Poem – Signet of Eternity – Rabindranath Tagore

The day was when I did not keep myself in readiness for thee;
and entering my heart unbidden even as one of the common crowd,
unknown to me, my king, thou didst press the signet of eternity upon
many a fleeting moment of my life.

And today when by chance I light upon them and see thy signature,
I find they have lain scattered in the dust mixed with the memory of
joys and sorrows of my trivial days forgotten.

Thou didst not turn in contempt from my childish play among dust,
and the steps that I heard in my playroom
are the same that are echoing from star to star.

Rabindranath Tagore
Rabindranath_Tagore_-_A_Poet_like_no_Other

रहस्योद्घाटन – काली प्रसाद रिजाल

आज म अत्यन्त गुहृय कुराको
रहस्योद्घाटन गर्दैछु-
जति पनि कविता, गीत
जति पनि पुस्तक आजसम्म
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !

क्षमा चाहन्छु
मैले पाठकलाई ठगेँ
यो कुरालाई अहिलेसम्म लुकाएर
मैले जघन्य अपराध गरेँ
तर मानिसको स्वभाववश
म विवश थिएँ
लेखक कहलाउने लोभलाई
मैले संवरण गर्न सकिनँ ।

वस्तुतः पाँच दशकदेखि
मात्र सार्ने काम गर्दै आएको छु मैले
कसैले टिपाउँदै जान्छ
म खुरुखुरु सार्दै जान्छु
र्सार्दछु र साफी गरेर
आफ्नो नाममा छपाउँछु,
वास्तविक स्रष्टालाई
मैले पनि देखेको छैन
किन उसले घरिघरी टिपाउँछ
त्यो पनि मलाई थाहा छैन
उसको स्वरमात्र सुनेको छु
यदाकदा ऊसित संवाद गरेको छु
तर कुनै प्रसङ्गमा उसले
मसित कहिल्यै गुनासो गरेन
बारम्बार उसले टिपाउँदै गयो
मैले आफ्नो नाममा
छपाउँदै गएँ ।

गल्ती यहाँको
परम्पराको पनि हो
जहाँ लेखन्दासले पनि
आफूलाई लेखक भन्ने गर्छ
गल्ती यहाँको प्रचलनको
पनि हो
जहाँ काम गर्छ एउटाले
नाम र दामचाहिँ
अर्काको भागमा पर्छ ।
मलाई थाहा छ
र मलाई चिन्ने सबैलाई थाहा छ
मजस्तो व्यक्तिले
यस्ता कविता गीत लेख्नै सक्दैन
कुनै तादात्म्य छैन
म र मेरा रचनाबीच
यो त्यसै पनि
उहिले पत्ता लागिसक्नुपर्ने थियो ।

तर मलाई धन्यवाद दिन पर्छ
कमसेकम मैले
आफ्नो अपराध स्विकार गरेँ
मैले आफैँलाई समातेर
सुपुर्दगी गरिदिएँ
अहिले म आफ्नैसामु
आत्मर्समर्पण गरेर भनिरहेछु
गर्वका साथ भनिरहेछु –
जति पनि कविता गीत
जति पनि पुस्तक मेरा नाममा
प्रकाशित भएका छन्
त्यो एउटै पनि
मैले लेखेको होइन ।

काली प्रसाद रिजाल
Kali Prasad Rijal

नेपाली कविता – देश कसको हातमा छ

आज भोलि
म सोच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?

जुठेको हातमा देश छ भनुँ
मुग्लान पसेको मान्छे
चिठी पत्र लेख्दैन
मर्दो जीउँदो थाहा छैन

हर्केको हातमा देश छ भनुँ
अर्कैको बन्दुक बोकेको छ
अर्कैको सीमा सुरक्षा गर्न
जीवन आफ्नो होमेको छ

पुतलीको हातमा देश छ भनुँ
बम्बईमा बेचिएकी विचरी
उड्ने पखेटा चुँडिएका छन्
सपनाका मुना भाँचिएका छन्

हलोको हातमा देश भनुँ
जोत्दै गरेको जमीन उसको आफ्नो होइन
ज्यामीको हातमा देश छ भनुँ
ओत बसुँ भने
एउटा टाउको लुकाउने छाप्रो छैन उसको
विद्यार्थीको हातमा देश छ भनुँ
ऊ आफैं घेराउमा छ

