नेपाली कथा – स्वास्नी पोइल गई

माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो। स्वास्नी कता गई मेरी, स्वास्नी कता गई ! स्वास्नी पोइल गई मेरी, स्वास्नी पोइल गई। सत्ता हत्याउने दाउमा आरक्षणको नारा घन्काउनेहरूको सत्यानाश होस्। विदेशी भाषालाई अंकमाल गरी स्वदेशी भाषाहरूलाई लत्याउनेहरूको सत्यानाश होस्। राष्ट्रिय जनशक्तिलाई विदेश जान बाध्य पार्नेहरूको सत्यानाश होस्। सत्यानाश होस् ! सत्यानाश होस् ! सत्यानाश होस् ! उठेर यसो हेरेको रामप्रसाद पो रहेछ। अनि, हातले भाउ लगाउँदै भनेँ, “के पागलसरि कराउँदै हिँडेको?” को पागल? भन्दै मतिर फक्र्यो र झस्यांग भएजसरी भन्यो, “ओहो ! काका नमस्कार ! कहिले आउनुभो काठमाडौँबाट?”
“हिजो बेलुका अनि कता हो कराउँदै?” “खै ! कता हो, कता?” अलि भावुक बनेर, “मेरी त स्वास्नी पोइल गई, काका !” “के भन्छ यो? कहाँ गई, कहिले गई, कोसँग गई? जे पायो त्यही बोल्दै हिँड्ने? फुस्कियो कि क्या हो ! कतै गएकी होली, आइहाल्छे नि, एक-दुई दिनमा !” अलि रिसाएको भावमा मैले भनेँ। “खै ! आउने गरी हिँडेकी हो जस्तो लाग्दैन काका मलाई त!” “किन? चर्को झगडा भयो कि क्या हो !” केही सोचेझै अमिलो मन बनाएर मधुर स्वरमा भन्यो, “त्यस्तो झगडा त केही भएको होइन।” फेरि एकछिन रोकिएर भावुक हुँदै भन्यो, “गत वर्ष उपचारकै क्रममा बाबुको …।” “के रोग लागेको थियो र?” मैले बिस्मात्को भावले सोधेँ। “थाहै भएन, कहिले ज्वरो एक्कासि बढ्ने, कहिले घट्ने भइरहेको थियो। सन्चो होला नि भनेर आठ-दस दिनजति बाटो हेरियो। घट्दै घटेन। गाउँतिर सबैले कराउन थाले। अनि, खर्च खोजखाज बनाएर भरतपुर लगेका थियाँै। त्यही बेलामा के भएर हो डाक्टरहरूको आन्दोलन भएर अस्पतालजति सबै बन्द रहेछन्। फाट्टफुट्ट क्लिनिकहरूचाहिँ खुलेका थिए। उनले त लैजाऊँ भन्दै थिइन्। असाध्यै महँगो हुने डरले लगिएन।” आँसु पुछ्यो र फेरि भन्यो, “ठूलो गल्ती भएछ।” “अरू बच्चा?” छैनन् भन्ने भावमा केवल टाउको हल्लायो। “त्यसपछि?” केही सम्हालिएर, “त्यसपछि धेरै नबोल्ने, सानो कुरामा पनि रिसाउने, मान्छे जम्मा भएको ठाउँमा नजाने। कस्ती कस्ती भएकी थिई। अहिले गएको मंसिरमा मेरो भान्जाको बिहे थियो। बिरामी भएको बहाना बनाएर बसिरही। जति कर गरे पनि बिहेमा गइन। पछि बुझ्दा थाहा भयो। बिहेमा जाँदा लगाउने गहना थिएन। त्यसैले उसकी दिदीसँग भनिछ। दिदीले कता हो बिहेमा जानुपर्ने भएकाले गहना दिन सक्दिनँ भनिछन्। फेरि उसैकी बहिनीसँग भनिछ। बहिनीले पनि बैंकमा छ भनिछ। उसकी भाउजूसँग पहिले खोइ के कुरामा हो ठाकठुक परेको थियो। त्यसैले भन्दै भनिनछ। यता मेरा दिदीबहिनी सबैले त्यही बिहेमा जाँदा लगाउन परिगो। छिमेकमा खै कससँग हो भनेकी थिई अरे, दिइनछ। कतै माग्दा पनि गहना नपाएपछि बिहेमा नगएकी रे! त्यसपछिका दिनमा खासै खुलेर गफ गरेकी थिइन। बेलाबेलामा वचन लगाउँथी। आफ्नो कमाइ नभएपछि सबैले वचन लगाउँदा रहेछन् भन्ने सोची म सहेरै बस्थेँ।”

