कथा – परीक्षा

साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर रहेको कुराले मलाई अहिले भित्रभित्र पोलिरहेको छ। भान्सामा पाकिरहेको खानासँग मेरो मनका कुराहरू पाकिरहेका छन्।

फेरि सोही नम्बरबाट फोन आयो। मैले उठाएँ। उताबाट आवाज आयो, “हेलो, तपाईं सुनीता हो?”

“हो, को बोल्नुभएको, मैले चिनिनँ नि !”

जवाफ आयो, “म तपाईंलाई चिन्छु। तपाईंलाई थाहा छ, लोकसेवा आयोगले महिलाहरूका लागि विज्ञापन खुलाएको छ।”

मैले खुसी हुँदै भनेँ, “ए हो र ! अब मैले के गर्नुपर्छ त परीक्षामा सहभागी र पास हुन?”

“यदि तपाईं चाहनुहुन्छ भनेे म तपाईंलाई सहयोग गर्न सक्छु। मसँग लामो अनुभव छ, यस विषयमा। र, धेरैलाई सहयोग गर्दै आएको पनि छु।”

मैले भनेँ, “तपाईं मलाई साँच्चिकै सहयोग गर्नुहुन्छ? मलाई त लोकसेवा आयोगबाट लिइने परीक्षाका बारेमा केही पनि थाहा छैन।”

उताबाट जवाफ आयो, “त्यसैले त फोन गरेको, तपाईंलाई सहयोग गर्नका लागि।”

“साँच्चि हो?” खुसीको सीमा रहेन। भोलि उहाँको कार्यालय समयपछि ‘साढे ५ बजे बानेश्वरको एक बेकरी क्याफेमा भेटेर कुरा गर्ने’ भन्दै फोन राखेँ। खाना पकाउँदै कल्पना गर्न थालेँ, जागिर खाएको, कार्यालय गएको, सरकारी कर्मचारीले लगाउने नीलो रंगको कोट-पाइन्ट लगाएर छोरीलाई चुप्पा खाएर घरबाट साढे ९ बजे अफिसका लागि निस्किएको, कहिले भ्यान्टा कलरको सारी लगाएर अफिसको मिटिङ्मा बसेको आदि, आदि। त्यो रात मीठामीठा कल्पना गर्दा गर्दै यताउता पल्टिरहेँ। कति कोसिस गर्दा पनि निदाउन सकिनँ।

एक्कासि घडीको घन्टी बज्यो। छोरीलाई लिटो खुवाउने बेला भएछ। रातभर अनिदोले टट्याइरहेका आँखामा चिसो पानी छम्किँदै साँझको प्रतीक्षा गररिहेँ। यत्तिकैमा हजुरआमाले दसैँमा टीका लगाउँदै ‘पेन्सने जागिर खाएस् नानी, बुढेसकालमा मैले जस्तो कसैको हात थाप्नु नपरोस्’ भनेर दिएको आशीर्वाद सम्झिन पुगेँ।

आजको दिन कति लामो भएको, महिनाभन्दा पनि लामो। घडी घुमिरहेको छ। तर, साढे ५ बज्दै बज्दैन। उत्साह, छटपटी र आशा मनमा राखेर घरका काम सिध्याएँ। छिमेकी दिदीलाई फोन गरेँ, दुई घन्टाका लागि छोरी राखिदिन अनुरोध गर्दै। ५ बज्यो। छोरीलाई उहाँको घरमा पुर्‍याएँ। टेम्पोबाट बानेश्वर पुग्दा ढिला भइसकेको थियो। उहाँ मलाई कुररिहनुभएको रहेछ। म गएपछि ‘के खाने’ भनेर सोध्नुभयो।

“म भर्खर घरबाट खाजा खाएर आएको, केही खाने मन छैन। हजुरलाई जे खान मन छ, त्यही लिनूस्। तर, छिट्टै घर जानुपर्छ। छोरीलाई छिमेकीको घरमा राखेर आएकी छु,” मैले भनेँ।

“छोरी बसिहाल्छिन् नि, पछि जागिर गर्न लागेपछि छाड्नैपर्ने हो,” उहाँको जवाफले मातृवात्सल्यको महत्त्व नबुझेजस्तो भान दिन्थ्यो। मलाई जागिरकै बारे कुरा गर्ने हतारो थियो। उहाँ भने अरू नै विषयमा कुरा गर्न चाहनुहुन्थ्यो। विषयान्तर हुन नदिन मैले सोधेँ, “हिजो भन्नुभएको लोकसेवा पास गरेर सरकारी जागिर कसरी खाने हो?”

