कविता – गोलि हो – लक्ष्मी प्रसाद देवकोटा

लक्ष्मी प्रसाद देवकोटा  Nov 12, 1909 – Sept 14, 1959

लक्ष्मी प्रसाद देवकोटा
Nov 12, 1909 – Sept 14, 1959


गोली हो यो गोली हो,
काननेर गाउँछ सुइँय ! रणको बोली हो
आजको यो निम्ता भाइ !
बल्दो भोलि हो !

चण्डीको यो गिडगिडी, रुद्रको यो तान
ध्वनिले डाक्छ ध्वनिको ढेर, मुग्ध आज प्राण !
जीतहारको छ आज द्धन्द्ध नृत्य, द्धन्द्ध नृत्य,
हेर ! हेर !
लाल आज उग्र लाग,
सम छ बलिदान !
प्रलय डमरु बज्छ डिमडिम,
खुल्छ रुद्रधाम !
गोलीसाथ बोल्छ गोली,
‘के छ भोलि हो ?’
आउँदा युगको गान हो यो,
राग होली हो !

भेटे यसले देउता पार्छ, छलिए दिन्छ राज !
यसले जिउन, अमृत पिउन, लाउन देवताज !
काननेर गाउँछ सुइँय !
आत्मा नै उडाउँछ हुइयँ !
पुरुखाहरुको माझ !
छातीले धकेले स्वर्ग
पीठले पिछोले नर्क,
केवल मुटुको जाँच !
भूचरी या नभचरी, दुईमा एक आज !
जो अमूल्य मिल्छ भाइ ! ज्यान मारेनी हो !

छायाबाट तर्सिएका, मायाबाट पर्सिएका
खुम्चिए, डरे !
कालले घिसार्छ बोको, कालले घिसार्छ बोको,
फेरि त्यो भरे !
शहीदलाई खोज के छ ? वीरलाई मोज के छ ?
बोक्रो यो झरे ?
गुदी देखाउँला नेपालीको, गुदी देखाउँला नेपालीको,
मातृदूध रे !
कालसाहू ऋण तिरेर प्वाँखजस्तो हलुका बन्दा घट्छ के भरे ?
एक लहर चिडिया उड्लान्, प्रातः बोली हो !
मानवको यो स्वर्गतर्फ एक टोली हो !

सबको भाइ, मेरो भाइ,
सबकी बहिनी, मेरी बहिनी,
सबको घर हो मेरो घर !
यत्ति राखौं मनमा सबले,
एक्लिँदैनौ केको डर
गै बसौँला सबका छानामनि रे एक जहाज बनी,
पूजाकोठा भर !
बादलको त्यो ढोकाभित्र हेर ! घाम छ, घाम छ, घाम छ,
शङ्का छैन, डर !
स्वप्नमा घुसौँला हामी, यादमा बोलौँला हामी,
नेपालीको कान छ ! जान्छ
वाचाल हाम्रो स्वर !
माटी चोली फ्याँकी लाउनु सुनकी चोली हो !

लहडदास, कीर्तिप्यास
सर्पले हान्या होइन यो त !
तार तान्या होइन यो त !
यो त देखाएको नर !
यो त रेटिएकाहरुको आत्मा बिउँझ्या, आत्मा जाग्या,
विधिको अचूक सर !
बीउ फुटेको, मृत् टुटेको
उबजनी अमर !
मूर्छाबाट बिउँती चल्नेहरुको बोली हो !

दालभात दालभात गाँसबास !
नेपालीको नाङ्गो जीउमा केवल एक कपास !
मानव–हक औ मानव–आस !
यही कदम हो, यही कदम हो, यही कदम हो,
भोकको दम हो,
प्यासको वेग हो !
मानवताको द्धार घचघच, एक ढयाङ्ग, एक ढम्म हो !
बोल्छ प्राण–नलीको भेरी,
‘कुइरो नाश ! कुइरो नाश !’ एक नयाँ प्रकाश !
वेदनाको ज्वाला मुख हो, न्याय बोली हो !

आँखाको यो दोष होला
अन्धतासँग रोष रोला
बम्किएको होश होला
दीर्घ नींदको बलि !
हिउँमा पाइला, झारमा पाइला, तीरमा पाइला !
नाङ्गा हड्डी क्रूर भाइ ला !
यो युवकको अञ्जुली !
जो जिएथे, जो मरेनन्, रातमा बोली हो !

