कथा – आल्मा

सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ।

‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा त्यो त्रासद दिनका दुःस्वप्न पनि गुडिरहेको छ।

ऊ अदालत पुग्दा आल्मा कठघरामा उभिएकी थिई। उसलाई लाग्यो, ‘यो यमराज्ञीका भोका आँखाले मलाई नै खोजिरहेका छन्।’ आल्माका आँखामा उसका आँखा ठोक्किए।

अदालतमा उपस्थिति जनाएर ऊ सबैभन्दा पछाडिको बेन्चमा बस्यो। एकै छिनमा उसलाई अर्को कोठामा लगियो। कमिला हिँडेजस्तै उसका आँखा कोठाका भित्ता, भुइँ र सिलिङ्मा हिँडिरहेका थिए, एक्कासि ढोका खुल्यो। आल्मालाई डोर्‍याउँदै ल्याउने बन्दुकधारी सुरक्षाकर्मी बाहिर निस्कियो। ढोका अटोमेटिक्ली बन्द भयो। आल्मा उसको छेउमै बसी।

कहिल्यै बिर्सन नसक्ने आल्माको अनुहारलाई ऊ एकटकले हेररिहेको छ। आल्माले हग गर्न खोजी तर सकिन। हातमा हतकडी छ। ऊ भने मूर्तिवत् बसेको छ।

आल्माका निर्जल आँखा एकाएक सजल भए। हेर्दाहेर्दै ती आँखाबाट नाइल र अमेजन बग्न थाले। राता पोटिला गाला आँसुमा नुहाउन थाले। निःशब्द छे त्यो केटी, आँखा बोलिरहेका छन्।

हिमालसँग भेटका लागि उसले न्यायाधीशसमक्ष अपिल गरेकी रहिछ। कारण बताएपछि न्यायाधीशबाट एक घन्टाका लागि गोप्य भेट गर्न स्वीकृत भएछ।

ऊ आल्मातिर हेररिहेको छ। आल्माका उदास आँखा भने भुइँतिर गाडिएका छन्। अहिले उसका आँखा त्यसरी नै झुकेका छन्, जसरी त्यस दिन आल्माले निःसहाय हिमालका आँखा झुकाएकी थिई।

हिमाललाई सिंगै निलुलाँजस्तो गर्ने त्यस दिनको त्यही अनुहार आज निभेको बात्तीजस्तो भएको छ। आँखामा याचनाको तृष्णा सलबलाइरहेको छ। नूर गिरेकी निरीह आल्मा बोल्न खोज्छे तर सकिरहेकी छैन। उसका आँखाभरि उकुसमुकुसका बिरुवा बग्रेल्ती उम्रेका छन्। हिमाल भने बोल्नै चाहेको छैन।

“भन, अब के चाहन्छौ तिमी?” अन्ततः हिमालले नै मुख खोल्यो।

आल्माको जवाफ सुनेर सोच्नै सकेन। किनभने, सोच्दै नसोचेको जवाफ दिई उसले। हिमालले पनि सोच्दै नसोची जवाफको जवाफ दियो, “यो असम्भव छ।”

त्यो असम्भवतासँगै हिमालको आँखामा त्यस दिनका घटना सिनेमाको रलि घुमेजस्तै घुम्न थाले। त्यो सटगन आयो। जुन सटगनको ‘मजल’ले उसको छाती छोएको थियो। त्यो सटगनसँगै उसका आँखामा झलझली त्यही केटी आई। त्यो केटीसँगै त्यो दिनको मध्य दिउँसो त्यही कोठाभित्र छिर्‍यो। त्यो मध्य दिनसँगै ढोकाअगाडि त्यो नीलो र्‍याम पिकअप ट्रक रोकियो। कालो ड्रेस लाएकी त्यही केटी ट्रकबाट ओर्ली। टक् टक् टक् जुत्ताको आवाज निकाल्दै त्यही केटी भित्र पसी। रौद्र मुद्रामा त्यही केटीले कालो झोला फ्यात्त काउन्टरमा फ्याँकी। ओभरकोटको बटम खोलेर त्यही केटीले सटगन निकालेर छातीमा तेस्र्याई। धपधपी बलेका गोमन साँपका जस्ता आँखाले डसुँलाजस्तो गरेर त्यही केटीले आदेश दिई, “सबै पैसा यो झोलामा हाल्।” मानौँ, त्यसको बाउको सम्पत्ति हो त्यो।

हिमालले त्यति नजिकबाट बन्दुक कहिल्यै देखेको थिएन। त्यो बन्दुकको नालले छुँदा मत्युको छायाँले छोएजस्तो भयो। हुँदाहुँदै सबै ‘फ्ल्यासब्याक’ हुन थाल्यो। स्वास्नी, छोरो, बा-आमा, घर-परिवार, इष्टमित्र, छरछिमेकी, गाउँघर, पाखा-पर्वत सबै मनमस्तिष्कमा सलबलाउन थाले। उसका कानमा त्यही आवाज निरन्तर ठोक्किँदै भित्रभित्रै प्रतिध्वनित हुन थाल्यो, ‘हरी अप… अदरवाइज आई गन पुल द टि्रगर अप !’

