गजल

संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ युवा
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ युवा ।

पूर्व पश्चिम तराईतिर अतिक्रमण बढीराछ युवा
चारैतिर घेरी देशलाई पिरेपछि के गर्छौ युवा ।

उठ्नै पर्छ युवा वर्ग शान्ति ल्याउन यो देशमा
नेपालबाट शान्ति सधै फिरेपछि के गर्छौ युवा ।

स्वाभीमानी नेपाली हो नझुकाउ ठाडो शीर युवा
नेपाली यो स्वाभिमान गिरेपछि के गर्छौ युवा ।

संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ युवा
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ युवा ।

कथा – प्रवासीको व्यथा

एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ् लगाउन ठूलै संघर्ष गर्नुपर्ने हुन्छ। बिहान भालेको डाकोसँगै मानिसहरू उठ्छन् र सुर्यको किरणसँगै घरबाट बाहिर निस्किएको मानिसहरू सुर्य नबिलाएसम्म कामको ध्याउन्नमानै व्यस्त हुन्छ। उनीहरूलाई बर्षैभरी कुनै पनि दिन विदा हुँदैन घरका कोही सदस्य बिरामी भए भने पनि त्यसको हेरविचार गर्ने, उसलाई पानी तताएर दिने सम्मको न चेतना छ, न त समयनै छ यसरी सबै गाउँलेहरू आ–आफ्नो काममा अतिनै व्यस्त देखिन्छन्। यसरी व्यस्त रहेर काम गरे पनि उनीहरूको जिन्दगीमा एक छाक मासु खान महिनौ कुर्नु पर्छ वा चाडवाडनै आउनु पर्छ, खिर खान साउन १५ आउनु पर्छ भने नयाँ लुगा लगाउन पनि चाडवाड नै पर्खनु पर्छ। साना–साना केटा केटीहरूलाई स्कुल पठाउन सकेको छैन किताब, कपि किन्न र स्कुल फिस तिर्न कठिन छ। यसरी दिन रात नभनेर काम गरे पनि उनीहरूले हजारको नोट देख्न मुस्कील परेको हुन्छ। यस्ता अभाव अपुग अभागी जिन्दगीबाट अतिनै निरास हुन्छ त्यही गाउँको शिराने काईला त्यसैले उ गाउँ छाडेर शहरतिर पस्छ।
विरानो शहर उसको लागि झन् कठिन हुन्छ, यो विरानो शहरमा चिनजान कोही हुँदैन के खाने? कहाँ बस्ने? कसरी रात बिताउने? दुईचार दिन त उ अन्योलमा पर्छ भोकभोकै हुन्छ यस्तैमा उसले एउटा भारी बोकिरहेको भरीयालाई बोलाउँछ र भन्छ मत ३ दिनदेखि खाने बस्ने केही ठेगान नभएर हिंडेको छु, भोकले मर्नै लागे लौन दाई मलाई पनि यस्तै काम मिलाई देऊ। आखिर भरियाको दुःख भरियाले त बुझ्ने नै भयो। उसले लगेर होटलमा एक पिलेट म.म. खुवाउँछ र एउटा नाम्लो किनिदिन्छ, अनिसँगै लगेर जान्छ कालिमाटीको आलुगोदामतिर। त्यहाँ उ जस्ता भरियाहरू धेरै हुन्छन्। एक बोर आलु किन्ने साहुजी आयो भने तेरो र मेरो हानाथाप पर्छ। पुराना भरियाहरूले उसलाई रिस पनि गर्छ तर के गर्ने शिराने काईलाको अरू उपाय पनि केही छैन नयाँ नयाँमा उसलाई साहुहरूले पनि विश्वास गर्दैन् फाट्टा फुट्ट मात्र काम पाउँछ। त्यही कामको आधारमा उसले साथीसँग मिलेर बस्छ। यसो त्यसो गरेर उसको आफ्नो ज्यान पल्ने मेसो मिलाउन सकेको छ। यसरी केही समय बित्छ, घरबाट बाउआमाको खबर आउँछ साहुको रिन तिर्न सकेको छैन। घरको छानो चुहिने भएको छ के गर्ने हो छोरा यसरी खबर आएपछि झन शिराने काईला दुखित हुन्छ। आखिर भारी बोकेर कमाएको पैसा कति नै हुन्थ्यो र शहरको महंगीसँग जुट्नै परिगो तैपनि बचाएको केही पैसा घर पठाउँछ।