“लाटी, त्यो त म भएपछि के चिन्ता गररिहेकी, म तिमीलाई सहयोग गरिहाल्छु नि !”

पहिलोपटक भेटेको मान्छेले सीधै ‘तिमी’ सम्बोधनमा उत्रिँदा मनमा असहज महसुस भयो। जागिरका लागि विवश थिएँ। त्यसैले कुनै प्रतिक्रिया जनाउन सकिनँ। उहाँले ‘भोलि म तिमीलाई लोकसेवा आयोगको पाठ्यक्रम ल्याइदिन्छु, यही ठाउँमा यही समयमा भेटौँ न त !’ भन्नुभयो। तर, म यो कुरामा सहमत हुन सकिनँ। किनभने, घरमा छोरी हेर्ने कोही थिएन।

मेरो कुरा बुझेर होला ‘तिम्रो घरनजिकैकी साथीको हातमा पठाइदिन्छु, त्यहाँ गएर लिनू !’ भन्नुभयो। लोकसेवा आयोगमा फाराम भर्ने वाचा गराउनुभयो। पाठ्यक्रमका आधारमा केही तयारी गरेपछि एक सातापछि लेखेका कुरा उहाँलाई देखाउने थप वाचासहित म छुट्टएिँ।

मैले तयारी सुरु गरेँ। फोनबाट उहाँले मलाई पढाइका बारेमा सल्लाह दिइरहनुहुन्थ्यो। मनमा लाग्यो, अरूका बारेमा भलो चिताउने यस्ता असल मान्छे पनि यही समाजमा रहेछन्। मलाई त उहाँ वर्षौदेखि चिनेजस्तो लाग्न थाल्यो।

साता दिन बित्न लाग्दै थियो, उहाँ आफैँले फोन गर्नुभयो र मैले लेखेको कपी लिएर आफूलाई भेट्न भन्नुभयो।

सोधेँ, “कहाँ भेट्ने?”

भन्नुभयो, “सधैँ बेकरीमा भेट्दा मान्छेले कुरा काट्न सक्छन्। तिम्रो श्रीमान् विदेशमा भएकाले तिमीलाई असहज हुन सक्छ। म त केटा मान्छे, मलाई के हुन्छ र !” उहाँको कुरा ठीकै थियो। लाग्यो, मेरा बारेमा साँच्चिकै कत्ति चिन्ता गर्नुहुन्छ !

“हुन्छ, हजुरले जहाँ भन्नुहुन्छ, त्यहीँ आउँला नि !”

एक सातासम्म लेखेका उत्तरहरू पोको पारेँ, उहाँले बोलाए अनुसार नै बागबजारतिर लागेँ। बागबजार नपुग्दै उहाँको फोन आयो, “रत्नपार्कमै बस्नू, म त्यहीँ लिन आउँछु।”

मनमनै खुसीले दंग थिएँ। मलाई लाग्यो, आज म एक विज्ञबाट छोटो समयमा धेरै कुरा सिक्दै छु।

उहाँको रोजाइको त्यो सुरक्षित ठाउँ घुमाउरो गल्लीभित्र पो रहेछ। त्यो ठाउँ देखेर मलाई कताकता डर लाग्यो। उहाँको हाउभाउले लाग्थ्यो, त्यो उहाँ बारम्बार आइरहने ठाउँ हुनुपर्छ।

“हामी कहाँ जाँदै छौँ?” मैले सोधेँ।

“मैले तिमीलाई नराम्रो ठाउँमा लाँदै छु जस्तो लाग्यो र?” उहाँले मेरो पिठ्यूँमा धाप मार्दै भन्नुभयो।

आफ्नो जीउमा यसरी केटा मान्छेले छोएर कुरा गर्दा नराम्रो नलागेको होइन। तर, यो कुरालाई मनमै दबाएँ। यस्तो पनि सोचेँ, छोरी वा बुहारीजस्तै ठानेर यस्तो गर्नुभएको होला। गाडी साँघुरो गल्ली छिचोल्दै अग्लो घरको कम्पाउन्डभित्र छिर्‍यो।

“यो ठाउँ गोप्य छ, साथै शान्त पनि। हाम्रो छलफलका लागि उपयुक्त छ,” उहाँले भन्नुभयो।