“गहना र फेसन अनुसारका साडीको मागले पनि थोरै आम्दानी हुनेहरूलाई त श्रीमती पाल्नै गाह्रो भइसक्यो त नि! अनि, कस्ता वचन लगाउने के भन्थी र?” “पढ्ने बेलामा यस्तो बुर्जुवा शिक्षा पढेर के काम भन्दै नेता बनेर दुनियाँलाई थर्काउँदै हिँड्यौँ। अहिले आफूलाई एक पेट खान र एकसरो लगाउन पनि चम्धारा रुन परेको छ। यस्तै यस्तै …। ऊ कराइरहन्थी म नबोलीकन बस्थेँ। के झगडा भन्नु त्यस्तो नि?” “तिमीले मास्टर डिग्री सकेको भन्या होइन र?” “हुन त हो नि, पहिला द्वन्द्वकालमा यस्तो शिक्षाको काम छैन। यो त बुर्जुवा शिक्षा हो भने सबैले। हो रहेछ क्यारे भनेर पढिएन। पछि फेरि यही शिक्षा ठीक हो अरे भने। त्यसपछि फेरि पढ्न सुरु गरेँ। पढ्दापढ्दै सम्पत्ति पनि सकियो। नेपालीमा एमएड गरेको त हो तर अर्थ भएन।” “अनि, शिक्षा आयोगको परीक्षा दिएनौ?” “१७ वर्षसम्म आयोग नै खुलेन। बल्ल यसपटक खुल्यो र दिएको, त्यही पनि भूतले खाजा खाने बेला परेछ। आफू परियो बाउन। महिला, दलित, जनजाति, अपांग, मधेसी, सीमान्तकृत के के, के के भन्दाभन्दै आफ्नो भागै पुगेन। नामै निस्केन। नाम ननिस्केको दिनदेखि ‘यस्ता नामर्दले किन बिहे गर्नुपरेको? स्वास्नी पाल्न नसक्ने हुतिहारा !’ यस्तै यस्तै भनेर कराइरहन्थी। मलाई देखेपछि ऊ कराइरहने भएकाले म जागिरकै धुनमा हिँडिरहन थालेँ। चिनजान भएकाहरूसँग रुने, कराउने, भनसुन गर्ने सबै भइसक्यो। खै ! कतै केही मेसो मेलै भएन। दिग्दार भएर काठमाडौँका बोर्डिङ्हरूतिर छिर्न थालेँ। त्रिविका प्राडाहरू क्याम्पसमा एक-दुई पिरयिड पढाएर बोर्डिङ्मा धाउँदा रहेछन्। फेरि तिनीहरू हाम्रा कुरै सुन्दा रहेनछ। म आजित भइसकेँ काका, आजित।” “अब आत्तिएर पनि हुँदैन। कराउँदै हिँडेर पनि केही छैन। फेरि शिक्षा आयोग चाँडै खुल्छ भनेका छन्। बरू राम्रोसँग पढ। अर्काेपटकचाहिँ नाम निकाल्नुपर्छ।” “पढेर के गर्नु? साँच्चै भन्दा भएभरका सर्टिफिकेट त्यही त्रिविको आँगनमा लगेर च्यातूँजस्तो भएको छ। सर्टिफिकेटको थुप्रो देखेपछि मन झन् पोलेर आउँछ। बरू आफैँले उछिन्दिएपछि ढुक्कै। गएको असोजदेखि ४० वर्ष लागेँ। अब शिक्षा आयोग दिनै पाइँदैन। विदेश जाऊ, हर्के साहिँलाको छोरो मलेसिया गएको आज २० वर्ष भइसक्यो, बेपत्ता छ। आफ्नै देशमा त आरक्षणको नाउँमा सौताका छोराछोरीजस्तो गरेका छन्। अझ विदेशमा त के? फेरि यो बुढेसकालमा? मैले त चित्त बुझाउने ठाउँ नै पाइनँ काका। आफूले आफैलाई सम्हाल्न गाह्रो भइसक्यो।” अनि, ऊ थचक्क बस्यो र बरर आँसु चुहायो। “कति दिन भो उनी हिँडेको?” “थाहै भएन काका। एक महिनाजति भयो, म जागिर खोज्ने सिलसिलामा काठमाडौँ गएको थिएँ। एउटा सानोतिनो जागिरजस्तो भेटियो र उतै थिएँ। बुबाआमा बितिहाल्नुभो, दिदीबहिनी आ-आफ्नै घरमा। ऊ घरमा एक्लै थिई। त्यसैले दुवै जनाले काम गर्न मिल्ने खालको भएर उसलाई लिन आएको। ऊ त हिँडिसकिछ।” “कस्तो जागिर? केमा काम पायौ?”

