कथा – सम्बन्धका दूरी

उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको फ्रेम भित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

उसको झण्डै चार बर्ष अगाडि दिवशसँग बिवाह भएको थियो । दिवशको खान्दानी संस्कारमा घरका महिला वर्गले जागिर खाने चलन थिएन । पढेलेखेको परिवार भएर पनि घरका महिलाहरुले बाहिर काम गर्न सरकारी जागिर खान नपाउने परम्परावादी नियमलाई उल्लङ्गघन गर्ने हिम्मत कसैले गरेका थिएनन् । उसको घरमा बिवाहको प्रस्ताव लिएर आउँदा नै केटाकी माईजुले भनेकी थिईन -“घरमा आएका पाहुनालाई पानी पिउन दिदा पनि सर्वत जस्तो मिठो हुने गरी दिने सुन्दर केटी चाहिएको छ । बेस्सरी सम्पत्ति छदैछ । आईमाईले कमाउने चलनै छैन । जेठी र माईली बुहारीले पनि बी।ए। एम।ए। पढेका छन् तर घरै सिगांरेर बसेका छन् ।� आफूहरुले जीवन जिउन बेस्सरी गर्नु परेको दःखको झझल्को शायद मेटिनसकेकोले होला थुप्रो सम्पत्ति छ भन्ने कुराले आमा-बाबु लोभिएर उसलाई बिवाह गरि दिएका थिए त्यस घरमा ।

उसले झण्डै एक बर्ष त पानीलाई सर्वत जस्तै मिठो हुने गरी बाँडि । बिहानै उठ्नु नुहाई -धुवाई सकेर सासुलाई पूजाको तयारी गरिदिनु आफ्नो सिङ्गारपटार गरेर बिहानदेखि रातिको खाना-पिना नसकिन्जेल भान्साभित्रको काममा तल्लिन रहनु उसको दिनचर्या थियो । प्रत्येक दिन बुढा ससुरालाई हेर्न आउने सासु-ससुराका पुराना ईष्टमित्र खेतीबाट आएका हरुवा-चरुवा आफन्त आदिको लस्करै हुन्थ्यो । यति भएपछि घरका बुहारीहरु जति नै पढेका भएपनि भान्साभन्दा बाहिरी कामका लागि निस्कन नै कहाँ सक्थे र यस्तो समय धेरै रहिरहन पाएन । दाजु-भाइबीच व्यवहारमा हानाथाप स-साना कुरामा बढ्दै गएको असमझदारीले दिक्क भएर ससुराले तीनै भाईलाई अलग गरिदिनु भयो । सासु-ससुराले पनि घरको जेठो छोरो नै असल छ भनेर उनैसँग बस्ने निधो गरे । जग्गा निकै थियो तर सबै जग्गामा मोहियानी लागेर आफ्नो भागमा धेरै रहन पाएन । फेरी बुढा ससुराको काजकि्रयामा पनि तेह् जना ब्राम्हणहरुलाई जग्गा नै दान गरिएको थियो । काठमाडौमा पनि आठ रोपनी जग्गा नभएको होईन तर दुईटी छोरीहरुको बिवाहमा धितो राखेर लिएको ऋण समयमा नतिरेकाले लिलामीमा परेको थियो । त्यो ऋण सबै छोराहरुले मिलेर समयमा तिरेका भए राजधानीको त्यत्रो सम्पत्ति लिलामीमा परेर गुमाउनु पर्ने थिएन भन्ने गुनासो ससुराको अझै बाँकी छ ।

दिवश पेशाले अधिवक्ता थिए । मूलघरबाट छुट्टिएको केही महिना पछि नै त्यहाँको बसाई उनलाई असजिलो हुन थाल्यो । वकालतको चर्को आवश्यकता मोफसललाई भन्दा राजधानीलाई छ भन्ने बहानामा आफूलाई राजधानीतिरै सारे । यथार्थत त्यत्ति सजिलो कहाँ थियो र आफूलाई स्थापित गराउन त्यहाँ । निकै समय बितिसक्दा पनि दिवशको वकालत पेशाले गति लिन सकिरहेको थिएन । फलतः व्यवहारमा आर्थिक संकट हावी भएको आभास दुवैमा हुन थालिसकेको थियो । यद्यपी सन्तानको लागि भने खर्च गर्नु परेको थिएन । बिवाह पछि पटक-पटक गर्भ रहेको थियो उसको तर अडिन सकेको थिएन । डाक्टरलाई देखाउँदा औषधि खाएर अझैकेही समय धैर्य गर्न सल्लाह दिएका थिए ।