कोठामा पुगिसकेपछि पो थाहा पाएँ, त्यो त होटल रहेछ। त्यस्तो होटल, जहाँ बाहिर कुनै साइनबोर्ड थिएन। लामो चिनजान नभएको मान्छेसँग त्यसरी कोठामा बस्दा असहज महसुस हुनु स्वाभाविक थियो। तर, मेरो उहाँप्रतिको विश्वासले गर्दा आफूलाई सहज बनाउन कोसिस गरेँ। उहाँले केही खानेकुरा अर्डर गर्नुभयो। मलाई खाना होइन, सिकाइको भोक लागिरहेको थियो। खानेकुरा आइपुगे। खाना ल्याउने मान्छे जानासाथ उहाँले ढोका बन्द गर्न लाग्नुभयो।

अब भने मलाई डर लाग्यो। ढोका खुलै राख्न भनेँ मैले। उहाँले मेरा कुरा नसुनेझैँ गर्नुभयो। चुकुल लगाइछाड्नुभयो। डरले मेरो धड्कन बढ्न थाल्यो। उहाँले मलाई खानेकुरा लिन भन्नुभयो। आफू पनि खान थाल्नुभयो। यति बेलासम्म डरले मेरो होसहवास उडिसकेको थियो। तर पनि खाएजस्तो गरेर साथ दिएँ।

उहाँले पढाइको प्रसंग नै निकाल्नुभएन। बरू एक्कासि मलाई सुमसुम्याउन लाग्नुभयो। मैले त्यसो नगर्न आग्रह गरेँ। मेरो आग्रहलाई बेवास्ता गर्दै कडा हातले मलाई अँगालो हाल्ने कोसिस गर्नुभयो। मैले भाग्नलाई फुस्कन खोजेँ। तर, ढोका बन्द थियो। सुनसान कोठाभित्र, मेरो मुटुको आवाजले मलाई भुइँचालोले हल्लाएजस्तो लाग्यो।

“म जे जे भन्छु, मैले भनेको मानिनस् भने के हुन्छ थाहा पाउनेछेस्। यति गर्दासम्म मेरो कति समय खर्च भएको छ, तँलाई थाहा छ? तँलाई पनि त चाहना होला नि ! जिन्दगी खेर नफाल्। श्रीमान् साथमा छैन। तेरो के जान्छ र? मजस्तो राम्रो मान्छे तैँले कहीँ भेट्टाउँदिनस्।”

धम्की र लालसा मिसिएको भावमा उसले मलाई ‘कन्भिन्स’ गर्न खोज्यो। जब म उसको कुकृत्यमा चुपचाप संलग्न भइनँ, जबरजस्ती गर्ने प्रयास गर्‍यो। एकछिनअघिसम्म भगवान्का रूपमा देखिएको मान्छे अहिले दानवीय रूप लिँदै थियो। मलाई आफू सपनामा पो छु कि जस्तो पनि लाग्यो। तर, यो सपना थिएन।

यत्तिकैमा उसको फोनको घन्टी बज्यो। मैले राहत महसुस गरेँ। नर्कबाट मुक्त हुँदै छु जस्तो लाग्यो। ऊ बाहिर निस्क्यो। ढोकामा ठूलो आवाजले ढकढक गर्‍यो। ढोका खोलेँ। एक हुल पुलिस र पत्रकार पो कोठामा छिरे। पुलिसले ‘ल हिँड् मामाघर’ भन्दै मलाई घिसार्न थाले। एकाएक म एउटा अपराधीमा परण्िात भएँ। मेरो अपराध के थियो, बुझ्नै पाइनँ।

पुलिसचौकीबाट मेरो घरमा फोन लगाइयो, ‘तपाईंको मान्छेलाई हामीले आपत्तिजनक अवस्थामा भेट्यौँ, उहाँलाई छुटाउन आउनू’ भन्दै। भोलिपल्ट पत्रिकामा ‘लोकसेवाको तयारी गररिहेकी केटी बागबजारको होटलमा देहव्यापारमा संलग्न’ भन्दै समाचार पो आएछ।

गाउँमा सबैले मेरो कुरा काट्न थाले। श्रीमान्लेे पनि फोन गरेर ‘जोसँग गएकी थिइस्, त्यसैसँग जा, मेरो घर छाडिहाल्’ भन्नुभयो। अरू मान्छेले पनि थप्न थाले, ‘हामीलाई पहिल्यै शंका लागेको थियो, यसको चाला ठीक छैन, भन्न मात्र नसकेको हो।’