“जागिर भन्ने कि, के भन्ने अब?” “भन न, केमा हो?” “रातमा चाउचाउ, बिस्कुट आदिका विज्ञापन भएका पम्प्लेटहरू टाँस्दै हिँड्ने हो। एउटा टाँसेको पाँच रुपियाँका दरले दिन्थ्यो। एक रातमा त्यै सयवटाजति टाँस्थेँ।” “रातमा एक्लै, डर लाग्दैन?” “डर त लाग्छ नि काका। अरू डरभन्दा पनि प्रत्येक दिन हाकिमले एउटा बाटो बताउँथ्यो। त्यो बाटोका मुख्य मुख्य ठाउँमा टास्नपर्यो । त्यस्ता महत्त्वपूर्ण ठाउँमा अरूले पहिल्यै टाँसेका हुन्थे। अरूले नदेख्ने गरी टाँस्दै भाग्नुपर्‍यो। फेरि अरूले भेट्टाए भने त मारहिाल्छन् नि? साथी हुन्थी भनेर लिन आएको, यता यस्तो पो रहेछ।”
“ऊ हिँडेकी नै होली र? दुई-चार दिनमा रसि मरेपछि आउली नि?” आउँदिन भन्ने भावमा घोसे मुन्टो लगाएर टाउको हल्लायो। अनि, झोलाबाट एउटा पोको झिक्यो र मतिर सारिदियो । कौतूहल बन्दै मैले सोधेँ, “यो के हो?” “हेर्नु न खोलेर,” आँसु पुछ्दै भन्यो। कालो प्लास्टिकको सानो पोको छिटोछिटो खोलेर हेरेँ। पोको खोल्नेबित्तिकै दंग परेँ। अरू चीज चलाइनँ। बुझेँ, भइगो। त्यही पोकोभित्र एउटा सानो कागज रहेछ। त्योचाहिँ झिकेर हेर्न थालेँ। त्यसमा लेखिएको थियो । नामर्द पूर्वपति जीवनभरिको बिदाइ ! जीवनका पन्ध्रौँ वसन्तसम्म तिमीलाई साथ दिइरहेँ तर बदलामा मैले केही पाउन सकिनँ। न साथ दियौ, न त रात दियौ। न भात दियौ, न त बात दियौ। न आँत दियौ, न त उन्माद दियौ। दियौ केबल एउटा फूल, त्यो पनि कोपिलैमा झर्‍यो। साँच्चै भन्दा तिम्रै कारणले झर्‍यो। त्यसैले नामर्दकी श्रीमती भएर बस्नुभन्दा बाटो तताउनु नै बेस ठाने । मलाई नखोज्नू ! किनभने, अब म तिम्री रहिनँ। तिमीले मलाई दिएको सिन्दुर, पोते, धागो, टीका पत्रसँग फिर्ता गरेकी छु। जीवनमा कतै जागिर पायौ र श्रीमती पाल्ने आँट आयो भने अर्को बिहे गर्नू। नत्र सुखमा रमेकी अर्काकी छोरीलाई ल्याएर रुवाउने काम नगर्नू। उही शर्मिला पत्र पढ्दापढ्दै मेरा त गहभरि आँसु भरिएछन्। अनि, द्रवीभूत नेत्रले उसलाई यसो हेरेको मात्र थिएँ, ऊ बरर्र आँसु झार्दै रहेछ। एकैछिनको सन्नाटापछि रोकिई रोकिई उसले भन्यो, “काका हजुर साहित्यमा कलम चलाउनुहुन्छ, यदि मेरो जीवनको यो सत्य व्यथा साँच्चै कथा बन्छ भने छपाइदिनु होला।”
अनि, ऊ बाटो लाग्यो। म बोल्नै सकिनँ। अलि पर पुगेपछि के सोचेछ कुन्नि? अलि चर्काे स्वरमा भन्यो, “काका ! कथा छपाउँदा रामप्रसाद बाउन, लाखुभीर, तनहुँ लेख्नचाहिँ नभुल्नुहोला है !”

