सबै धाँजा परेको छ यहाँ

यता साउन महिना ढल्न आँटेको छ, अझै पानी परेको छैन । काठमाडौँको आकाशमा कताकति बादलका टाटा देखिन्छन् । अलिकति आश लाग्छ तर ती प्रत्येक दिन देखिन्छन्, बिलाउँछन् । सगर डढेर सन्ध्या रातो हुन्छ, बिहान छङ्गाछुर आकाशमा घाम उक्लिन्छ । हेर्छु, उदास अनुहार लगाएका कृषकहरू खेतका आलीआलीमा छन्, आज पनि, भोलि पनि, पर्सि पनि । सबै बियाड सुकिसके, पहेँला फुस्रा पराल सुकाएजस्ता भए । उनीहरू ती बियाडवरीपरी घुम्छन । एकपल्ट खेतमा पस्छन्, घुँडाघुँडा उभिएको झार भुत्ल्याई हेर्छन्, दुई-चार चपरी खनी हेर्छन्, फेरि उदास भएर कीर्तिपुर डाँडातिर फर्किन्छन् । जमिन सबै धाँजा परेको छ, कुवामा पानी सुकेको छ, इनार रत्तिा छन्, झार सुक्न थालेको छ, बियाड पराल छर्केजस्तो छ, बिहानका राती रत्तिा गाग्रा उँभो लाग्छन् । पानी नपरेको दस महिना भो । काठमाडौँ बाँझो भएको छ । सम्पूर्ण देश नै खडेरीले खङ्ग्रङ्ग छ । कहिल्यै थाहा नपाएको यति लामो खडेरीले यसपालि मानिसको मनमा आतस उत्पन्न गर्दैछ । यो सालको महँगी र विश्वव्यापी रसिेसन् । खबर ल्याउँछन्, रामेछापको लेकमा मकैका बोटै सुके, सिन्धुलीमा धानको गाबो गाडिएन । ट्याक्सीवाला भन्छन्, “यो वर्ष दसैँ आउने छैन, तिहार आउने छैन ।” सहर पसेका गाउँले श्रमिक हतास भएर बोल्छन्, “यो वर्ष हाम्रो मंसिर आउने छैन, मंसिर अहिले नै डढिसकेको छ ।” के भो कहिल्यै नहुने घटना भयो, अब दुर्भिक्षले देश डढाउँछ होला । मधेसको त्यस्तै खबर छ, कतै खेत रोपिएको छैन ।

धूलो उडेको छ, धाँजा चर्किएको छ, घाम झन्झन् चर्किएको छ । बतास झन्झन् सुक्खा छ, उपत्यका कहिल्यै नभएको गर्मीमा छ । हिमालमा हिउँ खसेन, ती पर्वतहरू काला पहराजस्ता देखिएका छन् । उता नुवाकोट जाँदा देख्यौँ, साउनमा कतै मूल फुटेको छैन । खोल्सीहरू बगर मात्रै छन् फुस्रा, जीवन सकिएका आकारजस्ता । कहिल्यै पानी बग्ने सम्भावना नभएका । तादी खोलो हेर्‍यौँ, सङ्लो छ अत्यन्तै नीलो पानी बगिरहेको छ । घाम चर्केको छ, गोठाला पौडी खेल्दै छन्, बगरमा वस्तु उघ्राइरहेका छन् । त्यो निर्मल पानी देख्ता डरडर लाग्यो । प्रकृतिको ऋतुचक्र कहीँ बिग्रेको हो कि ? यी फाँटमा कुलो छैन । आउँदो वर्ष कस्तो होला ! यतिखेर खोलामा पतपति धुवाउने बाढी आउनुपर्ने होइन । असमेल भएर समढन्न बगर ढाकी कालोमैलो मुस्लो उर्लिनुपर्ने होइन ? यी उज्याला ढुंगा र बालुवा टल्किने बगर केका अपसकुन हुन् ? दुर्भिक्षका ? महामारीका ? यतिखेर माथिदेखि उर्लेर गडगडाउँदै आउने बाढीले हुत्याएर रूखपात, पत्कर, मूढाहरू उचाल्दै, पहिराको लेदो बगाउँदै किनाराका गराहरू भत्काउँदै मानिसको मुटुमा भय उत्पन्न गर्नुपर्ने होइन ? ए के भो, किन कसैले घुम ओढेको छैन, छाता भिरेको छैन । खेतहरू अझै झार ओढेर पल्टेका छन् । यतिबेला यी गरामा मिलमिल गर्दै हरयिा गाँज हावामा झुल्नुपर्ने, आलीमा मास, भटमासले आकाश ताक्नुपर्ने । त्यसो नभए पनि दबदबे हिलो हुनुपर्ने, थकथक माथि हली नाचेका, रोपाहार सरेका, बाउसे घुमेका हुनुपर्ने होइन ? साउन बित्नै लाग्यो, यो देशमा १० महिनादेखि पानी परेको छैन ।

