नेपाली कथा – विकल्पहीन

यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपुरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी जम्मा तीन यात्री। कुनै कल्पनाशील व्यक्तिले कल्पना गरून् एकसय विघा जमीनमा योजनाबद्ध लगाइएका रंगीबिरंगी गुलाफका खेती र त्यसको सुगन्ध। मन्द गति सवारीमा बसी गुलाफ फूल्ने सिजनमा उसले त्यस खेतीको यात्रा शुरू गरोस्। अघि पछि , अगाल बगाल सुन्दरता, रंग र सुगन्ध। यस्तो यात्रा सहजै परिणत हुन्छ … आत्मविभोरता डल्ली लक्ष्मीपुरेको यात्रा यसको ठीक प्रतिकूल छ। यो यात्रा सय विघा जमीन जति लामो छैन तर जटि घुम्तीहरूले गर्दा यसलाई सय विघाभन्दा दश खन्ड लामो तुल्याइदिएको छ। यहाँ बालुवा नभए पनि यसलाई मरूभूमिको यात्रा भनिदिए फरक पर्दैन तर लक्ष्मीपुरे डल्ली ऊँटमा चढेकी यात्री होइन। ऊ पैदल छे र उसको दायाँ बायाँमाथि तल भनौं जता छाम्यो त्यतै घोर गरिबी र यस्ता गरिबीका साथी आश्रयहीनता सिंगो परिवेश भएर फैलिएको छ। यस विपन्नताको विकराल यात्रामा भरोसाको एउटा सिंगो हाँगा पनि ऊ देख्दिन, जहाँ यसो अडेस लाग्न सकोस्।
अँ, डल्ली लक्ष्मीपुरेको वर्ण यहाँ उल्लेख भएन। ममाथि उसको एउटा चिनारी छ त्यो हो एउटा गरिब र तिरस्कृत स्वास्नीमान्छे, जो गरिबीबाट आएर आज गरिबीसम्म पुगेको छ। उसले बाँचेकी, उसले भोगेकी संसारको बढो स्पष्ट नक्सा कोर्न भने सजिलै सकिन्छ। उसको संसारमा एकथरी अति निर्दय र स्वार्थी लोग्नेमान्छेहरू छन् र तिनीहरूलाइ धाम मार्ने क्रुर हत्केलाहरू छन्। उसको संसारमा न्यायको अर्थ हो कानुन, फगत एउटा कागजी कानुन, जो मात्र लागु हुनसक्छ, पाउन सकिंदैन। उसको संसारमा स्वास्नीले लोग्नेलाई उपेक्षा गर्नु, दुत्कारनु अपवाद मात्र हो र लोग्नेको स्वास्नीलाई उपेक्षा गर्नु दुत्कारनु एउटा जीवन शैली, एउटा व्यवहारिकता। उसको संसारमा यस्तो भइरहन्छ। इज्जत हुनेहरू लुकेर र नहुनेहरू खुलारूपमा।
यसरी कथा नायिका लक्ष्मीपुरकी डल्लीले आफू बिहे भएर यस शहरमा आउँदा कुनै दिन उसको जीवन एउटा विकल्पहीन स्थितिमा पुग्छ भन्ने सोचेकी थिइन। त्यसो त कुनै भव्य संसारबाट आएकी होइन, दुःख त उसको जन्मजात साथी तर आजको यो विकल्पहीनता…। ऊ विश्वास राख्दथी कि गरिबको जीवनमा पनि सुखको केही हिस्सा हुन्छ, सुख र दुःखको संगम नै जीवन हो सोच्न त मनासिब सोचेकी थिई उसले। केही दुःख गरे सुख पाइन्छ भन्ने आम धारणा थियो उसको पनि एकदम स्वाभाविक। जति दुःख गर्‍यो उति दुःख थपिंदोरहेछ समयको निकै अन्तरालपछि आज यस्तो पनि ऊ सोच्दैछे, उसको यो कठिन यात्रामा उ विश्वास छे उसको यस यात्रामा कुनै चमत्कार छैन कुनै अलादीनको जीन निस्केर उसलाई हत्केलामा राखेर अज्ञात राजमहलतर्फ उडाउने होइन, भगवानको कुनै पनि रूप यहाँ प्रकट हुने छैन, कुनै साधु महात्मा निस्केर “क्या तकलीफ है बेटी?” भनेर सोध्ने छैन। वास्तवमा यति धेरै कल्पना नै किन? कुनै एकजना पैसा भएको मान्छेले उसलाई “लौ केही केही किनेर खाऊ” भनी एक कौढी दिने पनि होइन। परम्परा यस्तै छ।
