पहिरोको माखेसाङ्लो – ठाकुर बेलबासे

पहिरोको माखेसाङ्लो रहेछ मान्छे
पहिरोको मध्यभागबाट यात्रा गरेर
पहिरोमै अडेको बासमा पुग्नु छ ।

जीवनको यति लामो यात्रामा
नभेटिने होइनन् सहयात्रीहरू
सबैको मन
कुनै दुर्गम पहाडी क्षेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ
पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने ।

जीवन नसम्झेर पहिरो
मस्र्याङ्दी बग्न खोज्दा पनि त
पहिरोबाटै बग्दो रहेछ मस्र्याङ्दी पनि
नछेलिने रहेछ पहिरोबाट जीवन ।

सँगसँगै यात्रामा रहेको यो घाम
यात्रामा भेटिएका यी मन्दिरहरू
सबै सबै पहिरोमै त छन्
सायद, पहिरोभन्दा अब संसारमा अर्को बाँकी केही छैन ।

पहिरो नहुँदो हो त, कहाँ हुन्थ्यो जीवन !
पहिरो पन्छाउँदै पन्छाउँदै
सपनाका पहाड उक्लनु पनि पहिरो खोज्नु नै हो ।
मान्छे भन्नु पहिरो रहेछ
पहिरो भन्नु मान्छे
के भर एकअर्काको पहिरोमा
कति बेला के पर्ने हो !

नीला पाइला टेक्ने राता मान्छेहरू – ठाकुर बेलबासे


ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु

रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ

ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

आक्रोशका रगतले
नसाहरू भरेर
खडेरीको मौसम सिर्जना गर्ने
ईश्वरमा
मेरो समवेदना रहन सक्दैन

भोको पेटले
पानी उमार्न
माटोसँग भगीरथयुद्ध छेड्ने
मान्छेअगाडि
नतमस्तक क्षितिज आफै ओर्लन्छ

सम्भ्रान्त बस्तीतिर बहकिने
ईश्वर

शरीर ओछ्याएर बाँधमा
एउटा नदी नै पटाएर
मरूभूमिको बस्तीतिर
पारिजात फुलाउने मान्छे
के मान्छे अर्को ईश्वर जन्मन सक्दैन
हरेक प्रभातमा यही
कल्पना गर्ने गर्छु

एउटा यस्तो मान्छे
बारुदबाट समयलाई
सधैँ बचाओस्
एउटा नीलो आकाश उघारोस्
अनि
रक्तहीन समयलाई निर्भय फैलन दैओस्
त्यो मेरो भगवान् मान्छे

म निरन्तर आराधना गरिरहेको छु
नीला पाइला टेक्ने
राता मान्छेहरू