मनमस्तिष्कमा एकाएक भरएिका ती पाश्र्वदृश्यभित्र निकै बेर हरायो हिमाल। आफ्नै आँखामा धपधपी बलेको क्रोधको आगोले पोल्न थाल्यो हिमाललाई। एक्कासि मुस्लो बनेर निक्लियो क्रोध, “ओ नो ! स्टे अवे प|mम मी, प्लिज ! यू आर बेन्डिट।’ कोठाका भित्ता चर्किने गरी चिच्यायो हिमाल।

भुइँतिर गाडिएका आल्माका आँखामा सन्त्रासको हुरी छायो। क्रोधका ज्वालामा लप्किएका हिमालका आँखासामु उसका सन्त्रस्त आँखा धेरै बेर टिक्न सकेनन्।

हिमाललाई लाग्यो, ‘यो सर्प पनि हो र मूर्ख पनि। सर्पलाई जति दूध पिलाए पनि विषै ओकल्छ। मूर्खलाई ज्ञानको घुटी जति नै पिलाए पनि त्यसको मुखबाट मूढता नै विरेचित हुन्छ। बोल्नुको केही अर्थ छैन।’

हिजो हिमाललाई वशीभूत गराउने आल्मा आज उसैसामु अभिभूत छे। अनुहारमा ग्लानिका टाटा छ्यापछ्याप्ती छन्। भित्रभित्रै उर्लेको पश्चात्ताप र पीडाको पोखरी भरएिर आँखाबाट फेरि अमेजन र नाइल बनेर बग्न थाल्यो। कपालिनीजस्ती त्यही आल्मा अहिले कामधेनुजस्ती भएकी छे।

आफ्ना निरीह याचक दृष्टिले ऊ हिमाललाई एकतमासले हेररिहेकी छे। कोठामा निकै बेर शून्यता ओहोरदोहोर गररिहन्छ। लामो हेराइपछि एक सय डिग्रीको तापमा पुगेको हिमालको क्रोधको पारो बिस्तारै झर्दै जान्छ।

‘आखिर यसले चाहेकी के हो?’ हिमालभित्र प्रश्नको भुमरी चल्न थाल्यो।

“हिमाल, मलाई थाहा छ, मैले गल्ती गरेकीे छु र बारम्बार गरेकी छु। त्यही गल्ती बारम्बार गर्नु भनेको वास्तवमा गल्ती हुनु होइन, नियतवश गर्नु हो। त्यो इच्छा हो। म यो नियत र इच्छाबाट मुक्ति चाहन्छु।”

उसका अनपेक्षित आशय र इच्छाले हिमालभित्र उत्सुकता र कौतूहलका टुसामुना पलाउन थाले।

आल्माको बाटुलो स्निग्ध उज्यालो अनुहार। गोरो छाला। लालिमा भरिएका भरिला गाला। लाम्चा निक्खर काला आँखा। लहलह केशराशि। पोटिला पाखुरा। चटक्क मिलेको जीउडाल।

आल्माको प्रतिरूप हिमालको मस्तिष्कमा त्यसै दिनदेखि गाडिएको थियो। उसले पैसा मात्र होइन, हिमालको मन पनि लुटेर लगेकी थिई। अहिले भने भित्रभित्रै तरंगको छाल उर्लिन थालेको छ।

लोग्ने मान्छेको मन…? आफैँभित्र एक प्रश्न बन्यो ऊ। उसभित्र प्रतिशोध, घृणा र क्रोधको हिउँ जमेर बनेको चिसो हिमाल आल्माको बोली, व्यवहार र रापले बिस्तारै पग्लँदै गयो।

अमेरिकाको उच्चाट लाग्दो एकतन्त्रीय जीवनपद्धति ! यहाँको कथित सुकिलो समाजभित्रको दुर्गन्ध ! कथित सभ्यताभित्रको असभ्यता ! कथित थितिभित्रको दुःस्थिति ! पूर्वीय दर्शन र सभ्यताले थोरबहुत दीक्षित हिमालभित्रको मानवताको आँखाले अमेरिकी समाजभित्रको निर्दयता चिनिसकेको थियो।

