पाप लाग्छ – लक्ष्मीप्रसाद देवकोटा

नटिप्नु हेर कोपिला

नचुँड्नु पाप लाग्दछ

नच्यात्नु फुल नानी हो

दया र धर्म भाग्दछ
नछोप्नु है चरी बरी

सराप आँसु लाग्दछ

नमार्नु जन्तु है कुनै

बसेर काल जाग्दछ
न घाउ चोट लाउनू

सडेर चित्त पाक्दछ

धुलो नफेक्नु नानी हो

उडेर भित्र ढाक्दछ
हिलो नखेल्नु फोहरी

खराब दाग लाग्दछ

न चित्त है दुखाउनु

डसेर आँसु बग्दछ
बनेर फुलझैँ सधैँ

हँसाउनू सुवास दी

सधैँ रमाउनू जगत्

रमेर नित्य आस दी
जताततै छ ईश रे

छ सुन्नु त्यो विचार रे

छकाउने लुकाउने

नराख भाव क्यै गरे

बिहानीको गीत  – गणेश ‘विषम’

चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा

फुरफुर गर्छ पुतली हाम्रै फुलबारीमा

हाम्रा राम्रा वनचरी बिहानी पो डाक है

आजभन्दा भोलि झन् अझ राम्रो पार है
के के भन्छौ पालुवा बोलेजस्तै गरेर

हाम्रै वन डाँडामा तिमीहरू झुलेर

हामी त बालक साना छौँ सबै राम्रो देख्दछौँ

बारीकै फुल टिपेर बिहानीलाई पुज्दछौँ
हिमालका चुलीमा सूर्यका ज्योति छरिए

पहेँलपुर भुइँमा हिमाली पाखा चम्किए

धोबिनी चरी बसेर फुलबारीमा गाउँछे

विकासको बिहानी सूर्यसँगै आउँछे