काठमाडौँको झन् बिजोग छ । कंक्रिट घना जंगलले गर्दा माथि आकाश देखिँदैन, तल धर्ती । बाँकी रहेको राँटारुटी जमिन अब बाँझो हुने भो । रामसरन, हरसिरन, शिवसरन, बेखा, पुंमाया, हीरामाया कीर्तिपुर डाँडादेखि झरेर प्रत्येक दिन ट्याङ्लाफाँटतिर पुगेका छन्, आ-आफ्ना खेतका आलीमा एकछिन टुक्रुक्क बसी घाममा सुस्ताउँदै घरै फिरेका छन् । कोदालीले खनेको खेत, गोरु नलागेको, ट्याक्टर नपसेको, चपरी फर्काएर उहिल्यै खनेको झारले आज पूरै बाँझो भो । प्राचीन कालदेखि चलेको अटुट अनुष्ठान । खेतको एक निश्चित कुनामा राखिने बियाड, उस्तैउस्तै सधैँसधैँ । असार १५ भित्र धान रोपिसकिने खेतहरू आज साउन निगल्न लाग्यो एक थोपा पानी छैन । प्रकृति नै विपरीत हुन लागेको हो कि, ऋतुचक्र बदलिएको हो कि ? आउँदो वर्ष हाम्रो गति के होला, अस्ति मच्छिन्द्रनाथको रथ तानेकै हो, जात्रामा भाग लिएकै हो । उतातिर देवीपूजा भए, नागपूजा भए, भ्यागुताका बिहे भए । आकाशतिर फर्केर मानिसले रोइकराइ गरे, प्रार्थना, आराधना गरे तर अझै पानी पर्दैन । बल्खुमा पानी सुक्यो । अलिकति मैलो लेघ्रो छ । यी रत्तिा गाग्री र जर्किनका ताँती कहाँ पुगेर रोकिएलान् ? तिर्खाएका छाडा वस्तुभाउ, यी साँढे र बाछाहरू दिनभर तिर्खायर बाँझा खेतमा लोलाउँछन् । चराचुरुङ्गी कराउनै नसकेर हो कि आकाशमा उड्न छाडेका छन् । किथ्रा, भ्यागुता, झ्याउँकीरी केही कराएनन्, छिचिमिरा निस्केनन् । साँझपख खालि तिर्खालु गौँथली आकाशमा बेगिन्छन् ।

एकदिन बिहान फुल्चोकीमाथि कालो बादल निकैबेर नाचेको देखियो । बादलको छायाँ तल नाचेको देख्नसाथ सारा कृषक झरे रामसरन, हरसिरन, बेखा, श्रीमाया, पुंमाया कीर्तिपुर डाँडो रित्तिएर ट्याङ्लाफाँटको बाटो झरे । नांगा पैतालाले मचक्क हिलो टेक्तै बिस्तारी झोडी पन्साउँदै झर्ने गोरेटो, दुईतिरका नर्कटघारीले झपक्क ढाकेको ओसिलो बाटो आज एक दशक नपुग्दै अर्कै भएको छ । आफू मात्रै हिँड्ने त्यो गोरेटोमा आज अपरिचित मान्छेको दोहोरलित्ता छ । यी नचिनेकाहरू कताका हुन् ? कता जाँदैछन् ? जुत्तामोजा लाउनेहरू, चप्पल लाउने, छाता ओढ्नेहरूले ढाकेको छ । जताततै यता डाँडामा, तल गैरीमा, उता पाखामा सबैतिर घरैघर घरैघर के बिघ्न पाखेहरू उम्लेर आएका ? यी कहाँका हुन् ! पुंमायाले मनमनै सोची, यी थानकोटतिरबाट आउँदा हुन् कि चोभारको बाटो कि बालाजु तरेर ? बेखाले सोच्यो- बाटो पिच भन्छ, ग्राभेल भन्छ, ढल भन्छ, बिजुलीको खम्बा भन्छ, तीन फुटे, छ फुटे, १० फुटे, १२ फुटे- बाटाले खायो, ढलले खायो, नगरपालिकाले खायो, अब खेती गर्ने जमिनै छैन । भएकामा प्लास्टिक छरएिको छ, फोहोर थुपि्रएको छ, कागज छन्, सिसी छन्, इँटा छन् । संसारभरकिा बाछा र बहर छन्, बूढा साँढे, भुस्याहा कुकुर त्यहीँ चरेका छन्, लरेका छन् । अझ गीर हान्ने, खोप्पी खेल्ने, चरा ताक्ने, गाँजा माड्ने त्यही बाँझो खेतमा । अति भो, जीवन अति भो । १० महिनादेखि पानी परेको छैन । आज फूलचोकीको शिर अँध्यारो छ, र्झछ कि ?