क्याँग ती बूटले खान्थी
काँढा झाँग ती, बालू ढयाँग ती !
हाइ लडे, मर्काई आँग ली !
तिनको लाल छाप हेर !
फेर्छ पृथ्वी भोलि हो !
व्यर्थ हुन्न ! चल अगाडि !
बाढी, बाढी !
एक रोज होला फेरि नेपालीको यो आकाश
छयाँगछयाँगती !
युगले फेर्ला चोली हो !
कदम कदम हो, क्रान्ति, क्रान्ति
राष्ट्र शान्ति ! राष्ट्र शान्ति !
यी किरण फुटेर मेट्छन् भूतभ्रान्ति भूतभ्रान्ति !
फेर्ने चोली हो !

तारालाई बाटो लाउने, दिल उदाउने
न्यायशील !
छौ कि भूमा ? छौ भुवनमा ? छौ कि स्वरमा ?
लेऊ यो अपिल !
हकको शिशा छिन्नेमाथि !
मानवलाई किन्नेमाथि
हेर आँशु–झील !
आमा भोकी, बाटो रोकी, कोही हिँडयो कि !
सुन्निएका डील ?
ती रुलाउने, ती गिज्याउने, ती भिजाउने
लाई गिद्ध–चील !
आज तय होस्, आज तय होस्, आज तय होस्,
हकको टोली हो !

पाठो छिर्केको बिहान छ !
यो रगतले रात जान्छ !
कुम्भकर्ण माटो खान्छ !
रावण जा !
जिन्दगी !
तेल ढली, औ तेल जली !
बन्दछन् दीपावली !
सारा शिखर देशका जल्छन् भोलि हो !

सनसनी आनन्द कसको ?
वीररसको !
ज्यानको दाता उही,
ज्यान उसको
भेडा मर्छ घाँसमाथि, जिन्दगी नै रोग उसको !
अब नृसिंह गर्जिदो छ, खम्बा फोरी दीर्घ युगको,
दैत्य झस्क्यो ! दैत्य झस्क्यो
साध नरको चोली हो !

आयो मजा क्यै ? वीरहरु हो !
काल कुश्ती ?
भोलि क्या कहानी भन्लान्
हरिया बस्ती !
गोली हो यो !
दासदलको अन्त्य बोली !
अन्त्य बोली हो !
एकलौटी शक्ति रुन्छे, लोहा बिन्दु धोली हो !

भीम भाइ हो ! भीम भाइ हो ! भीम भाइ हो !
दाह्रा फर्रे !
काँधले धकेल्छौं पर्वत,
यो उखाड्छौं, यो उकेल्छौं
ढुङ्गा पर्रे !
दाना, दाना, पुरुखा झिल्के, पुरुखा झिल्के
जनको राज ! जनको राज !
या त भोलि या त आज !
पन्छी हो ! पन्छी हो !
हुर्रे ! हुर्रे !
आयो आज अन्तरात्मा दुष्टताको पोली हो !

बढ अगाडि, बढ अगाडि, बढ अगाडि !
निराश ताडी, आश छाडी,
बाढी ! बाढी !
काँढा गिज्याई, कुल्ची झाडी,
मानवको यो झन्डा पछाडि !
एक वीर, एक बज्र, चट्क बोली हो !

के दधीचि केही बुझ्यौ त ?
हड्डी चट्की
बाजलाई चोक्टा दिनुको
के त आज शौक भड्की ?
थर्र संसार पार्नु के यो
हाम्रो थोरै शान हो ?
मानिस पड्की, वायु रड्की, पृथ्वी गड्की,
वज्रको यो गान हो !
भोलि नेपाल आँखा मिच्ला
बिउँझी आँखा खोली हो !

गाउँछ गोली गोली जो !
स्वागतको बोली हो !
क्यै न बोले बाह्रमासे
फुल नित्य भोलि हो !
बोल्न पाए ‘जनतन्त्र’
धूवाँ फाट्दा खार छाड्दा
रुद्ध कण्ठ खोली हो !
गोली हो यो गोली हो !
तिनका मर्लान्,
असिना पर्लान्, पग्ली झर्लान् !
हाम्रा चाहिं जुगजुगलाई
गाइरहलान् होली हो !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.