कथा- मितभाइ

म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ निर्धक्क मेरा सँघार कुल्चिन । मैले आफ्नो सिप र सभ्यताले भ्याएसम्म तिमीलाई सत्कारेँ । समय त्यस्तै जुर्‍यो । उनको रात्रिड्युटी धेरै दिनपछि पर्‍यो । हामी उपयुक्त समयको खोजीमा थियौँ, त्यो चुकाएनौँ । त्यसैले यसपटक तिमी निक्कै लामो समयपछि मकहाँ आएका थियौँ । तिमी साह्रै भोकाएर आएका थियौ । तिम्रा आँखाहरु भोका सिंहका झैं बलेका थिए । ती आँखाले मलाई सङ्घारबाटै भेजाको मासुझैँ बोकिएर आएँ । मैले तिमीलाई बैठक कोठामा बसाएँ । तिमीले मलाई आफ्नो काखमा आसन दियौ र सडक बालकले दोकान्नीले प्लेटमा पस्किएको मःमलाई झैँ हेर्‍यौ ।

छोरो निदाएको छैन…… मैले असक्त र कामातुर तिम्रा आँखाको भाषा बुझेँ । छोरो मस्त निदाउन्जेल तिमीलाई अल्मल्याउन आतिथ्य सत्कारको बहानामा तिम्रो काखबाट मैले आफूलाई उठाएँ र भान्साकोठासम्म ल्याएँ । तिमीले मदेखि आफूलाई विच्छेद गर्न रुचाएनौ र तिम्रो काया मेरो नितम्बसँगै जोडिएर भान्सा कोठासम्म आयो र मैले अम्लेट पकाएको हेरिरह्यो । मेरा केशराशि तिम्रा कामातुर हातहरुसँग खेलिरहे ।

मैले अम्लेट प्लेटमा राखेँ । तिमीलाई पुनः बैठककोठामा ल्याएँ र बोतलको बिर्को खोलेँ । तिमीले मेरो…. को हुक खोल्यौ । मलाई थाहा थियो तिम्रा बद्मास र बेलगाम हातहरु के के गर्छन् ? र कहाँ कहाँ पुग्छन् । आखिर यो शरीरलाई तिमीले पनि भोग्दै आएका थियौ । तिम्रा सामु उदाङ्गनिुमा मलाई सङ्कोच र असजिलो लाग्नुपर्ने ठाउँ नै थिएन । हामी एकआपसमा पार्टपुर्जाका आकारप्रकार र प्राविधिक ज्ञानहरुमा पोख्त थियौँ । यी त सबै हाम्रै प्रयोजनका लागि हुन् । जो हामीद्वारा अनुकूल प्रयोग भएर पुनः प्रयोगका निम्ति यथास्थानमा राखिएका सरदामहरु हुन् । तिमी र ममा कुन सङ्कोचको पर्खाल भत्किन बाँकी थियो र ! तिमी जे चाहन्थ्यौ तिम्रो आतिथ्य सत्कारको निम्ति यो शरीर पूर्ण तयार थियो ।

छोरो मस्त निदायो ।

अब तिम्रो धैर्यको पहाड हल्लिन थाल्यो । तिमीले मलाई बैठककोठामा छोडायौ । तिमीलाई मैले खोस्ल्याएँ । भदौरे मकैले राम्रै घोगा हालेको रहेछ । नसोचे पनि कुनै कुनै विषयमा अङ्गहरुले स्वचालित यन्त्रझैं काम गर्दा रहेछन् । हठात् मेरा हातहरु पनि तिम्रा पिंडालुघारीमा पुगेछन् । हामी अग्निकुण्डमा होमिन आतुर थियौँ, आगो निभाउन वा आफैँ निभ्न, त्यसको हेक्का रहेन । कामातुर हामी कतिखेर बेडरुममा पुगेछौँ- पत्तो भएन । आगो निभाउनको अन्तिम झप्को बाँकी रहँदा पुनः ढोका ढक्ढकियो । ला ! उनी आएछन् । हामीले ढोका खोल्न बेर लगायौँ । ढोका खोल्दा उनी ड्युटीमा आफ्ना महत्वपूर्ण कागजात लैजान भुलेर लिन आएका रहेछन् ।