खान्दनी ढाँचा अनुसार चल्न मधेशको खेतीबाट बर्षमा एकपटक हात लाग्ने सिमित आयले कत्ति नै पो पुग्थयो र दिवशको आम्दानीको स्रोत पनि खासै निश्चित नहुदा संङ्गोलको बसाईको रमझम संझनामा कहिलेकाही आउन थालेको थियो ।

बुबाले घर चलाउनुहुन्थ्यो । तीनै छोराहरुले आम्दानीको केही भाग घरखर्चमा छुट्याउँथे । घर पनि बडेमानकै थियो । अनि सम्पत्तिको भागभण्डा नभएको हुदा आर्थिक अभाव कुन चराको नाम हो कसैलाई थाहा थिएन । त्यसमा पनि सधै कान्छो छोरो भएर खाएको दिवशलाई सपना जस्तो लाग्न थालेको थियो । समय एकैनाशको कहाँ रहन्छ र भाग भण्डासगै पुस्तैनि सम्पन्नता पनि बाँडिन गयो ।

घरको आर्थिक समस्या देखेर धेरै दिनदेखि आफूलाई काम गर्न मन लागेको बारेमा दिवशसँग कुरा राख्न खोजिरहेकी थिई ऊ तर हिम्मत जुटेको थिएन । खान्दानी चलनको हरबखत गर्व गर्ने आफ्नो लोग्ने हुनसक्छ उसको प्रस्तावलाई तुरुन्तै नकार्ने छ । ऊ भित्र डर थियो । “यदि हजुरले अन्यथा नमान्ने हो भने मलाई क्याम्पसमा पढाउने अफर आएको छ के मलाई अनुमति दिनसक्नुहुन्छ “श्रीमानको बोझ घटाउने उदेश्यले एक दिन हिम्मत जुटाएर सोधी उसले । प्रतिउत्तरमा मौनता मात्र छायो ।

आफ्नो क्षमतालाई घरको ढोकाभित्र बन्द गरेर नगर्नु पर्ने दुःख गरेर बस्नु लाचारीको दोस्रो रुप ठान्थी ऊ । तर उसले दिवशकेा अनुमतिलाई धेरै दिन पर्खिई अहँ उसले सहमति जनाएन । परम्परागत मान्यताको खिया लागेको लोग्नेको मानसिकतालाई धिक्कार्न बाहेक अरु के नै गर्न सक्थी र !

पन्ध्र दिन भित्रमा निर्णय नसुनाए अरुलाई ने स्थान दिईने कुरा क्याम्पस प्रमुखले बताएका थिए । बिचरीले त्यो मौका पनि क्याम्पस प्रमुख आफ्नै नाता पर्ने भएकाले पाएकी थिई । दिवशको अनुमतिको पर्खाइमा तोकिएको दिन बितिसक्न लाग्दासम्म पनि उसले कुनै जवाफ पाईन । भोलि बिहानदेखि म पढाउन सुरु गर्दे छु । यो निर्णय मैले घरको आर्थिक बोझ घटाउने बिचारले गरेकी हुँ । हाम्रो भविष्य पनि त छ । मेरो क्षमताले केही गर्न सक्छु भने किन उपयोग नगर्ने � उसले आफ्नो निर्णय सुनाई । “जुन घरकी बुहारी भएर आएकी छौ त्यो घरको संस्कार चालचलनको मर्यादा भित्र रहनु तिम्रो कर्तव्य हो । खान लाउन मैले दिन नसकेका दिन सोचौला ।” दिवश गम्भिर भएर बोल्यो । उसलाई असैह्य भयो । ऊ आफ्नो लोग्नेको तर्कसँग पटक्कै सहमत हुन सकिरहेकी थिईन ।

“स्वावलम्बि हुनुले कुनै पनि घरको मर्यादालाई नकारात्मक आँच पुर् याउँदैन । यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो मात्र भ्रम हो । दिनभर घरमा निकम्मा भएर बस्न म पटक्कै चाहन्न । बच्चा पनि छैनन् । सकारात्मक भएर सोच्ने हो भने दुवै दम्पत्तिले नोकरी गर्नु सामाजिक प्रतिष्ठाको कुरा पनि हो ।” ऊ आफ्नो अडानमा दृढ रहि । दिवश मात्र सुनिरहेको थियो । दुबैले आफ्नो अडान नछाड्दा समझदारी आखिरमा केही गरी हुन सकेन । दिवशको खान्दानी संस्कार उसका लागि घरको आर्थिक अभावभन्दा महत्वपूर्ण हुन सकेन । अन्तत उसले नोकरी शुरु गरी । नोकरी शुरु गरेकै दिनदेखि दिवशले उसका घरपरिवारबाट कडा प्रतिकि्रया खप्नु परेको कुरा उसलाई सुनायो । त्यसैका कारण दुईबीच चिसोपन बढ्न थाल्यो । हरेक रात नानाथरीका कुराले आफ्नी श्रीमतीलाई सताउनु उसको दैनिकी भयो । घर ढिलो फर्किने कहिले खबरै नगरी दुई-चार दिन बाहिरै बिताउन थालेको दिवशले धेरै भैसकेको थियो । जसलाई उसले सामान्य मान्न थालेकी थिई ।