एक दिन राति उ गुन्द्रिमा पल्टिएको हुन्छ। त्यो दिन भारी पनि काम पाएकोले गर्दा उसलाई थकाई लागेको हुदैन । त्यसैले होला निन्द्रा पनि लाग्दैन। यसरी ओछ्यानमा पल्टिएर सुतेको बेला जिन्दगीको परिभाषा लगाउने कोशिस गर्छ तर उसले आफ्नो जिन्दगी सधै भरियामा नै पाउँछ। यस्तै सोच्दा सोच्दै उ निदाउँछ। भोलिपल्ट उ तिन बजे रातीनै उठ्छ, मुख पनि नधोईकन उ भारीको आसामा बजारतिर लाग्छ। सदै जसो बजारमा बिहानीको चहलपहल सुरू हुन्छ नभन्दै एकबोरा आलुको भारी भेटाउँछ साहुजी अगि लाग्छ उ पछिपछि भारी बोकेर झन्डै आधा किलोमिटर हिंडेपछि साहुजीले सोध्छ यो आलुको भारी बोकेर महिनामा कति कमाउँछौ भाई? आलुको भारीले थिचेको टाउकाको नाम्लो सार्दै शिराने काईला बोल्छ कति कमाउनेर साहुजी यो काठमान्डूको शहरमा पेट पाल्न पुर्‍याएको छु। तिम्रो उमेर कति भयो साहुजीले फेरी सोध्यो? २२ बर्ष भए साहुजी शिरानेले उत्तर दियो। लौ तिमी त युवा रहेछौ। विदेशतिर जाऊ धेरै पैसा कमाउँछौ, एउटा भरीयाको लागि यस्तो कुरा सुनेपछि त उसको मन सलबलाउन थाल्यो र मनमनै सोच्यो विदेशमा गएर पैसा धेरै कमाएर पारिघरे साहुको रिन तिर्न पाए घरको छानो फेर्न पाए कति हलुको हुन्थ्यो होला, कति रमाईलो जिन्दगी बन्छ होला।
यसरी केही बेरको सोचपछि उसले साहुजीलाई भन्यो हामी जस्तो भरीया मान्छे कसरी बिदेशमा जान सक्छौं र साहुजी बिदेश जानलाई त धेरै पैसा लाग्छ भन्छ, मेरो त लेख पढ पनि छैन के काम पाउँछ र हामी जस्ताले? साहुजीले भन्यो काम त लेबरको हो साच्चै जाने हो भने म भिसा मिलाई दिउलानी महीनाको अठार बिस हजार जति कमाई हुन्छ, खान बस्न सबै फ्री हो एसिवला कोठा हुन्छ, दिनको आठ घण्टा डिउटी गरे पुग्छ। यहाँको खर्च चाहिं ८० हजार जति लाग्छ। ओहो यत्रो पैसा काहाँबाट ल्याउनेर साहुजी? उसले प्रश्न तेर्स्यायो? त्यो त तिम्रो विचार साहुजीले भन्यो। यस्तैमा साहुजीको घर पनि आइपुगेछ त्यो साहुको त म्यनपावर कम्पनि रहेछ। त्यहाँ थुपै युवाहरू बिदेश जानलाई अन्तरबार्ताको लागि लाईन बसेको रहेछ उसले पनि केहीबेर त्यहाँको रमिता हेर्यो र अब म पनि एक पटक बिदेश जानै पर्यो भन्ने निष्कर्षमा पुग्यो।
त्यस दिन बेलुकी कोठामा गएर पैसा गन्यो झन्डै तिनहजार जति रहेछ अनी पासपोर्ट बनाउनलाई ५ हजार लाग्ने भएकोले दुई हजार चाहिं उसले त्यही सहयोगी साथीलाई सापटी माग्यो एक हप्ता भित्रमा पासपोर्ट बनाएर ल्ययो र त्यही सहुजीलाई पासपोर्ट दिन आयो पासपोर्टको साथमा दशहजार पैसा पनि चाहिन्छ भने पछि उ फेरी आपातमा पर्यो। अब जसरी भए पनि म विदेश जानुछ। पैसा त खोज्नै पर्यो भनेर त्यही सहयोगी साथीसँग शिरानेले सबै कुरा गर्छ। त्यो साथीले पनि म संगत