“किन रेडियो ठूलो बजाएको ?” उनी भित्र पस्दै बोल्दा पो होस ठेगाना फर्कियो । हामीले कतिखेर रेडियोको भोल्युम पनि बढाएका रहेछौँ । म कति डराएकी थिएँ र अस्तव्यस्त थिएँ । तर भाग्यले गर्दा उनले त्यतातिर ध्यान दिएनन् र म बचेँ । बैठककोठामा तिम्रो के हाल होला ? मलाई तिम्रो सुर्ताले खायो । तर तिमी पनि कति चाँडै सम्हालिएछौ । बैठककोठामा तिमीलाई देख्दा एकचोटि उनी स्तम्भित भए । अकस्मात् मेरो मस्तिष्कमा समस्या सुझ्यो र तुरुन्त “मेरो मीतभाइ” भनेर उनीसँग तिम्रो परिचय गराएँ । तिमीले पनि आफूलाई बचाउने विकल्पको त्यान्द्रा मौकैमा समात्यौ र हठात् उठ्यौ अनि भिनाज्यूलाई नमस्कार गर्‍यौ । बल्ल स्थिति स्वस्थ भयो । उनले तिमीसित भलाकुसारी गरे । दुवै औपचारिक संवादहरुमा केही क्षण रमाउने चेष्टा गर्‍यौ । तिमीलाई असजिलो त छँदै थियो, त्यसैले तिमीले आफूलाई कुसनबाट उठायौ र बिदा हुन चाह्यौ । उनी तिमीलाई बिदा गर्न ढोकासम्म आए । तिमी कुनै अपराधी भएर पनि कुनै अपि्रय घटनाबिना यहाँबाट सकुशल फर्कियौ ।

“यो ओछ्यानको किन यस्तो विजोग ?….. च्यादर कसले बिगार्‍यो ?” -उनी कराए । तिमीलाई बिदा गरेर आफ्ना कागजात खोज्न उनी कोठामा पसेछन् । बाफ्रे हामी झन्डै पक्राउ पर्‍यौँ । तिमी कति धेरै आँत भरिएर आएका रहेछौ । म पनि भरी घडाझैँ छचल्किएछु ।

“कुन्नि है ! छोरो खेल्दै थियो, उसैले विगार गर्‍यो होला…. ।” थाहा छ ? तिम्रो कारणले म उनीसँग सजिलै झुठो बोल्नसक्ने भएकी छु । थाहा छैन, उनीमाथि यसरी झुठको पर्दा लगाएर कहिलेसम्म हामी रासलीला जमाउन सक्छौँ ? कहिलेसम्म उनलाई धोका दिन सक्छौं ? धन्य, उनी आइमाईजस्तो शङ्कालु छैनन् । उनले पत्याई दिएर हामी बाँच्यौँ ।