नेपाली कथा – भासुभीरको भूत

देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो ज्यानको माया लाग्दैन?” “किन?” “किन छतमा नगएको त?” उसले फेरि सोध्यो। मलाई आश्चर्य लाग्यो। मैले केही नबुझेर ड्राइभरतिर हेरेँ। “उहाँ नयाँ हुनुहुँदो रहेछ। देवी, बताइदे उहाँलाई सबै कुरा !” ड्राइभरले भन्यो। देवीप्रसाद नाम गरेको खलासी मेरो नजिकै आयो र भन्यो, “दाइ, भासुभीरमा भूत आउँछ र गाडीभित्र बसेका सबैलाई मार्छ।” “अनि, तिमीहरूलाई चाहिँ मार्दैन?” “हामीलाई पनि मारे त गाडी कसले चलाउने नि?” ऊ हाँस्यो। “त्यसो भए मलाई पनि मार्दैन।” मैले भनेँ। तीन-चार जना बूढाबूढी र म मात्रै गाडीभित्र थियौँ। सबै सकीनसकी गाडीको छतमा उक्लिएका थिए। “चौकी या सेनाको चेकपोस्टमा पुगेपछि गाडीका छतमा बसेकाहरू सबै गाडीभित्र चढेको देखेको थिएँ। तर, भित्र बसेका सबै छतमा चढेको पहिलोपल्ट देखियो।” मैले सँगै बसेका बूढातर्फ हेर्दै भनेँ। “के भनौँ नानी, भासुभीरमा भूतले गाडी पल्टाइरहन्छ। अनि, मान्छेहरू आत्तिनु पनि स्वाभाविक हो।” “तपाईंचाहिँ किन नआत्तिएको नि !” “उमेरले नेटो काटिसक्यो, अब मर्नलाई के डराउनू? फेरि भूतलाई पनि हट्टाकट्टा जवान नै मनपर्छ कि क्या हो !” भासुभीर कटेपछि भने सबै जना तल ओर्लिए। “लगेन है आज भूतले।” सबै दंग हुँदै बसभित्र चढे।

स्थानीय बसपार्कमा पुगेर बस रोकिइसकेपछि अरूसँगै म पनि झोला बोकेर ओर्लिएँ। तर, मलाई भासुभीरको भूतले तानिरह्यो। “किन यस्तो अन्धविश्वास?” “यो अन्धविश्वास होइन। सत्य हो। भासुभीर पुगेको बेला म पनि छतमा नै चढ्छु।” पछिल्लो बीस वर्षदेखि प्राथमिक विद्यालयमा प्रधानाध्यापक रहेका एक जनाले भने। “कस्तो सत्य हो यो? मलाई भन्नूस न!” “तपाइर्ं केन्द्रमा बसेर पत्रकारतिा गर्ने मान्छे। तपाइर्ंलाई झन् थाहा छैन?” उनले आश्चर्य व्यक्त गरे। उनले मलाई एक जना स्थानीय नेता र दैनिकका पत्रकारसँग भेटाए। “यो भासुभीरको भूतको कुरा के हो?” मैले रवि धामीलाई सोधेँ। उनले मलाई आफ्नो कार्यकक्षमा लगे। एउटा सानो कोठामा एउटा कम्प्युटर र केही मेच थिए। भित्तामा एउटा चार्ट टाँसेको थियो हातले कोरेको। त्यही चार्टतर्फ इसारा गर्दै रविले भने, “हेर्नूस् पछिल्लो चार वर्षमा ११औँपटक दुर्घटना भएको छ भासुभीरमा। असारमा भएको पछिल्लो दुर्घटनामा २२ जनाले ज्यान गुमाए। तर, छतमा बसेका कोही मरेनन्।” “सबै दुर्घटनामा यस्तै भएको छ। ड्राइभर-खलासी बेपत्ता हुन्छन्। बसभित्रका मर्छन् र छतमा बसेका सबै बाँच्छन्।” स्थानीय राजनीतिमा सक्रिय अमर जोशीले भने। भोलिपल्ट खाना खाएर म स्थानीय यातायात व्यवसायीहरूको कार्यालयमा गएँ। त्यहाँ भेटिएका यातायात व्यवसायीहरूलाई भासुभीरको भूतको प्रसंग सोधे । उनीहरू मुखामुख गर्न थाले। त्यहाँका अधिकांश बस व्यवसायीले त्यस रुटबाट आफ्नो गाडी निकाल्न खोजेका रहेछन्। “भूतबाट डराएर बस निकाल्न लागेको?” मैले सोधेँ।