पत्रकारको हातमा देश छैन
उसको बोलीलाई गोलीले घाइते पारेको छ

कविको हातमा देश छैन
उसको कविताको फुलबारीमा
भावनाको फुल स्वतन्त्र फुल्न पाउँदैन

कलाकारको हातमा देश छैन
उसका डुडला काटिएका छन्
गायकको हातमा देश छैन
उसको गलामा अकुंश लाइएको छ
बुद्धिजीवीको हातमा देश छैन
उसको स्वर दबिएको छ

जन नेताको हातमा देश छैन
ऊ आफैं निर्वासित छ
प्रतिबन्धित छ
बन्दी छ

नागरिकता किन्ने बेच्नेको हातमा पनि देश छैन
उसको निम्ति नागरिकता
फल्दो फुल्दो व्यापार बाहेक अरु केही होइन
त्यसको हातमा पनि जरुर देश छैन

जसको धन पैसा विदेशी बैंकको खातामा जम्मा भएको छ
त्यसको हातमा पनि देश जरुर छैन
जसको मूल जरा विदेशको माटोमा गाडिएको छ
जो देशको हो
उसको हातमा देश छैन
जो देशको होइन
उसको हातमा देश छ
आजभोलि
म सोच्न थालेको छु
गहिरिएर
देश कसको हातमा छ ?

नेपाली कविता – पर्वत – वैरागी काइँला

घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !

जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि !

उफ ! भाँच्चिएर लडिदिन्छन्
हिमालयका ढाडहरू….
आहाल-आहाल रात छादेर मेरो सडकमाथि ।

आकाशका भित्ता-भित्ता ठाकिँदै बजारिन्छ
प्रतिध्वनिको वज्र-
दौडदै गरेको रेलको छप्परमाथि मूल सडकमाथि !
ऐनाको चोइटाले थापेका रगतका टुक्राभित्र
डिब्बा-डिब्बा किच्चिएका
जिन्दगीका क्षणहरू…
भाँच्चिएको रेलको लिकमाथि
दनदनाउँदो आगोको मुस्लोभित्रबाट
म बटुल्छु, म बोक्दछु…
गोजीभित्र अनि काँधमाथि !

धेरै नानीहरूलाई स्कुलसम्म पुर्याएर
धेरै छोराहरूलाई सीमान्तको मोर्चासम्म पुर्याएर
धेरै बाबुहरूलाई अड्डादेखि घरसम्म फर्काएर
अब त थाकिसकेका बाटाहरू
अब त दुर्घटनामा टुक्रिएका सडकहरू
हो, यी सब सडकहरू
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको छु !

मेरो काँधमाथिबाट
मेरो प्रेमको घनत्व र आस्थाको उत्तापले
पाकेको जिन्दगीको लास
चोइटा-चोइटा किरणहरूमा चोइटिइएर खस्दछ
मेरो प्रत्येक पाइलाभित्र : मेरो सडकमाथि !

आँखा खस्दछ : यौटा रात सकिन्छ
अर्को आँखा खस्दछ : फेरी अर्को रात सकिन्छ
पैताला खस्दछ : एक खुट्टा बाटो भरिन्छ
पन्जा खस्दछ : पृथ्वीदेखि आकाशसम्म पुल टाँगिन्छ
दुई हात अँगालो खस्दछ :
असीमित आयतनमा धरतीमाथि
अनि इतिकासमा फेरि यौटा अर्को फाटक उघ्रिन्छ !

फाटकको निधारभरि
मानिसको जानकारीका निम्ति
धुपीका सिन्के पातहरूका माझ-माझ
हाँगाको आँख्ला-आँख्लाका आँखाहरूका अक्षरमा
समयले दौडी आएर लेखिदिन्छ : सूचनाका केही पङ्क्तिहरू

स्वागत छ- पर्वतारोहीलाई,
कलिला-कलिला पैतलालाई,
प्रत्येक जिन्दगीलाई !

अब प्रत्येक मान्छेले सुरु गरुन्
आ-आफ्नो यात्रा फेरि यहाँबाट,
यस फाटकबाट !

सूर्यलाई भरीकन
तेस्रो आँखाको ठूलो घुम्ने बल्बभित्र
उत्तानो समुन्द्रलाई दुवै हातमा टेकिदिएर
उभ्भिएको फाटकको टाङमुनिबाट
सार्क र ह्वेलको मत्स्य-आक्रमणबाट
तारतारी समुद्रिक डाँकूहरूको लुटपिटबाट
धनमाल र बचाएर जहाजलाई
अनि औंलामा उचालेर गोवर्द्धन
आफै पनि यस फाटकबाट
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुनछु !

अजकाल सपनामा सधैं
म पर्वत चढिरहेको हुन्छु !

वैरागी काइँला
Bairagi_kaila