पैसा छैन। तिमीलाई थाह नै छ मैले चिनेको सधै लेनदेन गरेको एउटा साहु छ त्योसँग कुरा गर नत बरू म पनि सँगै गइदिउला हुन्नत शिरानेले भन्यो लौ दाई मलाई यति कामबाट फुत्काई दियौ भने म तिम्रो गुन कहिल्यै बिर्षने छुईन म जसरी पनि बिदेशमा पैसा कामाए पछि साउब्याज गरेर तिर्ने छु। भोलिपल्ट उनीहरू रिनको खोजीमा साहु कहाँ जान्छ र बिन्ती बिसाउँछ। मैले यसलाई चिन्दिन। तिमी जमानी बस्ने भए पैसा दिन्छु तर व्याज चाहिं सयको पाँच लाग्छ नि हुन्छ? साहुले बोल्यो उनीहरूले स्वीकार गर्छ र दशहजार रूपैया लिएर आउँछ पैसा र पासपोर्ट पाए पछि म्यानपावर साहुजी खुशी हुंदै अब एक महिनाभित्रमा भिसा आउँछ अरू सत्तरी हजार तयार पारेर राख्नु है। उनीहरू मन्टो हल्लाउँदै फर्किन्छन् र त्यही आलुको भारीसँग लडाई गरेर दिनहरू बित्दै जान्छ
१५ दिनपछि खबर आउँछ। लौ कतार जाने तिम्रो भिसा आयो काम धेरै राम्रो छ तिमी त धेरै भाग्यमानि रहेछौ यति चाडै भिसा आयो पैसा लिएर आउनु। अब शिराने काईलालाई ठूलै पहाड अगाडि परेको जस्तो लाग्छ ७० हजारको पहाड कसरी पार लगाउँने उसले यताउत चिनजानको साथिहरूसंग अनुरोध गर्छ केही साथीहरूको सहयोग पाउँछ करीब २० हजार जति जम्मा गर्छ अझै ५० हजारको पहाड उसको अगाडि छ अन्तमा त्यही पुरानेा १० हजार दिने साहु कहाँ पुग्छ र साथीको जमानीमा ५० हजार पैसा रिन लिन्छ यसरी जम्मा गरेको पैसा सबै लगेर म्यानपावर साहुलाई बुझाउँछ उसले अब तिम्रो एक हप्ताभित्र उडानहुने आश्वाशन पाउँछ। शिराने काईला अब बिदेश जाने भयो भनेर गाउँमा आमा बाबालाई बिदा माग्न आउँछ सबैले रामै्र हुने भयो भनेर बिछोडको खुशी साट्छ। यता म्यानपावरको काम त हो भोलिभोलि भन्दा भन्दै ३ महिना भुलाई दिन्छ र बल्ल भारत हुदै कतारको लागि पठाउछ जब कतारमा आउछ सेतो लुगा लगाएको मालिक गाडि लिएर एरपोर्टमा भेटाउँछ साहुले भन्छ सलामवलेगम इन्त जेन? बिचरा शिराने काईला के भन्ने भन्ने हुन्छ इङ्लिसमा बोल्छ एस एस अब साहुले गाडीमा राखेर सिदा भेडा गोठमा पुर्याउँ छ र भन्छ तुम्हारा काम ए है.. शिराने अलमल पर्छ काम नगरौं भने साहुको रिन गरौभने चर्को घाममा भेडा चराउनु पर्ने यो कस्तो जिन्दगी रहेछ भन्दै काममा लाग्छ आज भन्दा भोलि भन्दा बानि पर्छ महिना पनि मर्छ साहुले तलव कतारी रियाल ५००/– दिन्छ उसको खाना खर्च कटाउँदा खाली दुई सय पचास मात्र तलबको पैसा बचेको हुन्छ र उसले चारपयमा ढल्केर रातभरी सोच्छ अब मैले साहुको रिन कहिले तिरी सक्छ होला? कहिले विदेश आएको रिन तिर्ने, कहिले घरको रिन तिर्ने, कहिले खरको छानो फेर्ने यस्तै यस्तो सोच्दा सोच्दै निदाउँछ। यसरी नै उसको दिनचार्यहरू चलिरहन्छ। यस्तैमा एक दिन घरबाट चिठ्ठी आउँछ चिठ्ठीमा लेखेको हुन्छ।
तिम्रो खरको छानो चुहेर
पिढीमै आहाल छ।
तिम्रो घरको आँगन भत्केर
साह्रै नै बेहाल छ।
विदेशमै डुलेर गैसक्यो जीवन
छैनकी कसो हो घर फर्कने मन।

