जानेहरू त गैहाले, बाँच्नेले फेरि संसार सजाउ

(पद, पैसा र प्रतिष्ठालाई महत्व नदिने जनगायक जीवन शर्मा २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पले भत्काएका गाउँमा गीत गाउँदै हिँडिरहनु भएको छ । गाउँमा घरवारविहीन भएकाहरू पनि आफ्ना गीत सुनेर आशावादी भएको उहाँको अनुभव छ । विपतका बेला साहित्य कसरी राहतको माध्यम बन्न सक्छ ? यस सम्बन्धमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मासँग पहिलो पोस्ट डट कमका रविराज बरालले गर्नु भएको कुराकानी समय सान्दर्भिक र निकै उपयोगी रहेकाले हामीले यहाँ पनि प्रस्तुत गरेका छौँ ः का. सम्पादक)
० भूकम्प पुनर्निर्माण्ँका लागि मौका हो भन्छन् केही मान्छे । मौका हो वा होइन ? त्यहाँ कला–साहित्यको के भूमिका हुन्छ ?

विपत्ति मौका होइन । तर यो विपत्तिपछि पीडाले छट्पटिएका हृदयबाट नयाँ सिर्जना निस्कन्छ । त्यही सिर्जनाले विस्तारै दुःख बिर्साउँदै लैजान्छ । यो बेला बेग्लै खालका साहित्य र सङ्गीत जन्मन्छन् । पञ्चायत कालमा फरक खालका गीत बने । सङ्कटकालमा एक प्रकारको पीडा थियो, अर्कै खालका गीत बने । भूकम्पपछि पनि त्यस्तै खालका रचना निस्केका छन् । विपत्तिको पीडा र दुःखपछि त्यही छटपटाहटका बीचबाट कलाको सिर्जना हुन्छ । यसलाई मौकाभन्दा पनि विपत्तिमा नयाँ सिर्जना गर्ने सम्भावना हुन्छ भनेर बुझ्नु पर्छ ।

भूकम्पले मान्छेहरूको घमण्ड हल्लायो भन्छन् । त्यस्तो पाउनु भयो ? कि त्यो क्षणिक मात्र हो ?

त्यो त मान्छेको प्रवृत्ति हो । एउटा घटनाले संस्कार खतम हुँदैन । भूकम्पपछि पनि त नराम्रा कुरा भैरहेकै छन् नि । भूकम्पले चरित्र बदल्न सक्दैन । त्यसका लागि त सांस्कृतिक क्रान्तिकै आवश्यकता पर्छ । संस्कारमै परिवर्तन नआएसम्म त्यो सम्भव हुँदैन । सत्य, न्याय र समानतामा आधारित समाजमा मात्र त्यो सम्भव हुन्छ । एक छिन झस्कायो, त्यति हो ।

कला साहित्यले समाजको सेवा कसरी गर्न सक्छ ? शोकलाई शक्तिमा कसरी बदल्न यसले कसरी सहयोग गर्छ ?

यस पटक म साहित्यकारकै टिमसँग सँगसँगै हिँड्ने अवसर मिल्यो । कविता सुनेर मानिसहरू दङ्ग भए । कविता सुनेर मानिसहरू आवादी भए । एकै छिन सुनेको साहित्यले अब बाँचिन्छ भन्ने भरोसा लिएर मानिसहरू फर्के । त्यसो भएर साहित्य मानसिक राहतको सशक्त माध्यम हुँदो रहेछ । मान्छेलाई आपत, विपत र पीडामा परेका बेलामा के गरम् ? कसो गरम् ? कहाँ गएर दिल बहलाउँ भन्ने खालको अवस्था हुन्छ । घर भत्केको छ । टिभी छैन । दिनदिनै भूकम्पले झस्काइरहेको छ । त्यस्तो बेला गीत–सङ्गीत, कला र साहित्यको माध्यमबाट मानिसलाई भविष्यप्रति आशावादी बन्ने, जीवनप्रति आशावादी बन्ने अवस्था सिर्जना हुँदो रहेछ ।

