Kavita – Ek Sundari Beshya Prati

छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?
रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !
शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,
स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,
सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?
टुना गरेर चित्तमा चकोरका झिलीमिली ?
अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !
स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?
म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !
समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !
गुलाफतापले रचे विरिञ्चिले मनुष्य कि ?
मिलेर राग, वासना, फलिन्, फुलिन् वसुन्धरा !
छ मासुरङ्ग रेशमी लुगा लगाउने चरी !
अनङ्गबागमा बसी अलाप्दछे धनी सुरा !
जिती समाधि साधुको परी अपूर्व छिल्लिए !
छ मृत्तिका–प्रधान नै मनुष्यजीव, भूसुता !
म मासु–लाञ्छना गरी म पस्छु है चिसो गुफा !
म फूलको हूँ पारखी ! म पुज्छु सृष्टि, सुन्दरी !
मिहीन वाण हानिंदा, न घाउ लाग्नु हो शिला !
म मासुको हुँ ढुक्ढुकी ! म वेदना, म शास हुँ !
म चर्म रे ! म दृष्टि रे म रश्मिको जवाफ हुँ !
म हारको विहार रे ! म पादको सिँगार हुँ !
म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका !
मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ !
म मत्तमा ! म मस्तता ! मलाई प्यास सुन्दर !
म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !
इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो !
म मासुको गुलाफको मिठास के गरी भूलूँ ?
निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो !
समाधि–मग्न शम्भुको प्रकोपवादको खुशी !
म दीपको पतङ्गको अडान–निम्ति वार के !
यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो !
यही चकोर प्यास हो ! हुनाको मात, आश हो !
म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो !
न साँझ चान्द्र शैलमा प्रभापुरी अघि स्फुटी
गुलाफिइन् हिमालका समस्त टाकुरा जली !
यही अपूर्व कीर्तिले ! पखेरु खल्बल्याउँदै !
इशार स्वर्ग ! छैन त्यो भनेर भो म भन्दिन !
चिनेचिने सरी छ क्यै ! मलाई “आ” भनीकन
इशार्दछयौ ! म आउँला ! पिएर तृप्ति ल्यूँ अघि !
मलाई बोधिसत्वमा पु¥याउँ भन्छ पालुवा !
समस्त चारु चीजले मलाई आज डाक्दछन् !
तथापि अड्छु गौडले ! छ पर्श कालको यहाँ
जहाँ उडेर रङ्ग क्यै परेछ दाग द्धारमा !
तिमी गिज्याउँछयौ अरे ! म मूर्ख हैन, ए पख !
समाजलज्ज मान्नको छ देखिने अरु टक !
‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ?
कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ?
यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है !
म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !
यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ !
न हाँस ! कालको कथा कता कता सुनिन्छ है !