गजल

हो जुनसुकै खोलाको बिस्वास नगर्नु
र च्यातिएको झोलाको बिस्वास नगर्नु

खुकुरीधार टलकदैमा त्यो हाँसेको हैन
यी मान्छे, बम गोलाको बिस्वास नगर्नु

सुन्दरतामाथि प्रेम होला प्रेमभित्र पिडा
झलिमिली चोलाको बिस्वास नगर्नु

ए रोगी हो राख मन्दिरमा औषधी र डाक्टर
त्यो साले बमभोलाको बिस्वास नगर्नु

हिंड्नु एउटै बाटो काँढा होस् या ढुङगा
त्यो होला की यो होलाको बिस्वास नगर्नु

वातावरण प्रदुषण : समस्या र चुनौतीहरू

हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदुषण हो। वातावरणीय प्रदुषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझन्छ। वातावरणीय प्रदुषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ। प्राचिन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनहरूका कारण परिवर्तित हुन्थ्यो , अनि वातावरणमा हुने प्रदुषण पनि प्राकृतिक प्रदुषण हुने गर्दथ्यो। तर आज पृथ्वीमा भइरहेको जनसंख्या बृद्धि प्रदुषणको मुख्य कारक बनिरहेको छ। जनसंख्याको बढ्दो चापसँगसँगै प्रदुषणका समस्याहरू पनि बढ्दा देखिन्छन्। प्रदुषण आफैमा एउटा समस्या हो भने प्रदुषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्याहरू पनि छन्। वातावरणीय प्रदुषणकै कारण पृथ्वीको तापक्रममा बृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पबृष्टि जस्ता विकराल समस्याहरू देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ। जस्ता अन्य ठूला समस्याहरू पनि अप्रत्यक्ष रूपमा प्रदुषणकै कारण हुन्। प्रदुषणका कारण देखिने यस्ता समस्याहरूले वातावरणलाई थप प्रदुषित गरिरहेका हुन्छन्। प्रदुषणको प्रकृति अनुसार प्रदुषणलाई प्राकृतिक कारणले हुने प्रदुषण जस्तै ज्वालामुखिबाट निस्कने धुँवा, धुलोले गर्ने प्रदुषण र मानवद्वारा हुने प्रदुषण (जस्तैः फोहोर मैला, आवाजहरू) भनि छुट्याइन्छ। कुरा जे भए पनि प्राकृतिक प्रदुषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन्।
प्रदुषण हाम्रो वातावरणका हावा, पानी र जमीन सबैमा हुन सक्छ। यी सबै क्षेत्रका प्रदुषण प्रत्यक्ष वा अप्रत्यक्ष अन्तरसम्बन्धित रहन्छन्। त्यसैले यी मध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदुषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, अप्रत्यक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुनसक्छ। जस्तो जमिनमा हुने प्रदुषणले जल प्रदुषणमा पनि भूमिका राख्छ अनि अप्रत्यक्ष असर जलचरलाई गर्दछ। आजको विश्व निरन्तर विकासतर्फ उन्मूख छ। औद्योगिकीकरण, शहरीकरण, उन्नतिका सुचक मानिन्छन्। तर तीब्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदुषण विकासभित्र विनास निम्त्याइरहेका छन्। आधुनिकीकरण सँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताका प्रति रहे भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदुषणका प्रमुख कारक बन्दैछन्। आज बढिरहेको प्रदुषणका नकारात्मक असरहरू अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्नसक्ने देखिन्छ। यसकारण पनि वातावरणीय प्रदुषणलाई आम चासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो।
