शान्ति सुरक्षाको दयनीय अवस्था

देशमा शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजुक बन्दै गैरहेको पछिल्ला घटनाक्रमहरूले देखाएका छन्। गत विहीबार केन्द्रीय कारागारमा भएको गोलीकान्डले त अझ मुलुक अन्तर्राष्ट्रिय माफिया र “अन्डरवल्ड”को क्रियास्थल बनेको मात्र देखाएको छैन, यसले हाम्रो राष्ट्रिय सुरक्षा नीतिमाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ।
केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका संचार उद्यमी युनुस अन्सारीमाथि भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरी हत्या प्रयास गरेको घटनाले हाम्रो कमजोर सुरक्षा नीतिलाई उदांगो पारिदिएको छ। हत्या प्रयास अघि अपराधी सिंह कैदी चार्ल्स शोभराजलाई भेट गर्ने निहुँमा पटक–पटक केन्द्रीय कारागार पुग्ने गरेको रहस्य पनि खुलेको छ। एउटा संदिग्ध विदेशी नागरिकलाई जेल प्रशासनले किन निर्वाध रूपमा भेट गर्न दियो? तीन तहका सुरक्षा घेरा पार गर्दै उक्त अपराधी हतियार सहित कसरी भित्र पुग्न सफल भयो? विहीबार केन्द्रीय कारागारमा भएको गोलीकान्डले यस्ता दर्जनौं स्वाभाविक प्रश्नहरू जन्माइ दिएको छ।
संचार उद्यमी युनुसको हत्या प्रयास त पछिल्लो घटना मात्र हो, त्यसभन्दा अगाडि पनि जेल भित्रैबाट अपराधीहरूले संगठित अपराधका घटनाहरू घटाइरहेका समाचारहरू सार्वजनिक भैरहेका थिए। कारागार भित्रको कैदी बाहिर व्यस्त बजारमा अपराधिक क्रियाकलाप गरिरहेको अवस्थामा भेटिनु, जेलभित्रै रहेको अपराधीको नाइकेहरूको निर्देशनमा बाहिर अपराधिक घटनाहरू हुनु यिनी सबै घटनाहरूले देशको कमजोर सुरक्षा नीतिलाई नै उजागर गरिदिएका छन्। ती सबै घटनाक्रमहरूमा प्रहरी प्रशासनभित्रैबाट पनि मिलिमतो रहेको प्रष्ट देखिन्छ।
अपराधिक गिरोहहरूबाट मात्र होइन, हाम्रो कमजोर सुरक्षा नीतिको फाइदा उठाउँदै विस्तारवादका सिपाहीहरूले पनि नेपालभित्र प्रवेश गरी लगातार रूपमा ज्यादतीहरू मच्चाउँदै आइरहेका छन्। ०५४ सालको नयाँ बानेश्वरमा भएको कान्ड होस् या अस्ति भर्खरैको बर्दिया तारातालका हर्कबहादुर शाहीलाई वेपत्ता बनाउँदाको घटना होस्, यी घटनाहरूमा भारतीय सुरक्षाकर्मी नेपालभित्र प्रवेश गरी आफ्नो तान्डव नृत्य प्रदर्शन गरेको हामी सबैले देखिरहेकै छौं। सिमानाका नेपालीहरूले दैनिक रूपमा नै भारतीय सुरक्षाकर्मीहरूको ज्यादती भोग्दै आइरहेका छन्। ती सबै हस्तक्षेप र ज्यादतीहरूमा नेपाल सरकारले अहिलेसम्म मुहतोड जवाफ दिन सकेको स्थिति छैन।
जहाँका शासकहरू देशको राष्ट्रियताप्रति संवदेनाहीन र जनताप्रति गैरजिम्मेवार बन्दै व्यक्तिगत महत्वकांक्षा पूरा गर्नमै लिप्त बन्छन् त्यस देशका जनताहरूलाई विदेशीले स्वभाविक रूपमै हेपेर व्यवहार गरिरहेका हुन्छन्। हाम्रो देशको सन्दर्भमा पनि यही कुरा सत्य हो। इतिहासदेखि वर्तमानसम्मका घटनाक्रमहरूलाई केलाउने हो भने हामीमाथि वैदेशिक हस्तक्षेप र ज्यादतीहरू बढ्नु र देश अन्तर्राष्ट्रिय अपराधीहरूको क्रिडास्थलबन्नुमा हाम्रै शासकवर्गहरूको गैरजिम्मेवार र नालायकीपना नै जिम्मेवार देखिन्छ। जनताप्रति भन्दा विदेशी “प्रभु” प्रति नै बफादार बन्ने रोगबाट इतिहासदेखि वर्तमानसम्मका शासकवर्गहरू मुक्त हुन सकेको देखिंदैन। राणा शासकहरू नेपाली जनताप्रति भन्दा भारतमा राज गरिरहेका अंग्रेजहरूप्रति बफादार बने। त्यो क्रम ००७ सालको राजनैतिक घटनाक्रम पछि पनि रोकिएन। त्यसपछिका हाम्रा शासकहरूले पनि हामीप्रति भन्दा पनि भारतीय शासकहरू प्रतिनै बफादार हुने इतिहासलाई नै निरन्तरता दिए। अहिले मात्र होइन “विदेशी प्रभु” हरूप्रति भक्तिभाव राखेमा मात्र आफ्नो कुर्सी जोगिन सक्छ भन्ने गलत मानसिकताबाट शासकहरू मुक्त नहुँदासम्म देश विदेशी शक्तिकेन्द्र र अपराधिक गिरोहहरूको क्रिडास्थल बनिरहनेछ।
अहिले पनि हाम्रा माऊ पार्टीका माऊ नेताहरू विशुद्ध सत्ताको धुनमा मदहोस् भैरहेका छन्। कुर्सी कसरी हात पार्ने? हात परेको कुर्सी कसरी जोगाउने? लाग्छ–हाम्रा प्रमुख पार्टीका जिम्मेवार नेताहरूको दिल दिमागमा चौविसै घण्टा तिनै प्रश्नहरूमात्र खेलिरहन्छन्। सत्ताको खेलमा उनीहरू लिप्त भैरहेकै कारण मुलुकमा चौतर्फी रूपमा अस्तव्यस्तता छाइरहेको छ। अपराधिक गिरोहहरूको मनोबल बढ्नुको पछाडिको मुख्य कारण पनि त्यही नै हो।
तसर्थ प्रमुख राजनीतिक दलहरूले अब गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ। अपराधीहरूलाई काखी च्याप्ने बानीलाई त्याग्दै उनीहरूलाई कडा सजायको भागीदार बनाउन प्रमुख दलहरू फितलो राष्ट्रिय सुरक्षा नीतिलाई कसिलो बनाउन प्रतिबद्ध रहनु पर्दछ। अनि मात्र मुलुकको यो दयनीय सुरक्षा अवस्थामा सुधार आउन सक्नेछ।

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in नेपाली शिर्षकहरु and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.