“कुन बेला भूत आउँछ, केही थाहा हुँदैन अनि के गर्नु त?” एक व्यवसायीले भने। “दुर्घटनामा जोगिएका ड्राइभरहरूसँग कुरा हुँदैन तपाइर्ंहरूको? के हो भूतको प्रसंग?” “लौ, तपाइर्ंलाई थाहा छैन !” ती व्यवसायीले आश्चर्य माने, “यहाँ भएका ११ वटै दुर्घटनामा ड्राइभर-खलासी भेटिएका छैनन्।”
“के उनीहरू पनि मरे?” “होइन, भासुभीरको अख्रले चौतारो पुगेपछि ती ड्राइभर र खलासी ओर्लिंदा रहेछन् र गाडी आफै भीरबाट गुल्टिँदो रहेछ।” “के भनेको?” “हो, कतिपटक त गुड्दागुड्दै ड्राइभर-खलासी र छतमा भएका यात्रु हाम फाल्छन् र जोगिन्छन्। भित्र भएका सबै मर्छन्।”
“कस्तो कुरा गर्नुहुन्छ? ती ड्राइभर-खलासीको नाम, नम्बर र परविारका बारेमा त तपाईंहरूको समितिसँग जानकारी होला नि !” “के कुरा गर्नुहुन्छ पत्रकारज्यू, यस रुटमा गाडी चलाउने सबैको नागरकिता र लाइसेन्सको फोटोकपी हामीसँग हुन्छ। तर, जुनजुन गाडी पल्टिएका छन्, तिनका फोटोकपी पनि गायब छन्। त्यहाँ गाडी पल्टिएपछि ड्राइभरको पहिचान नै हराउँछ। खोइ के हो के हो? अस्ति असारमा पल्टिएको गाडी मेरो हो। सिन्धुपाल्चोकको तामाङ ड्राइभर थियो। खलासी पनि उतैको। उसको परविारसँग पनि मेरो बारम्बार कुरा हुन्थ्यो। तर, दुर्घटनापछि फोन लागेन। नागरकिता र लाइसेन्समा भएको नामका आधारमा खोजी गर्दा उसको गाउँमा यो नामको मानिस नै भेटिएन।” स्थानीय बस व्यवसायीको कुराले म थप हैरान भएँ। के साँच्चिकै भासुभीर भूतहरूको अखडा हो।

म भासुभीर हेर्न गएँ। अस्ति गाडीमा आउँदा राम्रोसँग हेरेकै रहेनछु। डरलाग्दो भीर रहेछ। गाडी अलिकति छेउमा गयो कि सीधै सय फिट तल खोलामा पर्ने। सात दिनको बसाइ सकियो। म त्यही भासुभीरको बाटो हुँदै सकुशल काठमाडौँ फकिएँ। तर, भासुभीरको भूतप्रतिको उत्सुकता र जिज्ञासा उस्तै थियो। म सिन्धुपाल्चोकको तामाङ ड्राइभरको नागरकिता र लाइसेन्सको फोटोकपी बोकेर सिन्धुपाल्चोक हानिएँ। नागरकिताको फोटोकपीमा लेखिएको थियो- ‘वीरबहादुर तामाङ, जन्म २०३५ साउन २०, मानेश्वारा गाविस ३ सिन्धुपाल्चोक।’ बाह्रबीसे पुग्नुभन्दा दुई-तीन सय मिटर यतैबाट म चढेको जिप उकालियो। ग्राबेल मात्र गरेको घुम्ती बाटोमा जिप पल्टिएलाजस्तो लाग्छ। कति ठाउँमा त भासुभीरको भूत नै यतै आउलाजस्तो। मानेश्वारा गाउँ पुगेपछि म ओर्लिएँ। जिप यहीँसम्म आउँदो रहेछ। तीन घन्टा हिँडेपछि म म्हाने गाङ गाउँ पुगेँ, साँझको ५ बजे। मैले चौतारोनजिकैको चिया पसलमा बसिरहेका स्थानीयलाई वीरबहादुर तामाङको घर सोधेँ। सबैले मुखामुख गरे। आश्चर्यचकित भएर उनीहरूले कहिले मलाई, कहिले आफूआफूलाई नै हेर्न थाले। “त्यो भासुभीरमा गाडी चलाउने वीरबहादुर क्या।” मैले फेरि भनेँ। “चिनेका छैनौँ हामीले। यो गाउँमा यो नामको कोही छैन।” एक बूढाले झोक्किँदै भने। “गाउँमै नभएको मानिस खोज्दै आउने? तपाइर्ं गइहाल्नूस्। यो गाउँमा बस्दै नबस्नूस्।” एक जना अधबैँसे कड्किए। “गाउँमा बस्नै नहुने के अपराध गरेँ र मैले? वीरबहादुर छैन भने ठीकै छ। तर, यो गाउँबाटै गइहाल भन्न त मिलेन नि !” म पनि कड्किएँ।
“हुँदैन। यो गाउँमा बस्न पाइँदैन।” ३०-३५ वर्षको तामाङ अनुहार चिच्यायो। “हेरौँ त कसले रोक्दो रहेछ मलाई, यो गाउँमा बस्नलाई? म यहीँ बस्छु।” म अझ जंगिएँ। “के रे! भनेको नमान्ने? तु गइहाल यहाँबाट।” त्यो तामाङ अनुहार मलाई गलहत्याउन आइपुग्यो। “ए…ए… के गरेको? छोड आइते! उहाँलाई केही नगर।” एउटी अधबैँसे महिलाले रोकिन्। “तपाईं हिँड्नूस् मसँग।” त्यहाँ कोही बोलेनन्। म ती महिलाको पछिपछि लागेँ। १५-२० मिनेटको बाटो हामीले नबोली पार गर्‍यौँ। घरमा पुगेपछि म पिँढीमा थचक्क बसेँ। गलेको थिएँ। उनले गुन्द्री ल्याइदिइन्। गुन्द्रीमाथि सरेँ। “छ्याङ पिउने हो?” उनले सोधिन्। मैले नपिउने संकेत गरेँ। ‘त्यसो भए चिया बनाउँछु’ भन्दै उनी भित्र छिरनि्। मैले चारैतिर हेरेँ। फराकिलो सफा आँगन। एक छेउमा सेतो पहेँलो कपडाको झन्डाजस्तो झुन्ड्याइएको थियो। झन्डाभरि के के नबुझिने अक्षरहरू थिए। साँझ छिप्पिँदै गइरहेको थियो। पर कतातिर हो, एफएममा पुराना नेपाली गीत घन्किरहेका थिए। छिप्पिँदो साँझमा चिया पकाउन भित्र छिरेकी उनले रात ओर्लिएपछि मलाई भित्रै बोलाइन्। भित्र फराकिलो गुन्द्री ओछ्याइएको रहेछ। म त्यसैमा बसेँ। उनले चियाको गिलास दिइन्। आफूले पनि एउटा गिलास समाइन्। त्यत्तिकैमा अघि तल होटलमा मेरो कठालो समातेको ३०-३५ को तामाङ अनुहार घरभित्र छिर्‍यो। मेरो सातोपुत्लो उड्यो। लौ मार्ने भए जस्तो लाग्यो।