तिमी नजीक काल के ? म काल साथ लड्दछु !
तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु !
उषा थिइन्, जली मरिन् ! सुवर्ण–साँझ अल्पिइन्
न आँशु हुन्, न तारका, वितान झल्झलाउँछ !
न देखिने खुँडा लिने मलाई क्वै सताउँछ !
कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !
प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ?
र पुत्तली पखेरुका सुवर्ण–धूल छोइनौ ?
सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ?
गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?
म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ !
विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !
म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे !
अहा ! यो मुस्कुरी पला अमोल हिँड्न दिन्न रे !
तँ वैंश ! अड् ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !
सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस् !
तँ झ्यालको न नाश होस् ! तँ दृष्टि नित्य दास हो !
झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !
ए चन्द्रमा ! कला नफेर् ! तँ मेघ हे ! नजा नघेर् !
तँ पोज बस् ! तँ ओठ जी ! ‘मुसुक्क !’ मत्र्यता नवर् !
तँ नूर हो स्थिरप्रभा ! यहाँ छ कामिनी–शिखा
धधग् धधग् ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !
म वीर हुन्छु प्रेयसी ! शिंगार शस्त्रले तिमी !
पठाउ काल युद्धमा ! चढाउ अश्व, कल्पना !
अरण्यमा विशाल त्यो जहाँ गएर जानकी
दिएर रामवाहुमा प्रचण्ड शक्ति मुस्किइन् !
निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !
तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु !
तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो !
हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !
अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?
विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ?
म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली !
मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया !
न तौल अङ्गुली तिमी ! दशैं त मूल्य हो भनी !
हजार ज्यान अर्पिने विलासदास सामुमा !
अहो ! कसोरि सस्तियौ ? तिमी ? लसुन, प्याज झैं !
छ सानु रश्मि जो यहाँ, चढाउलाई हाँक खै ?
जमीनमा झरी बस्यो मिठासको महाफल ?
कहाँ छ टिप्नुको मजा ? र ज्यान जानुको रस ?
ए प्रेरणा विशालकी ! गंभीर–अब्धि कूलमा
बनेर रेणका म¥यौ ? जहाज–पाल बन्दिनौ ?
शहीद चारुको म ता ! प्रभातको विहङ्गम !
म स्वर्गपुष्प–चोर रे ! प्रताप आत्मदानको !
मलाई माग चाहियो ! मलाई आग चाहियो !
म भस्मबाट ब्यूँतिने विलासको चरा नहुँ !
म पूर्ण आपूm दिन्छु हे ! जुहारलाई ज्यान होस् !
मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस् !
म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !
नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !
तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !
विशाल सूनसान नै बसाउनेछु सुन्दरी !
कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले
छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !
बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ
बजारमा समाजको, गिज्याइ आजको मुख ?
जहाँ छ साँढे स्वार्थको सुचारु पुष्प–भक्षक !
जहाँ छ राज्य मासुको र आँशुको जलाशय !
छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !
ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !
चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !
जहाँ समाज नामको कुनर्कको मुहार छ !
समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !
अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !
तिमी मनुष्य–मातृका ! तिमी सुधा ! तिमी क्षुधा !
विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?
यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !
निसर्गको प्रवञ्चना !
यो दागदीप आजको ?
विशाल व्यङ्ग्य, व्यङ्ग्य हो !
समाजको समाजको !
प्रकोप–मूर्छिता चिता ! कराल सुन्दरी तिमी !
निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?
लगाइ रुण्ड मुण्ड के ! छछम् ! छछम् ! धिधिक् ! धिधिक् !
धपक्क बल्न इच्छियौ ? जमीन डग्डगाउँदै ?
ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा !
म बुझ्न सक्छु कालिके !
सिंगारिई सुरा पियौ ?
ल नाच ए भयङ्करा !
सती, प्रलाञ्छिता, भृता, प्रकुण्ठिता, प्रवञ्चिता,
रुलाउँछयौ विभेदले, झिझिल्किएर शानमा !
शठात्म–रुण्डमुण्डको झुलाउ माल्य अङ्गले !
मताउ ती महापशु ! प्रताडन अगोचरा !
स्वरुपमा नदेखिई, स्वभाव के लुकाउँछयौ ?
रुमाल के फुकाउँछयौ ?
गिगिल्ल, फर्फराउँछयौ ?
मुसुक्क काम पुत्तली बनी तिमी छकाउँछयौ
दशाङ्गुली, गनी, गनी,
“तँ आ !” भनी
जनाउँछयौ ?
जनाउँछयौ वलि ?
छली ?
नमाग पेटले तिमी मलाई ! डर्छु हे खरी !
नडाक मासुले तिमी मलाई ! जल्छ है डढी !
म धीर, वीर मर्द रे ! सहन्न मान–हानि यो !
नजिस्क, जानिजानि यो !
नजिस्क है !
म डाटुँला, न रुप चिने सरि ?
ए फ्याउरी !
ए स्निग्ध घोडा घाँसकी
खरिद प्यार मासुकी !
ए गर्त ! यौनप्यासकी !
ए पुत्तली विनाशकी !
विकारकी ए दाउ ए !
सँभाल वृत्ति आउ हे
लुकी, छली, नखाउ औ चपाउ हे ।
समाजध्वंसकी तिमी मिठीमुहार माउ हे !
न मान्दछयौ भने हरे !
छ के सिवाय वेवशी ?
ए उर्वशी !
यो कत्रो रीस , कत्रो रीस ?
भन्दछयौ “त्यहीं बसिस् ?
न आस्यमा, न आस्यमा,
परिस्, मरिस् ?”
लुकाई गन्ध क्रोधको, ज्वलन्त क्वै चितासरि,
शिकारका खरानीले घसी मुहार सुन्दरी,
महाशिखा !
उडाउँछयौ प्रलोभिनी !
यो इविनिङ् पेरिस् !
अपूर्वकी कला बनी
दिई जगत्मा लात के ?
खसाल्न गर्तमा सिक्यौ
प्रलुब्ध पूँजीपातके ?
ए काम वारिवाहकी निवासिनी सुदामिनी !
गिराई वज्र ज्योतिको,
बिलाउँछयौ निरुत्तरा ?
छुँदै लिएर प्राण के ?
हराउँछयौ विनाडर ?
