कविता – जित्नु छ साथि जिलाउनु छ साथि

लक्ष्मी प्रसाद देवकोटा

लक्ष्मी प्रसाद देवकोटा


क.
भूतकालका भूलहरु छन् !
शूलहरु छन् !
क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ !
स्थितिमा थिचो र मिचो छ !
छाती ठोक ! तर,
दम रोक !
‘जित्नु छ’ यत्ति घोक !
तिम्रा मुखमा बादल लागे
हाँस्ला कसरी फेरि लोक ?
दिल रोएको अरुले सुन्लान्
ताल्चा मार ! नउघार !
आँशु पिईकन, मुस्की गर्नु छ ! यत्ति विचार ! यत्ति विचार !

ख.
मरे शरापी कैयन् पुस्ता,
झार पहेँला जस्ता,
यी शोषक, यी बाधक, वेधक,
सशस्त्र राकस रुखलाई !
जसको छाया चिसो, कालो,
जल्ले छेके उज्यालो !
कसले गन्ला यी अतिभक्षक
—हरुले दिएको दुःखलाई !
बूढा, पुराना कीटहरुका घर !
जर्जर !
मकाइरहेछन् भरखर ! तर, तर,
गहिरो, गहिरा जरा छ,
विस्तृत, विस्तृत,
शोषिरहेछ भूमि उर्वर !
शकिन्न भन्ने निराश नधार !
माली ! जमीन सुधार !
उत्तम बोट उमार !

ग.
धेरै मर्छन्, थोरै बाँच्छन् !
ठूलो माछा न्यायाधीश छ,
थोत्रो घरका बलिया खम्बालाई लान त !
तिम्रो, मेरो यसमा रिस छ !
घूस खाई क्रान्ति मरी सब !
पूँजी पिस्छ !
हाम्रो जीवन दिनदिन दुःखको
चक्की घिस्छ !
यो जिउनुमा ढीलो विष छ !
सुधन्न भन्ने कति मोटाए,
वन–शूकर !
सुध्रन्छ भनीकन दुब्ला बन्दा,
भोका हामी,
लड्दा हामी
खाइरहेछौं ठोकर ठोकर !
हामी भू–सर !
यो त्यही दुनियाँ हो हे साथी !
जल्लाई भन्दछन् अरु ती अन्धा,
सुन्दर, सुन्दर !

घ.
खडबड, खडबड, गडबड, सडकमा
कानो ड्राइवर !
घजघच थर्थर, जर्जर मोटर !
दम खुस्केको ढीलो पाङ्ग्रो !
मिचिने गरीब !
यही हो हाम्रो नसीब !

ङ.
अधमराको यस नगरीमा
ह्वाँह्वाँ छ !
दुनियाँका सब पापी जन्मी,
तरिरहेछन् वैतरणी
मिठयाइरहेछन् मुख तर कोही
तिनको स्वर्ग यहाँ छ

च.
जादूगरको हातले फार्नु छ,
यो कुइरो !
लम्पा एउटा घोटुँला !
निस्कून् डकम्र्मी धुइरो !

छ.
चढाऊ निरन्तर ! चढाऊ निरन्तर !
पसिना छ !
हिउँ पनि झर्छ ! असिना छ !
सारा क्षण तर शहीद बनाऊँ !
विज्ञापन पो कमिना छ !
पलपल मृत्यु मीठो हुन्छ !
विजयाभ्यास जहाँ छ !

ज.
मानवजति ! मानजातिमा !
हाउ ! नओर्लोस् !
उक्लोस् माथि !
दिनराति !
हामी मर्नु छ ! उसको जिउनु
कति जाती !

झ.
मध्यरातमा पुतली, पुतली,
बत्तीवरिपरि नाची, नाची,
मृत्यु डरायो, साथी ! धरामा
तिनका जलेका पखेटा साँची
सभ्यता भै यस्ती धनी रे !
निराश क्षणमा मन मुटुलाई !
“मृत्यु अमृत हो ! चल् लाछी !”

ञ.
हो, हो ! सत्यले कदर नपायो !
मिथ्या भायो,
थितिले विष नै फायो !
सत्ययुगमा पनि सङ्घर्ष थियो,
त्यही डाक्टरले,
औषधिपत्र लेखायो !

ट.
बाङ्गा, टेढा हर छन् हाम्रा !
हावा, पानी, किरण कमी !
ठुला नहुन् तर पूmल छन् हाम्रा !
स्वदेश–सुगन्ध ! सुँघन गमी !
जिउँदा, ताजा, बीज छन् राम्रा !
उम्रे केही, माटो फाटी !
फस्टिरहला पूmलजाति !

ठ.
मृत्यु भनेको सानो निद्रा,
एक थकाइ !
हामी मुक्ति चाहन्नौं रे !
बिउँझी आउँला ! बिउँझी आउँला !
नधकाई !

ड.
चट्टान–चिरा, पर्वतढलका, हामी जलका,
हूल हूँ बलका !
हाम्रा धावन–सङ्गीतहरुले, पगला पगला
युग, युगमा हे साथी !
मचाइरहलान् दिव्य तहलका !

ढ.
विश्वरथका हामी तनुवा !
लड्दा, बढ्दा !
छुट्दा, भरिँदा !
अमर, अनि, श्रमी,
मनुवा !

ण.
परिस्थिति यो गरीब हुनाले हामी धनी !
स्वर्ग बनेको छँदै छ गरीब ती देउताहरुकन !
साहाराका माली हामी !
हाम्रो बनाउनु यो तल्लो
महामरु रे अवनी !

त.
शून्यलाई हाँक्नु छ आज !
जङ्गली सब हाँस्नेछन्, तर
हामीलाई केको लाज ?
भनिदेऊ हामी ईश्वर हुँ !
कल्पी, शिल्पी, गरिरहेका हात,
अगोचर, अज्ञात !
व्यापक विराट् !
कुइरा उपर तर हेर उडेका
सफेद चराहरु, हाँसी खिल्ल !
किनकि, फिलिङ्गो स्वर्गको टिप्न
ती उड्दा छन्—
शुन्यमा ती किन उड्दा छन् ?
दुनिया जिल्ल !