एउटा ढुंगे धारामा आफू लगायत छोरीहरूलाई पेटभरी पानी खुवाएर डल्ली लक्ष्मीपुरे छेउको एउटा ढिस्सोमाथि सुस्ताउन बस्छे। ठीक यति नै खेर उसले आफ्नो विगतको दुई पाता संक्षिप्तरूपमा पल्टाउँदैछे। साढे ६ वर्षको बीचमा दुईटै छोरी पाएकी हो। दुइजनाको माया पनि बसेकै त थियो कहिलेकांही झोंकिएर आउँथे, यसो स्वास्नीलाई रिस बिसाउँछन् त के भयो? कहिले ठाकठाकु ठुकठुक परिहाल्छ, अगुल्टो पनि नठोसी बल्दैन क्यारे। एक छाक खान, एकसरो लाउन दिएकै थियो। रिस चाहिं शुरूदेखि चर्कै हो। एकदिन उसको एउटा साथीले होटेलमा एघार सय तलब खाने जागिर मिलाइदिन्छु भनी लगेर गयो। त्यसदिन अलिक मिठो खान राम्रो लाउन पाइएला भनी म रमाएकी मेरो बास्सै … अहिले सम्झँदा त थकथकी लाग्छ। पैसो पनि लिएर आएकै हो, त्यसपछि ऊ विस्तारै मदेखि पर पर भएको मलाई राम्रैसँग थाहा छ विस्तारविस्तार घरमा कम आउन थाल्यो र एकदिन मैले सुनें, तिनले डेरा गरेर बाहिर अर्को आइमाई राखेका छन् रे। म त आकाशबाट खसें। सोचें के पुगेन उसलाई छोरो भन्थे त्यो पनि हुन्थ्यो होला बसेको भए। जालो के बनियो खै म निमुखा के बुझुँ। सौताको डेरा खोजेर हिंडे यत्रो भवसागरमा के पत्तो लाउनु। बिस्तारै भाँडाहरू पनि ओसारे। झगडा कटपिटको मात्रा बढ्यो र एकदिन हुँदै नभएको मान्छेसँग बात लगाएर घरबाट निकालिएदिए। कोठाको घरपतिले ताल्चा ठोक्यो छोरीहरूको बाबुले छोडे। म सुटुक्कै हिंडे तीनजना ज्यान घिसारेर। यहाँ मैले चुकचुक गर्ने मान्छे कोही थिएन। आफ्नै थाप्लोमा आइपुग्ला भन्ने डर तर सबैलाई हुन्छ।
यति संस्मरणमा रंगमगिइसकेपछि लक्ष्मीपुरकी डल्ली शान्त भई उसलाई सोच्न मन लागेन। टोलमा उसको निम्ति कोही बोलेन कानुनको सुत्र उसले कतै पक्रनै सकिन। पक्रेर पनि उसले केही हुनेवाला थिएन। जुत्ता मिल्काए जस्तो मिल्क्याई त हाल्यो। स्वास्नी त यहाँ जति पनि राख्न पाइहालिन्छ। दाना पानी नभरे कानुनले टाउको दुखाउने होइन, कानुन न्याय होइन। त्यसैले उसको यात्रा छोटो भएर पनि साह्रै जटिल र कठिन हुन गयो। काम पाइन्छ कि ठूला घर हुँदो यसो चियाएर हेरी सबै ठाउँ उसले एउटै जवाफ पाई, छोराछोरीको आमा हुँदैन। काममा अल्झो हुन्छ पहिले पहिलेबाटै केटाकेटीलाई खुवाइ हाल्छन्, आमाको मन हो चोरेर लान के बेर महिला संगठनमा भन्नपर्छ आदि–आदि।