तिमी यसरी आउनुमा तिम्रो मप्रति प्रेम भन्दाबढी स्वार्थ छ । शारीरिक भोक त तिमी मेट्छौ नै, मप्रतिको सहानुभूतिभन्दा बढी बदलाको भावनाले आउँछौ । तिमी अर्कै परिवारको अर्कै जातको मान्छे । कसैप्रति सम्बन्ध स्थापित गर्नुमा व्यापारिक स्वार्थभित्र नाफा र घाटाको हिसाव हुनु तिम्रो जातीय संस्कारभित्र पर्छ । म अर्को परिवार, अर्कै जातकी स्वास्नीमान्छे । जसले जातीय संस्कारमा विवेकको दैलो रक्सीको कठुवाको बिर्को र कुनै पनि महत्वपूर्ण निर्णय तोड्वाको घ्याम्पोबाट हुन्छ । यद्यपि तिमी मेरो जीवनको प्रथम र अन्तिम प्रेमी हौ । कलेज पढ्दाका कुखुरेबैंसमा हामीले कुनै प्रेम दार्शनिकका पागल दर्शन आफ्ना मस्तिष्कमा लादेका थियौँ- संसारमा मान्छेको जात केवल दुइटा मात्रै हुन्छ- स्त्री र पुरुष भनेर । तर रामबहादुरको परिचय प्रेमबहादुर हुँदैन र प्रेमबहादुरको अस्तित्व भीमबहादुर हुँदैन । वस्तुगत कुरो र व्यवहारिक ज्ञानमा अल्प र उमेरले अपरिपक्व हामीले वैसको भावावेगमा प्रेमलाई यसरी व्याख्या गरेका थियौँ । हामीले जन्मजन्मान्तर नछुट्टनिे प्रण गरेका थियौँ । एक अर्काविना बाँच्नु परे आत्महत्या गर्ने कसम खाएका थियौँ । तर अन्त्यमा त्यही भयो, जुन व्यवहारिक ज्ञानमा हामी अपरिपक्व थियौँ । माता-पिता, काका र माइती धुरा पसे र उनीहरुको तोङ्वाको घ्याम्पाको विर्कोबाट खुस्किएको निर्णयमा मेरो जिन्दगीको फैसला भयो । मैले एउटा अन्जान पल्टनेको पछि लागेर अन्जान भविष्यतिर डोरिनुपर्‍यो । म रोएँ, कराएँ, तिमीलाई नपाएरभन्दा बढी आत्महत्या गर्न नसकेर । तर अहिले लाग्छ आत्महत्या गरेकी भए तिमीलाई भेट्न पाउने थिइनँ र तिमीलाई सुखी र खुसी हेर्न चाहने मेरा इच्छा पनि त्यतिखेरै मरेर जाने थिए ।

बिहे भएर म पल्टनेपतिसँग सात गोर्खा रेजिमेन्टमा आएँ । पछाडि तिमी पल्टने भएछौ र दस गोर्खा रेजिमेन्टमा आएछौ । पल्टनहरु बेग्लाबेग्लै भए पनि ठाउँको दूरी बसमा आधा घन्टामात्रै हो । त्यसपछि तिमीले मेरो खोजी गर्‍यौं । पछि हाम्रो भेट भयो र पुनः हामी दोहोरियौँ । तर अहिले तिमी मकहाँ आउछौ, केवल शारीरिक भोक मेटाउन र बदलाको भावना पोख्न । यो देख्दा त्यतिखेर मैले आफ्नो हत्या गरिनँ र ठीक गरेँछु भन्ने लाग्दै छ । त्यतिखेर मैले आफूलाई मारेकी भए म मात्रै मर्ने थिएँ । कारण प्रेममा प्रायः नारीमात्रै पर्छन्- पुरुष मर्दैनन् । तिमीले मेरा बारेमा के सोच्छौ भन्ने मलाई थाहा छ । तिमी सोच्छौ, मैले पल्टने केटो पाएर तिमीलाई धोका दिएकी हुँ । तर त्यसो होइन । ममाथिका पर्खाल कति भयानक थिए ? त्यसको तिमीले अन्दाजै गर्न चाहेनौ, चाहँदैनौ । अब तिम्रो प्रेमदर्शनले प्रेमलाई पाउनु भन्छ । मेरो प्रेमदर्शनले गुमाउनु । तब हामी एक भएर पनि कसरी एकाकार हुन सक्छौं ?

प्रमोद तिमीले मलाई कहिल्यै चिन्न सकेनौँ । कोसिस पनि गरेनौ । तिमीलाई म न त दुःखी हेर्न सक्छु र सुखी नै राख्न सक्छु यसैको फाइदा तिमीले मसँग पटक-पटक उठायौ, उठाइरह्यौ । तिमीले राम्ररी जान्नुपर्छ म तिम्रो पे्रमिका थिएँ- पत्नी होइन । प्रेमिका हुँदैमा पत्नी हुनु र प्रेमी हुँदैमा पति हुनुपर्छ भन्ने छैन । तिमी पनि आफूलाई एउटा पति र पिताका रुपमा हेर्ने गर, तबमात्रै तिमीले मलाई बुझ्नेछौ । तिमी एउटी नारीभित्रको आमा र पत्नीलाई के जान्दछौ, म एउटा पतिको पत्नी हुँ, छोराको आमा हुँ । एउटी आमा आफ्ना सन्तानको भविष्य ध्वस्त पार्न होइन निर्माणमा आफ्नो बुद्धि, विवेक र शिल्प प्रयोग गर्छे । एउटी पत्नी आफ्नो परिवार भत्काउन होइन, सजाउन सिर्जनामा अमूल्य समय लगानी गर्दछे ।