‘कतै यो केटी पनि यही निर्दयी सामाजिक कुचक्रको जाँतोमा पल्सिएर यस्ती भएकी त होइन?’ एउटा प्रश्नले जरो गाड्यो उसभित्र।

“आखिर यो सब तिमीले किन गर्‍यौ र म नै तिम्रो सिकार किन भएँ?” नसोधी बस्न सकेन हिमाल।

“हामी दुई दिदीबहिनी थियौँ। सँगै बस्ने, खाने, खेल्ने, सुत्ने गर्थ्यौं। हामी सँगसँगै हुर्किंदै गयौँ। हामीसँगै हामीभित्रको नारीवय पनि हुर्किंदै गयो। हामी दिदीबहिनी मात्र थिएनौँ, साथी पनि थियौँ।”

बोल्दा बोल्दै निसासिएजस्ती भई। केही बेर ओभएका आँखा फेरि रसाए। भित्रभित्रै जमेका पीडाका अमेजन र नाइलले फेरि आँखाका डिल नाघे। बाँकी भएको पेपर टावल दियो हिमालले।

“भन, के भन्न चाहन्छौँ?”

ऊ बिगि्रएको थोत्रो टेप रेकर्डरजस्तो बीचबीचमा रोकिँदै बोल्न थाली। भोल्युम घरी उँचो घरी निचो हुन्थ्यो।

“सँगसँगै हुर्केका हामी सँगसँगै मुभी हेर्न जान्थ्यौँ। कहिले घरमा ल्याएर हेर्थ्यौं। हेर्दाहेर्दै पोर्न मुभी र म्यागजिन हेर्न थाल्यौँ। हामीलाई कसैले रोकेन। १८ वर्ष पुगेका छोराछारीलाई केही भन्नु हुँदैन भनेर बाबुआमाले पनि केही भनेनन्। जे गर्न पनि छुट चाहने हाम्रो उमेरलाई अमेरिकी समाजको नांगो आदर्शले सदैव उक्साइरह्यो। बजारमा छ्यापछ्याप्ती पाइने पोर्न मुभी र म्यागजिन किन्दा हामीलाई कसैले सोधखोज गर्न सकेन। रोक्न सकेन। पि|mडम इज नट पि|m भन्ने कर्नेल वाल्टर हिचोकको भनाइलाई न यो समाजले बुझ्यो। न हामीलाई बुझायो।”

बोल्दा बोल्दै ऊ ओइलिएको फूलजस्ती भई। पेपर टावलले फेरि आँखा पुछ्न थाली।

“अनि?”

“अनि, पोर्न मुभी र म्यागजिन हेर्दा हेर्दै हामी दिदीबहिनी नै एक-आपसमा प्ले गर्न थाल्यौँ। हामी दिदीबहिनीबाट प्रेमी-प्रेमिका पनि भयौँ। हाम्रा बारेमा बाबुआमाले थाहा पाएपछि हामीलाई घरबाट निकालिदिए।”

हिमालको मनमा चिसो स्याँठले हानेजस्तो भयो एकछिन। ऊ बोलिरहेकी छे।

“त्यसपछि हामी एउटा अपार्टमेन्ट लिएर बस्न थाल्यौँ। बिस्तारै हामी लेजवियन भएको थाहा हुँदै गयो। भित्रभित्रै साथी, सहकर्मी र समाजले हामीलाई दूरदूर गर्न थाले। हामी इन्फेरेटिभ कम्प्लेक्सको सिकार हुन थाल्यौँ। यही कारणले म बेरोजगार भएँ। डिप्रेसन र अरूको संगतले बहिनी डोज पनि लिन थाली।”

“अनि?”

“मैले बहिनीलाई छोडिदिएँ। म एक्लै बस्न थालेँ।”

“बहिनी नि?”

“ऊ ओभर डोजले मरी।”

“त्यसपछि?”

“त्यसपछि मैले बाउको बन्दुक चोरेँ। समयको कालो पर्दाभित्र लुक्दै म अपराधमा संलग्न भएँ। बाँच्नका लागि रबरी गर्न थालेँ।”

यो विरलाकोटीकी केटीको कथा सुनेर हिमाललाई अमेरिका झन्झन् दूर र झन्झन् गहिरो भासजस्तो लाग्यो। अमेरिकाभित्र अर्को अनौठो अमेरिका पत्ता लागेको ठान्यो। अमेरिकाभित्र अझै कति अमेरिका छन् र अझै कति कोलम्बस जन्मनुपर्ने हो यो सबै पत्ता लगाउन? मनमनै सोच्न थाल्यो। आल्मा बोलिरहेकी छे।

“जे गरायो, सबै समय र समाजले गरायो। म कलेज ग्राजुएट केटी हुँ तर आज जेलमा छु। मलाई यो समाजले गलत बाटोमा अगाडि बढ्न सिकायो तर र्फकन दिएन। म र्फकन चाहन्छु। त्यसैले तिमीसँग क्षमा र सहयोगका लागि याचना गररिहेकी छु।”

“यसका लागि पनि तिमीले मलाई नै किन रोज्यौ? तिम्रा आफन्त, साथीभाइ पनि त छन्। के तिमी अर्को कुनै गेम त खेलिरहेकी छैनौ मसँग?”