मंगलबारको दिन थियो त्यो । दिउँसोको एक बजे ऊ क्याम्पसबाट घर फर्किसकेकी थिई । त्यही समय पारेर दिवश घर आयो । हाउभाउले ऊ एकदमै हतारिए झै देखिन्थ्यो । उसले अचम्म मानेर आफ्नो लोग्नेलाई हेरी । ऊ आज बिल्कुलै भिन्न लागिरहेको थियो । आँखामा चमक थियो ओठमा मुस्कान भरिएको थियो । उसले आफ्नो लोग्नेको ओठमा मुस्कान नदेखेको महिनौ बितिसकेको थियो । सायद काम सुरु गरेकै दिनदेखि दिवशको मुस्कान हराएको थियो कि उसलाई हेक्का भने छैन । “एउटा कम्पनी दर्ता गराउनु छ तिम्रो नाममा खै छिट्टै साईन गरिदेउ त ।”हातमा पानीको गिलास लिदै उसले भन्यो । “कस्तो कम्पनी अनि किन यति हतारमा पहिले त केही कुरा गर्नु भएको थिएन ” एक्कासि सधैभन्दा पृथक मुद्रामा देखिएको लोग्नेलाई उसले विश्वाश गर्न सकिरहेकी थिईन । “हत्तेरीका एक घण्टाभित्रमा दर्ता गराएन भने यो मौका अर्कैले लिनेछ । यत्तिका दिन भैसक्यो मेरो टाउको यसले खाएको । कत्ति पीर थियो मलाई यसको । छिटो गर न ! म भरे सबै प्रतिलिपी लिएर आँउछु अनि सबै बेलिबिस्तार लगाउँला ।”जोशिएर बोल्यो ऊ । मानौ ठूलै कम्पनिको मालिक भैसक्यो ।

उसले केही बुझिन । तैपनि लोग्नेमा देखिएको उत्साहलाई कदर गर्नु आफ्नो कर्तव्य ठानेर हतारमै सम्पूर्ण कागजमाथि हस्ताक्षर गरीदिई । अनायशै ऊ पनि आज फुरुङ्ग थिई लोग्नेको स्फूर्ति देखेर । बेलुकी लोग्ने कतिबेला घर फर्केला र सबैकुरा थाहा पाउँला भनेर दिनभरी उसले आँखा बाटोतिरै बिच्छ्याई । साँझ पर् यो घर फर्किने मान्छेहरुको लस्करले बाटो ढाकिएको थियो । मधुरो उज्यालोमा आँखाले भ्याईन्जेल लस्करभित्र उसले दिवशलाई नियाली तर ऊ भेटिएन । कहिलेकाही त रातको एक बजे पनि घर फर्किन्थ्यो । त्यसैले मध्यरातसम्म उसले पर्खिरही । यसरी नै कैयौ दिन र रात पर्खाईमा बिते तर दिवश आएन ।

यसरी अचानक हराएको लोग्ने बीस दिन पछि घर फर्कियो । उसलाई देखेर उसका आँखा रसाएनन् उसलाई खुशीको झट्का पनि लागेन उसले मात्र हेरिरही । त्यसै पनि दुईबीचको सम्बन्ध चिसिदै गएको थियो । त्यसैले लोग्नेको अनुपस्थितिले उसलाई खासै फरक परेको थिएन । तर एका-एक कम्पनी दर्ता गराउन भनेर सहीछाप लिएर हिडेको लोग्नेको लामो अनुपस्थितिले भने उसलाई सताईरहेको थियो । यसपटकको दिवशको आगमन कुनै एक अपरिचितको झै थियो । मानौ उसले पहिलो पटक कसैसँग चिनाजानी गर्दैछ । उसले हातमा बोकेको सानो ब्यागबाट एउटा खाम झिकेर श्रीमती तिर तेस्र्यायो । कौतुहलतापूर्वक हतारिदै खाम खोलि । उसका आँखाले पृष्ठको मध्यतिर दृष्टि नपुर् याउँदै ऊ अवगत भैसकेकी थिई । दिवशले कम्पनी दर्ता गराउन तेस्र्याएका कागजातहरु त सम्बन्ध बिच्छेदका पो रहेछन् । परपुरुषसँगको सम्बन्धका कारण दुईबीचको सम्बन्धलाई अन्त्य गर्न राजी भएको व्यहोरा लेखिएको थियो ।