कविता र गीत भनेको त आनन्द भएको बेला पो सुन्ने त । यस्तो दुखमा मान्छे कसरी रमाउन सक्छ र साहित्यमा हामीले सबैभन्दा पीडित जहाँ थिए, त्यहाँ गएर गीत गायौँ, कविता सुनायौँ । सिन्धुपाल्चोकको खाडीचौर र मेलम्चीमा सबैभन्दा घर भत्किएका छन् । त्यहाँ सबै मानिस घर भत्किएपछि पालमा बसेका छन् । हामीले गीत गाउँदा, कविता सुनाउँदा त्यहाँका मानिसले राहत महशुस गरे । यस्तो पीडाका बेलामा पनि गीतभन्दा कोही वौद्धिक तर्क गर्ने भेटिए । यस्तो तर्कले व्यावहारिक जीवनमा अर्थ राख्दैन । उनीहरूलाई अहिले सान्त्वना चाहिएको छ । मानसिक राहत चाहिएको छ । खाएर मात्र भएन अब । चामलको थैलो लगेको छ । चाउचाउ लगेको छ । पाल पाएको छ । तर त्यसले डर हटाउँदैन । गीत÷सङ्गीत र साहित्यले भत्केको दिमागमा मह्लमपट्टी लगाउँछ । मध्य रातमा मान्छे आयो आयो भन्दै दगुर्छ । यस्तो अवस्थामा मानसिक आनन्द दिने भनेको साहित्य, कला र सङ्गीत नै हो ।

तपाईले भन्नु भयो– साहित्यले पीडामा मह्लम लगाउँछ । पीडामा मह्लम लगाउँदा मान्छेहरूले राहत महशुस गर्छन् । अब साहित्य र कलाको उपचार गर्ने र उठाउने काम हुन्छ । पुनर्निर्माण्ँको कुरा आइरहेको छ । साहित्यले यहाँनेर उठाउने काम कतिखेर गर्छ ?

मानिसहरूलाई पुनर्निर्माणका लागि पनि जागृत त गर्नु पर्‍यो नि । भूकम्पले मानिसहरू मुर्छित अवस्थामा छन् । होसमा ल्याउनु पर्‍यो । जगाउनु पर्‍यो । आत्मविश्वास पैदा गर्नु पर्‍यो । त्यो आत्मविश्वासले “भूकम्प सधैँ आउँदैन, आएमा सामना गर्नु पर्छ” भन्ने भावनाको विकास गर्छ । सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नु पर्छ । सधैँभरि राहत वितरण गरेर वा थापेर बसेर त हुँदैन । नियमिततालाई पुनः फर्काउनका लागि पनि साहित्य सङ्गीतले हाम्रो दिमाग वासआउट गर्ने काम गर्छ । भूकम्पको ह्याङ ओभर पखालेर नयाँ आशाका पालुवा भर्नु पर्छ ।

आशाको नयाँ पालुवा छर्ने उद्देश्य बोकेको तपाईको पछिल्लो सिर्जना सुनौँ न ।

मैले एउटा गीत सिर्जना गरेको छु ः

आउ सबले हात मिलाउँ

भूकम्पका यी पीडा बिसाउँ

जानेहरू त गैहाले

बाँच्नेले फेरि संसार सजाउँ
कहीँ फुट्छ ज्वालामुखी

कहीँ चल्छ हावा हुरी

कहीँ जान्छ महाभूकम्प

हजार हजार मान्छे मारी

आउ सबले हात मिलाउँ

मनका सारा पीडा बिसाउँ

जानेहरू त गैहाले

बाँच्नेले फेरि संसार सजाउँ
विपत्ति यस्ता झेल्दै झेल्दै

मानव जाति आयो यहाँ

प्रकृतिको यो हुँकारसँग

एक्लै लडेर हुन्छ कहाँ ?

आऊ सबले हात मिलाउँ

भूकम्पका यी पीडा बिसाउँ

जानेहरू त गैहाले

बाँच्नेले फेरि संसार सजाउँ

यस खालको गीत गाएपछि मान्छेले राहतको अनुभव गरे । मर्ने मरे, अब बाँच्नेले केही गर्नु पर्छ भन्ने भाव पैदा भयो ।

यसको अन्तिममा पाठकलाई के भन्नु हुन्छ ?

भूकम्प जानु, ज्वालामुखी विस्फोट हुनु, चट्याङ पर्नु, आँधीतुफान हुरी चल्नु, यी सबै प्रकृतिका खेल हुन् । प्रकृतिको खेल चलिरहन्छ । हामी हरेक अवस्थामा आशावादी भएर अघि बढ्नु पर्छ । दायित्ववोध गरौँ र सामान्य जीवनतिर फर्कौँ ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.