केही बेर रोकिएका अमेजन र नाइल उसको आँखाबाट फेरि बग्न थाले।

“यहाँ कसैले कसैलाई केही गर्दैन। गर्ने भए मान्छेसँग मान्छेको नाता बलियो हुन्थ्यो। यहाँ सबैभन्दा कमजोर भनेकै मान्छेसँग मान्छेको विश्वासको बाँध र सबैभन्दा बलियो अविश्वासको पर्खाल हो। यही अविश्वासको पर्खालको आडमा मान्छे यहाँ आफूलाई सुरक्षित ठान्छ। अमेरिका कसैको कोही नभएको ठाउँ हो। यहाँको समाजमा बस्ती छ तर समाज छैन।”

“मसँग यस्तो प्रस्ताव राख्ने साहस कसरी भयो र तिमीभित्र यस्तो विश्वास कसरी पलायो?”

“यो त मेरो होइन, तिम्रो प्रस्ताव र विश्वास हो, हिमाल।”

हिमाल एकछिन रानी हराएको मौरीजस्तो भयो। रनभुल्लमा पर्‍यो।

“अर्थात्?” उसले सोध्यो।

“अर्थात्, सम्झ त त्यो समाचार ! जुन समाचारले सनसनी नै मच्चाएको थियो। याहु, अनलाइन न्युजदेखि सारा मिडियासम्म। तिमीले नै भनेको होइन, मलाई लुट्ने त्यो बन्दुकधारी सुन्दरीलाई म प्रेम गर्छु भनेर !”

सम्झेर ऊ मुस्कुरायो। मध्य दिउँसो एउटी बन्दुकधारी सुन्दरीबाट आफू लुटिएको कथासँगै उसको सुन्दरतासँग आफू मोहित भएको कुरा बताउँदै भनेको थियो, “म त्यो लुटेरा सुन्दरीलाई प्रेम गर्छु।”

“मैले त्यही दिनदेखि तिमीलाई प्रेम गर्न थालेकी थिएँ।” आँसुको बाढी दौडिरहेको आल्माको अनुहारमा अलिकति खुसीको आभा फक्रियो।

“मैले अघि नै भनिसकेँ यो असम्भव छ र प्रेमको अर्थ विवाह हुँदैन।” हिमालले आफ्नो आशय र बाध्यता पोख्यो।

आल्माले ती आशय र बाध्यताका अर्थ खोज्दै सोधी, “अर्थात्?”

“अर्थात्, म विवाहित छु। फेरि विवाहसँग प्रेमको कुनै सम्बन्ध हुँदैन। विवाह संस्कार हो भने प्रेम संवेदना हो। विवाहको सम्बन्ध मान्छेको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तत्त्वसँग जोडिएको हुन्छ। तर, प्रेमको सम्बन्ध मनसँग मात्र हुन्छ। मेरो मनले तिमीलाई त्यसरी नै प्रेम गररिहनेछ, जसरी गररिहेको थियो।”

ऊ एकतमासले हिमाललाई हेर्न थाली। निकै बेर मनोवादमा हराई। मृत्युछायाँ बनेर मस्तिष्कमा गाडिएकी त्यो केटी अहिले प्रणयपात्र बनेर हिमालको मनमा नाचिरहेकी छे।

“त्यसबाहेक तिमी के चाहन्छौ?” फेरि सोध्यो हिमालले। हिमालको मुखबाट निस्किएको सान्त्वनाको सुवास आल्माको अनुहारमा पोतियो।

मुस्कुराउँदै धेरै बेरपछि मुख खोली, “यदि म तिम्री स्वास्नी हुन सक्दिनँ भने तिमीजस्तै कुनै नेपालीकी स्वास्नी भएर नेपाल जान चाहन्छु। म अमेरिकासँग अघाइसकेकी छु।”

‘अमेरिकामा जन्मेकी केटी अमेरिकासँगै अघाई तर संसार अमेरिकाको भोको छ ! कति फरक छ देखेको मान्छेजस्तै सुनेको अमेरिका र बेहोरेको मान्छेजस्तै भोगेको अमेरिका?’

हिमालले आफैँलाई सोध्यो तर अनुत्तरित नै रह्यो ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.