मेरो चोक – भूपी शेरचन

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

भूपी शेरचन

Bhupi sherchan 1

रात काठमाडौँ प्रात – भूपी शेरचन

बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु कराउँदा
सशङ्कित पोथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराको टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्प नयाँ सडक
सल्बलाउँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट
बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुको
र हाँस्न थाल्छन् उम्मुक्त झ्याल र ढोकाहरु ।

भूपी शेरचन

bhupi-serchan

घण्टा घर – भूपी शेरचन

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा-नाति
एक-एक गरी
फौजका सब पुराना जर्सी सिद्धिए ।

तर जतनसाथ बचाइराखेको
फौजी जीवनका दुइटा प्रिय चिन्ह
एउटा पुरानो डिजाइनको ठुलो-गोलो जेबघडी
छातीमा झुन्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लाएर
माछा मार्ने निहूँले
बुढेसकालमा लामा
र दिक्दारे दिन बिताउने
एउटा पेन्सिनवाला बूढो लाहुरेझैंँ
रानी पोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिरहेछ घण्टाघर ।

भूपी शेरचन

Bhupi sherchan 1

शीत युद्ध कालका बाँदरहरु – भूपी शेरचन

हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
आफ्ना अङ्गहरुलाई
बचाउने चेष्टा गर्छ
घृणित स्पर्शबाट आफ्नै हातको
अनि सफलताको चित्कार बोकेर
ऊ वन–वन दगुर्छ
रुख, ढुङ्गा आदिमा हात पुस्छ
खोला नालाको पानीमा हात चोपेर
ऊ मुक्त हुन खोज्छ दुर्गन्धबाट
तर, प्रत्येक प्रयासपछि
हात सुँघ्दा दुर्गन्ध
झन् बढेको पाउँछ
अनि बहुलाझैं
रुख हाँगाहरुका सारा
फलफूलहरु  झार्दै
सुगन्ध र स्वादलाई मेटेर
कम गर्न खोज्दछ आफ्नो
दुर्गन्धको प्रभावलाई
र अन्तमा निराश भएर
कुनै ठाउँमा बसेर ऊ बर्बतापूर्वक
घोट्न थाल्छ आफ्नो  हात
खस्रोढुङ्गामाथि
उसले ढुङ्गामा हात घोट्छ र सुँघ्छ
उसले आफ्नो हात सुघ्छ  र घोट्न
थाल्छ र घोटि नै रहन्छ
तबसम्म
जबसम्म कि उसको हात बेकम्मा हुँदैन
शङकालु बाँदरको जब एकचोटि
हात गन्हाउँछ
उसले बगैंचालाई उजाड
र आफ्नो हातलाई लुला बनाउँछ ।

भूपी शेरचन

Bhupi sherchan 1