ए सृष्टि वारि–वर्षिणी !
ए नागिनी ! ए दंशिनी !
प्रहासिनी !
ए पाशिनी !
ए सृष्टि–माउ ! सृष्टिकी प्रभक्षिणी,
अभागिनी !
पुजूँ कि पाद ? स्त्री–प्रभा !
हिलाऊँ प्राण–चामर ?
सजूँ कि शून्य सुन्दर ?
बजाऊँ भित्र घण्ट यो ?
बजाऊँ पाठ ! कण्ठ यो ?
रचूँ नयाँ जगत् म के ?
असी र चार प्यारका तयार पारुँ व्यञ्जन ?
अपार सद्य अज्मिए
प्रवेश गर्दछयौ ? भन !
त्यजेर छद्य चाल यो, के सत्यरुप धर्दछयौ ?
के कल्प, कल्प मातमा,
म साथमा दुगुर्दछयौ ?
ए पोथी शक्ति ! भूसुता !
लिएर जाल रेशमी सुवर्ण–मत्स्य–दिल कुनै,
अमोलको, खगोलको,
समुद्र–नीरबाट के शिकार्न शौक गर्दिनौ ?
ए पाल ! तालमा त्यहाँ !
हिमाल–सानुका मनि !
खिलाउँदी, पिलाउँदी र प्यारले जिलाउँदी !
जो सत्यमा छ, सम्झ हे !
स्वधम्र्मको सदा विधि !
म क्रुद्ध हुन्छ !
ठान्दछयौ जगत् भरी चले मिशीन ?
मिशीन मात्र चल्दछन् ?
अजीव छन् सबै ?
सबै ?
नज्यूँदछन् कुनै दिल, यहाँ तल ?
बुझी, चल !
म हैन प्राणहीन हे !
म हुँ उत्ताल जिन्दगी !
म भावको हुँ आँकुरा !
म दिव्यजाल माकुरो !
म जान खोन्छु के ठगी !
चरी सँगी ?
नशा हुँ अग्निको म ता !
म बाफ चक्षुनीरको
प्रवाहमा यो श्वासको समीरको !
छुँदैन यी पुकारले ,
ए छोइयू !
धुने भएन आँशुले ?
ए धोइयू !
परेर प्ररणा तिमी
झिलिक्क पङ्ख फोइयू !
म सत्ते रोइरा’ छु ए !
म आफु खोइरा’ छु ए !
ए सत्य रुपमा झर !
न फेरि लाञ्छना गर !
पचाउँछयौ नि बूझ है !
तिमी मलाई ल्यौ सबै !
ए आत्मा ! आऊ ! स्वर्ग जाऊँ
अन्भ, अन्भ, साथमा !
कुनै अपर्श उच्चता लिएर सद्य लौ सजूँ
रङ्गीन अभ्र पातमा !
कूचो समाऊ रश्मिको ! बढार पूर्व आँगन !
म साथ शक्ति ! घोसल !
विचित्र अग्नि माँगन !
निहार बेलिपूmलको टपक्क एक जीवन !
धु्रव–प्रदेशतारका अपारका निहारन !
जहाँ घुमेर साथमा अभेद्य ज्योति दम्पति,
सँगाल्छ विश्वसम्पति !
विचार अङ्क एकको उदेक ए
जहाँ दुई !
छ छाल, उछ्लिने
अनन्त–आँतको भरी
बोलाउँदै परस्परी !
महामरु प्रफुल्ल हुन्छ,
सर्छ सृष्टिवल्लरी !
तिमीले मन्त्र यो शिके,
“म अर्पिए सँधैभरि !”
म अश्रुसिन्धु हुन्छु ए !
डुबी डुबी तिमी मर !
जिई वर !
छ प्यारको हिमालयी महाघर !
गजूरमा छ त्यो मजा !
अनन्तसौख्यको ध्वजा !
जहाँ तुषार प्यारमा
उषा चढुन् शिंगारमा !
हारमा !
समाज आऊ लौ ! तरुँ !
बगाऊँ धार प्यारको !
किनारमा बसी रचूँ !
पुरी नयाँ अपारको !
घडाभरी छ, चन्द्रमा !
कलङ्क ध्वौ, बगी झर !
यहाँ पर !
के जिल्ल पर्दछयौ अरे ?
म उच्च–बुद्धि–पागल !
भए त कालिका, छली !
विनाशदीप सक्कली !
ए मानिसै भए पनि
मनुष्यको अरण्यमा मृतासमान एकली !
धराकलि !
मलाई चर्म देख्दछयौ ?
कि नोटका ठूला बिटा ?
न मर्म या निरख्दछयौ ?
सुतेछ हाय ! देवता !
सकारिनौ त प्यार के ?
ए ओर्ल ! छौ तयार के ?
भयो, भयो, न दृक् तर ?
क्षुधा, क्षुधा, रही मर !
तृषा, तृषा, सधैंभर !
डटेर झ्यालमा बस !
डढाऊ लौ बनारस
अधर्मिणी ! हिंडे पर !
सलाम ! भो क्षमा गर !
बिगार्दछयौ मुहार के ?
जगत् पखाल्न शक्दथ्यौ !
हिलो भर !
सडी मर !