“न आत्तिनूस्, यो मेरो छोरो हो आइते। केही गर्दैन।” महिलाले मेरो अनुहारको भाव बुझेर भनिन्। कुन्नि के हो लिएर लगत्तै त्यो तामाङ अनुहार बाहिरयिो पनि। “तपाईंले किन खोज्नुभएको वीरबहादुरलाई?” उनले सोधिन्। “तपाइर्ं चिन्नुहुन्छ र वीरबहादुरलाई?” मैले खुसी हुँदै सोधेँ। “उहाँ मेरो बुबा हो।” “हँ के भनेको?” मलाई आश्चर्य लाग्यो, “मैले त अस्ति भर्खर भासुभीरमा बस दुर्घटना भएर बेपत्ता भएको ड्राइभर वीरबहादुर तामाङको कुरा गरेको।” “हो, मैले उसैको कुरा गरेको। उहाँ मेरो बुबा हो। भासुभीरमा गाडी चलाउनुहुन्थ्यो। तर, उहाँ गाडी दुर्घटना भएर बेपत्ता भएको होइन। गाडी ठोक्कियो भनेर त्यहाँका मान्छेहरूले कुटीकुटी मारेका हुन्।” उनले भनिन्। कुरा बाझियो। कुरा मिल्ने छाँट पनि देखिनँ। ०३५ सालमा जन्मिएका वीरबहादुरकी छोरी अधबैँसे कसरी हुन सक्छिन्? “मैले गएको असारको कुरा गरेको। त्यस बेला त्यहाँ बस दुर्घटना भएको थियो। २२ जना मरेका थिए। ड्राइभर-खलासी बेपत्ता थिए।” “गएको असार होइन। यो ४० वर्षअघि असारको कुरा हो। त्यस बेला म पाँच वर्षकी थिएँ। मेरो बुबा भासुभीरमा बस चलाउनुहुन्थ्यो। ऊ त्यो तामाको फोसी छ नि, बुबाले उतै धनगढी बजारबाट किनेर ल्याएको। मलाई दाइजो दिन।” मैले त्यो पुरानो तामाको फोसीतिर दृष्टि घुमाएँ। “बुबा वर्षमा एक-दुईचोटि घर आउँदा केही न केही लिएर आउनुहुन्थ्यो। त्यसताका त्यताका सबै युवा काम खोज्दै भारत हानिएका थिए। गाडीको बाटो त गयो तर गाडी चलाउने मानिस नै पाइएन। काठमाडौँमा गाडी चलाउँदै गरेको बुबालाई उतैका मानिसले अनुरोध गरेर भासुभीर पुर्‍याएका।” बोल्दाबोल्दै उनी गम्भीर भइन्, “कुटेर मार्नु रहेछ र पो जिद्दी गरेर लगेका रहेछन्।” “उहाँले गाडी चलाउन थालेको आठ-नौ वर्षपछि एक दिन भासुभीरको भित्तामा गाडी ठोकिएछ। सामान्य चोटपटकबाहेक कसैलाई केही भएको थिएन। तर, उत्ताउला यात्रु र आवेशमा आएका गाउँलेले बुबा र बुबाको उतैको एक जना खलासीलाई कुटीकुटी घाइते बनाएछन्। त्यतिले नपुगेर मेरो बुबा र खलासीलाई त्यही भीरमा खाल्डो खनेर गाडेछन्।” म अवाक् भएर सुनिरहेँ भासुभीरको दर्दनाक कहानी। “पछि हाम्रा नानाहरू जाँदा जिउँदै हुनुहुन्थ्यो मान्छेहरूले त्यत्तिकै गाडेर मारे भनेछन् ।” उनले भित्तामा टाँगेको श्यामश्वेत फोटो हेरनि्, “त्यसपछि हामीले आफ्ना सन्तान कसैलाई पनि गाडी चलाउन दिएका छैनौँ।” “अनि, यो भूतको प्रसंगचाहिँ के हो त?” मैले जिज्ञासा राखेँ। “खोइ थाहा छैन, उहाँको आत्मा शान्त भएको छैन भन्छन् गुरुबाले। त्यही भएर बेलाबेलामा भट्किरहन्छ र बदला लिइरहन्छ रे!” “यस्तो पनि हुन्छ र?” “हुँदो रहेछ, नपत्याएर के गर्नू? ४० वर्षअगाडि मरेका मेरा बाउको नाम लिएर तपाईं कसरी यहाँ आइपुग्नुभयो? हरेक वर्ष कोही न कोही यहाँ बुबाको नाम लिएर सोध्न आइपुग्छन्। त्यहाँ दुर्घटना हुँदा ड्राइभर वीरबहादुर नै किन हुन्छ त?” म केही बोल्न सकिनँ। भासुभीरको भूतले मेरो मथिंगल झन् रन्थनियो।