्छन्– पसिनाका प्रस्तरहरू

दाँत खसेको कोदालो
निभ्नलाई बलेको लालटिन
लहरे खोकी
र मध्यअसारको चकाभक…
कति गम्भीर छन्– शब्दका ईश्वरहरू

उनीहरूले बुझून् भनेर
मानिसको शालीनताविरुद्ध मैले
आफ्ना धारिला शब्दहरूलाई उफारेँ–
सडक–सडक
चोक–चोक
गाउँ–गाउँ
बस्ती–बस्ती
पर क्षितिजमा अल्पिरहेका ताराका बथानहरू देखेर
थाहा हुनुपर्ने हो– शब्दको जीवन
एक्ली साँझको सुकसुकाहट सुनेर
फर्किनुपर्ने हो– त्यो तन्नेरी शब्दको वैरागी अर्थ
त्यो शून्य रात उसलाई भञ्ज्याङमै भेट्नुपर्ने हो
–उनीहरूका निश्चल आँखाहरूले

केहीछिन–
आलीमा बसेर सुर्ती खानु
उठेको धुवाँभित्र
उडिरहेको जहाज र उङिरहेको जून हेर्नु
ओढिराखेको घुम खस्नु
हल्लिरहेको बाँसको टुप्पोमा निदाएको कुनै चराले
आफू मरेको सपना देख्नु
यी सबै ईश्वरहरू हुन्–शब्दका

जसका लागि समर्पित छन्– यी शब्दहरू
उनीहरू बुझ्दैनन्– यसको अर्थ ।
उनीहरू बुझ्छन्– बतासको रङ
आकाशको भाका
र झरीको मौनता

patrakar – shrawan mukarung

तिमी छक्क पर्छौ
कि,
तिमीजस्तै ऊ
कुनै होचो घरको मझेरी
बलेँसी, पँधेरी, जङ्गल
अँध्यारो छिँडी
साँघुरो गोठ
या,
अस्पतालको कुनै बेड वा परिसरमा
आफ्नै आमाको कोखबाट
उसको जन्म भएको हुन्छ

तिमी अझ छक्क पर्छौ
कि,
तिमीजस्तै–
पहाडको कुनै अपरिचित गाउँको धूलो
या,
भित्री मधेसको
कुनै टोल, खेत, इनार
आँपको फेद, राजमार्गको छेउ
अथवा–
सहरको कुनै गल्ली, डबली
वा पिच रोडहरूमा
दगुर्दादगुर्दै ऊ हुर्किएको हुन्छ

उसलाई देखेपछि
तिमी झन् तीन छक पर्छौ
तिम्रा जस्तै–
उसका आँखा, मुस्कान
र गहिरो आत्मविश्वास…

अहा !
उसलाई भेटेपछि त झन्
तिमी छक्क पर्नुको कुनै सीमा नै रहँदैन–
‘के पत्रकार आफैँमा एक मानिस हो…?!’

घाम
एकदम सीधा
तिम्रो सिउँदोमाथि मस्त छ
तिमीलाई आज, आकाश हेर्नु छैन
तिमी
एकदम उसलाई हेरिरहेछौ एकटकले
हेर्दाहेर्दै–
उसका बलिष्ठ पाखुराहरू
फैलिरहेछन्– घडीफूलको लहरा भएर
र तिम्रो मुटु र मस्तिष्कको गोलो पृथिवीलाई
कस्दै छ बेस्सरी !

तिमीलाई थाहा छैन–
प्रजातन्त्र र पत्रकार
कुन माउ, कुन चल्ला ?
तर, तिमीलाई थाहा छ
आफू उभिएको भूमि
सुन !
जिउँदो देशमा
पत्रकारको प्रायः हत्या हुन्छ
र उसको उद्दीप्त अनुहार
कुनै आतङ्कारीको बूढो बन्दुकको दवासमा
सविस्तार अवतरित हुन्छ

तब,
तिमी छक्क पर्दै पर्दैनौ
किनकि–
तिम्रो सिउँदोको सिन्दूर
लोकगीत भइसकेको हुन्छ !

prem geet – shrawan mukarung

अब म तिमीलाई यहीँ छोडेर जान्छु !
यी जन्तीजस्ता पर्वत
चराको माला
बुकी र बतास
यी सनईजस्ता भन्ज्याङ
लोकन्ता खोला
गोधूलि र मौनता
यी मान्छेका आदिम र आधुनिक दुःखहरू
कसैलाई थाहा हुनेछैन ।

अब म तिमीलाई यहीँ छोडेर जान्छु !

मलाई खोज्दाखोज्दै
कुनै प्रिय दिन तिमी मर्नेछौ
कुनै इतिहास बन्नेछैन – त्यो
मृत्युपर्यन्त पनि भेट्नेछैनौ मलाई
कुनै युग
कुनै काल
कुनै जन्म
मेरो मन फर्किनेछैन – कहिल्यै ।
पगली !
अब म तिमीलाई यहीँ छोडेर जान्छु !
यहीँ
बस यहीँ
यो तिम्रो सिउँदोमा बजिरहेको मेरो आलो रगतको बाँसुरीमा ।