अहिले विश्वको जनसंख्याको चाप निकै तीब्र छ। करिब दश हजार वर्षअघि पृथ्वीमा संख्या करिब ५० लाख भएकोमा हाल यो संख्या ६.६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ। जनसंख्याको आँकडा अनुसार पृथ्वीमा प्रत्येक घण्टामा ९ हजार जना थपिन्छन्। अर्थात् १५० जनाप्रति मिनेटका दरले जनसंख्या बृद्धि भइरहेको छ। जनसंख्या बृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि बृद्धि हुन्छन्। गास, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतहरूमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ। वन जंगल, बन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतहरू माथिको हस्तक्षेपमा पनि बृद्धि हुन्छ। फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्‍याइरहेको हुन्छ। बन फडानी जनसंख्या बृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो।
मानिस आफू बाँच्नका लागि मात्रै नभै पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ। यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै बनजंगल, बन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिहरूसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ। यही क्रममा दिनानुदिन बनक्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान (आवासक्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकसित देशहरूमा मात्रै होइन विकसित देशहरूमा पनि बढ्दो छ। एकातर्फ बनक्षेत्र घटाएर त्यसलाई आवासक्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिंदैछ भने अर्कोतर्फ शहरीकरणले कैयौं खेतीयोग्य उर्वरभूमिहरू पनि आवासीय क्षेत्रमा बदलिंदैछन्। यसैले शहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिन्न। खाद्यान्न समस्या पनि अर्को आर्थिक वातावरणीय समस्या हो। शहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन्। आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन्।
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिहरूले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो। आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आम चुनौतीको विषय हो। यो चुनौती आज विकसित मुलुकका लागि मात्रै भएर विकासोन्मुख राष्ट्रहरूका निम्ति पनि झनै टड्कारो रूपमा देखिन्छ। हाम्रो मुलुकजस्तो अविकसित मुलुकका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा हो। वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदुषण न्यूनीकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्था विकासोन्मुख राष्ट्रहरूका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ। यद्यपि प्रदुषणको विश्वव्यापी समस्या न्यूनिकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ। आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदुषणको शिकार अविकसित मुलुकहरू पनि भइरहेको कुरा यथार्थपरक छन्। हामी आफैले गरेको प्रदुषणको असर मात्रै नभई अरूले गर्ने प्रदुक्षणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ। यसकारण वातावरणीय प्रदुषणको असर प्रदुषण गर्नेलाई मात्रै होइन नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ। अन्ततः वातावरणीय प्रदुषणका कारण हुन सक्ने सम्पूर्ण खतराहरूप्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरी नै छ। हामी अविकसित मुलुकका नागरिकहरूमा पनि यो चेतना हुनु जरूरी छ। प्रदुषण न्यूनिकरण गर्ने कुरामा आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौं। अविकसित मुलुकका सचेत नागरिकको उदाहरण विकसित राष्ट्रका नागरिकहरूलाई पनि उदाहरणीय बन्न सक्छ।