यात्रा झ्नझन् विकराल हुँदै गयो। अपराह्रतिर एउटा बम बिसौनीमा आइपुग्छ डल्ली लक्ष्मीपुरे । उसको यात्रा अविश्वसनीय लाग्छ ऊ आफैलाई। त्यसैले मौन छे पेटमा केही छैन। लुगाफाटाको हकमा अब नांगिन बाँकी छ। यस्तो परिस्थितिमा अब के हुनसक्छ ऊ अब केदेखि के भएकी छ यो उसले चरम विन्दुमा बुझसकेकी छ। अब माग्नपर्छ बाटो हिंड्नेसँग, यति चाँडै ऊ माग्ने भइसकेकी छ। उसको मुटु एकपल्ट चिटिक्क चिमटियो, मृत्यु कल्पना गरी तर आमा जात त्यो भन्दा अघि बढ्न सकिन।
एकै छिनपछि बस बिसौनीमा मान्छेहरू आउन थाले। उसले एउटी सम्भ्रान्त महिला, जसको हातमा एउटा ठूलो व्याग थियो,–लाई एकपल्ट हेर्छे र एउटा दीनहीन निष्कर्षमा पुग्छे।
उसले मनमनमा सलाम गर्न सिकी र माग्नेको भाषा अलिकति रिहर्सल गरी। त्यसपछि उसले राम्रैसँग अभिनय गरी “भोक लाग्यो हजुर यी छोरीलाई भोकै छन् केही पाउँन।” मनको हावभावले इशारा गर्‍यो तर सही आँखाले अभिव्यक्ति दिएन, सही ओठै खुलेन सलाम गर्नलाई सही हात उठेन। ऊ नमज्जासँग विफल भई उसले देखी माग्न झन् दुष्कर छ।
एकैछिनपछि बस हिंड्छ। अब उसले यहाँ बसिरहनुको कुनै आवश्यकता छैन। ऊ अलिक परको रूखमुनि गएर बिसाउँछे। नजिकै दुईवटा भूसिया कुकुरको बच्चा आपसमा गुडुल्किएर सुतेका छन्। केही क्षणपछि एउटी पेट सेप्टिएको माऊ कुकुर आउँछे बच्चाहरू उसलाई उफ्री उफ्री चाट्न थाल्छन्। कुकुर माऊले मुखैमा राखेर भातका सिताहरू ओकलिदिन्छे। बच्चाहरू त्यही नै खाएर सन्टुष्ट हुन्छन्।
लक्ष्मीपुरकी डल्ली यो दृश्य देखेपछि मर्माहत हुन्छे, यसो आफ्नो छातीभित्रको आमापनलाई सुम्सुम्याउन नभियाउँदै आँखाहरू छलेर बगिदिए बरर…। उसले मन मनमा भनी, “कठै काली माऊँ तँ त कुकुर होस् रछ्यान पनि चाहछेर्स, अरू थोक पनि खान्छेस्, म के गरूँ, तँभन्दा त मै दुःखी रहिछु।
यात्राको यस मोडमा आइपुगेपछि डल्ली लक्ष्मीपुरले घामतिर यसो हेर्दै ओठ खोलेर एक्लै बोली। यो सुर्जे नारान कति टाढा होला…? एउटा अव्यक्त उराठले उसलाई कताकता पोल्छ, ऊ थाहा पाउँदिन, कहाँ पोल्दैछ र त्यो पोल्नु कसरी शान्त हुन सक्छ। अगाल बगाल उसका छोरीहरू प्रश्नचिन्ह जस्तै आकारमा गुडुल्किएर निदाइसकेछन्। अब रात झन् विकराल प्रश्न थियो उसको अघि।

गजल

आउ सबै नेपाली हो संघीयता फाल्नुपर्छ
जिल्ला जिल्ला सामन्तीका किल्लाहरू ढाल्नुपर्छ

भाई भाईमा फाटो पार्ने फोहोरी खेल खेलेका छन्
फाट्नु हुन्न जुट्नुलाइ नयाँ कदम चाल्नुपर्छ।

भित्रभित्रसम्म यहाँ शोषकको जरा गढ्यो
भर्भभराउँदो आगो बन्दै अब यिनीलाई गाल्नुपर्छ।

रोएकी छन् नेपाली आमा छियाछिया हुँदा देश यो
हामी सन्तान यी आमाका देशको घाउ टाल्नु पर्छ

फेरि पनि कालो रातमा डुबेको छ देश पूरै
चारैतिर राता मसाल फेरि पनि बाल्नुपर्छ।