२०६५ को शुभगमन – तारानाथ शर्मा 

थोत्रो बूढो बितेको असफल ननिको वर्षले राष्ट्र भाँड्यो 

मैला च्याङ्ला पुराना रिसघिनफुटका रोग सर्वत्र बाँड्यो
देशै टुक्र्याउने जो सरल जनमा सर्पको खेल चम्क्यो

पृथ्वी नै छट्पटायो र समयसँग मिली लौ नयाँ साल झुल्क्यो

नेपाली एकताको हृदय दह्रिलो पार्न यो साल पाओस्

सारा पाखण्ड फाँड्दै अब त मुलुकमा दिव्यदृष्टि उदाओस्

पैँसट्ठी साल राम्रो अतिशय रसिलो आशको ज्योति छर्छ

सारा हाम्रा गलेका तन र मनमा प्राणसञ्चार

Advertisements

साझा यो फुलबारी – तारानाथ शर्मा 

कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो

आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो

हामी नेपालका छौ सकल जनता एकतामा बसेका

कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका
योद्धा शूरा र आँटी अघि असल थिए न्यायका लागि मर्थे

पुर्खाको देनलाई शिरउपर गरी नीतिको राज्य गर्थे

साझा यो फूलबारी सकल जनको हो भनी पृथ्वी भन्थे

चोखो आदर्श मानी युवकयुवती राष्ट्र्का भक्त बन्थे
जनतन्त्र थियो सबको रहर

परतन्त्र हुने अब नित्य डर

लुटमार बढ्यो जनजाति फुटे

रिस द्वेष र भेद अँगाल्न जुटे
जब भेद बढ्यो अनि राष्ट्र् फुट्यो

जनता ठगिए ईतिहास टुट्यो

कुन सर्प सुटुक्क पस्यो परको

हुन सक्छ यहीँ कपटी घरको
मन खल्बलियो विषले भरियो

अनि टायर बाल्न युवा सुरियो

किन पढ्नु र लेख्नु युवा जनले

जनजीवन बन्द गरे रिसले
जनतन्त्र भयो सपनासरह

अनुशासन ऐन भए कलह

अब शासन छैन कुनै प्रहर

ठग नै ठगले भरिए सहर
धमिरै धमिरा घरका जगमा

कसरी अब राख्नु निजी गरिमा

जब गिद्ध र चील उडे नभमा

बचरा बिचरा जनको शिरमा
ठग बोल्छन् ठग लेख्छन् नयाँ नेपाल जन्मियो

लोकतन्त्र यहाँ आयो हाम्रो सौभाग्य चम्कियो

ब्वाँसा र बाघ लुछ्तै छन् आमाको छाती चर्चर

चलायौँ सँसद भनी पार्दै मुलुक जर्जर
पत्तोफाँट कतै छेन उज्यालो घाम झुल्कने

तैपनि राष्ट्र् यो हाम्रो अघिल्तिर छ लम्कने

वीरको देश नेपाल अदम्य हिमका चुली

उचाली अघि बढ्नेछ परस्पर मिलीजुली
जनता अब चाहन्छन् आफ्नै शासनको भर

छानेर नेता विश्वासी उन्नति गर्न तत्पर

राष्ट्र्गौरव राखेर शान्ति स्नेह स्वतन्त्रता

स्थापनाको प्रण लिई एकता र समानता

गजल – इश्कबाजीमा 

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा

र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा 
नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा

र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा
नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा

र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा
नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा

र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा
नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा

र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा
नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा

र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।

गजल – आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ
यो स्नेहको बिरुवा कैले पनि नसुकोस्

फूलबारीको म माली मधुमालिनी तिमी हौ
हाँसेर मोह गर्ने बोलेर दिल हर्ने

म कृष्ण हुँ कलीको तर ग्वालिनी तिमी हौ
हाम्रो अखण्ड प्रीतिको उपमा दिऊँ के

श्रीखण्डको म हाँगा हुँ, नागिनी तिमी हौ
यो प्रेमको कहानी सुन्नेहरू चर्किन्छन्

म राग हुँ उषाको औ रागिनी तिमी हौ

काम्यो  लुग लुग त्यो – भीमनिधि तिवारी 

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,

छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,

जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,

काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने

भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,

धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,

काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,

खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,

पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै

काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि

कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,

काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी

काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,

आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;

निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै

काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

 कोपिला – भीमनिधि तिवारी 

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला

शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता

फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई

त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !
सारा दुषित वायुमण्डलभरी घुम्ला जसै केसर

त्यल्ले शुद्ध पवित्र पार्दछ सबै, बाँकी अरू के छ र?

झिल्का ‘मानवता’ यहीँ मनुजमा सल्केर जाला अनि

स्वार्थी भाव विनाश हुन्छ, तब ता सर्वत्र शान्तिध्वनि !

नाट्यशाला – भीमनिधि तिवारी 

संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन्
जीवनधारीहरू सारा कर्मचारी समान हुन्

छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी

यहाँ भेष लिई नाना आउँछन् नट औ नटी

अभिनीत यहीँ हुन्-विपत्तिया महीपति

अंक प्रलयको बेला, महाप्रलयमा ‘इति’

सुत्रधार भई, काल काम गर्छ निरन्तर

गुण दोष दुवै हेर्ने आलोचक छ ईश्वर !