दिवशले पटक -पटक उसकै सहकर्मी शुरेशको बारेमा प्रसङ्ग उठाएर घरमा तनाव उत्पन्न गराउनाको कारण उसले बल्ल मात्र बुझी । यहाँ उसका ओठहरुले दिवशप्रति आक्रोश व्यक्त गर्ने उत्साह देखाएनन् । तर उसका हर धड्कनले घृणा गरिरहेको थिए । लोग्नेको तुच्छ मानसिकता र दम्भि चरित्रसँग उसलाई प्रतिवाद गर्न मन लागेन । आखिर स्वास्नीको वफादारीतालाई क्षण-क्षणमा लत्याउने एक पुरुषपात्रको आडमा जीवन बिताउन पक्कै सजिलो छैन भन्ने बुझ्न उसलाई अन्ततः धेरैबेर लागेन । त्यसैले सम्बन्ध बिच्छेदको प्रतिवाद गर्नुभन्दा स्वीकार्नु नै उचित ठानी उसले । सम्बन्ध बिच्छेदको निर्णयले क्षतबिक्षत भई पश्चातापको ज्वालामा लपेटिएर ऐया-आत्था गर्दै उसले चिच्याएको हेर्ने प्रवल ईच्छा बोकेर आएको दिवश प्रतिउत्तरमा श्रीमतीको मौनता र आत्मविश्वास देखेर अर्का एकपटक अपमानित हुनपुग्यो । उसले मौनतामै सहजसाथ स्वीकारेको देखेर घरबाट बाहिर निस्कियो । तर उसको मनमा लोग्ने बिनाको भोलि कसरी सामु आईदिने हो भन्ने अज्ञात छटपटीले हलचल मच्चाई रह्यो ।

सम्बन्धबिच्छेदको पहिलो प्रभात । दिनचर्याको शुरुवातमा सधै झै छेवैमा राखेको घडीले किरिरिर्र किरिरिर्र आवाज दियो । हतारिदै उसका आँखा खुले । ऊ मन नलागि-नलागि उठी । हिजो रात बिगतले निकैबेरसम्म मानसपटललाई नमिठो स्पर्श गरेकोले झण्डै आधा रात कटेपछि मात्र उसका नयन जोडिएका थिए । मनमा अनौठो अनुभूति लहरिरहेथ्यो । फरक्क् फर्किएर रात बिताएको ओछ्यानलाई हेरी त्यो साम्रा्रज्यवादीहरुबाट मुक्ति पाएको कुनै राज्यभन्दा कम थिएन ।

बिवाहमा बुबाले मेचीबाट मगाएर दिनु भएको चाँपको पलङ्ग थियो त्यो । सिरानी र डसना पनि सिमलको नरम भुवाका थिए । तैपनि पलङ्गमाथिका ती सिरानी र डसनाले बिगतका रातहरुमा धेरै बिझाए उसलाई । कहिले नरम सिरानी पनि ढुगां जस्तो भएर बिहान उठ्दा गर्धन र शीर असाध्यै दुखेको हुन्थ्यो । कहिले मुलायम डसनामाथि अनायसै पैदा हुने गाँठागुठी बिझाएर रातभर सुत्नै अफ्ठ्यारो हुन्थ्यो । आखिर माईतीको माया न हो विवाहमा पाएको त्यो चिनोलाई फ्याँक्न सकिरहेकी थिईन ।

लोग्नेसँग छुट्टिएको पहिलो प्रभातमा सम्पूर्ण फरकहरुलाई नियाल्न मन लाग्यो उसलाई । उसले झ्यालको पर्दा उघारी । सुन्दर बिहानी पहिले जस्तै कलिलो घामसँगै झुल्किएको थियो । सडकका पेटीहरु त्यसरी नै लमतन्न भई बटुवाको स्वागत गरिरहेका थिए । मन्दिर परिसरमा घण्टीहरु उसरी नै बजिरहेका थिए अनन्तसम्म ध्वनि गुाजाएर । चराहरु खुला आकाशमा उडिरहेका थिए स्वतन्त्रताको उपभोग गर्दै ।

आखिर फरक केहीमा भेटिन उसले । शायद फरक आफूमा पो आयो कि भन्ने डर थियो उसलाई । त्यसैले पलङ्ग छेउ राखेको ठूलो ऐना अगाडि उभिई ऊ । मनले निर्दोष ऐनासँग केही वैमनश्यता नभएको निक्र्योल गरेपनि त्रसित उसका आँखाहरु भने बन्द थिए । उसले बिस्तारै आँखाहरु खोली । त्यो ऐनाले उसलाई यसरी बिम्वित गर् यो कि ऊ मुक्त थिई ।

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in Nepali Stories and tagged , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.