Poem – Maal Kindi

क.
समय बराबर प्यारले फर्की,
उल्टो छाल
हान्छ कमाल !
किनकि अगाडि क्यै झल्केथ्यो,
बेहोश वेगमा,
स्वर्गको माल !

ख.
सम्झनाले गिज्याइहिछ बोक्रालाई,
निद्रालाई तन्द्रालाई,
ऊँगलाई आत्माको !
“तैले बेंक्मा राखेमध्ये
कुन हो अक्षर ?
कुन हो सुन्दर ?
के ले जिउँछन् रातमा यो ?”

ग.
क्षणहरुले लुटिरहन्छन्
नित्य मलाई
गरीब बनाई,
सम्झनाले लुटेर तिनकन,
“लौ ला” भन्छे — यो भारी चीज,
खोसी ल्याएँ !
तेरो, तँलाई !

घ.
अलकत्राले कालो सडक छ
नकली माल रङ्गीन भडक छ !
दिनकरको छ यात्रा अन्त !
बाँकीपुरमा याद अटक छ !
बिजुली–तारमा एक चटक छ !
पृथिवी बन्छिन् बैकुण्ठ !

ङ.
स्वर्गावतरित सन्ध्या ओर्ली
पसल–सींढीमा ओर्लन खोज्छिन् !
ज्योतिषी छन् साथी दृग दुई
जब नव तारा झल्किन रोज्छिन् !
उज्यालो भनेको अमृत हो !
जिइरहन्छ, जिलाइरहन्छ !
ती झल्किथिन्, लझ गुँज्छिन् !

च.
फेला परयो तब एउटा ताला !
खुले हृदयको सारा कोठरी,
ऐनावाला !
झल्किन् हजारौं रङ्गले
बाला !
नशा, नशाका तार भरी क्यै बिजुली दुगु¥यो,
ज्वाला माला !

छ.
सुन्दरीजल झर्ना झरेथ्यो
जीवन–चक्र घेर घुमाई !
दुनियाँका सब नगरी झिलमिल
पारुँ जस्तो लाग्यो मलाई !

ज.
दिनकर डुबेथे यत्ति निम्ति !
बिजुली बलेथे यत्ति लागि !
अनन्त क्षणहरु भुरभुर उडेथे
ठाउँ बनाउन यस क्षण लागि !
म पनि सारा संसार घुमेथें
पाउन यत्ति, यत्ति भागी !
एक थलनिम्ति संसार बन्छन्
एक पलनिम्ति पृथिवी घुम्छिन्
एक क्षण लागि जीवन बन्छन्
अनन्तका पनि क्षणमा गुँड छन् !

झ.
एकै क्षणको आन र तान,
दिव्य दर्शन या सूनसान !
एक पलकमा नितको ज्यान !
एक झलकमा पर आश्मान !
एक झलकमा जगत् श्मशान !

ञ.
मानवताको बिरुवामाथि
फुल्दछ यति तर्क भन्ने जानें !
दुई आँखाले पिए त्यो राति
त्यो अमृत जो सुरले जाने !

ट.
सुन्दरता ! के पायौ याद ?
चोरी हुन्छन् पथमा कत्रा ?
आफू सग्लै टिपियौ, अचेता !
धनी बनाउँछयौ कोष परत्र !

ठ.
स्वरुपभन्दा छाया अमर छ !
छाया ठूलो ! छाया सुन्दर !
तिम्रो तत्क्षण थिति नै अमर छ !
अजर छ तिम्रो मोहनी–मन्दिर !

ड.
प्यार भनीकन कोही छुँदो हो,
अवहेलनको तिम्रो काया !
पूजा गर्दै कोही रुँदो हो –
सम्झन सक्छयौ ?–
सकुची, चित्रन तिम्रो छाया !

ढ.
प्राप्त तिम्रा वैभव सीमित !
अप्राप्त तिम्रा धन छन् असीमित
आपूmभन्दा तिमी छौ ठूली !
अचेत छौ ए शक्ति अकेली !

ण.
कुनै कुनामा, भारतदेश,
शायद् वाष्पिल दर्पण सामु
दुखले टिप्छयौ फुल्दो केश !
बैँसको हरियो, मीठो, फुल्दो
उपवनमा भै शरदावेश !

त.
कसरी बताऊँ तिमी छौ उस्तै ?
बयस अमरमा सुन्दर चूली ?
आँधी न छुन्छन्, समय न छुन्छ !
परिवर्तन छ पदको धूली !
एकान्त हराएँ मैले सुन्दरी !
बेहोश निमौले संगमा बोली !
समय अडाई, विजयकथाका
वार्ता खोली !

थ.
सींढी पसलका ओर्ल शके ए !
ती लोचनका झुम्का ओराल !
उन्नाईसौँ बत्तीस सन् छ !
बदल, सके लौ, तिमी यो काल !

द.
स्पर्शहरुले खिइँदै शोभो
छाया–जगत्मा आश्रय लिन्छन् !
सचेत बन्दा आत्मा, आखिर,
त्यसमै सदन बनेको पाई—
निवसन्छन् !
आइरहिछौ ! मेरा हकले
सबका छिन्छन् !
विशाल विश्वको बाजार विषे, मेरा हकले,
माल किन्छन् !

ध.
संसारी क्वै स्तरमा भुल्दी
आफ्नो राज र सच्चा शासन !
ए अचेता ! पाउली याद !
मुग्ध दिल हो सुन्दर–आसन !

न.
सम्बन्धहरुमा मसिना, मीठा
सञ्चित अश्रुत स्वर नै बोली !
कोही जनममा चित्रकलामा
चकित बनाई, झल्के भोली !
पूरा मिलनमा, लबढब हुँला
विश्वनाथका मुटु भै डोली !

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in Laxmi Prasad Devkota and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s