Kavita – Ma

स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–
दाना तिलको,
यति छु मसिनो ! सक्छ को सम्झन ?
दिल झिल्को ?
अलग सचेतन सागर चेतन
कण जलको !
जति जति गिर्दछु उति उति उठ्दछु !
अन्त न बलको
विश्व बनाउँछु, विश्वधनी छु—
क्षण–झुल्को ।
सृष्टि, स्थिति र प्रलय म भोग्दछु,
प्रतिपलको ।
मेरा नीलिम गहिराइमा
मेरै अनिलको
तपन, जपन र अन्तः स्वपन छन्
ऋजु र कुटिलको ।
सब ती विसर्जन मिल्दछु जलमै,
जल–फुल्को !
जोरिन्छ जतातिर मानवतासँग,
साँध यो दिलको,
अनन्त शक्ति र ज्योति छु उत्तम
युगको अमर झिल्को !

Kavita – Kshitij Tira

पर पर कुइरी नील किनारा,
स्वर्ग झरीकन जिमीमा छुन्छ,
लामो सडकमा अडी यसबार,
दूर चिहाई दृगले गुन्छ ।
बहुविध पत्थर कङ्कड, काँढा,
बाढी, खाडी, उकाली हुन्छ,
ओर्ली किरण र उक्ली डाँडा,
दूर शिखरमा स्वर्ग नुहुन्छ ।
दिनदिन हेरन नील–काढाँमा,
माकुरीको जाल रहन्छ,
दिनको उज्यालो पर पाटामा,
बाटामा तर कुइरो बहन्छ ।
मानिस आफैं आफ्नो डरमा,
आँखा चिम्ली कैद रहन्छ,
आफैं मगन्ता आफ्नो घरमा,
मृत्यु पुजीकन मृत्यु सहन्छ ।
दुःखले पायो हेर्न कहाँ पर ?
मुटु शर पन्छी दृग चिमलिन्छ,
चतुर्मुखी अघि बन्दछ अमुखर,
घाट र घर बीच तित रुमलिन्छ ।
चिथरो दौरा, आधी छ नाङ्गो,
टोपी शिरमा गोल धरो छ,
गन्धक तन औ हर क्यै बाङ्गो,
भरिया मनिरै ठिङ्ग बरो छ !
कल्पिरहेछु शिखर किनारा
सुन्दर बस्ती श्रमको झलमल,
पूरा मानव हँसमुख सारा,
नव युगलोचन रचना उच्चल !
आँधीहरुमा झर्छन् तरुवर,
तिनमा तारागणले रुन्छ,
हुरी चढेका मानवहरु तर,
भोलि दिनले सम्झिरहन्छ ।

Kavita – Grahan Nuhaundi Prati

क.

सूर्यकी दुहिता ! चन्द्रकी भगिनी !
ए युवती ! गर स्नान !

ख.

अनार पालुवा लाल रहन्न
थाक्दछ बुलबुल गान !
समयले सुन्दर स्वपना सहन्न !
टुट्दछ रेशम तान !

ग.

यस पोकाम बिच्छी पस्छन्,
साँप हिलामा बस्छन् ।
मैला बेहोशीका क्षणमा
क्रूर जहरले डस्छन्
धोई राख्नुपर्दछ यस्तो
रातो रेशम थान !

घ.

अनन्त सम्झी मानव–जीवन
प्रलय भुल्दछौ हामी
क्षणका अन्धा दास बनीकन,
भ्रमका सुन्दर सदन बनाउन,
छौं नामी !

ङ.

सूर्य पिताको मुखमा राहु छ !
किरणहरुमा बार !
हिउँ हुने शङ्का मातालाई छ ।
खण्डहरको दुःस्वप्न कडाले
झस्किरहेछ संसार !

च.

जीवन–ज्योतिमा छाया पर्दछ,
किन बिरसौं ?
मत्र्यताको स्याउ रङ्गको
यस कायामा मृत्युको छाया
छोइरहेछ !
किन हरषौं ?

छ.

महाकालको दर्शन पायौं
ग्रास विषे !
छूत लाग्दछ पन्छीहरु लौ ?
क्या तरसे !
पृथिवीको हो यो गङ्गाजल !
स्नान गर !
चिसो छामोस् मूर्ख कलेवर !
सविता परका सविताको
भजन गर !

ज.

भूनिशाको यस छायामा
सूर्य बसे !
मत्र्यताको होश नराखे,
हृदय नधोए
यस्ता क्षणमा
साँप पसे !

झ.

बाग्मतीमा मध्याह्न
ग्रस्त महान् !
तर्सेकी चरी क्वै
गर्छ स्नान !

ञ.

बैंशचुलीमा छाया छ !
यो हो हृदय पखाल्ने बेला !
आवान यो हो महाश्मशानको !
धोऊ, गङ्गाजलले सुन्दरी !
अल्पायु सुनौला चोला !

ट.

ग्रहण बुझेका स्नाताहरुको
हृदय पखाल्ने भू–जल छ !
अवनिपुष्पमा बादल छाया !
विश्वास किरणमा निर्मल छ !