माइतीबाट पनि फोन आयो। बूढी आमाले रुँदै भन्नुभयो, “हाम्रो इज्जत खोलामा फालिस् नानी, मर्ने बेलामा हामीले यस्तो के सुन्नुपर्‍यो। तेरै सुखका लागि राम्रो घर-कुटुम्ब खोजेर दिएका थियौँ।”

श्रीमान्को फोन फेरि आयो, “अझै त्यहीँ छेस्, खुरुक्क कहाँ जाने हो, गइहाल्।”

उफ्, आफ्नो गल्ती केही छैन। आफैँ अपराधको सिकार बन्नुपरेको छ। तर पनि आरोप आफँैमाथि आउँछ। मैले भगवान्बाहेक अरू कसैलाई पुकार्न सकिनँ। झिलीमिली घाम लागेको दिन पनि मेरा लागि औँसीको अँध्यारो रातजस्तै भयो। सरासर पसलतिर लागेँ। एक बोतल मुसा मार्ने औषधी ल्याएँ। घरका सारा ढोका बन्द गरेँ। मोबाइलको स्वीच अफ गरेँ।

बोतल खोलेर खान मात्र के लागेकी थिएँ, पल्लो कोठाबाट आवाज आयो, ‘मम्मी…!’

म झस्किएँ।

आवाज मेरो मुटुको टुक्राको थियो, मेरी छोरीको थियो। छोरीको आवाजले जीउमा झड्का लाग्यो। हातमा भएको बोतल भुइँमा खसेर फुट्यो। भक्कानो छुट्यो। छोरीलाई काखमा च्यापेर बेस्कन रोएँ। लाग्यो, म कति स्वार्थी भइसकेकी रहिछु। म त छोरीका लागि पो बाँच्नुपर्छ। यसलाई यस समाजसँग जुध्न सिकाउनु छ।

फुटेको बोतलसँगै मेरो मर्ने चाहना पनि फुटेर गयो। भित्र भएका पीडालाई शक्तिमा बदल्ने साहस गरेँ। बाँच्ने आशा जागेर आयो।

घर र माइती दुवैतिर बन्देज थियो। साथी सुषमाको याद आयो। उससँग १० हजार रुपियाँ सापटी मागेँ। कीर्तिपुरमा एउटा कोठा भाडामा लिएँ। नजिकै एउटा स्कुलमा पढाउन थालेँ। छोरीलाई पनि सँगसँगै विद्यालय लिएर जान्थेँ। दिनभरि पढाउने, रातभरि लोकसेवाको तयारी गर्ने। यही मेरो दैनिकी बन्यो।

समय कति छिट्टै बित्दो रहेछ। शाखा अधिकृतमा मेरो नाम निस्कियो। आँखाबाट हर्षका आँसु र्झन थाले। सरकारी जागिर खाने सपना त पूरा भयो। तर, यो खुसी बाँड्न मसँग कोही छैन। सानी छोरी त छे तर उसले मेरो कुरा बुझ्न सक्दिन।

मेरो पदस्थापना महिला मन्त्रालयमा भयो। कटिबद्ध भएर काम गरेँ। छोरी पनि अलि ठूली भइसकी। स्कुलको रजिल्टमा टप गरछि। एकातिर मैले आफूजस्तै कठिन परिस्थितिबाट गुजि्रएका महिलाका लागि केही गररिहेकी छु। अर्कोतिर आफूलाई बाँच्न बाध्य बनाउने मेरी छोरीले पनि प्रगति गररिहेकी छ। मेरो र छोरीको प्रगतिको कथा समेटेर एउटा पत्रिकाले मेरो अन्तर्वार्ता छाप्यो।

माइती र घरकाले यो प्रगति थाहा पाएछन्। घरमा बोलाइयो मलाई। ‘कुलको कलंक’ र ‘चरत्रिहीन’ भनेर गलहत्याइएकी थिएँ। अहिले सबैको इज्जतको कारण बन्न पुगेछु। अपराध त मैले के नै गरेकी थिएँ र? तर, समाजले कति सतही रूपमा महिलाको मूल्यांकन गर्दाे रहेछ भन्ने आफैँलाई परेपछि थाहा पाएँ ।

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in Nepali Stories and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.