प्रमोद ! तिमीमा एउटा घमण्ड छ । तिमी मेरा पतिभन्दा शारीरिक आकर्षणमा लायक छौ, तर एउटा पूर्ण हुन शारीरिकभन्दा मानसिक आकर्षक धेरै लायक हुनुपर्छ । हो, तिमी सहरीया सभ्यतामा हुर्किएर आफूलाई फैसनहरुमा लायक पार्न सक्छौ । मेरो पति पहाडे हुन् तर शारीरिक भन्दा धेरै मानसिक आकर्षणमा तिमीभन्दा लायक छन् । हो, कहिलेकाहीँ उनी भान्सामा चुठ्छन् र मलाई आधा पेट जुठै छाडेर उठ्छन् । तर उनले प्रदान गरेको जीवनजललाई आत्मा सिञ्चित गराएर मैले सन्तोष प्राप्त गर्ने बानी बसालेकी छु । अँ, तिमी मलाई भान्सामा अन्तिम गाँससम्म साथ दिन्छौ र सँगै चुठेर उठ्छौं । तिमीप्रतिको मेरो आकर्षण त्यति नै त हो । तर यति नै पर्याप्त होइन दाम्पत्यजीवनको लागि । एउटा पूर्ण पुरुष हुनु र लायक पति हुनुमा धेरै गुणहरुले अलङ्कृत हुनुपर्दछ । जो मेरा पतिमा जति विद्यमान छ, त्यति तिमीमा नहुन सक्छ ।

उनी मेरा पति हुन् । उनी मेरा छोराका पिता हुन् । पिता संरक्षक हुन् । आदरणीय श्रीपेच हुन् । पति मेरा आधार हुन् । मेरा जग हुन्, धरातल हुन् । प्रेमी त केवल हावाका भर मात्र हुन् ।

उनी तिमीजस्तो मलाई भोगेर मात्रै हिँड्दैनन् । मेरो संरक्षण गर्छन् । माया गर्छन् । ख्याल गर्छन् । सुखदुख्खमा भर दिन्छन् । तिमीजस्तो मलाई तोड्न र भत्काउन चाहँदैनन् सजाउन र जोगाउन चाहन्छन् । उनी मलाई प्रेम गर्छन्- हृदयबाट चाहन्छन् । ममाथि भरोसा गर्छन् । विश्वास गर्छन् ।

त्यसैले होला आज उनको प्रेम र भरोसाले म डग्मगाएकी छु । उनको म प्रतिको विश्वासले म चराचर हल्लिएकी छु । आफ्नै पश्चातापहरुले म भत्भती जलेकी छु । आत्मग्लानिले पानी-पानी भएकी छु । म पापिनी । म अपराधिनी, म अपवित्र ।

सुन्यौ, आज बिहान ड्युटी सिध्याएर आएपछि उनी तिम्रो कुरा मसँग गर्दै थिए, “युङ्नामू ! तिम्रा मीतभाइ ज्यादै भद्र र असल मान्छे रहेछन् । अब कहिले यता आउँछन् रे ?”

तर तिमी उनको आँखापछाडि कति अभद्र, दुराचारी र व्यभिचारी छौ ? स्वार्थी र स्त्रीलम्पट छौ ? प्रमोद ! के मेरा पतिका आँखाअगाडि जस्तै तिमी भद्र र असल मान्छे हुन सकौला, म विश्वास गरुँ !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.