Kavita – Asia

अमृत कलकल वाणी !
ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण ।
“आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी !
अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग,
रङ्ग छ एक बिहानी !
जाग जाग हे !
शिखर लाग हे !
चिरनिद्रित दृग मिच ज्ञानी !
निर्मल हृदय छ तिम्रो वैकाल, वल्कसको जल–खानी !
प्रथम किरणकी ऊँची चुली, प्रथम सृष्टिकी रस लहरा !
सभ्यताकी गुरुमा नि !
सकल धम्र्मकी किरण–केन्द्र ए ! विश्वकी पहली बिहानी !
पामीर तिम्रो विश्व–छत्र हो ! झ्यालमोलङ्मो कीर्ति–चुली !
स्टानोभोइदेखिन् एल्बुर्जपर्वत–हार बयानी !
निहुरिन्छयौ तिमी यूरालउपरमा चुमी यूरोपा रानी,
उत्कर्षहरुको खानी !
चिरशोषित हे ! चिरदूषित हे !
जाग, जाग हे जाग !
अरबौं जनका जनशक्ति लिई उन्नति–पथमा लाग !
उच्चारन हे विश्वप्यारको,
विश्व–शान्तिको वाणी—
महाद्धीपकी ए महारानी !
आर्य र मङ्गोल द्राविड, निग्रो, कमचटूकी या जापानी,
सुमेरुदेखिन् वालीसम्मन् यूराल फुजी सीमानी,
एक लहरमा सब लहरेलान् !
एक प्रभावले सब सिहरेलान् !!
एक हि लक्ष्य निशानी !
मानवताको झन्डा उचाली !
युगका कुइरा फाली !!
एक सूत्रमा सकल राष्ट्रको प्यारको माला गाँसी,
भाइ परस्पर जानी !
उच्चालित होऊ !
उच्चालित होऊ !
जाग जगत्मा, मावनताको
जीवशक्ति प्रमाणी !
महाद्धीपकी ए महारानी !
सकल विभवकी खानी !
जाग एशिया रानी !
चीन छ तिम्रो वीर सुपुत्र सिंह उठेको अब शानी
रुस सदृशको तनय विशाल छ, विश्वविजेता विज्ञान ।
तर भूतलमा आज छ राती,
थरथर काँप्दछ मानवजाति,
आण्विक ली पशुबल कोही धम्की दिन्छ नजाती,
तिमीले बोक्नु छ आश–दियाली
तिमीले अमृत–थाली
तिमीले बटार्नु छ सूत्र सुनौला, प्रेमको पन्था चाली !
विश्वशान्तिकी ध्वनि बन शानी !
महाद्धीपकी महारानी !
जाग छ आज बिहानी !!