बेखाले इस्टकोट फुकालेर डिलमा राख्यो । सेतो सुरुवाल सुर्कियो र कोदाली टिपेर गरामा पस्यो । सन्देहपूर्ण आँखा फूलचोकीतिर लगायो । आज पनि बादल भाग्लाजस्तो हुँदैछ । मलाई त्यसबेला एउटा कुरा बोलौँजस्तो लाग्यो । बेखा र पुंमायालाई यो कुरो सुनाइदिउँजस्तो लाग्यो- हेर बेखा, मौसम परविर्तन एक विश्वव्यापी समस्या हो । आज यो तीव्र हुँदैछ । सम्पन्न राष्ट्रले प्राकृतिक सम्पदाको अति उपयोग गरे, जलवायु आकाश अति प्रदूषित गरे, प्रकृतिको सन्तुलन बिगारे । जसको कारणले पृथ्वीको जलवायु बिगि्रयो, मौसम परविर्तित हुँदैछ । अब जाडो र गर्मी बिगि्रए, अब बर्षा र सुक्खा बिगि्रए, हरयिाली र नदीनालाले आफ्नो नियमित चक्र छोड्न थाले । अब गर्मी बढ्छ, जाडो बढ्छ, असमयमा नहुने कुरो हुन्छ, हुने कुरा हुन छाड्छ । यो तिम्रो गल्ती होइन तर तिमीले भोग्नुपर्ने भयो । मनमा यस्ता धेरै कुरा खेले तर लाग्यो बेखाले यी कुरा बुझ्दैन होला । काठमाडौँमा जलवायु परविर्तन विषयमा विश्व सम्मेलन बस्दैछ, त्यसबारे उसलाई केही थाहा छ कि ? राष्ट्रसंघले एउटा चेतावनी सुनाउँदैछ, विश्वका यति मानिस अब भोकमरीमा पर्नेछन्, यति जंगल डढ्नेछ, यति वनस्पति खरानी हुनेछ, यति प्राणी मर्नेछन्, यति मैदानहरू, धाँजा फाटेर बाली नष्ट हुनेछ… बेखाले यस्तो कुरा बुझ्ला ?

यी कुरा मेरा मुखमुख आए तर खोल्न सकिनँ । ऊ एकोहोरएिको छ, ध्यानको मुद्रामा झैँ एकपल्ट बादलतिर हेर्दै एकपल्ट डढेको बियाडतिर हेर्दै कोदाली प्रहारको तयारीमा छ ।

हेराकाजीको पल्लो गरो । पानीबिनै रोपिसकेछन् । कोदो रोपेजसरी । माटो मसिनो पारेर धेरैपल्ट खनेर, धुल्याएर, डल्लेँठोले पिटेर, कोदालीले ख्वाप्प खन्दै धानका गाँज त्यसमा राख्तै फेरिमाटोले जरा पुरेर माटोले छोप्तै, हातले थिचेर तुरुक्क कित्लीले पानी हालेर फेद फिजाउँदै गरेका थिए । बेखा त्यता दृष्टि लाउँछ, त्यो गरो सबै पराल छर्केझैँ छ, जरैसम्म सुकेको छ, जमिनमा सुतेको छ, एउटै बोट जाग्दैन होला, पलाउँदैन होला । मेरो खेतमा त्यसरी कोदो रोपाइँ गर्दिनँ । बीउको नास भो । पाप पनि लाग्छ होला । बरु खेत बाँझै होस् । उसले यस्तै सोच्यो ।