Poem – Barsha

आइन् वर्षा हररर चढी वायुपङ्खी विमान,
पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान ।
झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा,
चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा ।
बाफैको हो रथ त हलुका, शानले त्यो विशाल
पत्रे बुट्टा रजत–तहमा पर्छ कल्सिन्छ छाल ।
मुस्किन् विद्युत् वरुणदुहिता साँवली कोमलाभा
गोरा डाँडा विचरन चुली उल्किई, देखिंदामा ।
फर्फर पार्छिन् चदर हलुका, लत्रिंदो, मेघ ह्वैन,
लाखौं मोती—लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन—निधिका स्नेहले मुस्कुराइन्,
यौटा मोती—लुङ चुँडिन गै शैलमा झर्झराइन् ।
नाच्दी, कुद्दी, हरष उछली, यानमै आजलाई
आएकी ती तुहिन–कलिली पार्वती भेट्नलाई,
गाँऊ भन्छिन् जगत् छहरी स्वर्गको दिव्य तान,
ठाडा बन्छन् श्रवण कविका शीतलो सुन्न गान ।
आशङ्काले भुरभुर गुँडै सम्झिंदा पङ्ख नाना
जाओ बच्चाहरु नतरसून् गर्जिदा स्वर्ग–छाना,
लर्बर् गर्दा कुशल कमिला ! लौ गरे हे हतार,
तेसै ओर्ली चिर चकँरिंदो चील ! होला अबेर ।
तस्वीरै झैं अलि छिन उडी वायुले पक्ष फेर्दा,
सन्नाटामा तरुवरहरु ! उक्लिंदो खात हेर्दा,
पर्खी बस्थ्यो पवन पहिलो सुन्न फर्मान दूर
तिम्रा राजा सलिलनिधिका ! लौ सुने यो नुहेर !
“लाखौं मूरी रतन–जलका वायु मैले उचालें,
पारावार प्रभुहृदयका उच्च आदेश पालें,
बाफीला ती रजत घटका चारु बान्की उचालें,
वर्षी बोकी वरणदुहिता पार्वती भेट्न थालें ।
“लेखें मैले जलदपटमा अक्षराकार धेर,
इच्छा छारा प्रभु वरुणको, वर्षको यो सवेर,
हाँगा, लच्की, लहर लहरी, खातिई, पत्रिएर
बोल्दा छन् ती अमिट सुरमा कान थापेर हेर ।
“तानाशाही दिनकर भए, सुन्छु यस्तो फिराद,
मेरो छाती जल, जल छ ! ती सन्किएछन् फसाद !
दण्डी दिन्छु स्थगन रविको राजको होस् धरामा,
शून्याभासी कुछ दिन बनून्, दुःख भो उर्वरामा ।
“बच्चा ! दुःखी ! हिम अचलका पङ्ख ! प्राणी ! प्रशाख !
तिम्रा भेजा मम हृदयका रत्न छन् लेउ लाख !
लामा छाया सजल घनका लाख तिम्रा सियाल !
रङ्गीचङ्गी धनु विजयको, दैन्य सारा पखाल ।
“धूली खोला सलिल, वरर्षी शानजस्तो अटूट,
पाई प्राणी अमृत–लहरी फस्टिनेछन् अछूट,
दौरामा छन् जलधि–दुहिता, साम्य कारुण्यभाव,
फैली चाँडो मुख अवनिको, हुन्छ, आनन्द–लूट ।
“पृथ्वी फल्लिन् सलिल–कलिली धानले छापिएर
गाई रोप्लान् चपलवयसी, दृक्–बिजुली लिएर ।
बाली राम्रो, तृण अति हरा, वर्ष राम्रो कबूली
पारावार प्रभु–हृदयको फुट्छ सङ्गीत केली ।
“मीठा, मीठा अमृत रसका बिज्जुले लाख, लाखा
भर्दै राम्रा फल तरुहरु पाउँछन् भन्न, ‘चाख’ ।
भारी शाखा शरदऋतुमा लच्किंदा दानलाई,
मेरो इच्छा यति छ, यति हो नील आदेश, भाइ !
“लौ लौ गाओ दल दल वनै, वृक्ष हो ऊठ सारा,
बर्षे घैंटा घट घट गरी स्वर्ग–पीयूष धारा ।
दर् दर् दर्के अमित–कनिका, प्यून लागिन् धराले,
उफ्री, नाची चल विटप हो, पाउनेटौ जराले,
“यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड,
यो गानाको गगन, जनको कल्पनाको बहाड,
यो पौडीको सुखजलधिमा फूल रातो असारे
झन्डा सम्झी, मुजुर–मन भै पिच्छमा रङ्गधारे ।”

Poem – Ughrera Bigreko Bihan

रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,
धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन !
धोएको छ हवा, तथापि धनको यो व्योममा आसन !
टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए !
चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए !
यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा !
तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा !
बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर !
छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर !
रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब !
आँधी हो कि कराउने ? विफल भो विस्फोटको, गौरव !
काँपी थुर्थुरि घाम भाग्छु दुनियाँ आशा टुसैमा मरी !
आगो बाल्नुप¥यो घरैघर बसी, को खप्छ यो थुर्थुरी !