पुंमायाले परालका ससाना मुठा जर्किनको पानी छम्केर कपडाले छोपी अनि जलेको बियाडका डिलमा गएर टुक्रुक्क बसी । बेखाले झारका लुँडाभित्र कोदाली डुबाई हेर्‍यो । पर्तिर ग्राभेल रोडमा कलंकीतिर मुख फर्केको मोटरसाइकल घ्यार्र गरेर रोकियो । गगल्स निधारमा चढाउँदै स्याम्सन बोल्यो, “ए बा, तल फाँटमा दलाल आएछ, जग्गा बेचिदेऊ, पानी पर्दैन ।” बेखाले आफ्नै छोराबाट यस्तो बचन सुन्नुपर्लाजस्तो सोचेको थिएन । कोदालीको प्रहार रोकेर उसले बिसायो, आँखा तन्काएर हेर्‍यो, नभन्दै तल फाटभरि दलाल छन्, अघिको फाँट कतै छैन । हिजो दिउँसै स्याल कराउने ट्याङ्लाफाँट आज घरैघर, रोड, बिजुली, स्कुल, दोकान । हरयिा गालामा कंक्रिटका फोकैफोका र विफिरा । यतिका पर्वतेहरू कहाँबाट पस्यो होला, यी खान नपाउनेहरू ! हाम्रो बाबुबाजेको जमिनमा यिनीहरू पसेपछि पानी पर्नै छोड्यो, नागपूजाले भएन, मच्छेन्द्रनाथको पूजाले र जात्राले छोएन । यो जमिन बेचौँ कि ? उसको मनमा अनेक दोहोरी चल्न थाले । पल्लो टोलका प्लटिङ्का घेरा र पटुका, ढुङ्गाबालुवा छर्केका धरापहरू, तलको बीचखेतमा फोका, उता गालो चिरेर कुँदेको बाटो र त्यहाँ फोहोरको डंगुर, त्यो सुकेका कुवा र नजिकै एक हुद्दा दलाल ।

काठमाडौँका सारा धाप कता पुगे, चरन कता पुगे, फाँट कता पुगे ? बल्खुको किनार, खोलाका बगर, आज केही बाँकी छैन । बेखालाई निश्चय भयो । नेपाल मण्डलमा धेरै पसे, कहाँकहाँका पाखेहरू धेरै खन्निए, यो फाँटलाई पर्वतेहरूले निले, तल्लो फाँटमा मस्र्याहरूले पनि घर बनाएर ल्यायो । अब पानी पर्दैन होला । मच्छिन्द्रनाथ रिसाएका छन् ।

त्यो दलालको हुद्दा यतातिर सर्दैछ । मेरो जमिनको मोलतोल गर्छ होला । तर, पुंमायाले पर्वतेमा बात फर्काउन सक्तिन । उसले मरे पनि जमिन बेच्ने कुरा सुन्नै मान्दिन । रिसाएर उसले आफ्नो भाषामा बोलेको ती पर्वतेले बुझ्लान् ? मैले दोभासे गरौँ कि ? बेखालाई पीर लाग्यो । स्याम्सन कलंकीतिर उडिसकेको थियो ।

छोराको कुरा नसुनेझैँ गरी बेखा कोदाली उचाल्दै बजार्दै गर्न थाल्यो । कतिबेला झार छिचोलेर त्यो माटोमा गाडिन्थ्यो । कतिबेला झारले अल्झिदा भुक्क आवाज गरेर त्यो फर्किन्थ्यो । पुंमाया फूलचोकीतिर हेर्दै बूढी र चोरी औँलाका चिम्टाले च्यापेर, विस्तारै, फकाउँदै जरा नटेकेको जस्तो बीउ पुक्लुक पुक्लुक उखेल्थी । मुठीका मुठा बनाउँदै, दुई त्यान्द्रा परालले बाँधेर पछ्यौरा ओढाएर राख्थी । एक्कासि बेखाले कोदाली पर हुत्याएर मातृभाषामा ठूलो आवाज निकाल्यो ।

त्यो आदिम वाणी मैले बुझ्न सकिनँ तर सायद ऊ बोल्यो, सबै धाँजा परेको यहाँ !

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in नेपाली शिर्षकहरु and tagged , , , , , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.